विकासन्युज

लिलाम प्रक्रिया झन्झटिलो हुँदा भन्सारका सयौँ मोटरसाइकल कवाड बने

भजनी । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन् । भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । भन्सारमा सयौंँ मोटरसाइकल मात्रै नभइ दर्जनौँ अटो रिक्सा पनि छन् । साथै भन्सारमा साइकल र चार पाङ्ग्रे सवारीसाधन पनि छन् । कैयौँ मोटरसाइकलका पार्टपुर्जा नै छैनन् । लिलाम प्रक्रिया झन्झटिलो भएका कारण भन्सार कार्यालयले त्यसमा चासो दिन सकेको छैन । लिलाम गर्नु पहिले इञ्जीनीयरले सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सबैभन्दा झन्झट इञ्जीनीयरलाई बोलाउनु रहेको भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारु बताउँछन् । ‘सबैभन्दा असजिलो काम भएका कारण भनेको समयमा सवारी साधनको लिलाम गर्न सकिएको छैन’, उनी भन्छन्, ‘प्रक्रिया लामो छ, इञ्जीनीयर बोलाउनुपर्छ, भनेको समयमा इञ्जीनीयर आउँदैनन्, यातायात कार्यालयबाट मान्छे आउनुपर्छ, झन्झट भएकै कारण पनि समयमा काम हुन नसकिएको हो ।’ गत आर्थिक वर्षमा भन्सारले ८६ मोटरसाइकल र एउटा स्कारपियो लिलाममा बिक्री गरेको थियो । कोरोना सङ्क्रमण सुरु भएपछिको त्यो लिलाम प्रक्रिया पहिलो थियो । त्यसपश्चात भन्सारले सवारी साधनको लिलामीका लागि कुनै पहल नगरेको पाइएको छ । भन्सार कार्यालयसँग कति सवारीसाधन त्यसरी थन्किएका छन् भन्ने एकिन तथ्याङ्क पनि छैन । ‘भन्सारमा यति नै सवारीसाधन छन् भन्ने तथ्याङ्क हामीसँग छैन’, निमित्त प्रमुख थारु भन्छन्, ‘केही पुराना त केही नयाँ भएका कारण एकिन तथ्याङ्क भन्सारले राखेको छैन, फरक–फरक तथ्याङ्क भने हुनसक्छ ।’ राजस्व सङ्कलनमा पनि भन्सार निकै पछाडि परेको छ । चालु आव सकिन दुई महिना मात्रै बाँकी हुँदा भन्सारले लक्ष्यको ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अझै लक्ष्य पूरा गर्न भन्सारले दुई महिनामा कूल राजस्वको ६५ प्रतिशत सङ्कलन गर्नुपर्ने देखिएको छ । वैशाखसम्मको तथ्याङ्क हेर्दा भन्सारले पाँच करोड ९१ लाख १८ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । असारसम्म भन्सारले १६ करोड ९४ लाख ४२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यको सबैभन्दा बढी असोजमा ८२ प्रतिशत तथा सबैभन्दा कम भदौ र मङ्सिरमा १८ प्रतिशत राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख तीर्थराज पासवानले भन्सारको समस्या राजस्व सङ्कलनमा कमी आउनु मात्रै नभएको बताए । उनले भन्सार कार्यालयलाई चाहिने आवश्यक उपकरण नै नभएको जनाउँदै यस्तो अवस्थामा कार्यालय सञ्चालन गर्न निकै कठिन भएकाले थुप्रै व्यवस्थापकीय सुधार आवश्यक रहेको बताए । “कार्यालयमा एउटा गतिलो कम्प्युटरसम्म छैन, केही महत्वपूर्ण शीर्षकमा बजेट नै रहेनछ, जता पनि अस्तव्यस्त अवस्था कसरी काम गर्नु ?’, कार्यालय प्रमुख पासवानले भने, ‘विभागबाट केही बजेट माग गर्न लागि काठमाडौं पुग्नुपरेको छ, केही बजेट विनियोजन भयो भने कार्यालयलाई व्यवस्थापन गर्न सके त्यसपछि अन्य कुराको व्यवस्थापन गर्न समय लाग्दैन ।’ रासस

रोजगारी खोज्नेको लागि कर्मचारी सञ्चय कोषमा सुनौलो अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कर्मचारी सञ्चय कोषले विभिन्न तहका पदका लागि ४१ जना कर्मचारीको माग गरेको हो । उक्त कोषले खुला प्रतियोगिताद्वारा स्थायी पूर्तिका लागि विभिन्न तहका पदमा ४१ जनालाई रोजगारी खुलाएको हो । प्रकाशित सूचनाकाअनुसार कोषले प्रबन्धक पदमा प्राविधिक समूहका लागि खुलातर्फ १ जनालाई रोजगारी खुलाएको छ । साथै, उपप्रबन्धक पदमा प्रशासन समूहका लागि खुल्लातर्फ १ र मधेशीतर्फ १ जनालाई रोजगारी खुलाएको छ । उपप्रबन्धक पदका लागि प्रशासनतर्फ नै खुल्लामा १ जना, आदिवासी जनजातीमा १ जना र मधेशी समूहमा १ जनाका लागि रोजगारी खुलाइएको छ । कोषले उपप्रबन्धक वित्त विश्लेषक पदका लागि प्रशासन समूहमा खुलातर्फ १ जना र आदिवासी जनजातीतर्फ १ जना, सशायक प्रबन्धक पदमा प्रशासन समूहका लागि खुलातर्फ १३ जना, महिलातर्फ ५ जना, आदिवासी जनजातितर्फ ३ जना, मधेशीतर्फ २ जना र पिछडिएको क्षेत्रतर्फ १ जनाका लागि रोजगारी खुलाइएको छ । त्यस्तै, सशायक प्रबन्धक कानुन पदका लागि प्रशासनरकानुन समूहमा आदिवासी जनजाति १ जना, सहायक प्रबन्धक स्टिम पदका लागि प्राविधिक कम्प्युटर समूहका लागि खुलातर्फ १ जना, सहायक प्रबन्धक कम्युटर इन्जिनियरका लागि खुलातर्फ २ जनालगायतका विभिन्न पदका लागि लागि रोजगारी खुलाइएको छ । कोषकाअनुसार इच्छुक उमेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र नियमित दस्तुरमा र २१ दिनपछिको थप ७ दिनसमम दोब्बर दस्तु तिरेर दरखास्त बुझाउन सकिनेछ ।

सबैलाई सम्मानीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध छ : रेशम चौधरी

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले  सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गरेका छन् । मंगलबार सर्वोच्चले चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो । जसबारे चौधरीले एक विज्ञप्तीमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् । सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । ‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको बताउादै उनले केहि दिनमा ‘धरातल’ नामक पुस्तकका ल्याउने बताएका छन् ।

