विकासन्युज

चीनको निर्यात वृद्धिदर ६ महिनाकै न्यूनतम, अमेरिकमा निर्यात ३३ प्रतिशतले घट्यो

काठमाडौं । अगस्ट महिनामा चीनबाट अमेरिकामा निर्यात ३३ प्रतिशतले घट्दा समग्र निर्यात वृद्धिदर पनि गत ६ महिनाकै कमजोर स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रान्ससिप्मेन्ट’ (तृतीय मुलुकमार्फत पठाइने सामान) लक्षित गर्ने नीतिका कारण र व्यवसायिक अघिल्लो अग्रिम गतिविधि सुस्ताएको प्रभाव यसमा देखिएको हो । अमेरिकाबाट चीनले गरेका आयात पनि अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको चीनको भन्सार तथ्याङ्कले देखाएको छ । चीनको कुल निर्यात अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा अमेरिकी डलरमा ४.४ प्रतिशतले बढेको देखिएको छ, जसले फेब्रुअरीयताकै न्यूनतम वृद्धिदर देखायो । यो वृद्धिदर रोयटर्स सर्वेक्षणले अनुमान गरेको ५.० प्रतिशतभन्दा कम रह्यो । यो वृद्धिदर गत दुई महिनाभन्दा सुस्त देखिएको हो, जुन अघिल्लो वर्षको उच्च आधार (हाई बेस) प्रभावका कारण पनि हो । त्यसबेला चीनको निर्यात करिब डेढ वर्षकै उच्चतम गतिमा बढेको थियो । अगस्टमा आयात अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढ्यो, तर रोयटर्सको अनुमानित ३ प्रतिशतभन्दा कम रह्यो । आयात लगातार तेस्रो महिनामा बढेको भए पनि अचल सम्पत्ति (रियल स्टेट) क्षेत्रमा आएको मन्दी, बढ्दो रोजगारी असुरक्षा लगायतका कारण अझै कमजोर देखिएको छ । अमेरिकी राष्ट्रपतिको व्यापार नीतिले अमेरिकी बजारतर्फ पठाइने सामानमा दबाब बढाएपछि चीनले दक्षिण–पूर्वी एसिया, युरोपेली संघका मुलुकहरू, अफ्रिका र ल्याटिन अमेरिकालाई विकल्पका रूपमा प्रयोग गर्दै आएको छ । यद्यपि कुनै पनि देशले अमेरिकी बजारलाई प्रतिस्थापन गर्न सकेको छैन । अमेरिकी बजार अझै पनि चीनको सबैभन्दा ठूलो एकल व्यापार साझेदार रहँदै आएको छ । यस वर्ष अगस्टसम्म अमेरिकाले चीनका २८३ अर्ब डलर बराबरका सामान आयात गर्‍यो । त्यही अवधिमा युरोपेली संघतर्फ निर्यात ५४१ अर्ब डलर पुगेको थियो । अगस्ट ११ मा बेइजिङ र वाशिङ्टनबीच भएको सहमतिअनुसार दुवै पक्षले थप ९० दिनका लागि शुल्क युद्धविराम बढाएका थिए । यसअन्तर्गत अमेरिकी आयातमा करिब ५५ प्रतिशत अमेरिकी शुल्क र अमेरिकी सामानमा चीनले ३० प्रतिशत कर कायम गर्ने सहमति भएको पिटर्सन इन्स्चिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका अनुसार बताइएको छ । तर, दुवै पक्षबीचको वार्ताले ठोस उपलब्धि हासिल गर्न सकेको छैन । अगस्ट अन्त्यतिर चीनका प्रमुख व्यापार वार्ताकार ली चेंगगाङको वाशिङ्टन भ्रमण पनि निष्कर्षविहीन रह्यो । चिनियाँ निर्यातकर्ताले अमेरिकी शुल्क चुकाउनबाट बच्न तेस्रो मुलुकमार्फत सामान पठाउने रणनीति अपनाउँदै आएका छन् । तर, अमेरिकी प्रशासनले यस्ता ‘ट्रान्ससिप्मेन्ट’ माथि निगरानी कडा गरेपछि यो रणनीति प्रभावकारी हुने वा नहुने अनिश्चितता बढेको छ । जुलाईमा अमेरिकाले ट्रान्ससिप्मेन्ट ठहरिएका सामानमा ४० प्रतिशतसम्मको अतिरिक्त शुल्क लगाउने घोषणा गरेको थियो । निजी क्षेत्रको निर्यातमुखी सर्वेक्षण रेटिङडग पर्चेसिङ म्यानेजर्स इन्डेक्सले अगस्टमा चीनको उत्पादन गतिविधि अपेक्षाभन्दा बलियो देखाएको जनाएको छ । नयाँ निर्यात अर्डरमा सुधार देखिएकोले बाह्य माग अझै स्थिर रहेको संकेत गरेको छ । यसै हप्तामा चीनले दुई प्रमुख मुद्रास्फीति सूचकाङ्कहरू— उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) र उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) सार्वजनिक गर्ने तयारी गरेको छ। गोल्डम्यान स्याच्सको अनुमानअनुसार पीपीआई मुद्रास्फीति अझै ‘गहिरो नकारात्मक’ रहन सक्नेछ, वार्षिक रूपमा २.९ प्रतिशतले घट्ने सम्भावना छ । तर मासिक आधारमा भने बेइजिङले अत्यधिक मूल्य कटौती नियन्त्रण गर्ने ‘एन्टी– इनभोलुसन’ नीति तथा कच्चा पदार्थको बढ्दो मूल्यको कारण सकारात्मक हुन सक्नेछ । यसैगरी, गोल्डम्यान स्याच्सले सीपीआई मुद्रास्फीति पनि ‘सामान्यतया नकारात्मक’ हुने अपेक्षा गरेको छ, जुन गत वर्षको तुलनामा अगस्टमा ०.२ प्रतिशतले घट्ने सम्भावना रहेको बताइएको छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज  

