विकासन्युज

मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन् । धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने  जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले जानकारी दिए । ‘धर्मशाला हाल जीर्ण भइसकेको र विसं २०७२ को भूकम्पपश्चात प्राविधिक जाँचका क्रममा रातो चिह्न लगाई जोखिमपूर्ण निर्धारण भएको भन्दै धर्मशालालाई पुनःनिर्माण गर्नुपर्ने भनेर संस्थानलाई जानकारी गराइसकिएको भए पनि मर्मत गर्नुको साटो उल्टै पुनः बोलपत्रको आह्वान गर्नु सरासर जनमतको खिलाफ हो’, मनकामना गुठीले संस्थानलाई पठाएको पत्रमा भनिएको छ । पत्रमा भवनलाई पुनः व्यापारिक प्रयोजनमा ल्याउन खोजे मनकामना गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय कडा प्रतिकारमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ । विसं  २०७२ को गोरखा भूकम्पपछि मनकामना मन्दिर जीर्णोद्वारसँगै धर्मशालालाई पनि धर्मशालाकै रूपमा विकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरुयोजना तयार भएको स्थानीयवासीको भनाइ छ । गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलका रूपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने श्रेष्ठले बताए । चौतर्फी विरोध हुँदा पनि गुठी संस्थान यस विषयमा मौन बस्नु झनै शङ्कास्पद देखिएको उद्योग वाणिज्य सङ्घ मनकामना एकाइका अध्यक्ष हरि श्रेष्ठले बताए । उनले धर्मशालालाई पुनःनिर्माण गरी धर्मशालाकै रूपमा सञ्चालन गर्नुपर्ने भन्दै अब कुनै हालतमा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने बताए । गएको ४० वर्षदेखि धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको थियो । संस्थानले व्यवसाय सञ्चालन गर्न जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा होटल सञ्चालन गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन् । गुठी संस्थानले मासिक न्यूनतम रु एक लाख भाडा तिनुपर्ने गरी धर्मशालामा व्यवसाय सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो । ‘विवादको साटो मेलमिलापको बाटो’ गोरखा नगरपालिकाले नगरपालिकाभित्रका ५० जनालाई आधारभूत मेलमिलाप तालिम प्रदान गरेको छ । वडास्तरमा हुने गरेका सानातिना विवादलाई स्थानीयस्तरमै हल गर्न भूमिका खेल्न मेलमिलापकर्ताहरूलाई कानुनी ज्ञानसहित आधारभूत मेलमिलाप तालिम प्रदान गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । नगरभित्रका १४ वटै वडाले छनोट गरेर पठाएका मेलमिलापकर्ता प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालको प्रविधिक सहयोगमा तालिम प्रदान गरिएको उनले  बताए । ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नारासहित सोमबारदेखि सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन भएको नगरप्रमुख रानामगरले जानकारी दिए। ‘गाउँघरमा हुने सामान्य खालका विवादलाई स्थानीयस्तरमै मिलाउनका लागि मेलमिलापकर्तालाई तालिम दिइएको छ’, उनले भने, ‘उनीहरूलाई कसरी विवाद समाधान गर्ने र कानुनी उपचार विषयलगायतका सवालमा पनि जानकारी प्रदान भएको छ ।’ साना विवाद समयमा समाधान हुन नसक्दा पछि झनै ठूलो र झन्झटिलो बन्न सक्ने भएकाले गाउँमै समाधान गर्न सक्ने गरी मेलमिलापकर्तालाई सक्षम बनाउन तालिम प्रभावकारी भएको उनले बताए। नगरप्रमुख रानामगरले मेलमिलापसम्बन्धी आधारभूत तालिम लिएका मेलमिलापकर्तालाई गोरखा नगरपालिकालाई न्यायिक, नमूना र उदाहरणीय नगरपालिका बनाउन पहल गर्न आग्रहसमेत गरे । तालिममा सहभागी मेलमिलापकर्तालाई चार जनाले प्रशिक्षकले नेपालको अहिलेको ऐन, कानुनलगायतका विषयमा अभिमुखीकरण प्रदान गरेको थिए । सहभागीले मेलमिलापसम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेपछि उनीहरूबाट स्थानीय विवादलाई वडास्तरबाट नै निरुपण गर्न सजिलो हुने नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताइन् । तालिममा सहभागीलाई सोमबार एक कार्यक्रममा बीच नगरप्रमुख रानामगरले प्रमाणपत्र वितरण गरेका हुन् । रासस

