मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने, प्रतिमेगावाट १३ करोड लागत
काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकको बीचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरूप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ । म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक रहेको छ । आयोजना नदी प्रवाही प्रकृतिको रहेको छ । आयोजनाबाट वार्षिक रुपमा औसत १७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन मार्फत धारापानीमा रहेको २२० केभी क्षमताको राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर पठाइनेछ । आयोजनाको कूल लागत ३ अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहनेछ । यस आधारमा प्रतिमेगावाट लागत १३ करोड ३ लाख रुपैयाँ रहनेछ । वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावराीय प्रभावका बारेमा जानकारी दिन सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरेको छ ।
२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र, सन् २०२५ मा हालसम्मकै बढी
काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी २ लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ । कोभिड-१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक १ लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष १ लाख १ हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो । सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२२ मा १ लाख २९ हजार ७२३, सन् २०२३ मा १ लाख ९१ हजार ५५८, सन् २०२४ मा २ लाख ४४ हजार ३९ र गत वर्ष अर्थात् सन् २०२५ मा २ लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ७७ हजार ६२८ र अन्य मुलुकका १ लाख २२ हजार २०३ रहेका ‘एक्याप’का प्रमुख डा. रबिन कडरियाले जानकारी दिए । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उनले बताए । ‘पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्,’ उनले भने । अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्यस्थलमा वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयबासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।
अमृत कन्स्ट्रक्सनले ६ महिनामै बनायो मोटरेबल पुल, लागत साढे ३ करोड रुपैयाँ
काठमाडौं । गोरखाको पालुङटार नगरपालिका-९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम पुस मसान्तमा सम्पन्न भएको हो । ३ करोड ४१ लाख ४२ हजार रुपैयाँको लागतमा पुल निर्माणको सम्झौता भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । उनका अनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरेको थियो । ‘निर्माण कम्पनीले ठेक्का सम्झौता भएको ६ महिनाभित्रै काम सम्पन्न गरेको छ,’ उनले भने । पुलको लम्बाइ २० मिटर छ भने चौडाइ ८.४० मिटर रहेको छ । पालुङटारको तल्लो सेरा र माथिल्लो सेरा जोड्ने चुक्तीखोला पुल निर्माण सम्पन्न भएसँगै त्यहाँका स्थानीयले राहतको सास फेरेका छन् । यसअघि पक्की पुल नहुँदा सेराका बासिन्दा काठे पुल हालेर आवतजावत गर्न बाध्य थिए । बर्खाको बेलामा विद्यार्थीलाई विद्यालयसम्म पुग्न पनि कठिनाइ हुने गरेको पालुङटार नगरपालिका-९ का वडाअध्यक्ष भोजराज पाण्डे बताउँछन् । ‘जिल्लामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने प्रवृत्ति कायमै छ । यसरी निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने । मोटरेबल पुल बनेपछि आवतजावतसँगै कृषि सामग्री ढुवानी गर्न समेत सहज हुने छ ।
फागुन १५ गतेसम्म रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने
