विकासन्युज

ललितपुरले जडान गर्यो उपत्यकामा नै पहिलो पटक अर्ली वार्निङ प्रणाली

ललितपुर । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपत्तिको पूर्वजानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । वडा नं. २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं. ४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । उनले भने, ‘यी दुईवटा नदी वरिपरिका अन्य वडाहरुलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ ।’ नदीमा पानीको बहाव बढेपछि घण्टी बज्छ, यो घण्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए । महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झन्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्थाबारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ प्रणाली जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुखले बताए । ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरूको व्यवस्थापन गरेको छ । पुल्चोक दमकलस्थित नगर प्रहरी बल कार्यालयमा नगर प्रहरी, दमकल, शववहान, डुङ्गाको व्यवस्थापन गरेको छ । यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरू पनि त्यहाँ राखिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकैपटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै एम्बुलेन्स पनि सँगै जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेका छौँ ।’ महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको सक्त अभाव भएपछि केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठूला गरी ६ वटा दमकल महानगरसँग छ । नगर प्रमुख महर्जनले भने, ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ ।’ महानगरले विभिन्न कारणले हुने विपद्‌बाट जोगिन वडास्तरसम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ । महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले वडैपिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडा स्तरीय स्वयंसेवक समूह गठन गर्ने तयारी समेत गरेको छ ।

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक चार सय ५० देखि पाँच सय सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन् । अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयका हाराहारीमा बिरामी बढ्दै गएपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ । साउनको अन्तिम हप्तादेखि फाटफुट्ट भाइरलका बिरामी अस्पतालमा उपचारमा आउन थालेका र भदौ सुरु हुनासाथ वृद्धि भएर चार सय ५० देखि दैनिक पाँच सयको सङ्ख्यामा बिरामी वृद्धि भएको सूचना अधिकारी पाण्डेले बताए । भदौ लागेसँगै भाइरलको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्य चौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने सङ्ख्या बढ्दै जान थालेको स्थानीय निजी अस्पताल तथा क्लिनिकले जनाएका छन् । वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताए । त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको हँडियाका समाजसेवी युवा देवनारायण चौधरीले बताए ।

बागलुङको बोक्से–सिगाना सडकमा पहिरो रोक्न ‘बायो इञ्जिनियरिङ’ प्रविधिको प्रयोग

गलकोट । बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि अपनाइएको छ । हालै कालोपत्र सम्पन्न गरिएको १० किलोमिटर सडकको दिगोपनाका लागि निर्माण व्यवसायीले पहिरो रोकथामका लागि बायो इञ्जिनियरिङ प्रविधि अपनाएका हुन् । हालै कालोपत्र सम्पन्न एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गतको बोक्से–सिगाना सडक निर्माणका क्रममा खसेको पहिरो रोकथाम गर्दै सडक संरक्षण गर्न निर्माण व्यवसायी कर्ण विल्डर्सले एक दर्जन पहिरोमा नेपियर जातको घाँस रोपेको छ । कालोपत्र सडकलाई टिकाउन जोखिमयुक्त स्थानको पहिचान गरी बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको कर्ण विल्डर्सका प्रतिनिधि सन्दीप श्रेष्ठले जानकारी दिए । यसको प्रयोगले सडकको संरक्षणसँगै प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकूलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि सहयोग पुर्याउने श्रेष्ठको भनाइ छ । उनले बायो इञ्जिनियरिङमार्फत ढुङ्गा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य सहयोगसँगै स्थानीय किसानलाई घाँसमा समेत सहयोग पुर्याउने गरी १० किमी सडकको पहिरो खसेको क्षेत्रमा नेपियर जातको एक हजार ५०० भन्दा बढी घाँसको विरुवा रोपिएको बताए । ‘सडक चौडा बनाएर कालोपत्र गर्द एक दर्जन स्थानमा पहिरो खसेको थियो, उक्त पहिरोको दिगो समाधानका लागि पूर्वाधारको काम त कालोपत्रअघि नै गरिन्छ, त्यससँगै अहिले बर्खामा पहिरोमा बायो इञ्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ', उनले भने,’पहिरो खसेको र सम्भावित पहिरोको जोखिम स्थानको पहिचान गरेर नेपियर जातका बहुवर्षीय घाँस लगाइएको छ जसले पहिरो रोकथामसँगै किसानको पशुपालनलाई सघाउँछ ।’ नेपियर उखुजस्तो देखिने बहुवर्षीय घाँस हो । यसको उचाइ दुई–तीन मिटर अग्लो र धेरै झाङ हाल्न सक्ने भएकाले बायो इञ्जिनियरिङ प्रविधिमा प्रयोग गरिँदै आइएको छ । बायो इञ्जिनियरिङअन्तर्गत काँस, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवनजस्ता बिरुवा रोप्ने गरेमा यसले एकातर्फ पहिरो खस्नबाट जोगाउँछ भने अर्कातर्फ पानीको मुहान सुक्नबाट जोगाउने भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताए । पहाडी क्षेत्रमा विकास निर्माण गर्दा हरित व्यवस्थापनमा समेत ध्यान दिन थालिएको उनको भनाइ छ । ठूलाठूला पहिरो समेत बायो इञ्जिनियरिङमार्फत रोकथाम भएको उनको भनाइ छ । नेपालको पहाडी भेगमा विकाससँगै भूक्षयको दर घटाउन बायो इञ्जिनियरिङ प्रविधि उपयुक्त रहेको मिश्रको भनाइ छ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको १० किमी कालोपत्र सकेर निर्माण व्यवसायीले बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो रोकथाम, मासिएको सिँचाइ कुलो गोरेटोबाटो निर्माण गरिरहेको छ । उक्त सडक रु २९ करोड ३७ लाख ८८ हजारमा दुई वर्षअघि सडक डिभिजन कार्यालयले कर्ण विल्डर्ससँग ठेक्का सम्झौता गरी कालोपत्र गरेको हो । रासस