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक छ : नवीन श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । लुम्बिनीमा आज आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिबद्धता जनाए । उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको बताए । उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभई विश्वभर नै फैलिनु खुसीको विषय भएको बताए । उनले भने,  ‘योगले नेपाल र भारतलाई जोडेको छ, साथै यसले विश्वभर जोडिँदै गएको छ । योग भारत र नेपालमा मात्रै होइन, विश्वभर प्रचलित छ । हामी चाहन्छौँ की हरेक वर्ष २० जुन वा ३१ जुनमा लुम्बिनीमा योग दिवस मनाइयोस् । यो पहिलो पटक हो, अर्को वर्षमा पनि मनाउनेछौँ । सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौँ । हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौँ । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ ।’ राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको उल्लेख गरे ।

नेपाल राम बिना र भारत सीता बिना अधुरो छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् । मंगलबार लुम्बिनीमा आयेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताए । उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको बताए । मन्त्री किराँतीले भने, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो । आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रुपमा थियो । कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपालको उन, नेपालको छाला भारत निर्यात हुने गर्दथ्यो ।’ उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए । उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ ।’ यस्तै मन्त्री किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताए । उनले भने, ‘यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौँ । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’ उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । उनले महेन्द्र नगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

अन्तरजातीय विवाहको पीडा न विवाह दर्ता न जन्मदर्ता

बाँके । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताए तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ । ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भने, ‘अहिले घर न घाटको भएकी छु । श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।’ सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेका छन् । ‘श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु । उनीसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गर्छु’, उनले भने, ‘मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ । विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन ।’ अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताए । ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट आश्वासन आएन’, उनले भने, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ? भन्दै घर फर्किनुहुन्छ ।’ सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाए । ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन ।’ उनले भने, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ । ‘ सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताए । सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौराले मुख छोपेर भक्कानिए । उनका अनुसार बोल्दा पनि होच्याएर बोल्ने । अपशब्द प्रयोग गरेर बोल्ने गरेको उनको भनाइ छ । सुनिताको दुःख देखेर नङ्गा परियारले सकेको सहयोग गर्दै आइरहनुभएको छ । दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन । तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उनीहरूसँगै बस्दै आएका छन् । ‘बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान् खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौँ’, नङ्गाले भने, ‘ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ । तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहीनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन् ।’ बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउछन् । बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ । वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए। श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए । रासस

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

नेपाल-भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नक्सा राखिएको विषयमा पार्टीको चासो रहेको बताए । उनले यही असार ७ गते सातै प्रदेशका ७७ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाउने अभियान रहेको जानकारी गराए । लामिछानेले सरकारले ल्याएको बजेटमा आफ्नो असन्तुष्टि रहेको बताए । ‘सबै जिल्लामा ७७ पटक घण्टी बजाएर एकबद्धता जनाउने कार्यक्रम छ, पार्टीले आवश्यकताअनुसार सदन, टोल, बस्ती सबैतिर काम गर्दै जाने छ,’ उनले भने, ‘बजेट जुन ढङ्गले वितरण हुन्छ, त्यसको असर मेरो निर्वाचन क्षेत्रमा पनि परेको छ, श्रमदान गरेर बजेट खोजेर पनि कैयौँ आयोजनाहरू निर्माण गर्नेछौँ, दीर्घकालीन आयोजनाहरूका लागि स्थानीय सरकारको पनि जिम्मेवारी हुने भएकाले स्थानीय सरकारसँग पनि परामर्श गर्नेछौँ ।’ लमिछानेले स्थानीय विकासका कतिपय विषयमा संसद्को अधिकार क्षेत्रभन्दा बाहिर गएर कुरा राख्न नमिल्ने विचार राखे । स्थानीय सरकारको अधिकारको विषयमा सङ्घीय सांसदले बोल्नु नहुने उनको भनाइ छ । चितवन–२ का सांसदसमेत रहेका लामिछानेले रामनगरमात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा अन्य परियोजनाहरू सञ्चालन गर्नेबारे तयारीमा रहेको जानकारी दिए । ‘अध्ययन गरेपछि आवश्यक पर्ने काम गर्दै जानेछौँ, हामी आवश्यकताअनुसार काम गर्दै जानेछौँ, युवाहरूले प्रोत्साहन गर्ने ठाउँहरूमा पनि छौँ,’ उनले भने । लामिछानेले रामनगरमा खानेपानीको समस्या भएर नै श्रमदानमा पानीको आयोजना निर्माण गरेको बताए ।

एक लघुवित्तले जम्मा गर्यो ६१.७५ प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत फागुन १८ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाले पारित गरेको ६१.७५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । आइतबार लघुवित्तको ६१.७५ प्रतिशत बोनस वापतको ४ लाख ५ हजार २३२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लघुवित्तले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा असार ५ गते बोनस जम्मा गरेको बताएको छ । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

कुथेली बुखरी स्मलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आज असार ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका १ का (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) स्थानीय बासिन्दालाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।