चितवनका हाँसका परिकार काठमाडौंका भोजमा, रमाउँदै पर्यटक

चितवन । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौंका भोज र घरमा पुर्याउँदै आएका छन् । सौराहामा कमाण्डरका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाउँछन् । उनको रेष्टुरेन्टमा पुगेर खानेहरु त हुन्छन् नै देशका विभिन्न भागबाट माग गर्नेको पनि कमी हुँदैन । उनले पूर्वको इटहरीदेखि काठमाडौँसम्म हाँसका परिकार तयार पारेर पठाउँदै आएका छन् । पछिल्लो समय बनेका परिकार जहाजबाट उनले पठाउने गर्छन् । पैसा अनलाइन सेवामार्फत् उनको खातामा आउँछ । साँझपख उनका पाँच वटै कटेज भरिएर आँगनमा पाहुना हाँसका परिकारमा रमाउने गर्दछन् । कोभिडपछि व्यापार घटेको दुखेसो उनको छ । अनठाउन्न वर्षीय कमाण्डरलाई अबका दिन विगत जस्तो काम गर्ने जाँगर भने छैन । विगत सम्झँदै उनले भने, ‘एकै दिन १२ वटासम्म हाँसका परिकार बनाएर काठमाडौं पठाएँ, रेष्टुराँमा २४ वटासम्म हाँस बनाएर पाहुनालाई खुवाएको छु ।’ जिउँदो हाँसलाई काटेर सालको दाउराको आगोमा पोलेर हड्डी छुट्याएर आफैले सिलौटीमा पिनेको मसलामा पकाएको हाँसको स्वाद धेरैले मन पराएको उनी बताउँछन् । छुट्याएको हड्डीलाई मिठो हुने गरी उनले सुप बनाउँछन् । बाहिर पठाउँदा मसला मोलेको तयारी मासु र हड्डी छुट्टाछट्टै उनले पठाउने गर्छन् । उनले भने, ‘सालबाहेकका दाउरा प्रयोग गर्दिन, बजारको मसला राख्दिन ।’ अदुवा र लसुनको लेदोले उनले बनाएको हाँसको छोइलाको स्वाद धेरैलाई मनपर्ने गर्दछ । हाँससँगै उनले स्थानीय खोलामा पाइने माछा र स्थानीय जातका कुखुराका परिकार पनि खुवाउँछन् । उनीसँगै श्रीमती, तीन छोरा, दुई बुहारी सँगसँगै काम गर्छन् । भर्खरै मात्र छोरीको विवाह भएकाले काम गर्न छाडेको उनले बताए । उनले भने ‘सबै परिवार मिलेर काम गर्छौ ।’ कमाण्डरको आफ्नै जीवनकथा छ । नेपाली सेनामा १६ वर्ष सेवापछि विसं २०५४ मा निवृत्त भएसँगै उनको पेसा रेष्टुराँ बन्यो । भरतपुरको गीतानगरमा जन्मिएका उनले निवृत्त जीवनसँगै सौराहामा रेष्टुराँ सुरु गरे । चरम द्वन्द्वको समयमा हतियार खेलाउन जानेका कमाण्डरलाई माओवादीले सँगै लैजाने डरले भागेर उनले बुटवल र वीरगन्जमा लुकेर गार्डमा काम गरे । द्वन्द्व मत्थर भएपछि पुनः सौराहा फर्किएर उनले थप सङ्घर्ष गरे । जेनतेन श्रीमतीले धानेको रेष्टुरेन्टलाई राम्रो बनाएर सौराहाको हात्तीचोक वरिपरि चार ठाउँमा सर्दै रेष्टुरेन्ट चलाए । त्यहाँ बचाएको रकमले उनले हात्तीचोक भित्रपट्टी ३८ धुर जमिन पनि किने । त्यही जमिनमा अहिले उनको घरसहितको कटेज छ । यही कटेजबाट विसं २०७३ देखि उनको रेष्टुरेन्ट सञ्चालन हुँदै आएको छ । त्यहाँ कहिले ४५ हजार रुपैयाँसम्मको व्यापार हुन्छ भने कहिले केही पनि हुँदैन । थारु जातिको परम्परागत स्वादका पारखीका लागि कमाण्डरको रेष्टुराँ रोजाइ बन्ने गरेको छ । चितवन र बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकसमेत यहाँ हाँसको परिकारमा रमाउन पुग्ने गर्दछन् । रासस

