एनएमबि बैंकले ३६ ठाउँको घरजग्गा बेच्दै, छानीछानी खरिद गर्न मिल्ने
काठमाडौं । एनएमबि बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न ३६ स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । बैंकले सिरहा, झापा, भक्तपुर, धनकुटा, मोरङ्ग, उदयपुर, सुनसरी, दैलेख, बर्दिया, ताप्लेजुङ्ग, नवलपरास (बर्दाघाट सुस्ता पश्चिम) काठमाडौं, सप्तरी, तनहुँ, इलाम, कञ्चनपुर, रुपन्देही, बारा र मकवानपुर जिल्लाका विभिन्न ३६ स्थानमा रहेको घरजग्गा बिक्री गर्ने भएको हो बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
विजय लघुवित्तका सेयरधनीको खातामा २० प्रतिशत बोनस
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत चैत २८ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तको २० प्रतिशत बोनस बापत ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लघुवित्तले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको बताएको छ । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
१२६ रुपैयाँमा ज्योति विकास बैंकको डेड लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको डेढ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक सेयरधनी समूहका केही सेयरधनीहरुले १ लाख ६८ हजार ४९६ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ । आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनु पर्नेछ । बैंकको सेयरमा जोकोही सर्वसाधारण लगानीकर्तले आवेदन दिन सक्नेछन् । बैंकको सेयरमा असार १७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्ने छन् ।
नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ
काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिएको बताए । वर्षाको समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारीरूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने र नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नयाँ योजना ल्याइने नीति कार्यक्रममा उल्लेख छ । आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने र नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्नुका साथै ‘डिजिटलाइज्ड’ सेवा प्रदान गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ । नगरप्रमुख विष्टले आगामी आवमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवद्र्धनलाई प्राथमिकता दिइएको बताए । नीति तथा कार्यक्रममा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहानाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र १५ शय्याको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने, ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवं सम्मानसहित बिदाइ गरिने, प्लास्टिकका झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगन्ज बनाउन सडकको दायाँबायाँ बिरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौँ हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै लैजानेसमेत नीति कार्यक्रममा उल्लेख छ । उपप्रमुख राईले आगामी आव २०८०/८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५८७ रुपैयाँ अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गरे । सो बजेट चालु आवको भन्दा ४ करोड रुपैयाँले बढी हो । चालु आवका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आयसमेतका आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको थियो । सो अवसरमा राईले समग्र नगर विकासका लागि वडा कार्यालयसँगको सहकार्यलाई आत्मसात गर्दै चालु आवजस्तै आगामी आवका लागि पनि २५ करोड रुपैयाँको सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गरे । नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड रुपैयाँ र राजस्व र अनुदान बचत मौज्दात २० करोड रुपैयाँ हुने अनुमान गरेको छ । डुबानको जोखिमका बस्तीको तटबन्ध गर्दै डुडुवा बाँकेको डुडुवा गाउँपालिकाले डुबानको उच्च जोखिममा रहेको बस्तीमा तटबन्धनको व्यवस्था गरिने नीति, कार्यक्रम अघि सारेको छ । पालिकाका अधिकांश गाउँमा डुबानसँगै कटान गरेर अत्यधिक क्षति पुर्याउने भएकाले त्यसको रोकथाम र व्यवस्थापनका लागि तटबन्धलाई उच्च प्राथमिकतामा राखेको छ । पालिकाले बाढी प्रभावितका लागि उद्धार तथा आश्रयस्थलको कार्यलाई सहज र प्रभावकारी बनाउन जोड दिएको छ । गाउँसभाको १४औँ गाउँसभामा नयाँ आव २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ४८ करोड ८४ लाख ३४ हजार रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गरे । डुडुवाले गाउँपालिकाका वडा नं ६ महाउत टोलमा सात सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण सम्पन्न गरी किसानको आलु बीउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण गर्ने नीतिसमेत ल्याएको छ । प्रयोगशाला नभएका वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना, न्यूनतम दरमा सबै स्थानाीयवासीलाई वडास्तरमा स्वास्थ्य परीक्षणको पहुँच, कृषि बालीमा लाग्ने रोग कीरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क वितरण, कृषिको उत्पादन क्षेत्र विस्तार, पशुरोग निदानका लागि पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाइने नीति कार्यक्रमा उल्लेख छ । डुडुवा–४ शाहपूर्वामा गाउँपालिकास्तरीय १५ शय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्यचौकीमा चिकित्सकसहितको ज्येष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, वनभोजस्थल निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुङ्गा तथा र्याफ्टिङ सञ्चालन हुनेछ । गाउँपालिकामा रहेका प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद एवं गुरुद्वाराको संरक्षण, मर्मतसम्भार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीतिसमेत लिइएको छ । सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधेक २०८० प्रस्तुत गरेका थिए । रासस
नक्कली परीक्षार्थी बन्ने सशस्त्र प्रहरी जवान पक्राउ
काठमाडौं । सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परीक्षा दिन गएका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ गरिएको हो । कोहीरीलाई सहायक हवल्दार विनोद नेपालीका नाममा परीक्षा दिँदै अवस्थामा पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए । नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र बाहिनीमा कार्यरत छन् । प्रहरीले नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको केसीको भनाइ छ ।
नेपाललाई डिजिटल उत्पादन र सफ्टवेयर निर्यातको हव बनाउँछौं : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्रथामिकता दिएको बताएका छन् । आइसिटी फाउन्डेसनले यहाँ आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२३ को समापन गर्दै उनले सरकारले सूचना प्रविधिको प्रवद्र्धन र संरक्षण गर्ने नीति अघि सारेको बताएका हुन् । उनले सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण भइरहेको भन्दै सरकारले सूचना प्रविधि क्षेत्रलाई उचित सम्मान दिन नसकेको समेत बताए । अर्थमन्त्री डा.महतले अहिले ठूलो मात्रामा सफ्टवेयर निर्यात पनि भइरहेको बताए । नेपाललाई डिजिटल उत्पादनको हव र सफ्टवेयर निर्यातको हव बनाउने उनको भनाइ छ । कार्यक्रममा सांसद प्रदीप पौडेलले प्रविधिका माध्यमबाट मुलुकको विकास गर्नुपर्ने बताए । अन्तर्राष्ट्रियस्तरमा प्रविधिको विकास द्रूतरूपमा विकास भइरहँदा आत्मसात गर्ने कुरामा नेपाल पछाडि पर्न नहुने उनको भनाइ छ । सांसद सूर्य ढकालले संसद्मा सूचना प्रविधिमैत्री नीति–नियम बनाउन पहल गर्ने बताए । उनले समाज, राजनीति र अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । सांसद शिशिर खनालले संसद्मा समयाभावका कारणले आफूले चाहेर पनि सूचना प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकिएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । २ दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपालका सूचना प्रविधिका क्षेत्रमा विभिन्न चरण समहूगत छलफल भएको थियो ।
हेवाखोला तर्न तुइन र फड्केको सहारा
काठमाडौं । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो । ‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भने, ‘ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो, डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो ।’ वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाको भनाइ छ । यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरकै २ गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । तर एक साता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुनसकेको छैन । विगत तीन दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ । पाँचथर उद्योग वाणिज्य सङ्घसहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ । मेची राजमार्गमा हेवाखोलाको वारिपारि दुईतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन् । तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले भने बाँसको फड्केबाट खोला तर्न पाएका छन् । राष्ट्रिय युवासङ्घ पाँचथरसहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो । तर, छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य एक साता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकामा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाले गुनासो पोखे । डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य सङ्घसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ । तर, चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारीलगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन् । पानीको सतह घटेको तीन दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिबार आठवटा ह्युमपाइप ल्याइएको छ । यस्तै डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको छ । प्राविधिकको सल्लाहबमोजिम १२ ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् । यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ । सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सो कार्य अहिलेकै गतिमा अघि बढे एक महिनामा पनि सम्पन्न हुन कठिन छ । बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ । रासस
बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु
काठमाडौं । बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए । जीप दुर्घटनामा एक जनाको मृत्यु जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध १ ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।