माईतीघरमा जेनजी पुस्ताको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धकाे विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धकाे विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो ।  काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले यतिबेला प्रदर्शन गरिरहेका छन् । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ छ । जेन–जीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको उनीहरुको दाबी छ ।  

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान अन्तर्गत तेस्रो भिडियो सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले लोकप्रिय क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत तेस्रो भिडियो सार्वजनिक गरेको छ। नवीनतम भिडियोमा हाम्रो जीवनको प्रत्येक सेकेन्डको महत्वलाई देखाइएको छ । दुई साथीको कथामार्फत प्रस्तुत भिडियोमा एक जना यात्रु समयमै विमानस्थल पुग्छन् भने अर्कोले उडान ढिलाइ हुने आशंकामा घरमै बस्छन् । तर, जहाज समयमै उड्दा उसले आफ्नो अवसर गुमाउँछ । यसरी, 'समयको मामलामा नो कम्प्रमाइज' भन्ने सशक्त सन्देश भिडियोमार्फत दर्शाइएको छ । यसअघि, क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत 'कर्तव्यको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश दिइएको थियो । दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत 'सर्तकताको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो। यी दुवै सामग्रीलाई दर्शकले अत्यधिक रुचाएका थिए । शिवम् सिमेन्टका अनुसार, यो अभियान केवल विज्ञापन नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । कम्पनीले 'नो कम्प्रमाइज भन्न जति सजिलो छ, व्यवहारमा पुरा गर्न त्यति नै गाह्रो हुन्छ । तर जसले पुरा गर्छ, उसको शिर सधैं ठाडो हुन्छ' भन्ने सन्देशमार्फत आफ्ना उत्पादनमा गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिलाई झनै स्पष्ट पारेको छ ।