१० प्रतिशत क्रस होल्डिङ्ग भएका भुक्तानी प्रदायक संस्थालाई मर्जरका लागि बाध्य गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दोहोरो लगानी (क्रस होल्डिङ्ग) भएका भुक्तानी प्रदायक संस्थालाई मर्जरका लागि निर्देशन दिन सक्ने भएको छ । भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ सार्वजनिक गर्दै कुनै संस्थाका सञ्चालकहरूको अर्को संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको अवस्थामा बाध्यात्मक मर्जरका लागि निर्देशन दिन सक्ने भएको हो । ‘भुक्तानी सम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त कुनै संस्थाका सञ्चालकहरूको अर्को संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको अवस्थामा त्यस्ता संस्थाहरूलाई बाध्यात्मक रुपमा एक आपसमा गाभ्न÷गाभिन वा प्राप्ति गर्न निर्देशन दिन सक्नेछ,’ राष्ट्र बैंकले भनेको छ । यस्तै, सैद्धान्तिक सहमति प्राप्त गरी तोकिएको मितिमा अन्तिम स्वीकृतिका लागि निवेदन पेश नगर्ने वा अन्तिम स्विकृति प्राप्त गरेपश्चात तोकिएको मितिमा एकीकृत कारोबार नगर्ने संस्थालाई भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ बमोजिम कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रदायक कम्पनी पनि मर्जरमा जाने गरी विनियमावली २०७७ को पहिलो संशोधन गरेको हो । [pdf id=410332]

ललितपुरमा गैँडाको खागसहित ३ पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग ओखेटोपहार सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौं नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । उक्त चोक नजिक गैँडाको खाग खरिदबिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाएको छ । रासस

नेपाल विश्वविद्यालय विधेयक फिर्ता हुँदैन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडी सारेको बताए । उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘परम्परागत ढाँचामा चल्ने विश्वविद्यालयहरु मात्रै लिएर जानु उपयुक्त हुँदैन, नयाँ–नयाँ प्रयोग गरेर जानुपर्छ, नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयको रुपमा बनाउनुपर्छ ।’ बैठकमा बोल्दै नेकपा९माओवादी केन्द्र०का सांसद सुरेशकुमार आले मगरले विधेयकलाई अगाडी बढाउनुपर्ने बताए । विधेयक कसले ल्यायो भन्दापनि कस्तो ल्यायो भन्नेकुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले ठिक भएको खण्डमा अगाडी बढ्नुपर्ने बताए । विधेयकको सम्बन्धमा पछाडी फर्किनु नहुने उनले धारणा राखे । यस्तै, नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले नेपालमा धेरै विश्वविद्यालय आवश्यक नभएको बताए । ‘त्रिभुवन विश्वविद्यालयलाई राम्रो बनाउनुपर्छ, सम्भव भए नेपाल विश्वविद्यालय विधेयकलाई जहाँबाट आएको हो उतै पठाइदिनुपर्छ,’ उनले भने ।

बाँकेमा सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ बीमा गरिने

जानकी । बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले बताइन् । उनले आर्थिक वर्ष २०८०र८१ देखि सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ बीमा नगरपालिकाले गर्ने बताएका हुन् ।  ‘उपचारका क्रममा सम्पत्ति सकिने अवस्था अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ’, उपप्रमुख सुवेदीले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिका संवेदनशील भएको हुनाले स्वास्थ बीमा गरिदिन लागिएको हो ।’ सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि एक लाख रुपैयाँ पाउँदै आएका छन् । जनस्वास्थ्यमा समस्याका रुपमा रहेको र उपचारका लागि उक्त रकम पर्याप्त नभएको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा राजन पाण्डेले बताए । ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ । उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ’, उनले भने । डा पाण्डेले सिकलसेलका बिरामीले पाउँदै आएको रकमसमेत अपुग भएको बताए । राज्यले दिने एक लाख रुपैयाँ सकिएपछि सिकलसेलका धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन् । सिकलसेल तथा थालेसेमियाजस्ता रोगबाट ग्रसित रोगी सबैलाई स्वास्थ बीमामा समेट्नु पर्नेमा डा पाण्डेको सुझाव थियो । कोहलपुर नगरपालिकामा मात्र सिकलसेलका ११ हजारको परीक्षण गर्दा ९२ जना ट्रेड र एक हजार बढी वाहक फेला परेका छन् । त्यसैगरी, एक सय ५० जना थालेसेमियाका वाहक फेला परेको वडा नं १५ का अध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । रासस