काठमाडौं । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । उक्त सडक खण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग अन्तर्गत अति संवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग गर्नुपर्ने जनाउँदै माघ २६ गतेदेखि फागुन १५ गतेसम्म उक्त सडक आंशिक रुपमा अवरुद्ध हुने भएको हो । उक्त काममा सहजीकरणका लागि सडक डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई समन्वयका लागि पत्राचार अनुरोध गरेको छ । उक्त अवधिमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । त्यसैगरी सवारी आवागमन खुला हुने समय प्रत्येक दिन बिहान ९ देखि १० बजे, दिउँसो २ देखि ३ बजे र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता-तल्लोफाँट-रुपाकोट-दोकुवा-सलाघारी-चोरकाटे तथा साँझदेखि बिहानसम्म मजुवा-दम्का-रुपाकोट-म्यालपोखरी-चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ । उक्त कार्यमा जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गरिदिनसमेत अनुरोध गरेको छ । प्रशासनले सडक स्तरोन्नति कार्यलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग अपेक्षा गरेको छ ।
म्याग्दीमा साढे ३१ करोडको सुन्तला उत्पादन, गत वर्षको तुलनामा ५.५६ प्रतिशत घट्यो
काठमाडौं । यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १०.५ मेट्रिक टनका दरले ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । ‘४३० हेक्टर जमिनको बगैँचामा सुन्तला उत्पादन भएको छ । किसानले सरदर प्रतिकिलो ७० रुपैयाँका दरले ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्,’ उनले भने । म्याग्दीको ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको छ । गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले ४ हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । गत वर्षको तुलनामा ५.५६ प्रतिशतले उत्पादन घटेको हो । यस वर्ष विभिन्न रोगकीराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बास्तोलाले बताए । ‘यस वर्ष मौसमले साथ दिएको हो । रोग, कीरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ,’ बास्तोलाले भने, ‘एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तला खेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।’ सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । गत वर्ष प्रतिकिलो ६५ रुपैयाँका दरले सुन्तला बेचेका किसानले यस वर्ष प्रतिकिलो ५ रुपैयाँ बढी मूल्यमा बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका-३ भोर्लेनीका किसान ओम गिरीले बताए । गिरीले आफ्नो बगैँचाबाट यस वर्ष ११ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको बताए । यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।
भारतको मेघालयमा कोइलाखानी विस्फोट, खोटाङका ३ जनाको निधन, एक बेपत्ता
काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा माघ २२ गते विस्फोट हुँदा खोटाङको बरापोखरी गाउँपालिका-१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो । कामदार कोइलाखानीभित्र काम गर्दागर्दै भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ । मेघालयमासँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्र विक्रम राउतले बताए । विष्फोटपछि उद्धार गर्ने क्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेकोसँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् । विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय गएका आफन्तले जनाएका छन् । विष्फोटमा गम्भीर घाइते हुनुभएका नरबहादुरको उपचारको क्रममा यही माघ २३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । घटना भएकै दिन ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिए । विस्फोटमा परेका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् । उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आउनुभएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताए । विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराएको मृतकका आफन्तले बताएका छन् । विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट नेपालमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ । विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए । शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरुआत गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिए ।
