विकासन्युज

महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै, एक अर्ब १७ करोड बजेट विनियोजन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए  ।  ‘मूल नहरमा तीनदेखि दश क्युसेकसम्म पानी छोड्ने तयारी छ’, उनले भने । नहरमा पानी छोड्ने भएकोले सो क्षेत्रका बासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । गत वर्ष टनकपुर ब्यारेजबाट पानी ल्याएर असार १५ गते धान दिवस मनाए पनि भारतीय पक्षले त्यसपछि नहरमा पानी छोड्न मानेको थिएन । आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । नहर निर्माण भएको क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन् । बाइस शाखा नहर निर्माण भए पछि पाँच हजार एक सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । अहिले थप २० किलोमिटर नहर निर्माणको काम चलिरहेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ मा आयोजनाका लागि एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि अपेक्षाकृत बजेट विनियोजन हुन नसकेको उनले बताए । नहर निर्माण सम्पन्न भए कैलालीको मालाखेतीदेखि कञ्चनपुरको पुनर्वासम्म ३३ हजार पाँच सय २० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ । टनकपुर ब्यारेजस्थित महाकाली नदीबाट बर्खामा एक हजार क्युसेक र सुख्खायाममा साढे तीन सय क्युसेक पानी उपलब्ध हुनेछ । रासस

पढाइ छाडेको २१ वर्षपछि म्याग्दीका वडाध्यक्ष एसइई उत्तीर्ण

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए । एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए । उनी २०६९ सालमा घर फर्किएका थिए । घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भएका थिए । उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले० बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ । यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताए । रासस

चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला

काठमाडौं । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । ३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए । उनी पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त छन् । घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइने

काठमाडौं । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ‘आयोजनाले काठमाडौं उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ’, उनले भने । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौं उपत्याकामा ल्याइने पन्तको भनाइ छ । आयोजनाले काठमाडौं उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो । लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाब दिएको उनले बताए । ‘पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो’, पन्तले भने । मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ । रासस

२० बर्ष खाडीमुलुकमा काम गरेर फर्किएपछि बाख्रापालनमा रमाउँदै, मनग्य आम्दानी

गलेश्वर । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन गर्न थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका छन् । बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन् । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ । हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक १० लाख आम्दानी गरेको बताए । ‘विदेशबाट फर्किएपछि ६ लाख रुपैयाँको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले’, उनले भने । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दैआएका छ । उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । ‘वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य छ’, उनले भने । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । ‘मेरै बाटो पछ्याएर गाउँका अरुले बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ’, उनले भने । सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ । बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । ‘चरनको समस्या छैन’, बाख्रापालक कृषक राजन राम्जालीले भने । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ । विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । ‘मिलेर बाख्रापालन गरेका छाैँ, राम्जालीले भने । बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् । मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् । गाउँपालिकाले उनीहरुलाई २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए । रासस

धौलागिरिमा चालु वर्षको ९२ प्रतिशत योजना सम्पन्न

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९–८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ । धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ योजनामध्ये बिहीबारसम्म एक सय ३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिए । ‘एक सय ३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ’, उनले भने, ‘ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नापजाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।’ लेखा शाखाका प्रमुख तिलक पौडेलले कूल ४७ करोड ४१ लाख बजेट विनियोजन भएकोमा बिहीबारसम्म ३३ करोड ४४ लाख खर्च भइसकेको बताए ।  ‘बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ’, उनले भने, ‘बाँकी र प्रक्रियामा रहेका फाइलको भुक्तानी हँदासम्म वित्तीय प्रगति ८० प्रतिशत नाघ्ने अनुमान गरेका छौँ ।’ पूर्वाधार विकास शीर्षकको १० करोड १० लाखमध्ये ५८ दशमलवले ६४ प्रतिशत अर्थात् पाँच करोड ९२ लाख खर्च भएको छ । यातायात पूर्वाधारमा चार करोड ४४ लाख विनियोजन भएकोमा ६३ दशमलव ७७ प्रतिशत अर्थात् दुई करोड ८३ लाख खर्च भएको छ । पाँच करोड २३ लाख ८३ हजार सात सय २१ विनियोजन भएको भवन, आवास तथा सहरी विकास शीर्षकको ५४ दशमलव १२ अर्थात् दुई करोड ८३ लाख खर्च भएको छ । पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, खानेपानी, सडक स्तरोन्नतिलगायतका आयोजना सञ्चालन भएका थिए ।  प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले दरबन्दीको एक तिहाइमात्र कर्मचारी, भौगोलिक विकटताका बाबजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रियताका कारण योजना कार्यान्वयनमा सहज भएको बताए । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयमै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृत्ति हटाउने प्रयास गरेको बताए । रासस

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही  वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित वर्षा हुनेछ । तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं महानगरद्वारा २ सहकारीको दर्ता खारेज, बचतकर्तालाई १५ दिनभित्र सम्पर्क आउन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ । ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ । संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता, धितो राखि लिएको कर्जा, बचत गरेको रकम भए १५ दिनभित्र विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने महानगरको भनाइ ।