एकीकृत समाजवादीका नेताहरू गृह मन्त्रालयमा
काठमाडौं । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दवाव वा प्रभाव आएपनि छुट दिन नसकिने बताएका छन् । साथै दोषी नउम्कने, निर्दोष नफस्नेगरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी समेत उनले दिएका छन् । एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित ३० भन्दा बढी नेताहरू संलग्न प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री श्रेष्ठलाई आज मन्त्रालयमा ज्ञापनपत्र दिएर नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई गिरफ्तार गरी हदैसम्मको कानुनी कार्वाही गर्न माग गरेको सन्दर्भमा उनले सो धारणा व्यक्त गरेका हुन् । एकीकृत समाजवादीले यस काण्डका अपराधीलाई कानूनी कावाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आमनागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकोमा सरकारलाई धन्यवाद समेत दिएको छ। देशका उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरूले नै आफ्ना नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाएर मानव बेचविखन, राष्ट्रप्रति धोखा र राष्ट्रद्रोहको कुकर्म गरेको तर यसलाई आधार बनाएर विभिन्न आवरणका प्रतिगामी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजेकोप्रति चनाखो हुनुपर्ने एकीकृत समाजवादीको अडान छ। विगतका धेरै भ्रष्टाचार काण्डहरू बीचैमा सामसुम पारिएका हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलोमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न एकीकृत समाजवादीले ध्यानाकर्षण गराएको छ। यसैबीच मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय टोलीले आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीहरूलाई कार्वाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गरेको छ।
आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने
काठमाडौं । आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने भएको छ । आइएमई डिजिटल सोलुसनको आइएमई पेु ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । उक्त अफर अन्तर्गत् ग्राहकले प्रत्येक कारोवारमा १०० रुपैयाँ सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् । यो अफर जेष्ठ १ देखी असार ३१ सम्म चल्ने छ। आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो । यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको हो ।
उदयपुरबाट ९ हजार युवा रोजगारीका लागि विदेसिए
उदयपुर । उदयपुरबाट एक वर्षभित्र ९ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् । सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतका अनुसार जिल्लाबाट मलेसिया जाने युवाको सङ्ख्या सबैधन्दा धेरै छ । मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका उनले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या आठ हजार आठ सय ६८ छन् । ‘विगतका वर्षमा सीप तथा तालिम नलिई युवाहरु वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरुले विदेशमा धेरै समस्या झेल्नु परेको थियो’, सामीका संयोजक बस्नेतले भने । अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उनले बताए । यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झोल्ने गरेका बस्नेतको भनाइ थियो । रासस
२३ अंकले बढ्यो नेप्से, आत्मानिर्भर लघुवित्तको सेयरमा सर्किट
काठमाडौं । बुधबार सेयर बजार २३.३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १८४५.०१ विन्दुमा पुगेको छ । आज २५ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ८५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेनेटले पाँच करोड ४६ लाख रुपैयाँको गरेको छ । आज आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यमा सर्किट लागेर प्रति कित्ता सेयरधनीले ८४.४० रुपैयाँ कमाएका छन् । यस्तै, आज माइ खोला हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता २३.९० रुपैयाँ गुमाएका छन् ।