इंग्ल्यान्डविरुद्ध नेपालको झिनो हार
काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ । आइतबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १८० रनमात्र बनाउन सक्यो । जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता भए पनि नेपालले अन्तिम ओभरमा ५ रनमात्र बनाउन सक्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका हुन् । कप्तान रोहित पौडेलले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन बनाए । लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, आरिफ शेखले आठ बल खेल्दा एक छक्कासहित १० रन जोडे । ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाए । इंग्ल्यान्डका लियम ड्वसनले दुई विकेट लिए । चार ओभरमा उनले २१ रन खर्चिए । जोफ्रा आर्चर, लुक वुड, विल ज्याक र साम करनले समान एक विकेट विकेट लिए। टस जितेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल बनाएको थियो । इंग्ल्यान्डका ज्याकोब बेथेलले ५५ रन जोडे । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे । कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन् । त्यसैगरी, जस बटलरले १७ बलमा २६ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल हो ।
टफसिटमा एमालेका महिला उम्मेदवारको नेतृत्व परीक्षा
काठमाडौं । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनका लागि नेकपा एमालेले अघि सारेका महिला उम्मेदवारहरू संख्या र प्रभाव दुवै हिसाबले सीमित भए पनि राजनीतिक अर्थमा उनीहरूको उपस्थितिलाई हल्का रूपमा लिन मिल्दैन । एमालेबाट उम्मेदवार बनेका धेरैजसो महिलाहरूका लागि उनीहरूको निर्वाचन क्षेत्र सुरक्षित छैन । बरु, पार्टीले अधिकांश महिला उम्मेदवारलाई कडा प्रतिस्पर्धा हुने ‘टफ’ निर्वाचन क्षेत्रमा मैदानमा उतारेको छ । जहाँ उनीहरूले आफ्नो भविष्य खोजिरहेका छन् । एमालेले प्रत्यक्ष निर्वाचनमा १० महिला उम्मेदवार मैदानमा उतारेको छ । बर्दिया–२ मा विमला विक, बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने मैदानमा छन् । यस्तै, पर्सा–२ बाट रिमाकुमारी यादव, बारा–३ बाट ज्वालाकुमारी साह र महोत्तरी–४ बाट नीलम अधिकारीले उम्मेदवारी दिएका छन् । त्यस्तै, धनुषा–३ बाट जुलीकुमारी महतो महासेठ, ओखलढुङ्गाबाट अस्मिता थापा, सोलुखुम्बुबाट कल्पना राई र सुनसरी–३ बाट भगवती चौधरी एमालेका महिला उम्मेदवार रहेका छन् । बर्दिया–२ मा एमालेकी विमला विक महिला, दलित र युवामाझ लोकप्रिय नेतृ मानिन्छिन् । स्थानीय मतदाताले उनलाई समाजसेवी, प्रत्यक्ष संवाद गर्ने र क्षेत्रीय मुद्दामा सक्रिय नेता समेत भन्छन् । तर उनको सामना कांग्रेसका किशोरसिंह राठौर, नेकपाका सुरेश पन्थ र रास्वपाका सुशील चौधरीसँग छ । यो क्षेत्र थारु बहुल भएकोले जातीय समीकरणले निर्णायक भूमिका खेल्ने देखिन्छ । स्थानीय कृष्णप्रसाद पाण्डेका अनुसार यहाँ केवल पार्टीको समर्थन मात्रै पर्याप्त नहुने भएकोले व्यक्तिगत छवि र समुदायसँगको सम्बन्धले मत आकर्षणमा निर्णायक भूमिका निभाउँछ । बागलुङ–२ की मञ्जु शर्मा स्थानीयस्तरमा लोकप्रिय नेतृ हुन् । शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा देखाएको सक्रियताले उनलाई जनविश्वासमा स्थापित गरेको स्थानीय हिरामणि आचार्य बताउँछन् । उनका प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ज्ञामनाथ गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्मा हुन् । यस क्षेत्रमा शर्मालाई पार्टीमा आधारित