थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने
नारायणगढ । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ । दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ । सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका छन् । उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन् ।
‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा
काठमाडौं । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० रुपैयाँसम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक-पटक प्रयोग गर्न पाउनेछन् । साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विधुत्तिय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उदेश्यका साथ प्रदान गरिएको हो। ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।
एनएमबि बैंकले ०.५ प्रतिशत प्रिमियममा कृषि कर्जा दिन्छ : सीईओ केसी
काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकले किसानलाई सस्तोमा खेती कर्जा दिने बताएका छन् । शुक्रबार एनएमबि खेती कर्जा योजना सार्वजनिक गर्ने क्रममा बोल्दै सीईओ केसीले कृषि कर्जाको आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर खेती कर्जा दिने बताएका हुन् । ‘यो प्रडक्टमा आधार दरमा ०.५ प्रतिशतमा कर्जा उपलब्ध गराउँछौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था हुनुपर्छ,’ उनले भने । नेपालमा कृषि सम्बन्धि कर्जामा बैंकले माइल स्टोनको रुपमा काम गर्ने बताउँदै सीईओ केसीले नेपालको बैकिङ इतिहासमा ‘एनएमबि खेती कर्जा’ फरक किसिमको प्रडक्ट रहेको बताए । उनले कृषि, उर्जा र साना उद्यमलाई बैंकले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । ‘बैंकले ६ सय अर्ब लगानी कृषिमा गरेका छन्, बैंकले कृषिमा लगानी गर्न खोज्दा प्रोजेक्ट पाउन सकेका छैनन्, कृषि कर्जा लिन सक्ने ग्राहकको खोजीमा बैंकरहरु रहेका छन्,’ उनले भने । सीईओ केसीका अनुसार पछिल्लो समय बजारमा तरलता सहज भएको छ ।
राम्रो आम्दानीको स्रोत ओल ओइलाउँदै, निराश किसान
महोत्तरी । ‘आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई’ (अब लाग्छ, ओलले पनि जवाफ दिँदै छ) । यसपालि समयले कुनै बालीलाई राम्रो साथ नदिँदा ओलमा मन अड्याइरहेका महोत्तरीको भंगाहा-४ प्रेमनगरका किसान जवाहर महतोले ओइलाउँदै गरेका ओलका बोट देखाएर भने । कम चिस्यानमै लहलहाउने ओलसमेत खडेरीले ओइलिन थालेपछि यसपालि अब कुन बालीले गुजारा चलाउने भन्ने महतोको चिन्ता छ । एउटा बाली नभए यसले त केही होला कि भन्ने आश पालेका किसानलाई यसपलि ओलले पनि निराश बनायो । यसपालिको लामो खडेरीले ओलका बोट पहेंलिँदै गएर सुक्न थालेपछि महतोसहितका ओल किसान अहिले गुजाराको चिन्ताले पिरोलिएका छन् । ‘भदैया धानके बिया जैरगेल, लत्ती तरकारी सेहो नई उग सकल, आब देखैछी जे ओल सेहो मुर्झारहल अई’ (बर्खे धानको बीउ ब्याडमै डढ्यो, लहरे तरकारी पनि हुर्कन, बढ्न सकेनन्, अब त ओल पनि ओइलिन थाल्यो) जवाहरकै छिमेकी अर्का किसान रामविलास महतो पनि बिरक्तिदै भन्छन्, ‘आब अईबेर घरपरिवारक प्रतिपाल केना होयत ?’ (अब यसपालि जहान परिवारको पालन कसरी होला) । असार दोस्रो साता बित्नै लाग्दासम्म पनि माटो पर्याप्त पानी नपरेपछि किसान यसपालि ठूलो अनिकाल त पर्ने होइन भन्ने चिन्तामा छन् । मधेसमा तरकारी फसलमा गनिने ओल यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहँदै आएको छ । पाखो र बलौटे जग्गामा पनि कम चिस्यानमै हुने ओल खेती पनि यसपालिको खडेरीले खाएपछि किसान बिलखबन्द परेका छन् केही दशकयता निकै फस्टाएको यो खेती यसपालिको लामो खडेरीले खाएपछि ‘अब चैं के गर्ने होला ?’ भन्ने आम किसानको चिन्ता छ । ‘थोरथार झार्र्रझुर्र पानीमा पनि हुने ओलसमेत पानीबेगर ओइलिने, सुक्ने भएपछि अब के ले उभो लाग्नेहोला ?’ भंगाहा–४ टोकाटोलका किसान राजकुमार दास भन्छन् । मधेसमा विशिष्ट तरकारी र अचार मानिने ओल राम्रो भाउ (मूल्य) पाइने फसल मानिन्छ । यहाँ (मधेसमा) एउटा कहावत (उखान, आहान, उक्ति) छ, ‘भादोके ओल, कि खाए राजा कि खाए चोर’ अर्थात भदौको ओल कि राजा कि चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्साउँछ । भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य तरकारीभन्दा निकै महँगो हुने हुँदा यो हुने खाने र चोरेर खानेले मात्र भेट्टाउँछन् भन्ने कहावत स्थापित भएको हो । पितृपक्ष (असोज कृष्ण पक्ष), दसैँतिहार र अन्य पर्व बाक्लै पर्ने बेला उत्पादन लिइने ओल पवित्र मानिन्छ । देवकार्य, पितृकार्य र अन्य शुभअवसरमा ओलको परिकार हुनु यहाँ सम्पन्नतासँग पनि जोडिन्छ । महँगो तरकारी भान्छामा हुनुलाई यहाँ सम्पन्नतासँग जोडिने गरेको हो । दुई दशक अघिसम्म स्थानीय जातको ओलमात्र प्रचलनमा थियो । घरबारी ओरपर घुर्यानमा केही बोट लगाइने ओल निकै सप्रँदा एक किलोसम्मको फल लाग्थ्यो । माटोमुनि फल्ने यसले तरकारी र चटनी (अचार) परिकारका लागि परापूर्वकालदेखि नै प्रसिद्धि पाउँदै आएको हो । केही दशकयता महोत्तरीसहितका मधेसका जिल्लामा यसको व्यावसायिक खेती हुन थालेपछि उन्नत जातको ओल खेती प्रचलनमा आएका छन् । किसानले एउटा ओल सात-आठ किलोसम्मको बाक्लै निकालेका छन् । यहाँको ओलको स्वाद र गुणमा प्रसिद्ध भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बजारमा पुग्ने गरेको छ । विशिष्ट अतिथिका लागि ओलको तरकारी र चटनी खान दिने र खाने दुबैका लागि विशेष मानिन्छ । ओलको तरकारी वा चटनीसहितको आतिथ्य ग्रहण गरेका पाहुनाले ‘आज त ओलको परिकार खाइयो’ भनेर दुई-चार ठाउँ बखान गर्नु महोत्तरीसहितका मधेसका सबैजसो जिल्लामा केही वर्ष पहिलेसम्म शानकै कुरा मानिने गरेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय नथुनी महतो बताउँछन् । ‘करिब तीन दशक अघिसम्म ओलको परिकार आम सर्वसाधारणको पहुँचमा थिएन, हुने खानेले खान्थे’ महतोले भने, ‘घुर्यानमा केही बोट लगाएका गरिबगुरुवालाई त्यो बेचेर कयौं सामान जोड्ने सपना हुन्थ्यो, आफू नखाइनखाई बेच्थे ।’ तर पछिल्ला कालमा ओलको विकसित जात खेती प्रचलनमा आएपछि यसले सबै वर्गका भान्सामा प्रवेश पाएको महतो बताउँछन् । बेजोड स्वाद र स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी (स्वास्थ्यवर्धक) भएको हुँदा मधेसको भान्सामा यसले विशेष मान र स्थान पाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताउँछन् । उन्नत जात खेती प्रचलनमा आएपछि अब महोत्तरीसहितका आसपासका जिल्लामा यसले व्यवसायकै आकार लिइसकेको छ । महोत्तरीको उत्तरी क्षेत्रका बर्दिबास, भंगाहा, औरही र गौशाला तथा सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिका यो खेतीका उर्वर क्षेत्र मानिन्छन् । यी नगर क्षेत्रलाई कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले ओलको ‘पकेट क्षेत्र’ नै मान्दै आएको छ । यस क्षेत्रका किसानले ओल खेतीलाई महत्वका साथ नगद आर्जनको मुख्य स्रोत बनाउँदै आएका छन् । अहिले बारीमा लहलहाउनुपर्ने ओल खडेरीले सुक्दै गएपछि किसानले कयौं साँचेका सपना पनि मर्दै छन् । चाडपर्वमा जहान परिवारको मुख मिठ्याउने र नानीहरुका रहर पूरा गर्ने आश र विश्वास ओलको बोटमै साँचेका किसानलाई अहिलेको यसको अवस्थाले पिरोल्दै छ । ‘ओलको बोट देख्दै मन विरक्तिन्छ, अब जहान परिवारको गुजरबसर र विशेष अवसरमा मीठो मसिनो खाने, राम्रो लाउने रहर के हेरेर साँच्नु ?’ बर्दिबास-९ पशुपतिनगरकै किसान महेन्द्र कुशवाहा भन्छन्, ‘सबैभन्दा दुख्याहा कर्म नै हामी किसानको रहेछ ।’ अन्य अन्नबालीभन्दा बढी उत्पादन दिने , खनेर बाली निकालेपछि लामो समयसम्म नबिग्रने, खनेर खेतबारीमै तल स्याउला ओछ्याएर थुपारेर राख्न मिल्ने र बजार भाउ राम्रो चलेको मौका पारेर बेच्न पाइने भएपछि धेरै किसानको रोजाइमा ओल खेती पर्दै आएको थियो । तर यसपालिको लामो खडेरीले बोट नै बढ्न नपाई ओइल्याउँदै, सुक्दै गएपछि यसले (ओल) पनि मन मारेको किसान बताउँछन् । पहिले स्थानीय जातको ओल बढीमा एक किलोसम्मको हुन्थ्यो । अनि उत्पादन लिन एक वर्ष कुर्नु पथ्र्यो । तर अब उन्नत जातको भने मौसमको साथ र सम्भारको समन्वय हुनसके चार महिनाभित्रै उत्पादन लिन थालिएको छ । एउटै ओल १० किलोसम्मको फल्ने गरेको कुशवाहा बताउँछन् । ‘हामीले १० किलोसम्मको ओल फलायौं, सात-आठ किलोका त बाक्लै निस्कन्थे,’ कुशवाहा भन्छन्, ‘समयले साथ दिदा प्रतिकठ्ठा २० मन (आठ क्विन्टल) सम्म उत्पादन लिएका छौं ।’ प्रतिकट्ठा १० हजारभित्रको लागतमा खेती सकिने ओलबाट ५० हजारमाथि आम्दानी त सजिलै लिँदै आएको कुशवाहा बताउँछन् । यसपालि भने समय (मौसम) ले साथ नदिँदा यो खेतीबाट धोखा खाइएको कुशवाहाको भनाइ छ । महोत्तरीको ओल पूर्व मेचीदेखि पश्चिम माहाकालीका बजारसम्म पुग्ने गरेको छ । पाँच वर्षयता वरपरका किसानको उत्पादन किनेर पूर्वको काँकरभिट्टा, विराटनगर, धरान, इटहरी र धनकुटासम्म पुर्याइएको भंगाहा–४ स्थित सीतामाई कृषि सहकारी संस्थाका अध्यक्ष एवं किसान सत्यनारायण यादव बताउँछन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र अत्तरीया, रुपन्देहीको बुटवल र चितवनको नारायणगढ बजारमा कयौं पटक आफ्नो सहकारीले ओल पठाएको यादवको भनाइ छ । महोत्तरीको माटोमा फलेको ओलको स्वाद पारखीको रोजाइमा परेको हुँदा टाढाटाढाका ब्यापारीले राम्रो भाउ दिएर आफैं आएरसमेत लाने गरेका यादवले बताए । यहाँको उत्पादन विभिन्न जिल्लाका सरकारी कृषि कार्यालय, बीउबिजन केन्द्र र सहकारीहरुले पेश्की रकम दिएर नै बीउका लागि मगाउने गरेका उनको भनाइ छ । अब यसपालि भने ओल राम्रो उत्पादन हुने छाँट नदेखिएको हुँदा मागअनुसार बजार पुर्याउन नसकिने यादवले बताए । विषादी प्रयोग गर्न नपर्ने, आफैँले बनाएको कम्पोस्टबाहेक रासायनिक मल पनि नचाहिने, हल्का माटो भिज्ने सिँचाइ भए पुग्ने, अन्य लहरे तरकारीझैँ चोटिलो पानीले बोट तत्काल नगल्ने र रोपिएको चार महिनाभित्रै उत्पादन लिन सकिने हुँदा यो खेती आम किसानको रोजाइमा पर्ने गरेको हो । माटोमुनि फल्ने स्वास्थ्यका दृष्टिले अति नै लाभदायक र निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो । रोपिएको ठाउँमा पानी जम्न नदिएर दुई पटकसम्म गोडमेल गरे ओलको राम्रो उत्पादन हात लाग्ने गौशाला–१२ का किसान अरुण कुशवाहा बताउँछन् । सामान्य सिँचाइमै हुने ओलका लागि पनि यसपालि पानी नभएपछि अन्य बालीको समेत आश मरेको उनको भनाइ छ । महोत्तरीमा अहिले ३ सय बिघामाथिको क्षेत्रफलमा ओल खेती रहेको कृषि ज्ञान केन्द्रको अभिलेखबाट देखिन्छ । गौशाला र भंगाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीकै आम्दानीबाट घरको सारा खर्च धान्दै आएका किसानलाई यो वर्षभने प्रतिकूल बनेको छ । ‘यो हाम्रो नगदको जोहो मात्र होइन, घर गुजाराको सबै थोक रहँदै आएको छ,’ गौशालाको लक्ष्मीनियाँ बस्तीका किसान रामनरेश महतो भन्छन्, ‘चामल, पिठो, मरमसला सबै कुरा ओल बेचेर लिन्थ्यौं, अब यसपालि के गरेर चलाउने होला ?’ प्रत्येक वर्ष चैत, वैशाखमा रोपिने ओल भदौ, असोजभरिमा खनेर निकालिन्छ । किसानले सिँचाइसँगै प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाइदिन आ-आफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । सिँचाइ, माटो परीक्षण र उपचार, उन्नत जातको प्रमाणिक बीउ र समय-समयमा कृषि विज्ञ/प्राविधिकको परामर्श सेवा पाउन सके यो खेतीले मन मार्नुपर्ने अवस्था नआउने किसानको विश्वास छ । रासस
एनएमबि बैंकले धितो र कागजात बिनै किसानलाई ऋण दिने, कति पाइन्छ ?
काठमाडौं । एनएमबि बैंकले कागज र धितो बिना नै किसानलाई कर्जा दिने भएको छ । बैंकले एनएमबि खेती कर्जा अन्तर्गत किसानलाई उक्त कर्जा दिने भएको हो । जसको लागि एनएमबि बैंक र खेतीबीच सम्झौता भएको छ । उक्त सम्झौता शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भएको हो । बैंकले धान दिवसको अवसरमा नेपालको बैंकिङ इतिहासमा पहिलो पटक यो योजना ल्याएको हो । जसले किसानलाई ऋण लिन सहज हुनेछ । यस्ता छन् विशेषता बैंकले यो योजना अन्तर्गत बिना धितो डिजिटल कर्जा दिनेछ । किसानले अधिकतम् सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् । यो कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती दुबैमा हुनुपर्ने बैंकले जानकारी गराएको छ । बैंकका अनुसार बैंकले कृषि सामाग्री खरीद गर्न कर्जा दिने भएकाले कर्जा रकम किसानको खातामा प्रत्यक्ष जान्छ । बैंकले किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गर्ने छ । त्यस्तै, अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ भने निकट भविष्यमा सातै प्रदेशमा पुर्याइने बैंकले बताएको छ ।
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो
काठमाडौं । मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समुुह ए को विजेतासमेत बन्यो । नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । त्यस्तै कप्तान मोहम्मद आलिफले १५ रन जोडे भने मुहम्मद अक्रमले १२ रन बनाए । त्यसबाहेक अन्य ब्याटसम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि अशोक धामीले चार विकेट लिए भने कप्तान अभिषेक तिवारीले तीन विकेट लिए । त्यस्तै सन्तोष यादवले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको योगदान दिए । सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रन बनाए । त्यस्तै दीप भुजेलले १५ रन जोडे । निरजकुमार यादव आठ रनमा आउट भए । मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान दुई/दुई विकेट लिए भने मोहम्मद फतुलले एक विकेट झारे । यसहारसँगै मलेसिया समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख नगदसहित बिदाइ
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ । बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ६० वर्ष उमेर पूरा भएका चार, जनप्रतिनिधिमा निर्वाचित एक तथा एक जनालाई मरणोपरान्त सम्मान गरेका हुन् । स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको २०४७÷४८ देखि निरन्तर सेवारत उनीहरुलाई नगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गरिएको नगर स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले जानकारी दिए । नगरपालिकाले सम्मान गरेका पाँचमध्ये वडा नं ५ की स्वर्गीय पार्वती भण्डारीलाई मरणोपरान्त सम्मान तथा आश्रित परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । वडा नं १८ की लालमती आले, वडा नं १२ की सुशीला सापकोटा र वडा नं १७ की तारा सुवेदीलाई एक÷एक लाख तथा वडा नं ५ की श्रीमाया तिवारीलाई ८० हजार रुपैयाँको साथमा सम्मान पत्रसहित बिदाइ गरिएको पौडेलले बताए । तिवारीको सेवा अवधि १६ वर्ष मात्रै पुगेकाले उनलाई ८० हजार रुपैयाँ प्रदान गरिएको पौडेलले जानकारी