अर्घाखाँची सिमेन्टसहित चार कम्पनीको बिजुलीको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान चार कम्पनीको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायम रहेको बेला घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको हो । प्राधिकरणले दीपावली सकिएलगत्तै यी कम्पनीको बिजुली काटेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरूले बक्यौता रकम तिर्न सक्ने बताए। किस्ताअन्तर्गत पहिलो किस्ता तिरेमा काटिएको लाइन पुन: जोडिने पनि उनले बताए ।
झिलिमिली देखियो काठमाडौं उपत्यका (तस्बिरहरू)
काठमाडौं । लक्ष्मीपूजाको पावन अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा स्नान गरिरहेजस्तै देखिएको छ । सोमबार साँझदेखि नै सहरका मुख्य चोकहरू, व्यापारिक केन्द्रहरू र आवासीय क्षेत्रहरू रंगीचंगी बत्तीहरूले सजिएपछि काठमाडौं साँच्चिकै झिलिमिली सहर बनेको छ । सुन्धारा, न्यूरोड, जमल लगायत चक्रपथका प्रमुख चोकहरू बत्तीको आकर्षक सजावटले झकिझकाउ छन् । निजी मल, शपिङ कम्प्लेक्सहरू, रेस्टुरेन्टदेखि घर आँगनसम्म बेहुलीझै सिंगारिएका छन् । लक्ष्मीपूजाको रात साथीभाइ भेला भई भैलिनी खेल्दै झनै रमाइलो थपिएको छ । तिहारका दिनहरूमा मात्र होइन, पूरै सप्ताह काठमाडौंको रूप र रंग फरक देखिन्छ । व्यापारिक भवन, कार्यालय र घरहरूमा राखिएका बत्तीहरू तिहार सकिएपछि पनि हटाइँदैनन्, जसले गर्दा झिलिमिली काठमाडौंको सौन्दर्य अझ केही दिनसम्म कायमै रहन्छ । बर्षेनी झिलिमिली बत्ती राख्ने चलन काठमाडौंमा बढ्दो क्रममा छ । हिजोआज पूरै घर झकिझकाउ बनाएर तिहार नमनाउने कमै भेटिन्छ । यही कारण तिहार अब केवल धार्मिक पर्व मात्र नभई काठमाडौंको सांस्कृतिक झिलिमिली उत्सवझै भएको छ । तस्बिरहरू:
विपिन जोशीको पार्थिव शरीर परिवारलाई हस्तान्तरण, महाकाली घाटमा अन्त्येष्टि हुने
काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ नेपाली सेनाको सम्मानसाथ परिवारलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले राष्ट्रिय सम्मानसहित जोशीको शव हस्तान्तरण गर्दा वातावरण शोकाकुल बनेको थियो । नेपाली राष्ट्रिय झण्डाले बेरेको कफिनमा राखिएको विपिनको शव उनका दाजु किशोर जोशीसहितको परिवारले बुझेका हुन् । शव बुझेलगत्तै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । परिवार, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ । २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका विपिनको मृत्युको पुष्टि इजरायली अधिकारीहरूले गत असोज २७ गते गरेका थिए । युद्धविरामपछि हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेपछि, डीएनए परीक्षण र फरेन्सिक रिपोर्टमार्फत शव विपिनकै भएको प्रमाणित गरिएको थियो ।
लक्ष्मी पूजाको दिन देशभर १६ सय ५० मेगावाट विद्युत खपत, काठमाडौं उपत्यकामा मात्र ४०२.५ मेगावाट
काठमाडौं । तिहारको मुख्य दिन मानिने लक्ष्मी पूजाका दिन देशभर विद्युत् उच्च माग (पिक डिमाण्ड) १६ सय ५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट पुगेको थियो । यस वर्षको माग गत वर्षको तुलनामा ४८ मेगावाटले बढेको छ। लक्ष्मीपूजाको दिन आवश्यक सम्पूर्ण विद्युत् देशभित्रैका उत्पादन गृहबाट आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशको माग पूरा गरेपछि पिक समयमा १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ। गत वर्ष सोही समयमा २५३ मेगावाट मात्रै निर्यात गरिएको थियो। प्राधिकरणका अनुसार राजधानी काठमाडौं उपत्यकामै मात्र ४०२.५ मेगावाट विद्युत खपत भएको छ। गत वर्षको लक्ष्मी पूजाको दिन उपत्यकामा करिब ३ सय मेगावाट खपत भएको थियो। यस वर्ष उपत्यकामा विद्युत खपतमा करिब ३४ प्रतिशतले वृद्धि भएको हो । विगतमा तिहार विशेष गरी लक्ष्मी पूजाको दिनलाई उच्चतम लोड हुने समयको रूपमा लिने गरिन्थ्यो। तर, प्राधिकरणका अनुसार तिहारको बेला उद्योग-धन्दा बन्द हुने र कामदारहरू बिदामा घर फर्किने हुँदा औद्योगिक खपतमा कमी आउने गर्छ । यसले गर्दा समग्र प्रणालीमा लोड अपेक्षाकृत कम हुने देखिएको छ । प्राधिकरणका अनुसार घरायसी विद्युत खपत केही बढे पनि औद्योगिक क्षेत्रको खपत घट्दा समग्र लोड पहिलेको जस्तो उच्च हुँदैन । विद्युत आपूर्तिमा कुनै अवरोध नरहेको र सबै क्षेत्रमा सहज रुपमा सेवा दिइरहेको प्राधिकरणले जनाएको छ । तिहारको रमाइलो बेला उज्यालो र निरन्तर आपूर्तिको यो स्थिति उपभोक्ताका लागि सुखद पक्ष हो । अहिले काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । घरघरमा बालिएको बत्तीका कारण उपत्यका उज्यालो देखिएको छ । हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ ।
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ । मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ’, मन्त्री पुनले भने। त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उनले अझै गहन छानबिन गर्न गर्नुपर्ने आवश्यकता रहेको बताए। समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उनको भनाइ छ । यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उनले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताए। मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णांकको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिए ।
विपिनको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख सहयोग गर्ने
काठमाडौं । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताएका हुन् । सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।
नेपाल आइपुग्यो विपिनको शव
काठमाडौ । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको शव नेपाल आइपुगेको छ । विपिनको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । विपिन्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारहीरुलगायतको विमानस्थल पुगेका छन् । श्रद्धाञ्जली अर्पण उनको सब आजै धनगढी हुँदै कञ्चनपुरको महेन्द्रगर लगिनेछ । सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।
पटका पड्काउने चलन कहाँ र कहिलेबाट सुरु भयो ?