अभिभावकविहीन विद्यार्थीका लागि भोजपुरमा ९० हजारको छात्रवृत्ति

टक्सार । अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको रु ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका ती विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो । नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरे । कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिए। नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए । हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट रु ३० हजार, डा.सुन्दर मोहन प्रतिष्ठानबाट रु २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त रु २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त रु २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ । कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत सङ्कलन गर्नुपर्ने बताए। अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताए। अभिभावकविहीन, विपन्न बालबालिकालाई राज्यले नै आवासीय विद्यालयसहित अध्ययनको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो नहुँदा बालबालिकालाई दाता खोजेर सहयोग गर्नुपर्ने अवस्था आएको विद्योदय माविका प्रधानाध्यापक खोमराज धमलाले बताए। आमाबाबुको माया नपाएका बालबालिकालाई विशेष ध्यान दिनु जरुरी रहेको उनले बताए।

एनएमबि सरल बचत फण्ड-इ को लाभांश घट्यो, भदौ ८ गतेदेखि बैंक खातामा जम्मा

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को लाभांश घटेको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुका लागि ४.१८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यसअघि एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुलाई ४.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सरल बचत फण्ड-इ को असारसम्म कायम इकाई पुँजी ३ अर्ब ३५ करोड ९१ लाख २१ हजार रुपैयाँको ४.२७ प्रतिशतका दरले १४ करोड ३४ लाख ३४ हजार ९४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  साथै, कम्पनीले उक्त फण्डका लागि लाभांश वितरण प्रयोजनार्थ साउन १५ गते इकाईधनी पुस्तीका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । साउन १५ गतेसम्ममा योजनाको इकाई पुँजी ३ अर्ब ४३ करोड ३ लाख २४ हजार रुपैयाँ रहेको हुँदा घोषित लाभांश रकम इकाई पुँजीको ४.१८ प्रतिशत रहने कम्पनीले जनाएको छ ।  साथै एनएमबि सरल बचत फण्ड-इ को डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी जनाउने इकाईधनीहरुको प्रतिफल रकममा प्रचलित कानून बमोजिम लागु हुने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरे पश्चात् साउन १५ गते समायोजित खुद सम्पत्ति मूल्य ११.२२ प्रति इकाईको आधारमा इकाई खरिद गरिने कम्पनीले जनाएको छ ।  हाल उक्त योजनाको आकार वृद्धिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन गरिएको र उक्त आवेदन बमोजिम इकाई वृद्धिको स्वीकृती प्राप्त भए पश्चात् इकाईधनीहरुलाई डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लान अन्तर्गत इकाई खरिद गरिने कम्पनीले जनाएको छ । इकाई खरिद गर्दा बाँकी रहने रकम र डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकममा कानून बमोजिम लागू हुने कर कट्टी पश्चात् खुद रकम सम्बन्धित इकाईधनीको हित ग्राही खातामा उल्लेखित बैंक खातामा भदौ ८ गतेदेखि जम्मा गरिने कम्पनीले जनाएको छ । 

साढे १४ हजारले पाए सागर डिष्टिलरीको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँड गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर भदौ ६ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो । उक्त सेयर खरिदका लागि आवेदन दिएका १४ हजार ५२० जनालाई सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओको नजिता बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट, सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरेको आईपीओ रिजल्ट र मेरो सेयर मार्फत हेर्न सकिने जनाएको छ । 

पिपुल्स पावरको बिक्री नभएको ४ लाख कित्ता हकप्रद सेयर लिलामीमा राख्यो

काठमाडौं । पिपुल्स पावरले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म ४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।  सो अवधिमा बिक्री नभएको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो । कम्पनीको उक्त सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । 

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा, कोषाध्यक्षमा समान मत

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुल बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ३४२ मत र गुरुङले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् ।  यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।  त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।