खोटाङमा बिहेभोज खाँदा करिब सय जना बिरामी
काठमाडौं । खोटाङमा बिहेभोज खादा करिब सयजना बिरामी भएका छन् । बुधबार जन्तेढुङ्गा गाँउपालिका ६ मा आयाेजित विवाह भोज खाएकाहरू बिरामी परेका हुन् । खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु विष्टले बिहे भोज खाएर फर्केकाहरूलाई एक्कासि पेट दुख्ने, ज्वरो र झाडाबान्ता जस्ता समस्याले सताएको बताए । उनका अनुसार ८ जनालाई फुड पोइजन भएको छ । चिसापानीको प्राथमिक स्वास्थ्य क्रेन्द्रमा उपचार भएकाहरूमा फुड पोइजनको पुष्टि भएको हो । केही बिरामीलाई स्थानीय सुजना राईको घरमा राखेर सामूहिक रूपमा उपचार गरिरहेको विष्टले जानकारी दिए । ‘बिहे भोज खाएको भोलिपल्ट १–२ जना मात्र बिरामी भएका थिए । हिजोदेखि ठूलो संख्यामा बिरामीको संख्या बढेका हुन्,’ विष्टले विकासन्युजसँग भने । बिरामीहरूलाई बिहेघरको आसपासमै स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार सुरु गरिएको विष्टले बताए । शिविरमा ४५ देखि ५० जनालाई राखेर उपचार गरिरहेको उनले उल्लेख गरे । केही बिरामीलाई घरमा स्लाइन दिएर उपचार भइरहेको उनको भनाइ छ । ९ देखि ६० वर्ष उमेर समूहका मानिसहरूमा यस्तो समस्या देखिएको उनले बताए । बिरामी अवस्था सामान्य रहेको विष्टले जानकारी दिए ।
हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा
बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा पछिल्लोपटक औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएको छ । यही माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने नयाँ उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । यस्ता प्रकृतिको उद्योग सम्भवतः नेपालमै पहिलोपटक सञ्चालनमा आएको उनले बताए । त्यसैगरी, गत कात्तिकबाट राधाकृष्ण सेनथेटिक प्रालिले पूर्ण रूपमा प्लाष्टिकको बोरा उत्पादन गर्न सुरु गरिसकेको छ । सूचना अधिकारी नेपालका अनुसार लामो समयदेखि बन्द रहेका उद्योगमध्ये नेपाल ब्रोरीले नयाँ व्यवस्थापनसहित केही दिनभित्रै सञ्चालनको तयारीमा छ भने त्रिपुरा इन्डस्ट्रिजले नयाँ उद्योगका रूपमा टोबाको उद्योग सञ्चालन गर्न लागेको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगमध्ये पछिल्लो केही महिनादेखि लगानीको अभाव देखाउँदै रोटो प्रिन्टिङ उद्योग (प्लास्टिकमा प्रिन्ट गर्ने) र नोबोल प्याकेजिङले उत्पादन बन्द गरेको सूचना अधिकारी नेपालले बताए । औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कुल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् । यस्तै, औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायत कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए । कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल ५९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ छन् ।
सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा ५ हजार १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एचपीभी खोप अभियान आइतबारदेखि सञ्चालन हुँदै
काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आइतबारदेखि सञ्चालन हुँदैछ । सरकारले आजदेखि सञ्चालन गर्न लागेको किशोरी लक्षित खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । यो अभियान विद्यालय वा स्वास्थ्य संस्थामार्फत खोप केन्द्र सञ्चालन गरी सुरु हुने जनाइएको छ । कक्षा ६ मा अध्ययनरत बालिका, विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिका, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका बालिका तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अत्यधिक चिसो हुने हिमाली जिल्लाहरूमा भने चैतदेखि वैशाखसम्म यो अभियान सञ्चालन हुनेछ। यो पूर्ण रूपमा निःशुल्क र सुरक्षित भएकाले अनिवार्य रूपमा लगाउन सरकारले आग्रह गरेको छ । एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । गत वर्षको एचपीभी खोप अभियानमा खोप लगाएकाहरूले भने यो वर्ष खोप लगाउन पर्दैन ।
महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु
मलेखु । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आइतबार बिहान ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिए । प्रहरी निरीक्षक थापाले भने 'मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन । अहिले उद्धारकार्य जारी छ ।'
सिटिजन्स बैंकद्वारा गौरव उप्रेतीलाई ‘एसपाइरिङ मेनेजर अवार्ड’ प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ । उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (एमएएन) द्वारा आयोजना गरिएको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते प्रदान गरिएको हो । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कार्यक्रमकाबीच पुरस्कार प्रदान गरेका थिए । पुरस्कार छनोट प्रक्रिया सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय तथा नेपाल व्यवस्थापन संघका पदाधिकारीहरूको संयुक्त समितिले गरेको हो। यस अवार्डले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने र भविष्यका व्यवस्थापन पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबीए तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले सम्झौता भएको थियो । सो सम्झौताअनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबीएमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको बैंक हो । यसअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल कार्ड सञ्चालनमा ल्याएको थियो । हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन, सीआरएन सेवा तथा क्रस बैंक टेलर सुविधासमेत उपलब्ध गराउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सानिमा रिलायन्स लाईफले पायो अन्तर्राष्ट्रिय ‘बेस्ट स्ट्राटेजी’ अवार्ड
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो । एसियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक–केन्द्रित पहलहरूको मूल्याङ्कन गरी प्रदान गरिने यस अवार्डलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मानका रूपमा लिइन्छ । यस विधामा सानिमा रिलायन्स लाईफको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी तथा व्यवहारिक रणनीतिक सोचको प्रतिविम्ब भएको कम्पनीले जनाएको छ । अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले यो अवार्ड कम्पनीको रणनीतिक दृष्टिकोण, टिमको समर्पण र ग्राहक–केन्द्रित सेवाको मान्यता भएको उल्लेख गरे । साथै, सानिमा रिलायन्स लाईफ सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने लक्ष्यमा केन्द्रित रहेको उनको भनाइ छ । यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले अन्तर्राष्ट्रिय अवार्डले कम्पनीलाई नेपालमा मात्र नभई एसियाली बीमा बजारमा समेत सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप स्थापित गरेको बताए । उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक–केन्द्रित नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा आबद्ध छन् ।