३३५ मेगावाटको हुम्ला कर्णाली आयोजना बन्ने, ७२.९० अर्ब रुपैयाँ लागत
काठमाडौं । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७.१३ हेक्टर जमिन आवश्यकता पर्नेछ । विद्युत् उत्पादन अन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ । सोहीअनुसार इआइएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ । नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो । प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेण्ड रहेको छ । आयोजनामा २ वटा डाइभर्सन सुरुङ निर्माण हुनेछ । डाइभर्सन सुरुङको लम्बाई ५४५ मिटर र ५४२ मिटर रहनेछ । डाइभर्सन सुरुङको व्यास नौ दशमलव पाँच मिटर रहनेछ । आयोजनाबाट सुक्खायामका ६०९.८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा १ हजार १८४.८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट ४ सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ । आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन् । यस्तै १८८ वटा रुख कटान गर्नुपर्नेछ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँबराबर रहेको छ । यस्तै, कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ । आयोजना निर्माण चरणमा औसत १ हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन् ।
लगाइयो भाइटीका
काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। तिहारको अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइएको हो ।यससँगै आज नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
अमेरिकाको ऋण ३८ ट्रिलियन डलर नाघ्यो
काठमाडौं । संघीय सरकार आंशिक रूपमा बन्द भइरहेका बेला अमेरिकी सरकारको कुल राष्ट्रिय ऋण बुधबार ३८ ट्रिलियन डलर नाघेको छ । यो संख्या अमेरिकाको वित्तीय सन्तुलनमा तीव्र रूपमा बढ्दै गएको ऋणलाई झल्काउँछ । यो कोभिड(१९ महामारीबाहेकको अवधिमा अमेरिकी इतिहासमै सबैभन्दा छिटो १ ट्रिलियन डलर ऋण थपिएको समय पनि हो । यसअघि सन् २०२५ को अगस्टमा अमेरिकी राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर पुगेको थियो । ३८ ट्रिलियन डलरको यो अद्यावधिक तथ्यांक अमेरिकी ट्रेजरी विभागको पछिल्लो प्रतिवेदनमा समावेश छ, जसमा राष्ट्रको दैनिक वित्तीय स्थिति उल्लेख गरिएको छ । पेन्सिल्भेनिया विश्वविद्यालयको पेन ह्वार्टन बजेट मोडेलका केन्ट स्मेटर्स जो पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसको ट्रेजरी विभागमा कार्यरत थिए । उनका अनुसार समयसँगै बढ्दै गएको ऋणभारले अन्ततः मुद्रास्फीति बढाउँछ र अमेरिकन जनताको खरिद शक्ति कमजोर बनाउँछ । अमेरिकी सरकारी लेखा निकायका अनुसार बढ्दो सरकारी ऋणले निम्न असर पार्छ — घर वा गाडीका लागि ऋण लिँदा बढी ब्याजदर तिर्नु पर्ने, व्यवसायहरूमा लगानी गर्न पैसा अभाव हुँदा तलब घट्नु, र वस्तु तथा सेवाहरू महँगा हुनु । ‘धेरै मानिसहरू आफ्नो सन्तान र नातिनातिनीहरूको भविष्य सुरक्षित होस् भन्ने चाहन्छन् — उनीहरूलाई घर किन्ने सामथ्र्य रहोस् भन्ने चाहना हुन्छ । तर बढ्दो मुद्रास्फीति त्यसलाई झन् कठिन बनाउँदै लैजान्छ र उपभोक्ताको खरिद शक्ति घटाउँछ,’ उनले भने । ट्रम्प प्रशासनका अनुसार उनीहरूको नीतिले सरकारी खर्चमा नियन्त्रण ल्याएको र देशको ठूलो घाटा घटाइरहेको छ । ट्रेजरी विभागको नयाँ विश्लेषण अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्मको कुल घाटा ४६८ अर्ब डलर रहेको छ । बुधबार एक्स (पुरानो ट्वीटर) मा ट्रेजरी सेक्रेटरी स्कट बेस्सेन्टले भनेका छन् — ‘यो सन् २०१९ पछि देखिएको सबैभन्दा न्यून घाटा हो ।’ ‘राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेको पहिलो आठ महिनामा खर्च कटौती र राजस्व बढाएर सन् २०२४ को सोही अवधिको तुलनामा घाटा ३५० अर्ब डलरले घटाएका छन्,’ ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले विज्ञप्तिमा भनेका छन् । ‘सरकारले बलियो आर्थिक वृद्धि, घट्दो मुद्रास्फीति, शुल्क राजस्व वृद्धि, कम ऋण लागत र फजुल खर्च तथा भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू अघि बढाउँदैछ,’ उनले थपे । संयुक्त आर्थिक समितिका अनुसार पछिल्लो एक वर्षमा अमेरिकी कुल राष्ट्रिय ऋण प्रति सेकेन्ड ६९ हजार ७१३.