काठमाडौं । नेपालमा तिहारको अवसरमा पटका पड्काउने चलन छ । नेपालमा मात्रै नभएर पटका पड्काउने चलन भारतसहित विश्वमा विभिन्न मुलुकमा पनि छ । तिहारको अवसरमा मात्रै नभएर विभिन्न उत्सव, समारोहमा पनि पटका पड्काइन्छ । संयुक्त राज्य अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवसको अवसरमा पटका पड्काएर प्रदर्शन गरिन्छ । क्यानडाले जुलाई १ मा क्यानडा दिवसको अवसरमा पटका पड्काएर मनाउने गरिन्छ । चीन र धेरै एसियाली देशहरूमा पनि नयाँ वर्षको समयमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ र लाखौं पटकाहरू पड्काइन्छ । मेक्सिकोमा पनि क्रिसमसको अवसरमा पटका पड्काएर मनाइन्छ । पटाका पड्काउने परम्परा चीनको हो । ईसापूर्व दोस्रो शताब्दीमा चीनका मानिसहरूले बाँसका टुक्राहरूलाई आगोमा हाल्ने गर्थे भन्ने विश्वास गरिन्छ । जब बाँसभित्रको हावा गर्मीका कारणले फैलियो, यो ठूलो आवाजले विस्फोट हुने गर्थ्यो । मानिसहरूले विश्वास गर्थे कि यो ठूलो आवाजले दुष्ट आत्माहरूलाई भगाउँछ । धेरै सय वर्षपछि चिनियाँ रसायनशास्त्रीहरूले गल्तीले बारुद पत्ता लगाए । जब यो बारुद बाँस वा कागजको ट्युबमा भरियो, यसले पहिलो पटक विस्फोट र प्रकाश उत्पादन गर्यो । यसले संसारमा आतिशबाजीको सुरुआत गर्यो । विस्तारै यो कला चीनबाट युरोपमा फैलियो । समयसँगै नयाँ प्रविधि थपिए र पटाकाहरू अझ रंगीन, उच्च पहुँचयोग्य र ठूलो स्वरमा बने । अब पटाकाहरू मनोरञ्जनको माध्यम मात्र नभएर चाडपर्व, विवाह र उत्सवहरुको अभिन्न अंग बनेका छन् । यसबाहेक हरियो पटाकाहरूको पनि विकास भइरहेका छन् । जसले वातावरणीय र स्वास्थ्यमैत्री सुरक्षा दुवै सुनिश्चित गर्दछ । पटका पड्काउँदा फरक–फरक रंगहरू निस्कन्छन् । पटाकाहरूमा केही रसायनहरू हुन्छन् । जब पटाकाहरू जल्छन्, यी रसायनहरू तातो हुन्छन् र विभिन्न रंगहरूको प्रकाश निस्किन्छ । प्रारम्भिक दिनमा पटाकाहरू रंगहीन थिए । बारूद जलाइँदा यसले सुन्तला रंगको प्रकाश मात्रै निस्कन्थ्यो । जसले अँध्यारोलाई उज्यालो बनाउँथ्यो । १९ औं शताब्दीमा युरोपेली वैज्ञानिकहरूले पटाकाहरूमा विभिन्न धातु–आधारित यौगिकहरू थपेर रंगीन प्रकाश उत्पादन गर्न सकिने कुरा पत्ता लगाए । उदाहरणका लागि रातो प्रकाश स्ट्रोनटियम, हरियो बेरियम र सेतो प्रकाश टाइटेनियम, जिरकोनियम र म्याग्नेसियम मिसाएर उत्पादन गरिन्छ । नीलो रंग सिर्जना गर्न सबैभन्दा गाह्रो मानिन्छ । नीलो रंग तामाबाट बनेको हुन्छ, तर यदि तापक्रम धेरै बढ्यो भने रंग गायब हुन्छ र यदि यो कम रह्यो भने रंग बन्दैन ।