दिए । वडा नंं १७ बाट जनप्रतिनिधिमा निर्वाचित पूर्व सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मानकुमारी सापकोटा सम्मान पत्रले सम्मानित भएकी छिन् । उनी जनप्रतिनिधिका रुपमा निर्वाचित भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन नीतिगत समस्या रहेकाले उहाँलाई सम्मानपत्रबाट मात्रै सम्मानित गरिएको नगरपालिकाले जनाएको छ । साठी वर्ष उमेर र १० वर्ष सेवा अवधि पूरा गरेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय सरकारबाहेक स्वास्थ्य कार्यालयमार्फत थप २० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताए । उमेर पुगेर सेवाबाट अवकाश पाएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको स्थानमा यसअघि नै सम्बन्धित वडा तथा टोलका आमा समूहको सहमति र सिफारिसमा नयाँ व्यक्ति छनोट गरिसकिएको जनाइएको छ । गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले स्वयंसेविकाको सेवासुविधालाई क्रमशः वृद्धि गर्दै लैजाने नगरपालिकाको योजना रहेको बताए । महिला स्वास्थ्य स्वयंसेविकाले घरघरमा पुगेर स्वास्थ्य सन्देश प्रवाह र सेवाको भूमिकामा उल्लेख्य योगदान पु¥याएका अधिकारीले बताए । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य स्वयंसेविकाको सेवाको मूल्याङ्कन गर्दै मासिक तीन हजार रुपैयाँ प्रोत्साहन र दुई सय रुपैयाँ सञ्चार खर्चबापत उपलब्ध गराउने नीति पारित गरेको छ । यसअघि उनीहरुले नगरपालिकाबाट मासिक एक हजार रुपैयाँमात्रै पाउने गरेका थिए । यसबाहेक उनीहरुले सङ्घमार्फत मासिक एक हजार रुपैयाँ तथा पोशाकबापत वार्षिक १० हजार रुपैयाँ पाउने गरेका छन् । रासस
द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री
छेन्दु (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल, वाणिज्य तथा लगानी, संस्कृतिक आदानप्रदान, समुदायस्तरको सहकार्य र अन्य द्विपक्षीय विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । नेपाल–चीन सम्बन्धका विषयमा सिचुवान विश्वविद्यालयले आज आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा रचनात्मकता, नीतिगत विश्वसनीयता, प्रतिबद्धतासहितको दृष्टिकोणले मात्र परिणाममुखी सम्बन्ध स्थापित गर्न सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘दुई देशको सम्बन्ध ऐतिहासिक र सभ्यतासँगै साथै हाम्रा नेतृत्वको दूरदर्शी दृष्टिकोणले समृद्ध रहँदै आएको छ, यसलाई थप सबल तुल्याउनका लागि गर्नसक्ने धेरै क्षेत्र छन्, तीमध्ये बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल बिस्तार, वाणिज्य तथा लगानी, संस्कृतिक आदानप्रदान, समुदायस्तरको सहकार्य र अन्य द्विपक्षीय विषयलाई विशेष जोड दिनुपर्छ ।’ विकास साझेदार मुलुकको सहयोग बिना नेपालमा रहेका विकासका अवरोध हटाउन अप्ठ्यारो हुने बताउँदै उनले त्यसका लागि सहयोग गर्न आग्रह गरे । जलविद्युतको प्रचुर सम्भावना रहेको नेपालको विद्युत् निर्यात गर्नसक्ने सम्भावना रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले चीनलाई जलविद्युत् निर्यात गर्न सक्छौँ । यसका लागि चीनले जलविद्युत् उत्पादनमा सहयोग गर्न सक्छ र सीमापार प्रसारण लाइन जस्ता आवश्यक पूर्वाधार निर्माण गरेर आयात गर्न सक्छ ।’ नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउनका लागि दुवै देशका विभिन्न क्षेत्रका नागरिकलाई एकअर्काको देश, राजनीति र सामाजिक व्यवस्था, जीवनशैलीबारे राम्ररी सिक्न र जान्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले दुई देशका सामाजिक एवं सांस्कृतिक मूल्यमान्यताको पहिचानका लागि भइरहेका प्रयास सकारात्मक रहेको बताउनुभयो । उनले भने, “नेपाल र चीनले आफ्ना ऐतिहासिक र सदाबहादर सांस्कृतिक सम्बन्धको आदानप्रदानलाई सदुपयोग गर्नुपर्छ, साझा नदी र पहाडले मात्र नभई दुई देशबीचको सम्बन्ध साझा संस्कृति र नैतिक मूल्यसँग पनि जोडिएको छ ।” उपप्रधानमन्त्री श्रेष्ठले दुई देशका जनताले बौद्ध शिक्षा र दर्शनलाई उच्च सम्मान गर्ने भएकाले भगवान बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिनेमा विश्वास व्यक्त गरे । विश्वका धेरै देशसँग औपचारिक सम्बन्ध स्थापना नहुँदा पनि नेपालले ल्हासामा वाणिज्य दूतावास खोलेर काम गरेको स्मरण गर्दै उनले नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालको कूल व्यापारको १४ प्रतिशत हिस्सा ओगट्ने चीन दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुक हो, यद्यपि अझै धेरै सम्भावना छन्, अझ सहकार्य र साझेदारीका क्षेत्र अपार छन् ।’ दुई देशबीचको सम्पर्क सञ्चाललाई अझ सबल बनाउनुपर्नेमा जोड दिँदै उनले पोखरा र भैरहवामा व्यावसायिक उडान सञ्चालनका लागि चिनियाँ पक्षलाई आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘गत साता सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेकामा हामी खुशी छौँ, छेन्दुबाट पोखराका लागि नियमितरुपमा व्यावसायिक उडान सुरु हुनेमा हामी आशावादी छौँ ।’ उनले बेइजिङ, छेन्दु र ग्वाञ्जाओबाहेकका अन्य शहरसँग पनि हवाई सेवा सञ्चालन हुनुपर्नेमा जोड दिए । नेपाल र चीनले बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई)अन्तर्गत ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटीमा ध्यान दिएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले दुई देशबीचको रेलमार्ग, राजमार्ग, हवाईमार्ग, प्रसारण लाइन, बन्दरगाह र अन्य सबै प्रकारका सम्पर्क सञ्जाललाई ध्यान केन्द्रित छौँ ।’ दीगो विकासका लक्ष्य भेट्टाउनका लागि नेपाललाई चीनको दरिलो सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले चीनसँग अझ बलियो र व्यापक विकास सझेदारीको आवश्यकता आफूहरुले महसुस गरेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालको समृद्धिमा चीनले सहयोग गर्न सक्छ, छोटो समयमै अभूतपूर्व विकास र समृद्धि हासिल गर्दै गएकाले यस देशले गरिबीको रेखामुनि रहेका नेपालीलाई सहयोग गर्न सक्छ ।’ नेपालले कृषि, उद्योग, सेवा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा चीनको अतिरिक्त सहयोगको अपेक्षा गरेको उहाँको भनाइ छ । नेपाल र चीनबीचको सम्बन्ध विस्तार हुँदै गएको भएपनि सबन्धलाई जीवन्त तुल्याउनका लागि थप तालमेल, परिणाममुखी र व्यावहारिक बनाउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सहकार्य जति बलियो हुन्छ, समृद्धि त्यति नै गहिरो हुन्छ, दुई देशबीचको साझा भविष्यका लागि चीनसँग मिलेर जान नेपाल तत्पर छ ।’ उनले विगत वर्षमा दुई देशबाट हुने गरेको उच्चस्तरको भ्रमणबाट सम्बन्धलाई माथि उठाउन र रणनीतिक साझेदारीमा मद्दत पुगेको स्मरण गरे । दुवै देशले शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलका सिद्धान्त र एक अर्काको अन्तरिक मामिलामा हस्तक्षेपको नीति अवलम्बन गरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामी एक अर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वतन्त्रताको सम्मान गर्छौं । नेपाल एक चीनप्रति प्रतिबद्ध छ, हाम्रो देशको भूमि छिमेकीविरुद्ध प्रयोग हुननदिने हाम्रो स्पष्ट नीति छ ।’ छेन्दुमा आमन्त्रण गरेर सिचुवान विश्वविद्यालयले दुई देशबीचको सम्बन्धबारे आफ्ना अनुभव राख्ने अवसर दिएको भन्दै उनले चीन सरकार, सिचुवान प्राप्त सरकारका उच्च अधिकारीलाई आभार व्यक्त गरे । रासस