८२ डलरले बढेको छ । पिटर जी। पिटरसन फाउन्डेशनका अध्यक्ष तथा सीईओ माइकल पिटरसनका अनुसार ‘सरकार बन्द भइरहेका बेला ऋण ३८ ट्रिलियन डलर पुग्नु सांसदहरूले आफ्ना मौलिक वित्तीय जिम्मेवारी पूरा गर्न असफल भएको स्पष्ट संकेत हो ।’ ‘ऋण बढ्दै जाँदा ब्याज भुक्तानी पनि तीव्र गतिमा बढ्दै गएको छ, जुन अहिले बजेटको सबैभन्दा छिटो बढ्ने हिस्सा बनेको छ । गत दशकमा हामीले ब्याज तिर्नेमा ४ ट्रिलियन डलर खर्च गरेका थियौं, तर आगामी दशकमा यो १४ ट्रिलियन डलर पुग्नेछ । ब्याज खर्चका कारण महत्त्वपूर्ण सार्वजनिक तथा निजी लगानीहरू घट्नेछन्, जसले प्रत्येक अमेरिकीको अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ,’उनले थपे । अमेरिकी ऋण सन् २०२४ जनवरीमा ३४ ट्रिलियन डलर, जुलाईमा ३५ ट्रिलियन डलर र नोभेम्बरमा ३६ ट्रिलियन डलर पुगेको थियो।
रूसका दुई ठूला तेल कम्पनीमाथि अमेरिकाले लयायो नयाँ प्रतिबन्ध
काठमाडौं । युक्रेनमा शान्ति वार्ताका लागि मस्कोलाई दबाब दिन अमेरिकाले रूसका दुई ठूला तेल कम्पनीहरू— रोजनेफ्ट र लूकओइललाई निशाना बनाउँदै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ । 'मैले भ्लादिमिरसँग हरेक पटक कुरा गर्दा राम्रो संवाद हुन्छ, तर ती कतै पुग्दैनन् । ती केवल कतै पुग्दैनन्,' शान्ति वार्ताको बारेमा नेटोका महासचिव मार्क रुटसँगको भेटपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने । यी प्रतिबन्धहरूको घोषणा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा गर्ने भनिएको भेटवार्ता अनिश्चितकालका लागि स्थगित भएको बताएको एक दिनपछि आएको हो। यसअघि बुधबार रूसले युक्रेनमा गरेको तीव्र गोलाबारीमा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको थियो । अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले 'पुटिनले यो अर्थहीन युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले' नयाँ प्रतिबन्धहरू आवश्यक भएको बताए । उनले यी तेल कम्पनीहरूले क्रेमलिनको 'युद्ध मेसिन' लाई कोष प्रदान गरिरहेको बताए । बुधबार ओभल अफिसमा रुटसँगै बोल्दै ट्रम्पले शान्ति कायम गर्न गम्भीर नभएको भन्दै पुटिनको आलोचना गरे र प्रतिबन्धले वार्तामा सफलता ल्याउन मद्दत गर्ने आशा व्यक्त गरे । उनले रूसले युद्ध रोक्न सहमति जनाएमा ती छिट्टै फिर्ता गर्न सकिने आशा व्यक्त गरे । यो कदम अमेरिका र रूसको शान्ति प्रस्तावहरू बीचका मुख्य मतभेदहरू यसै हप्ता झनै स्पष्ट भएका बेला आएको छ । ट्रम्पले मस्कोले हालको फ्रन्ट लाइनमा लडाइँ रोक्न अस्वीकार गर्नु मुख्य अड्चन रहेको संकेत गरेका छन् । गत हप्ता बेलायतले पनि रोजनेफ्ट र लूकओइलमाथि यस्तै प्रतिबन्धको प्याकेज लगाएको थियो। बेलायतलाई जवाफ दिँदै लन्डनस्थित रूसी दूतावासले आफ्नो देशको प्रमुख ऊर्जा कम्पनीहरूलाई निशाना बनाउँदा विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध आउने र विश्वभर लागत बढ्ने बताएको थियो । यी दुई रूसी तेल कम्पनीहरूले दैनिक ३.१ मिलियन ब्यारेल तेल निर्यात गर्छन् । बेलायत सरकारको अनुमान अनुसार रोजनेफ्ट रूसको लगभग आधा तेल उत्पादन को लागि जिम्मेवार छ, जुन विश्वव्यापी उत्पादनको ६ प्रतिशत हो । तेल र ग्यास रूसको सबैभन्दा ठूलो निर्यात हो र मस्कोका सबैभन्दा ठूला ग्राहकहरूमा चीन, भारत र टर्की पर्छन् । ट्रम्पले पनि क्रेमलिनमाथि आर्थिक दबाब बढाउन यी देशहरूलाई रूसी तेल खरिद रोक्न आग्रह गरेका छन् । ट्रम्पको यो कदमको बेलायतकी विदेश सचिव इभेट कूपरले प्रशंसा गरेकी छन् ।
मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो ३ अर्बभन्दा बढी राजस्व
काठमाडाैं । ने‍पाल-चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौमा पूर्ण रूपमा व्यापारिक मार्गको रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको हो । चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ । हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । खड्काका अनुसार हालसम्म चीनबाट कोरलानाका हुँदै आयात गरिएका ६५७ वटा मालसामानवाहक कन्टेनरको जाँचपास भएको हो । यसैगरी, नेपालतर्फ सात वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताए । कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दशैं–तिहारलक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी, हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका एक हजार ४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले उल्लेख गरे । यहाँको नेपाल–चीन उत्तरी कोरला नाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो । यसैबीच, भन्सार विभागले यहाँको कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ । विभागले नाकालाई पूर्ण रुपमा व्यापारिक आयातनिर्यातलाई सहज तुल्याउन भन्सार प्रतितपत्र ९एलसी० खोल्न अनुमति दिएको थियो । नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि बाह्रै महिना यहाँको नाकाबाट आयातनिर्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने भन्सार प्रमुख खड्काले बताए। कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले ढुवानीका साधन चिसोले इन्धन जमेर स्टार्ड नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । कोरला नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकका अवस्थामा सुधार र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औँल्याए । ‍यसअघि यहाँको कोरला नाका २७ कात्तिक २०८० मा उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरिएको थियो । त्यसबेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकका लागि नाका बाह्रै महिना खुला भएको सन्देश दिएको थियो । कोरलाबाट नेचुङ–लिजीसम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिक चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो ।
आज भाइटीका, सप्तरङ्गी टीका लगाएर मनाइँदै
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि ९सम्मुख० वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाए । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । खञ्जनेश्वर महादेवमा भक्तजन यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो । त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो । पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ । भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले गरेको निर्णयअनुसार यस्तो गरिएको भक्तपुर नगपालिकाले जनाएको छ ।
बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण विश्व व्यापार प्रणाली खतरामा
काठमाडौं । उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले बुधबार चेतावनी दिएका छन् । गुटेरेसले धेरै देशहरू ऋणको सङ्कटमा फसेको र स्वास्थ्य र शिक्षामा भन्दा ऋण दाताहरूको सेवामा बढी रकम खर्च गरिरहेको बताए । ‘विश्वव्यापी ऋण बढेको छ । गरिबी र भोकमरी अहिले पनि व्याप्त छ । अन्तर्राष्ट्रिय वित्तीय संरचनाले विकासोन्मुख देशहरूका लागि पर्याप्त सुरक्षा कवच प्रदान गरिरहेको छैन र नियममा आधारित व्यापार प्रणाली गलत बाटोमा जाने जोखिममा छ,’ महासचिव गुटेरेसले जेनेभामा व्यापार र विकाससम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा भने । गुटेरेसले भने, ‘व्यापार र विकासले परिवर्तनको आँधीबेहरीको सामना गरिरहेको र विश्वव्यापी वृद्धिको तीन चौथाइ अहिले विकासशील देशबाट आएको छ, सेवा जन्य व्यापारमा वृद्धि भइरहेको छ र नयाँ प्रविधिले विश्व अर्थतन्त्रलाई बढावा दिइरहेको छ ।’ यद्यपि भू-राजनीतिक विभाजन, असमानता, द्वन्द्व र जलवायु सङ्कटले प्रगतिलाई सीमित बनाइरहेको संयुक्त राष्ट्र सङ्घका महासचिवले बताए । उथलपुथलमा अर्थतन्त्र यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्य देशहरूमाथि व्यापक कर वृद्धि गरेको छ, जसले विश्वभर व्यापार तनाव निम्त्याएको छ। गुटेरेसले भने, ‘संरक्षणवाद केही परिस्थितिहरूमा अपरिहार्य हुन सक्छ तर यो तर्कसङ्गत हुनुपर्छ।’ संयुक्त राष्ट्र सङ्घका प्रमुखले अनिश्चितता बढिरहेको, लगानी घट्ने र आपूर्ति श्रृङ्खलामा उथलपुथल मच्चिएको भन्दै विकासोन्मुख देशहरूमा ‘छोटो-छोटो परिवर्तन’ जारी रहेको चेतावनी दिए । उनले भने, ‘व्यापार अवरोधहरू बढिरहेका छन्, केही कम विकसित देशहरूले ४० प्रतिशतको करको सामना गरिरहेका छन्, जबकि उनीहरूको विश्वव्यापी व्यापार प्रवाहको एक प्रतिशत मात्र प्रतिनिधित्व रहन्छ ।’ ‘हामी वस्तुका लागि व्यापार युद्धको बढ्दो जोखिम देख्छौँ । हामी जनताको समृद्धि र कल्याणमा भन्दा मृत्युमा बढी लगानी गरिरहेका छौँ भन्नै सैन्य खर्चको प्रवृत्तिले देखाउँछ,’ उनले भने । गुटेरेसले यी खतराहरूको सामना गर्दै अघि बढ्दा अन्तर्राष्ट्रिय कार्यका लागि चार प्राथमिकताहरू रहेको बताए । ‘निष्पक्ष विश्वव्यापी व्यापार र लगानी प्रणाली, विकासशील देशहरूको लागि वित्तीयकरण, अर्थव्यवस्थालाई प्रोत्साहित गर्न प्रविधि र नवीनता र जलवायु उद्देश्यहरूसँग व्यापार नीतिहरू परिवर्तन गर्नुपर्नेमा उनले जोड लिए ।
कलाकारसँग प्रधानमन्त्री कार्कीले भनिन्- दुष्प्रचार चिर्न भूमिका खेलि दिनुहोस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छिन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न भूमिका खेल्नुपर्ने बताइन् । ‘समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलि दिनुहोस् । हाम्रा केही कमी कमजोरी भए पनि औंल्याइ दिनुहोस् । तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ, हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ,’ उनले भनिन् । कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपोगान्डाबाट नडराइ सङ्कल्पअनुसार अघि बढ्न सुझाव दिए । उनीहरुले भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए । ‘सरकारसँग हामी केही माग्न आएका होइनौ, यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला, पहिला यो देश बचोस् । यसका लागि सरकारले खुट्टा बलियो गरी टेकेर अघि बढोस्,’ कलाकारहरूले भने । मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा काम गरेपछि पनि कठिन परिस्थितिमा मुलुकको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीप्रति उनीहरूले कृतज्ञता पनि प्रकट गरे । ‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न हजुर आउनुभएको छ,’ अभिनेत्री ऋचा शर्माले भनिन्, ‘हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगी पूर्ण र स्पष्ट वक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक सही दिशामा अघि बढ्नेमा हामीलाई विश्वास छ ।’ परिवर्तन नरुचाएका तत्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको उनीहरुको दाबी छ । त्यसका लागि लागि सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारका विषयमा उनीहरुले चासो व्यक्त गरेका थिए । अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ, सरकारप्रति थप विश्वास र आशा जागेको छ । अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ ।’ गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सराहना गर्दै उनीहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताए । अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन, ढुक्कसँग अघि बढ्नुहोस् । तपाईँको पक्षमा हामी छौँ । देशलाई थप अप्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ । सरकारलाई सहयोगको खाँचो छ र यतिखेर सकारात्मकताको खाँचो छ ।’ साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्व प्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरे । सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले भने, ‘समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ, अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्, त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो ।’ वर्तमान सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रूपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तन पक्षधर सबै एक ठाउँमा उभिनु पर्ने आवश्यकता पनि सर्जनहरूले औंल्याए । त्यस अवसरमा कलाकार तथा सर्जकहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, सान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बास्कोटा, ऋचा शर्मा, कर्मा लगायतको उपस्थिति थियो ।