मतमा मात्र निर्भर हुने छुट छैन । शर्माले व्यक्तिगत जनसम्पर्क र विश्वासलाई मतमा कसरी रूपान्तरण गर्छिन् त्यसैले सिंहदरबारको यात्रा तय गराउने स्थानीयको मत रहेको छ । शर्माको सामाजिक कार्य, महिला समुदाय र युवाहरूसँगको प्रत्यक्ष संवाद निर्णायक सावित हुनसक्ने स्थानीयहरूको सुझाव रहेको छ । भगवती न्यौपानेका लागि तनहँ–१ राजनीतिक रूपमा कठिन मानिन्छ । यहाँ गोविन्द भट्टराई र स्वर्णिम वाग्लेजस्ता स्थापित पुरुष नेतासँगको उनको प्रतिस्पर्धा हुँदैछ । स्थानीय देवेन्द्र अधिकारीका अनुसार यो क्षेत्रमा न्यौपानेको जित केवल पार्टी मतमा निर्भर छैन । क्रस–भोट र असन्तुष्ट मत कुन उम्मेदवारतर्फ तानिन्छ भन्नेले नै अन्तिम नतिजा निर्धारण गर्न प्रमुख कारक बन्ने अधिकारीको मत रहेको छ । मधेशका चुनौतीपूर्ण क्षेत्रहरूमध्येको पर्सा–२ मा एमाले उम्मेदवार रिमाकुमारी यादवले मधेसकेन्द्रित दल र काँग्रेसको प्रभावसँग जुध्नुपर्ने देखिन्छ । यस क्षेत्रमा कांग्रेसका अजयकुमार चौरासिया, रास्वपाका सुशील कानु र नेकपाका मनोज चौधरीसँग यादवको प्रतिस्पर्धा हुँदैछ । बारा–३ मा ज्वालाकुमारी साहको मुख्य चुनौती जातीय समीकरणको सन्तुलन कायम राख्नु हो । यसअघि समेत सांसद र मन्त्री रहेकी साह यस क्षेत्रकी प्रभावशाली उम्मेदवार मानिन्छिन् । साहको बाटोमा कांग्रेसका फरमुल्लाह मन्सुर रहेका छन् । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्सुर हेभीवेट उम्मेदवार हुन् । मन्सुरबाहेक रास्वपाका अरविन्द साह र नेकपाका भरत साह पनि ज्वालाका लागि अवरोध हुन सक्छन् । महोत्तरी–४ मा एमालेको उपस्थिति कमजोर रहेकाले नीलम अधिकारीले धेरै नै जोड गर्नुपर्ने स्थानीय बताउँछन् । अधिकारीको सिंहदरवार यात्रामा अर्की महिला उम्मेदवार रास्वपाकी गौरीकुमारीसहित कांग्रेसका महेन्द्र यादव र नेकपाका भरत साह पनि अवरोध हुन सक्छन् । यस्तै, धनुषा–३ मा जुलीकुमारी महतो महासेठको सफलता स्थानीय पहिचान, जातीय सञ्जाल र समुदायमा प्रत्यक्ष पहुँचमा निर्भर रहने विश्लेषण गरिएको छ । यहाँ नेपाली कांग्रेसका हेभीवेट विमलेन्द्र निधि र रास्वपाका मनिष झा पहाड बनेर उभिएका छन् । एमालेले लुम्बिनी र मधेसजस्तै पहाडी र हिमाली जिल्ला ओखलढुङ्गामा अस्मिता थापा र सोलुखुम्बमा कल्पना राईका लागि व्यक्ति केन्द्रित प्रचार निर्णायक हुने बुझाइ स्थानीयको रहेको छ । ओखलढुंगामा पार्टीको आधार बलियो भए पनि अन्तिम मत परिणाम उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय सम्बन्ध र क्षेत्रीय समर्थनमा निर्भर रहने स्थानीय बताउँछन् ।यस क्षेत्रमा थापाका लागि कांग्रेसका कुमार लुइँटेल, नेकपाका अम्बिर गुरुङ र रास्वपाका विश्वराज पोखरेल प्रमुख प्रतिस्पर्धी हुन् । सुनसरी–३ मा भगवती चौधरीले महिला मुद्दा उठाई अप्रत्याशित परिणाम निकाल्ने सम्भावना रहेको स्थानीय बताउँछन् । सोलुमा कल्पना राई पनि एमालेकी अर्की महिला उम्मेदवार हुन् । पहिलो पटक संघीय संसदको उम्मेदवार बनेकी राईसँग चुनावी यात्रामा उत्रेका अन्य उम्मेदवार पनि उनीजस्तै नयाँ छन् । राईलाई काउन्टर गर्न कांग्रेसले प्रकाशसिंह कार्की र रास्वपाले ऋषिधन राईलाई मैदानमा उतारेको छ । सुनसरी– ३ मा भगवती चौधरीले गत निर्वाचनमा पाँच दलीय गठबन्धनका हेभीवेट उम्मेदवार कांग्रेसका विजयकुमार गच्छेदारलाई पराजित गरेकी थिइन् । यसपटक गच्छेदार अघिल्लो पराजयको वदला लिने दाउमा छन् भने चौधरी विजयको निरन्तरताको तयारीमा छिन् । यस क्षेत्रमा चौधरीलाई रास्वपाका अशोक चौधरी र नेकपाका दुर्गेश चौधरीले पनि कडा टक्कर दिने देखिन्छ । यो निर्वाचन एमालेका महिला उम्मेदवारहरूका लागि चुनाव व्यक्तिगत जीत या हार मात्र होइन, नेपाली राजनीतिमा महिला नेतृत्वको सम्भावनाको परीक्षासमेत हो। यदि केही उम्मेदवार सफल भए त्यो केवल पार्टीका लागि होइन, समग्र राजनीतिक परिदृश्यमा महिला सशक्तिकरणका लागि निर्णायक मोड बन्न सक्छ ।