माइडियाको दशैं-तिहार योजना सार्वजनिक, बम्पर उपहारमा जुम स्कुटर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम अप्लायन्स ब्रान्ड माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गरी ‘माइडिया दशैं–तिहार २०८२ बाइ एन्ड वीन जुम’ योजना सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत माइडियाका होम अप्लायन्स खरिद गर्ने उपभोक्ताले विभिन्न आकर्षक अफर तथा उपहार पाउनेछन् । योजनाअन्तर्गत बम्पर लक्की ड्रमार्फत भाग्यमानी ग्राहकले हीरो जुम १२५ सीसी स्कुटर जित्ने अवसर पाउने छन् । त्यस्तै, उपभोक्ताले सीयोर सर्ट गिफ्ट अन्तर्गत साइड–बाइ–साइड मल्टी–डोर रेफ्रिजरेटरमा निस्शुल्क इन्डक्सन, वासिङ मेसिनमा निस्शुल्क ६ केजी एरियल, डीसवासरमा नि:शुल्क डीसवासर ट्याब्लेट प्राप्त गर्नेछन् । साथै, अधिकतम ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक अफर पनि उपलब्ध छ। ग्राहकहरूले खरिदपश्चात उपलब्ध क्युआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

स्कुल–कलेज छाडेर माइतीघरमा पुगे जेनजी, भ्रष्टाचार र अव्यवस्थाविरुद्ध प्रदर्शन

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै नयाँ पुस्ताका युवा (जेन जी) ले सडक आन्दोलन सुरु गरेका छन् । स्वतस्फूर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । कतिपय विद्यार्थीहरू विद्यालय र कलेजको पोशाकमै प्रदर्शनमा देखिएका थिए । पहिले सामाजिक सञ्जालमा मात्र सीमित आलोचना र असन्तुष्टिलाई जेनजी पुस्ताले सडकमा उतारेसँगै आन्दोलनलाई विभिन्न पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरूले समर्थन गरेका छन् । राजनीतिक दलसँग आवद्ध भ्रातृ संस्थाहरूलाई भने उनीहरूले प्रदर्शनमा सहभागी नहुन स्पष्ट आग्रह गरेका छन् ।

सामाजिक सञ्जालसम्बन्धी निर्देशनप्रति नास-आईटीको चिन्ता, प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास–आईटी) ले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी हालको निर्देशन र केही प्ल्याटफर्ममा लगाइएको पूर्ण प्रतिबन्धले नेपालको आईटी क्षेत्रमा प्रत्यक्ष असर पारेको भन्दै चिन्ता व्यक्त गरेको छ । नास–आईटीका अनुसार, यस कदमले नेपालभित्र र अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्ने आईटी कम्पनीहरूको दैनिक कामकाजमा अवरोध पुगेको छ । ग्राहकहरूसँगको सञ्चार पूर्णरूपमा अवरुद्ध हुँदा परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र व्यापार व्यवसाय जोखिममा परेको संघको भनाइ छ । 'नेपालको विश्व आईटी बजारमा बढ्दो अवसर र सकारात्मक छवि कायम राख्न, दैनिक सेवा सम्प्रेषणलाई सहज बनाउन र व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन यस्ता सञ्चार माध्यमको अविच्छिन्न पहुँच अपरिहार्य हुन्छ,' नास–आईटीले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । संघले सुरक्षित र जिम्मेवार डिजिटल वातावरण बनाउन सरकारले लिएको पहलप्रति समर्थन जनाउँदै, सेवा पूर्णरूपमा अवरुद्ध नगरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।  सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।  मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भई सक्रिय गराइसकेको जनाएको छ। मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।  नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात् सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिए । नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जबाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।  सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समय सीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो । 

ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भ विद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए । ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ,’ उनले भने ।  ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका-३ का ७२ वर्षीय विसराम पटेलले बताए । यस तामाखानीमा दैनिक २ सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात÷आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिए । तामाखानीमा दुइवटा मुहान रहेका छन् । ती मुहानको लम्वाइ २५० देखि ५ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । २ सय मिटर भित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् । वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दीपक पटेलले बताए । ‘खानी उत्खनन भयो भने पुस्तौँअघिदेखि बसोबास गर्दै आएको थातथलो छोड्नुपर्ने हुन्छ । उत्खनन अघि बस्ती स्थानान्तरण र रोजगारीको अवसरमा प्रभावितलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने । स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका-४ (साविक ओखरबोट-८) खटेनडाँडास्थित तामाखानी मुख्य हो । धवलागिरि गाउँपालिका-१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका-६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् । खानीहरू सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय ‘खनेल’हरुको सीप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।