मालसामान बोकेका कन्टेनर र ट्रक बाटोमै अलपत्र, ७ वटा उत्तरी नाका खोल्न माग
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थल मार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गतेको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ । बाढी पहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका दुई सातादेखि अवरुद्ध छ । प्राकृतिक प्रकोपका कारण अकस्मात् नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौं कन्टेनर र ट्रकहरूबीच बाटोमै अलपत्र परेका छन् । चीनसँगको आयात-निर्यात सहज बनाउन अन्य नाकाहरू खोल्नु जरुरी रहेकाले कूटनीतिक पहलमार्फत ती नाकाहरू अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकामा पूर्वाधारको व्यवस्था गर्न सङ्घले सरकारलाई आग्रह गरेको हो । व्यवस्थापिका संसदको विकास समितिले विसं २०७२ मा उत्तरी नाकाहरूको अवस्था अध्ययन गरी कोरला र ओलाङचुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो । नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा ७ वटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकाहरूमा तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए । कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट दुई मुलुकबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । ती नाका छिटो भन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाका सञ्चालनमा ल्याउने वातावरण तयार गर्न सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ । चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आम उपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व गुम्ने अवस्था रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सङ्घले उत्तरका थप नाकाहरू व्यापारिक प्रयोजनको लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ ।
दक्षिण कोरियाले नेपाललाई सवा १ अर्ब अनुदान दिने
काठमाडौं । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति १ अर्ब २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।
मनसुन क्रमशः कमजोर हुँदै, कोशी र गण्डकीमा भारी वर्षा
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने छ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
नेपाल रुबेलामुक्त देश
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई रुबेलामुक्त भएको देशका रूपमा घोषणा गरेको छ । योसँगै नेपाल रुबेला उन्मुलन गर्ने विशिष्ट देशहरूको सूचीमा सामेल भएको छ । भुटान, उत्तर कोरिया, माल्दिभ्स र तिमोर लेस्टे योभन्दा अगाडि नै रुबेला मुक्त भइसकेका छन् । नेपाल दिक्षणपूर्वी एशियामा छैटौं देशका रूपमा रुबेला मुक्त घोषणा भएको डब्ल्यूएचओले जनाएको छ । नेपालले सन २०१८ मै रुबेला र जन्मजात रुबेलाका लक्षणलाई नियन्त्रणमा ल्याइसकेको थियो । सन २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गरेको थियो । सन् २०१६ मा नियमित तालिकामा रुबेला खोपको दोस्रो मात्रा थप गरिएको थियो । त्यसपछि सरकारले नियमित रूपमा खोप कार्यक्रम अगाडि बढाएको थियो । जसको परिणाम सन् २०२४ मा नेपालले कम्तीमा एकमात्र रुबेला खोपको ९५ प्रतिशत भन्दा बढीले खोप पाएका थिए । नेपालले सन २००४ देखि नै रुबेला रोकथामका लागि काम गरेको थियो । नेपालले कार्यक्रम सुरु गरेको २१ वर्षपछि सफलता हात पारेको छ । के हो रुबेला ? रुबेला संक्रामक रोग हो । यसलाई जर्मन मिजल्स पनि भनिन्छ । चाँडै महामारीको रूपमा फैलने यो रोग पहिले पहिले नेपालमा डरलाग्दो रोगका रूपमा देखिने गर्थ्यो । विशेषगरी यो रोग पाँच वर्षमुनिका बालबालिकामा देखा पर्छ । भाइरस शरीरमा गएको छोटो समयमा छालामा रातो बिबिरा देखिने ज्वरो आउने हुन्छ । एक पटक दादुरा संक्रमण भएको व्यक्तिमा अर्को पटक यो रोग लाग्दैन । धेरै वर्ष पहिले महामारीको रुपमा देखिने यो रोग पछिल्ला केही समयमा निकै कम हुँदै गएको छ । यो रोग बिरामीले खोक्दा हाच्छयुँ गर्दा श्वासप्रश्वासबाट सर्ने गर्छ । यो रोग लाग्दा आँखा रातो हुने, शरीरमा बिमीरा आउने,हल्का ज्वरो आउने, आँसु बग्ने हुन्छ । यो रोग गर्भवती महिलाका लागि निकै गम्भीर मानिन्छ । किनकि यसले गर्भपतन, मृत शिशु जन्म वा जीवनभर असर गर्ने गम्भीर जन्मजात विकृति ल्याउन सक्छ।
अटो शोमा नयाँ गाडी लञ्च गर्ने लहर, अब यी आकर्षक गाडी गुड्नेछन् सडकमा
काठमाडौं । नाडा अटो शोमा नयाँ गाडीहरू सार्वजनिक गर्ने लहर सुरु भएको छ । मंगलबार सुरु भएको नाडा अटो शोमा पनि आकर्षक नयाँ गाडीहरू सार्वजनिक भएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शोमा उड्ने कारदेखि विश्व अटो बजारमा आएका नयाँनयाँ गाडीहरू सार्वजनिक भएका छन् । यसले नाडा अटो शोको आकर्षणमा थप उत्साह थपेको छ । यस पटकको नाडा अटो शोमा इलेक्ट्रिक भेहिकल (ईभी) को बाहुल्यता देखिएको छ भने एमएडब्लु ग्रुपले प्रदर्शनमा राखेको ‘फ्लाइङ ट्याक्सी’ अवलोकनकर्ताका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ । यी हुन् लञ्च भएका नयाँ गाडी बीवाईडी एटो–टू चिनियाँ ईभी निर्माता बिवाईडीले यस पटकको अटो शोमा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी ‘एटो टू’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो गाडी डल्फिन र एटो थ्रीको बीचको भेरियन्ट हो । यसमा १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक छ । एक पटकको फुल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । यसको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोमा नगद छुट नभए पनि मोटर र ब्याट्रीमा ८ वर्षको सट्टा १० वर्षको विस्तारित वारेन्टी प्रदान गरेको छ । नबिल बैंकसँगको सहकार्यमा ७ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपलब्ध रहेको कम्पनीको दाबी छ । सुजुकीको ई-भिटारा सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयुभी ‘ई-भिटारा’ लाई शोमा प्रदर्शनमा राखेको छ । तर, यसको आधिकारिक लन्च र मूल्य भने सार्वजनिक गरिएको छैन । कम्पनीका अनुसार यसको ब्याट्री ४१ किलोवाट र ६१ किलोवाट गरी दुई भेरियन्टमा आउनेछ । ५०० किलोमिटरभन्दा बढीको रेन्ज दाबी गरिएको छ । ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र १८ इन्चको डायमण्ड कट ह्विल जस्ता फिचरहरू रहनेछन् । यसको अनुमानित मूल्य ६० देखि ७० लाखको बीचमा रहने अनुमान छ । हाललाई ‘शो–पिस’ का रूपमा मात्र राखिएको र यसै साताभित्र मूल्य सार्वजनिक गरिने सेल्स अफिसर देवराज ढकालले जानकारी दिए । अटो शोमा ब्रेजा, जिम्नी र फ्रन्क्स जस्ता सफल मोडलहरू पनि राखिएको छ । टाटा टियागो ईभी नयाँ रङमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस पटक सफारी डिजेल मोडल लन्च गर्नुका साथै लोकप्रिय ‘टियागो ईभी’ लाई नयाँ ‘एरिजोना ब्लु’ रङमा प्रस्तुत गरेको छ । टियागो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसले २४ किलोवाटको ब्याट्री प्याक, २०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । टाटाले नाडा अफर सबै ईभीमा नगद छुट गरेको छ । एक वर्षको निःशुल्क बीमा र एक्सेसरीज उपलब्ध गरिएको कम्पनीले जनाएको छ । जसमा तीन वर्षसम्मको निःशुल्क सर्भिसिङको सुबिधा रहेको छ । यस्तै टाटाको चार्जिङ नेटवर्कमा निःशुल्क चार्जको सुविधा दिएको छ। बैंकिङ सुविधा अन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ६० प्रतिशत सम्म कर्जा पाइने र प्रभु बैंक (६.२८ प्रतिशत) तथा एभरेस्ट बैंक (६.५२ प्रतिशत) जस्ता बैंकहरूले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिइरहेको प्रतिनिधि निरज डांगीले बताए । फोटोन जी सेभेन कमर्सियल भेइकल सेगमेन्टमा फोटनले आफ्नो जी सेभेन पिकअपलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ । यसमा लक्जरी भेरियन्टको ६५ लाख ४० हजार र फ्ल्यागसिप भेरियन्टको ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसका साथै युनिक फिचर पिकअप सेगमेन्टमै पहिलो पटक सनरुफको सुविधा रहेको कम्पनीले जनाएको छ । जसको २२५ एमएमको उच्च ग्राउन्ड क्लेरेन्स रहेको छ । नाडा अटो शो अफर अन्तर्गत बुकिङ गर्ने ग्राहकलाई ३ वर्षको सर्भिस प्याकेज, बीमा तथा ४ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने जनाएको छ । एमएडब्लूले नै सार्वजनिक गरेको उड्ने कार पनि नाडा अटो शोमा आकर्षकका रुपमा देखिएको छ । यो दुई सिट क्षमताको पूर्णत इलेक्ट्रिक सवारी हो । ३० देखि ५० किलोमिटरसम्मको रेन्ज क्षमता रहेको छ । जीपीएसमार्फत स्वचालित रूपमा सञ्चालन गर्न सकिन्छ । नेपालमा यससम्बन्धी नीति–नियम नभएकाले हाल डेमो उडान नगरिएको र बिक्रीका लागि उपलब्ध छैन । चीनमा यसको परीक्षण उडान भइसकेको र सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा छ । सरकारले आवश्यक नीति–नियम र पूर्वाधार बनाएमा नेपालको पहाडी क्षेत्रमा उद्धार कार्य र काठमाडौं जस्तो सहरमा ट्राफिक जाम कम गर्न यो निकै उपयोगी हुन सक्ने बताइएको छ । नामी नयाँ एसयुभी ‘भिगो’ एमएडब्लु वृद्धि मोटर्सले नामी ब्राण्डअन्तर्गत नयाँ फुल साइज एसयुभी ‘भिगो’ लन्च गरेको छ । कम्पनीका अनुसार यसमा ग्राउन्ड क्लेरेन्स १९० एमएम रहेको छ । ‘हेभेन एन्ड हेल’ टेलगेट, जुन क्याम्पिङका लागि निकै उपयोगी छ । यसमा नाडा विशेष मूल्य तोकिएको छ । बेस भेरियन्टको ३७ लाख ९९ हजार र टप भेरियन्टको ४० लाख ९९ हजार रुपैयाँ १ लाख छुटसहित उपलब्ध गर्ने बताएको छ । अन्य मोडलमा अफर नामी ई–थ्री ह्याचब्याकमा ८० हजार रुपैयाँ छुट उपलब्ध गरेको छ ।
ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिन प्रोटोन र जगदम्बा मोटर्सको लक्ष्य
काठमाडौं । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय सवारीसाधन भविष्यलाई लक्षित गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाएका छन् । मलेसियामा विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को नेपालमा शुभारम्भ गर्दै दुवै कम्पनीले दीर्घकालीन साझेदारीका लागि प्रतिबद्धता स्पष्ट पारेका हुन् । जगदम्बा मोटर्स प्रोटोनको आधिकारिक वितरक हो। मलेसियाली बजारमा प्रोटोन इमास ७ ले पहिले नै उल्लेखनीय सफलता पाइसकेको छ । जुलाई २०२५ सम्म यो मलेसियामा नम्बर १ इभी मोडेल बनेको छ । प्रोटोन इमास ७ सी(सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित भएको छ । समग्र रूपमा सबैभन्दा बढी बिक्री हुने इभी बनेर बजारमा अग्रणी स्थान ओगटेको हो। १४ वर्षभन्दा बढी अनुभव बोकेको जगदम्बा मोटर्सले नेपालमा प्रोटोनको सफल यात्रा सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको छ । कम्पनीले ग्राहकमैत्री योजनासहित देशभर सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ । सन् २०२५ को अन्त्यसम्म १२ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइनेछ (जसमध्ये ३ हाल सञ्चालनमा छन्) बिक्रीपछिको सेवामा कुनै कसुर बाँकी नराख्ने कम्पनीले जनाएको छ । नेपालमा यो मोडेलको आगमनसँगै प्रोटोन र जगदम्बा मोटर्सले ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिने र इलेक्ट्रिक सवारी प्रणालीलाई मुख्यधारमा ल्याउने लक्ष्य राखेका छन् ।
नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग रिलायन्सको नाफा १ अर्ब ४८ करोड
काठमाडौं । नेपालको अग्रणी तथा प्रतिष्ठित निर्यात उद्योग रिलायन्स स्पिनिङ मिल्सले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ कुल नाफा कमाएको जनाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ करोड ५० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा उद्योगको कुल नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ५ हजार रुपैयाँ कुल नाफा कमाएको उल्लेख छ । कम्पनीले गत वर्ष अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्षमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो । २०५४ सालमा स्थापित रिलायन्स मिल्स नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको उद्योग हालसम्म कुल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन्, जहाँ १ हजार ३ सय महिलासहित ४ हजार व्यक्तिले रोजगारी पाएका छन् । युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता गोल्यानलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो । गोल्यान ग्रुपको प्रबन्ध निर्देशकसमेत रहेका अक्षयले स्पिनिङ मिल्ससहित विभिन्न कम्पनीको नेतृत्व गरिरहेका छन् ।
नाडा अटो शोमा चांगान लुमिन सार्वजनिक, मूल्य २३ लाख रुपैयाँ
‍काठमाडौं । नेपालका लागि दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मंगलबार चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ । नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । चांगान लुमिनको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । चांगान लुमिनमा ३५ किलोवटा मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज (एनईडीसी) दिने कम्पनीले जनाएको छ। गाडी ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ जसमा कार प्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल र इलेक्ट्रोनिक नब सिफ्टर जस्ता स्मार्ट फिचर छन् । सानो आकार हुँदाहुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाईली र्याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ । साथै यसमा डुअल एअरब्या, हाई स्ट्रिन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिंग सिस्टम, इएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोट्रेस सेफटी सिस्टम जस्ता सुरक्षात्मक सुविधाले चालक र यात्रु दुवैलाई पूर्ण आत्मविश्वास प्रदान गर्छ । चांगान लुमिनको मूल्य २२ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।