फ्लाइट र बस टिकटमा कनेक्टआईपीएसमार्फत भुक्तानी गर्दा क्यासब्याक र छुट
काठमाडौं । चाडपर्वको अवसरलाई लक्षित गर्दै कनेक्टआईपीएसले फ्लाइट र बस टिकट भुक्तानीमा ‘शुभ लाभ अफर’ सार्वजनिक गरेको छ । यसअन्तर्गत भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म कनेक्टआईपीएसमार्फत टिकट खरिद गर्ने ग्राहकहरुले आकर्षक क्यासब्याक तथा छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुद्ध एयर, श्री एयरलाइन्स, यति एयरलाइन्स तथा बस सेवा ट्राभल एण्ड टुरमार्फत उपलब्ध टिकट भुक्तानीमा लागू हुनेछ । अफर अनुसार बुद्ध एयरको टिकट किनेपछि कनेक्टआईपीएसमार्फत भुक्तानी गर्दा ग्राहकले १०१ रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै ५ भाग्यशाली जोडीलाई माउन्टेन फ्लाईट जित्ने अवसर प्राप्त हुनेछ । श्री एयरलाइन्स को टिकट भुक्तानीमा ग्राहकलाई ५०१ रुपैयाँ क्यासब्याक प्रदान गरिनेछ । यति एयरलाइन्स को टिकटमा विशेष प्रोमो कोड "YTCIPS300" प्रयोग गर्दा ३०० रुपैयाँ छुट पाउने सुविधा रहेको छ । साथै १० भाग्यशाली जोडीलाई माउन्टेन फ्लाईट जित्ने अवसर दिइनेछ । बस सेवा ट्राभल एण्ड टुर मार्फत टिकट खरिद गरी कनेक्टआईपीएसबाट भुक्तानी गर्ने पहिलो १ हजार ग्राहकलाई ५१ रुपैयाँ क्यासब्याक दिइनेछ । यी अफरहरूमा प्रति बैंक खाताबाट एक पटक मात्र क्यासब्याक प्राप्त गर्न सकिनेछ। हाल कनेक्टआईपीएसमार्फत ५२ वटा बैंक तथा वित्तीय संस्थाका ग्राहकले सजिलै फण्ड ट्रान्स्फरसहित विभिन्न भुक्तानी गर्न सक्ने सुविधा पाउँछन् ।
काउले भाइनयार्ड रिसोर्टले आईपीओ जारी गर्ने, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल
काठमाडौं । काउले भाइनयार्ड रिसोर्टले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवा प्रदायकको रूपमा नियुक्त गरेको छ । एक कार्यक्रमका बीच काउले भाइनयार्ड रिसोर्टका तर्फबाट निर्देशक इन्द्रवीर महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन तथा व्यवस्थापन लगायतका कार्य गर्न आवश्यक परामर्श दिने तथा कम्पनीको प्रबन्ध पत्रमा उल्लिखित उद्देश्य बमोजिम कार्य गर्न आवश्यक सहजीकरणको लागि उक्त सम्झौता गरिएको हो । सम्झौतापत्रमा सार्वजनिक निष्काशनको तयारी तथा व्यवस्थापनको लागि महत्वपूर्ण पक्षहरू समावेश गरेको रिसोर्टका अध्यक्षले जानकारी गराए । धादिङको शान्त र सुन्दर पहाडी क्षेत्रमा अवस्थित करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको काउले भाइनयार्ड रिसोर्ट नेपालको पहिलो अंगुरखेतीमा आधारित पर्यटनस्थल हो । वाइनप्रेमी, प्रकृति पारखी, विश्राम चाहने र नयाँ स्वाद तथा अनुभवको खोजीमा रहेका आगन्तुकहरूका लागि यो रिसोर्ट एक उत्कृष्ट गन्तव्य बन्नसक्ने कम्पनीले जनाएको छ । काउले भाइनयार्ड रिसोर्टले आधुनिक प्रविधि र परम्परागत शैलीलाई मिश्रण गरी अंगुरखेती र वाइन उत्पादनका साथै पर्यटकलाई अंगुर बगैँचाको अवलोकन, वाइन टेस्टिङ, स्थानीय परिकार, होम–स्टे अनुभव र प्रकृति नजिकको विश्रामको अवसर पनि प्रदान गर्दछ ।
जय नेपालमा यामाहा ब्लु फेस्ट सुरु
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आइतबारबाट हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ । भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन् । फेस्टमा कुनै पनि ब्राण्डका बाइक एक्सचेन्ज गर्न पाइनेछ । कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्याङ्कन हुनुका साथै अन्य ब्राण्डमा भने न्यूनतम २५ हजारको मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने) गरिनेछ । यसैगरी, एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स हुने जनाइएको छ । त्यस्तै हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट पाइनेछ । साथै द्यभाग्यशाली विजेताहरूका लागि ‘राइड द ब्लु विथ रोडिज’ अनुभव पनि प्राप्त हुनेछ । एक्सचेन्जमा यामाहाले आरवनफाइभ भी फोन, एमटी फिफ्टिन भी टु, एफजेड भी थ्री डिलक्स, रेजेडआर १२५ एफआई हाइब्रिड, एईरोक्स १५५ लगायतका मोडेलहरू राखेको छ । नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज हो ।
कामना सेवा विकास बैंकको १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको गत वर्ष वितरणयोग्य नाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको थियो । सो आधारमा बैंकले १७.३० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको थियो । तर, बैंकले केही रकम जगेडामा राखेर सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।
ब्रिटिस गोर्खाका वंशजलाई नागरिकता दिन संविधान संशोधन आवश्यक रहेको सांसदहरूको धारणा
काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समितिले आयोजना गरेको छलफल तथा समीक्षा कार्यक्रममा विदेशमा जन्मिएका ब्रिटिश गोर्खाका वंशजलाई जन्मसिद्ध नागरिकता दिनुपर्ने विषय प्रमुख एजेन्डाका रूपमा उठाइएको छ। शनिबार आयोजना भएको कार्यक्रममा संविधान, ऐतिहासिक सन्धि र गोर्खाको योगदानलाई आधार मानेर गोरखाका सन्तानलाई नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले नेपालको संविधानले दोहोरो नागरिकता नदिने व्यवस्था गरेको भए पनि समाधान कानुनबाट खोजिनुपर्ने बताए। उनका अनुसार वंशको आधारमा विदेशमा जन्मिएका ब्रिटिश गोर्खा सन्तानलाई स्वतः नेपाली नागरिकता दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्छ। यसले पूँजी पलायन रोक्नेछ र विदेशी मुद्रा राष्ट्र बैंकमार्फत भुक्तानी हुने सम्भावना बढ्नेछ। उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित भइसकेको भन्दै यसले केही सहजता ल्याउने अपेक्षा व्यक्त गरे। राष्ट्रिय सभा सांसद सुरेशकुमार आले मगरले यो कुनै विशेष समूहको मात्र नभई सम्पूर्ण नेपाली जनताको मुद्दा भएको बताउँदै सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। त्यस्तै अर्का सांसद प्रकाश ज्वालाले पनि नागरिकताको समस्यालाई हटाउन पहल गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति इश्वरी न्यौपानेले संविधान संशोधनको आवश्यकता औंल्याउँदै नेपालमै लगानी गर्न चाहने नेपालीहरूलाई नागरिताका कारण कानुनी अवरोध हुने अवस्था रहेकाले यसलाई व्यवस्थित गर्न संविधान संशोधन आवश्यक देखिने बताइन् । वक्ताहरूले ऐतिहासिक सन्दर्भ पनि स्मरण गरेका थिए । सन् १८१४ को नेपाल–ईस्ट इण्डिया युद्धपछि १८१५ मा ब्रिटिस गोर्खा बटालियनको स्थापना, १८१६ को सुगौली सन्धि र त्यसयता गोर्खाहरूले विश्वयुद्धलगायत सयौँ युद्धमा देखाएको बलिदानलाई उल्लेख गर्दै उनीहरूले गोर्खा वंशजको अधिकार सुरक्षित गर्न ढिलाइ गर्नु अनुचित भएको बताएका थिए ।
एउटै व्यक्तिले ५ प्रतिशत सेयर खरिद गरे लगानीकर्तालाई जानकारी दिनुपर्ने
काठमाडौं । एउटै व्यक्तिले ५ प्रतिशत सेयर खरिद गरेमा लगानीकर्ताहरूलाई जानकारी गराउनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको ५ प्रतिशत वा सो भन्दा बढी हुने गरी सेयर लिएमा लगानीकर्ताहरुलाई जानकारी गराउनुपर्ने जनाएको हो । नेप्सेका अनुसार सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा १० करोड रुपैयाँ वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय, १० करोड रुपैयाँ वा सो भन्दा माथिको दायित्व वहन गर्नुपर्ने संभावना भएको मुद्दा अदालतमा दायर भएमा लगानीकर्ताहरूलाई जानकारी गराउनुपर्नेछ । यस्तै, प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले संगठित संस्थाको दैनिक काम कारवाही रोक्नु पर्ने भएमा, वार्षिक शुल्क बुझाउनु पर्ने, सूचीकृत संगठित संस्थाको संचालक समितिले संस्था गाभ्ने गाभिने वा विलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा जानकारी गराउनुपर्ने नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा भएका शर्त बमोजिम विभिन्न सूचना तथा जानकारीहरू तोकिएको ढाँचा र समयमा तोकिएको माध्यम नट्स लगइनबाट नेप्सेमा उपलब्ध गराउनुपर्ने जनाएको छ ।
नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई ३ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । नेप्से लामो समयदेखि अध्यक्षविहीन अवस्थामा थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नयाँ अध्यक्ष नियुक्ति नभएको अवस्थामा बस्याललाई जिम्मेवारी दिइएको हो । बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० थिए । उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । करिब दुई वर्षअघि उनी सो कम्पनीको सीईओ बनेका थिए ।
जेनजीहरूको आन्दोलनलाई बालेनको समर्थन, भन्छन्- 'म उमेरका कारण र्यालीमा जान सक्दिनँ'
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताले आयोजना गर्न लागेको र्यालीप्रति समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत भोलि हुने उक्त र्याली २८ वर्षमुनिका युवाहरूको आन्दोलन भएकाले आफू प्रत्यक्ष सहभागी हुन नसके पनि यसको भावना र उद्देश्यलाई समर्थन गर्ने बताएका हुन् । मेयर शाहले लेखेका छन्, 'म उमेरका कारण स्वतस्फूर्त: र्यालीमा जान सक्दिनँ, तर युवाहरूको सोच, उद्देश्य र चाहना बुझ्न जरुरी छ । कुनै पार्टी, नेता, कार्यकर्ता वा स्वार्थी समूहहरूले आफ्नो स्वार्थ पूर्ति गर्न यस र्यालीलाई प्रयोग नगर्नुहोला ।' उनले जेन जी पुस्तालाई सम्बोधन गर्दै प्रश्न पनि गरेका छन्, 'प्रिय जेन जी, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?'