रिकभरीमा सुधार हुने अपेक्षामा बैंकर्स, ब्याज घटाउँदै लग्ने रणनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत् गरेको नीतिगत व्यवस्थाले बैंकरहरुलाई केही आशा पलाएको छ । अहिले रिकभरीमा (ऋण असुली) समस्या देखिएर खराब कर्जाको अनुपातले अत्तालिएका बैंकरहरु राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् केही नयाँ व्यवस्था गरेसँगै अब खराब कर्जा घट्दै जाने आशामा देखिएका हुन् । राष्ट्र बैंकले गरेको नीतिग व्यवस्थाले आगामी दिनमा थप तरलता सहज हुने, रिकभरीमा सुधार भएर खराब कर्जा अनुपात पनि घट्दै जाने र बैंकहरुले पनि लगानी गर्न सक्ने र आर्थिक गतिविधि पनि बढ्दै जाने अपेक्षामा बैंकहरु छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिएको छ । यस्तै, लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलव्ध गराउने, आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । समस्या परेका क्षेत्रलाई किसिमको हर्जाना/शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था पनि गरेको छ भने आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । यी विभिन्न व्यवस्थाहरुले समस्यामा परेका ऋणीहरुलाई राहत भएर त्यसको सकारात्मक प्रभाव बैंकहरुमा पनि पर्ने बैंकरको बुझाइ छ । राष्ट्र बैंकले बैंकदर पनि एक बिन्दुले घटाउँदा बैंकको ब्याजदर पनि घट्ने अपेक्षा गरिएको छ । मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै पत्रकार सम्मेलनको आयोजना गरेर गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अब घट्दै जाने बताएका थिए । उनले ब्याजदर घट्ने देखेर नै बैंकदर घटाएको बताएका थिए । बैंकरहरु पनि राष्ट्र बैंकको नीतिले आगामी दिनमा थप सुधार हुँदै जाने बताउँछन् । बैंकरहरुले साढे ८ प्रतिशतको बैंक दरलाई साढे सात प्रतिशतमा झार्दा सरकारी ऋणपत्रको ब्याज घटाउने र बैंकहरुलाई सस्तोमा निक्षेप उठाउन बाध्य बनाउने बताएका छन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारीले राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थासँगै ऋणीहरुलाई पनि राहत हुने बताएका छन् । यी विभिन्न नीतिगत व्यवस्थाले ऋणीलाई सावाँ र ब्याज भुक्तानी गर्न पनि सहज हुने उनको भनाइ छ । ‘समस्यामा परेका क्षेत्रलाई राष्ट्र बैंकले राहतको व्यवस्था गरेको छ, अब ती क्षेत्रमा सुधार भएपछि उनीहरुले सावाँ ब्याज पनि नियमित तिर्छन्, बैंकको रिकभरी राम्रो भएर खराब कर्जामा पनि सुधार हुन सक्छ, अब विस्तारै बैंकहरुको ब्याजदर पनि घट्दै जानेछ, तरलता सहज हुन्छ, यो क्षेत्रमा सुधार भएपछि बैंकको रिकभरीमा पनि सुधार हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने । पछिल्लो समय निष्क्रिय कर्जा बढ्दाको प्रभाव बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा परिरहेको छ । अर्थतन्त्रमा देखिएको शिथिलताले कर्जा असुलीमा समस्या हुँदा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा असर परेको छ । निर्माण तथा पर्यटन क्षेत्र समस्यामा हुँदा बैंकको खराब कर्जा बढेको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा साढे ३ प्रतिशत छ । चैत मसान्तसम्म बैंकहरुले साढे ३१ अर्ब बढी प्रोभिजन गरेका छन् । अब यो दर घट्दै जाने अपेक्षामा बैंकरहरु छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताएका छन् । उनले राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकको खराब कर्जा कम हुने, कर्जाको माग बढ्ने धारणा राखे । यस्तै, होटल तथा रेष्टुरेण्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रले दिएको बैंकको कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले कर्जा संकलनमा देखिएको समस्यालाई सहज बनाउने उनले बताए ।
परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन
चितवन । नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उहाँहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन् । चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा श्यामराज रेग्मीले समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरे उच्च रक्तचापले समस्या नल्याउने बताए । उनले उच्च रक्तचाप भएकाहरुले मुख्य गरी मुटु, मिर्गौला, मधुमेह, कोलेस्ट्रोल र थाइराइडको अवस्थाका बारेमा समयसमयमा परीक्षण गरेर हेर्नुपर्ने बताए । उच्च रक्तचाप हुने खास कारण कसैलाई थाहा नहुने जानकारी दिँदै उनले भने, ‘उच्च रक्तचाप हुने धेरै कारण हुन्छन्, ९५ प्रतिशत मानिसमा उच्च रक्तचापको कारण थाहा हुँदैन ।’ पाँच प्रतिशतमा बाहिरी कारण हुने जनाउँदै उहाँले मिर्गौला, थाइराइडको रोग र इन्डोक्राइमसम्बन्धी रोग ९हर्मोनको वृद्धि० का कारण उच्च रक्तचाप हुन सक्ने जानकारी दिए । उनले भने, ‘बाथ रोगमा उपयोग हुने स्टेरोइड भन्ने औषधि धेरै समयसम्म प्रयोग गरेपछि उच्च रक्तचाप हुन सक्छ ।’ दैनिक जीवनशैली र मोटोपनाका कारणले पनि उच्च रक्तचाप हुन सक्छ । यी सबैबाहेक केही नभएकालाई पनि उच्च रक्तचाप हुन सक्ने उनी बताउँछन् । वंशजका आधारमा पनि उच्च रक्तचाप हुनसक्ने डा रेग्मीको भनाइ छ । उनले भने, ‘उच्च रक्तचाप हुनु आफैँमा ठूलो कुरा होइन, अर्थात् रोग लाग्नु ठूलो कुरा होइन, रोग लागिसकेपछि उपचार र रोकथाम ठूलो कुरा हो ।’ रक्तचाप भनेको रगतका नली ९रक्तनाली० मा चाप पर्ने हो । रक्तनली शरीरका सबै भागमा पुगेका हुन्छन् । त्यही भएर रक्तचापले शरीरका सबै भागमा असर गर्दछ । उनले भने, ‘मिर्गौला फैलिएर गराउन सक्छ, दिमागमा स्टक गरेर प्यारालाइसिस गराउन सक्छ, हातखुट्टाका नसा बन्द भएर नसै काट्नुपर्ने समस्या आउन सक्छ ।’ भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिने जनाउँदै उहाँले विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोग निम्त्याउन सक्ने बताए । उनले भने, ‘विश्वमै उच्च रक्तचापको अवस्था बढिरहेको छ, पहिला १० प्रतिशत, २० प्रतिशत उच्च रक्तचापका बिरामी थिए, अहिले बढ्दै गएर एक सयमा ३६ प्रतिशतसम्ममा उच्च रक्तचाप देखिन थालेको छ’, उनले भने, ‘मुटुले रगत फ्याँक्ने क्रममा रक्तनलीको भित्तामा दबाब पर्छ, त्यो दबाबलाई खासमा रक्तचाप भनिन्छ, नलीमा बग्ने रगत उत्तिकै छ, तर नली विभिन्न कारणले साँघुरो हुन पुग्यो भने रगतले नलीलाई दिने चाप बढ्छ ।’ उनका अनुसार यसरी रक्तनलीमा बढेको चाप नै उच्च रक्तचाप (हाई बिपी) हो । त्यसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले अकालमै जीवन क्षति हुन सक्ने उनी बताउँछन् । उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, टाउको भारी हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, श्वास लिन कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने उनको भनाइ छ । वयस्क व्यक्ति हरेकले कम्तीमा पनि एक वर्षमा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउन डा गौतमले सुझाव दिए । यसो गरे भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिने जनाउँदै उनले उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्ने बताए । उनले भने, ‘यदि कसैको घरमा उच्च रक्तचापका बिरामी छन् भने उसको घरपरिवार झन् बढी सजक हुनुपर्छ, परिवारको सबैले समयसमयमा उच्च रक्तचाप जँचाउनुपर्छ ।’ रासस
सागरनाथ वन विकास परियोजनाका कर्मचारीले पनि ९ महिनादेखि तलब पाएनन्
सर्लाही । सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन् । सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्माचारी सङ्गठन प्रारम्भिक कार्य समितिका पदाधिकारीले संयुक्तरुपमा आन्दोलन सुरु गरेका परियोजनाको मजदुर युनियन अध्यक्ष सन्तोष साह तेलीले जानकारी दिए । उनीहरूले परियोजनाको कार्यालयमा तालबन्दी पनि गरेका छन् । लामो सयमदेखि तलब खान नपाउँदा पनि परियोजना प्रमुखले बेवास्ता गरेकाले आफूहरु आन्दोलनमा उत्रिएको नेपाल निजामती कर्मचारी सङ्गठन प्रारम्भिक कार्य समितिका जिल्लाअध्यक्ष छत्रबहादुर डुम्जनले बताए । यी दुई कर्माचारी सङ्गठनहरुले गत चैत २७ गते एक हप्ताभित्र रोकिएको तलब उपलब्ध गराउन संयुक्त विज्ञप्ति जारी गर्दै माग गरे पनि परियोजना प्रमुख रामकिशोर यादव मौन बसेका कारण कार्यालयमा तालाबन्दी गरिएको उनको भनाइ थियो । माग पूरा नभए जेठ १ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको थियो । यता परियोजना क्षेत्रमा उत्पादित वन पैदावार बिक्री वितरण नभएकाले कर्माचारीहरुको तलब रोकिएको परियोजना प्रमुख यादवले बताए । उनका अनुसार उत्पादित वन पैदावार बिक्री वितरण गरेर मासिक करिब ५० लाख रुपैयाँ तलबमा खर्च गर्नुपर्ने भए पनि सरकारबाट कुनै किसिमको सहयोग नभएका कारण परियोजना आर्थिकरूपमा टाट पल्टिएर तलब खुवाउन नसकिएको हो । विसं २०५३मा स्थापना भएको उक्त परियोजनामा ज्यालादारी, करार र स्थायी गरेर एक सय ४६ जना कर्माचारी कार्यरत छन् । रासस
३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक उन्मुक्ति पार्टीको माग
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले ३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् । ‘त्यो आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट(न्यायलय)भन्दा राजनीतिक हिसाबबाटै हल समाधान हुनुपर्थ्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको हो,’ विज्ञप्तीमा भनिएकाे छ । मंगलबारको सर्वोच्च अदालतको फैसला स्वीकार्य भए पनि राजनीतिक मुद्दा अदालती नभएको नागरिक उन्मुक्ति पार्टीको भनाइ छ । मंगलबार सर्वोच्चले चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो ।