विकासन्युज

नेपालमा व्यवसाय गरेर पैसा कमाउने अनि कानुन मान्दिनँ भन्नु सह्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता सर्वोपरि हुने बताएका छन् ।  ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई कसैले हेपेको सहन नसकिने बताएका हुन् ।  ‘राष्ट्रियता कविता हैन,’ ओलीले महाधिवेशनको अन्तिम दिनलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौं । नेपालमा व्यवसाय गरेर पैसा कमाउने अनि यहाँको कानुन मान्दिनँ भन्नु सह्य हुँदैन । केही मान्छेहरू विरोध मात्रै गर्ने पुतलीजस्ता भएका छन्,’ ओलीले भने । आफूलाई ठुलै बुद्धिजीवी ठान्नेहरूको चिन्तन समेत स्वतन्त्र नभएको प्रधानमन्त्रीको आरोप छ ।  बुद्धिजीवीप्रति अलि आक्रामक देखिएका ओली पछिल्लो जेनजी पुस्ताप्रति भने नरम सुनिए । उनले भने, ‘यो पुस्ताका नाममा समाजलाई भड्काउन खोजिए पनि जेनजी पुस्ता देशलाई माया गर्छ ।’ जेनजीको नाममा अराजकता चाहनेहरू हावी हुन खोजेकोले त्यो पुस्ताको सचेतना नबिर्सिनसमेत उनले सचेत गराए । 

वाणिज्य बजार अनुगमन तीव्र, दुई महिनामै ६ सय ५० भन्दा बढी अनुगमन

काठमाडौं । सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै लगेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले पछिल्ला दुई महिनामा ६ सय ५० भन्दा बढी अनुगमन गरेको हो । साउनदेखि भदौ २० सम्मको अवधिमा १ सय २६ वटा उद्योग तथा व्यवसायलाई कारबाही गर्दै ८० लाख ६५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । यस अवधिमा कागजातसहित उपस्थित हुन २२० वटा व्यवसायीलाई भनिएको थियो भने ३ सय ४ वटा व्यवसायलाई सामान्य निर्देशन दिइएको थियो । यसबाहेक, सरकारले अण्डा, दुग्ध पदार्थ, मासु, तरकारी, फलफूल, पानीलगायतका खाद्यवस्तुमा हुने विषादी र मिसावट नियन्त्रण गर्न सम्बन्धित विभागलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा विभिन्न फर्म, उद्योग तथा व्यवसायलाई गैरकानुनी गतिविधि, गुणस्तरहीन वस्तु, मूल्य नियन्त्रणमा कमजोरी र नियमन नमान्ने कार्यमा संलग्न भेटिएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले नेपालको संविधान, २०७२ को धारा ४४ अनुसार उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा पाउने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति भएमा क्षतिपूर्ति माग्न पाउने अधिकार भएको उल्लेख गर्दै, यस संवैधानिक अधिकारलाई कार्यान्वयनमा ल्याउन उपभोक्ता संरक्षण ऐन, २०७५ लागू गरिएको र जसअन्तर्गत उपभोक्तालाई न्यायिक उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको बताए । उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको उपभोक्ता संरक्षण परिषदको २०८२ भदौ ११ गतेको पाँचौँ बैठकले बजारका तह निर्धारण गर्ने, वस्तु तथा सेवाको मूल्य मापदण्ड तय गर्ने र वाणिज्य–आपूर्ति क्षेत्रमा आवश्यक सुधारका लागि निजी क्षेत्र र सरोकारवालाको सहभागितामा समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिले दुई साताभित्र प्रतिवेदन पेस गर्नेछ । त्यस्तै, केन्द्रीय बजार अनुगमन समितिको भदौ १८ गतेको बैठकले नियमित तथा आकस्मिक अनुगमन गर्ने, चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता शिक्षा–सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । चाडपर्वमा कुनै वस्तुको अभाव हुन नदिने महानिर्देशक ज्ञवालीले चाडपर्वमा कुनै वस्तुको अभाव हुन नदिने बताएका छन् । अहिलेदेखि नै चाडपर्वलाई लक्षित गरेर सरोकारवाला निकायहरूसँग छलफल सुरु गरिएको उनले जानकारी दिए । आपूर्ति व्यवस्थापनलाई सहज बनाउन मन्त्रालयले नेपाल खुद्रा किराना व्यापारी संघ, खाद्य किराना व्यवसायी संघ, अण्डा तथा लेयर्स उत्पादक संघ, वाटर बोटल संघलगायतसँग अन्तरक्रिया गरेको छ । सो क्रममा खाद्यवस्तु आपूर्ति नियमित रहेको, मूल्यवृद्धि नभएको र चाडपर्वमा आपूर्तिमा समस्या नपर्ने आश्वासन संघहरूले दिएका छन् । ज्ञवालीले भने, 'आपूर्ति व्यवस्थापन र चाडपर्वको समयमा बजारमा खाद्यपदार्थलगायतका दैनिक उपभोग्य सामग्रीको उपलब्धता कस्तो छ भन्ने सन्दर्भमा हामीले सरोकारवाला संस्थासँग अन्तरक्रिया गरेका छौँ । हालसम्मको छलफलबाट बजारमा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा असहजता नभएको, मूल्यवृद्धि नभएको र चाडपर्वमा पनि समस्या नहुने निष्कर्ष निकालेका छौँ ।' केन्द्रीय बजार अनुगमन समितिको बैठकले एमआरपी अनिवार्य गर्ने, उपभोग्य अवधि उल्लेख गर्नुपर्ने र पानी उद्योगसँग सम्बन्धित गुनासो समाधान गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, बिल–बिजक प्रणाली व्यवस्थित बनाउन बिक्री काउन्टरमा अनलाइन प्रणालीमार्फत डिजिटल क्यास रजिस्टर लागू गर्न अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, उपभोक्ता संरक्षणसम्बन्धी सूचना तथा विज्ञापन प्रकाशनरप्रसारण गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत विज्ञापन बोर्डलाई अनुरोध गर्ने, बढी कारोबार हुने वस्तुहरूको गुणस्तर मापदण्ड तत्काल निर्धारण गरी अनिवार्य कार्यान्वयन गर्न नेपाल गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिने निर्णयसमेत भएको छ । चाडपर्वमा यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सार्वजनिक सडक तथा हवाई यातायातलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । विभागका अनुसार उपभोक्ता शिक्षा तथा सचेतना कार्यक्रम संघ, प्रदेश र स्थानीय तहमार्फत सञ्चालन गरिनेछ । यसैगरी, स्थानीय र प्रदेश तहका बजार अनुगमन समितिलाई अझ प्रभावकारी बनाउन र प्रचलित कानुनलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।

११.५२ अंकले घट्यो नेप्से परिसूचक, करिब साढे चार अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५२ अंकले ओरालो लागेको छ । नेप्सेका अनुसार आइतबारको कारोबारमा परिसूचक ०.४२ प्रतिशतले घटेर दुई हजार ७०८.२५ अंकमा कायम भएको हो । आइतबार विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ मा कारोबार भएको छ । आज १७३ वटा कम्पनीको सेयर मूल्य घट्दा ७९ वटाको बढेको छ ।       हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड–२ को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले घटेको छ । साथै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले ओरालो लागेको छ ।

रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने ब्याट्री सुविधा

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीकाे नयाँ मोडल नोट ७० नेपाली बजारमा सार्वजनिक भएको छ । ६३०० एमएएच क्षमताको शक्तिशाली ब्याट्रीसहित आएको यस स्मार्टफोन एकचोटी चार्ज गर्दा दुई दिनसम्म चल्ने विशेषताका कारण चर्चामा छ । कम्पनीका अनुसार यसमा १५ वाट फास्ट चार्जिङ र ६ वाट रिभर्स चार्जिङ सुविधा रहेकोले डाउनटाइम न्यून हुन्छ । नोट ७० मा टिकाउपनका लागि मिलिटरी–ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन प्रयोग गरिएको छ । १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने दाबी गरिएको छ । यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र आइपी ५४ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा पनि छ, जसले यसलाई आफ्नो वर्गको सबैभन्दा टिकाउ स्मार्टफोन बनाउँछ । ७.९४ एमएमको अल्ट्रा–स्लिम बडी र २०१ ग्रामको हलुका फ्रेमसहित आएको नोट ७० डिजाइनका दृष्टिले पनि आकर्षक छ । ९० हर्जको आइ–कम्फर्ट डिस्प्ले ले लामो समय प्रयोग गर्दा पनि आँखामा थकान कम हुने र स्मूथ भिजुअल अनुभव दिने कम्पनीले जनाएको छ । फोटोग्राफीका लागि १३ एमपी एआइ क्यामेरा राखिएको छ भने, युनिसोक अक्टा–कोर चिपसेटले स्मूथ मल्टीटास्किङ सुनिश्चित गर्छ । एआइ स्मार्ट एक्सपिरियन्सले प्रयोगकर्ताको व्यवहारअनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउने दाबी गरिएको छ । मनोरञ्जनतर्फ, नोट ७० मा ३०० प्रतिशत अल्ट्रा बूम स्पिकर जडान गरिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रोचक बनाउँछ । पल्स लाइट फिचरमार्फत नोटिफिकेशन स्मार्ट र स्टाइलिश प्रकाशमा एक नजरमै देख्न सकिन्छ । रियलमी नोट ७० बीच गोल्ड र अब्सिडियन ब्ल्याक रंगमा उपलब्ध छ । ४ जीबीर६४ जीबी मोडलको मूल्य रु १३,९९९ र ४ जीबीर१२८ जीबी मोडलको मूल्य रु १४,९९९ तोकिएको छ । शक्तिशाली ब्याट्री, मजबुत संरचना र स्मार्ट फिचरसहित नोट ७० ले नेपालमा एन्ट्री–लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्ने दाबी कम्पनीले गरेको छ ।

आज राति खग्रास चन्द्रग्रहण : शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका समयमा के गर्ने ? के नगर्ने ? ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् नेपालले बताउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नुहुँदैन । कुन राशिलाई कस्तो छ आज रातिको चन्द्रग्रहण आज रातिको चन्द्रग्रहण हेर्दा मेष राशिलाई लाभ मिल्छ । वृष राशिलाई सुख, मिथुन राशिलाई माननाश हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यसैगरी कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता, वृश्चिकलाई खर्च हुने योग देखिएको छ । धनु राशिलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीनलाई खर्चको योग रहेको पनि समितिले जनाएको छ । शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशि भएका व्यक्तिलाई आज रातिको चन्द्रग्रहण अतिकष्टदायक रहेको पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । ग्रहणसम्बन्धी आधुनिक एवं वैज्ञानिक धारणा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छायाँ चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रो अनुसार ग्रहण सेप्टेम्बर ७ तारिकको राति र नेपाली पात्रो अनुसार भदौ २२ गते राति पर्छ । नेपाली पात्रोअनुसार सूर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । टेलिस्कोप वा दुरविनको माध्यमले हेरेमा विस्तृतरुपमा देख्न सकिन्छ । वैज्ञानिक मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानीनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए । आज राति ११ः१५ बजेदेखि बिहान ००ः३७ बजेसम्म चन्द्रमा पृथ्वीको सघन छायाँमा रहन्छ जसलाई खग्रास समय भनिन्छ । यो बेला चन्द्रमा रातो देखिन्छ । इन्टरनेटमा भनेजस्तो र राखिएको तस्बिर जस्तो नहुने उनले बताए । बाँकी समय पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो । आफैं हेरेर सही र गलत छुट्याउन सोसाइटीले सबैमा आह्वान गरेको छ । एक्काइसौँ शताब्दीमा पर्ने ८५ वटा चन्द्रग्रहणमध्ये यो एक भएको उहाँले सुनाए । “तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घिहुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्”, उनले भने । सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानीनोक्सानी पु¥याउने खालका किरण आएका हुँदैनन् । वैज्ञानिकले समेत ग्रहणका समयमा साधना गरेको उदाहरण छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए भनिन्छ । खगोलविद् तथा वैज्ञानिकहरुका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर मानिन्छ । ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभइ पशुपक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य बताउँछन् । यो खग्रास चन्द्रग्रहण नेपालको सबै भागबाट देखिने बिपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । नेपालका साथै यूरोप, अफ्रिका, र एसिया र अष्ट्रेलियाबाटसमेत आज रातिको चन्द्रग्रहण देखिने समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए । यो चन्द्रग्रहण उत्तर तथा दक्षिण अमेरिकाबाट भने नदेखिने पनि उनले सुनाए । ग्रहणको समयमा यो रातो देखिने हुनाले यसलाई रक्तिमचन्द्र पनि भनिन्छ । आज राति ९ः१३ बजेदेखि नै विरल छायाँले ढाक्न सुरु गर्ने समितिले जनाएको छ । राति ११ः१५ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्नेछ । राति ११ः५६ बजे खग्रास ग्रहणको मध्य समय हुनेछ । राति १२ः३७ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न छोड्ने समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राति ०२ः४० बजे विरल छायाँले ढाक्न छोड्नेछ । चन्द्र ग्रहण खाली आँखाले अवलोकन गर्न सकिने र वैज्ञानिक रूपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव रहेको तथ्याङ्क प्राप्त नभएको समितिले जनाएको छ । रासस

पहिलो कार्यकाल उत्कृष्ट बनाउँदै खालिङले पाए एभरेष्ट बैंकमा निरन्तरता

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुन: नियुक्त भएका छन् । भदौ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुन: सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको पहिलाे चार वर्षे कार्यकाल असोज ७ गते सकिँदै छ । असोज ८ गतेदेखि लागू हुने गरी उनलाई फेरि चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । खालिङसँग बैंकिङ क्षेत्रमा काम गरेको ४० वर्षको अनुभव छ । सन् १९८६ मा स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका खालिङ लक्ष्मी सनराइज बैंक (साबिक लक्ष्मी बैंक)मा सीईओ हुँदै विसं २०७८ मा एभरेष्ट बैंकको सीईओ बने र नयाँ इतिहास रचे । पन्जाब नेशनल बैंकको साझेदारीमा सन् १९९४ मा खुलेको एभरेष्ट बैंक २७ वर्षसम्म विदेशी सीईओको नेतृत्वमा चल्यो । सुदेश खालिङ नै एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन् ।  उनको चार वर्षे कार्यकाल उत्कृष्ट रहेको बैंकका सूचकाङ्कहरूले देखाउँछ ।  २० वाणिज्य बैंकमध्ये सेयर मूल्य सबैभन्दा बढी एभरेष्ट बैंकको छ । लाभांश क्षमता सबैभन्दा बढी एभरेष्ट बैंकको छ । अर्थतन्त्रमा चरम संकट हुँदा पनि बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ । बैंकको व्यवसाय वृद्धि उच्च दरमा भएको छ । चार वर्ष अगाडि खालिङ सीईओ बन्दा बैंकको निक्षेप १ खर्ब ६० अर्ब रुपैयाँ थियो भने हाल २ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । चार वर्ष अगाडि १ अर्ब ८२ करोड रुपैयाँ नाफा गर्ने बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब रुपैयाँ पुगेको छ ।  नेतृत्व र नतिजा दुबैमा सफलता चुमेका खालिङ एभरेष्ट बैंकको दोस्रो कार्यकालका लागि पुन:नियुक्ति भएका हुन्।   सम्बन्धित सामाग्री 'बैंकर्सले स्वतन्त्रता खोजेनौं, राष्ट्र बैंकले जे भन्यो त्यहि मान्यौ'

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा पूजा महतो ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । नेपाल ल्युब आयलले हालै पोखरामा आयोजित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । रेडीफाइन योर लिमिटस भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनी सञ्चालक समिति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी वर्षका लागि रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरलाई विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्‍यो । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को टिम अफ द टुर्नामेन्ट मा स्थान बनाउन सफल हुँदै एसोसिएट राष्ट्रबाट यो सम्मान पाउने एकमात्र खेलाडीको रूपमा इतिहास रचेकी थिइन् । कम्पनीका अनुसार महतोको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याइरहेको छ र यो सहकार्यले कम्पनीसँगै सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि महतोले गल्फजस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफूलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

टीसीएलको दशैँ–तिहार अफर : लाखौंको छुट र उपहार

काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘ग्रेटनेस इन एभरी मुभमेन्ट, इन्स्पाएर एभरी सेलिब्रेशन’ नामक दशैँ–तिहार अभियान सुरु गरेको छ । नेपालभरिका ग्राहकलाई उत्सवको रौनक थप गर्ने उद्देश्यले ल्याइएको यो योजनामार्फत टीसीएलले चाडपर्वमा उपभोक्तालाई आकर्षक नगद छुट र पक्का उपहार उपलब्ध गराउने जनाएको छ । अभियान अन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँसम्मको नगद छुटसहित विभिन्न उपहार पाउनेछन् । योजनाअनुसार टीसीएल साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा निःशुल्क वाटर डिस्पेन्सर, कुनै पनि वासिङ मेसिन खरिदमा ६ केजी एरियल डिटरजेन्स, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टेलिभिजन खरिदमा ९ महिनाको नेट टिभी सदस्यता निःशुल्क उपलब्ध हुनेछ । भाद्र १९ देखि सीमित अवधिसम्म लागू हुने यो योजना नेपालभरका सम्पूर्ण आधिकारिक शोरूम र विक्रेतामार्फत कार्यान्वयन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अभियानमार्फत दशैँ–तिहारलाई अझ उत्सवमय बनाउने र ग्राहकलाई उत्कृष्ट प्रविधि तथा विशेष अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ।