विकासन्युज

गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक पर्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए ।’ अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् । ३६ अस्पतालमध्ये १४ वटाबाट सेवा दिइएको उनले बताए ।  उनका अनुसार गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तीमा  ७ अर्ब खर्च हुने उनकाृ भनाइ छ । 

मेची भन्सारबाट १२.२८ अर्बको सामान आयात हुँदा २१.८ प्रतिशत घट्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ अर्थात् १३.३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंले जानकारी दिए ।  उनका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड ३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात २१.८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस लगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजार रुपैयाँले बढी हो ।

गरिमा विकास बैंक मर्जरमा जाने, केन्द्रीय कार्यालय बालुवाटारमा

काठमाडौं । गरिमा विकास बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । मर्जर तथा एक्विजिसन प्रस्ताव र लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको हो ।  बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।  सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । 

बलबहादुरले सुरु गरे प्यारामिड होटल, सिलाङ र स्विजरल्याण्डका घरको डिजाइन

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भारतीय सेनाबाट सेवा निवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । ३ जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् ।  पोखराको राम बजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्किएका छन् । तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन् । ‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,’ बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लोपल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन । गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जिवितै छ । छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएको छु ।’ बलबहादुरले स्वाँतमा प्यारामिड होटल सुरु गरेका छन् । उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु हो । दुई रोपनी पाखो सम्याएर होटलका संरचना तयार पार्न १ करोड ८० लाख रुपैयाँ खर्चेको बलबहादुरले बताए ।  ‘छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन । होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो,’ उनले भने ।  गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन् । चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाताको छानोमा नथुप्रियोस् भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाई छ । होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको जस्तो छ । चुच्चो चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ । तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन् । पाहुनाको स्वागत सत्कार, सरसफाई, व्यवस्थापन देखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन् । सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो, मकैको ढिडो होटलका परिकार हुन् । अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी-घोडेपानी अन्तर्गत शिख देखि एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ । स्वाँतदेखि २० मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ । खोपारा, घोडेपानी, शिख, मोहरेडाडा, घान्द्रुक र बयलीको बाटो भएर समुन्द्रि सतह देखि दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ । होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ । स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौ, चितवन, बुटवल र बेलायतमा छ । ७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताए ।  स्थानीयबासी मनबहादुर पुनका अनुसार कच्चि सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोवाइल सुविधा पुगेको छ । व्यवसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ । रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत ।  ‘रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हो । अरूलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो,’ बलबहादुरले भने । 

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौं । प्रहरी वृत्त महाराजगन्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौं टोखा नगरपालिका-५ वसुन्धरामा रहेको तक्षक फार्मेसीले बिक्री गरिरहेको औषधि मापदण्ड विपरित भएकाले बरामद गरेको हो ।  तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।  उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका-८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको छ ।

गण्डकीमा ६५ सवारी चोरी हुँदा १७ मात्र भेटिए, भेट्टिनेको सङ्ख्या न्यून

काठमाडौं । गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भेटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चार पाङ्ग्रे २ वटा सवारी साधन चोरी भएको थियो भने २ पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् । चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ ।  तर एउटा पनि फेला परेको छैन । पार्किङमा राखिएको समयमा, रातको समयमा घरबाटै सवारी साधन चोरी हुने सङ्ख्या बढ्दो छ । विसं २०८१ माघ ११ गते कुश्मा नगरपालिका ५ पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका ३ गुठीको एक घरमा पार्किङ गरिएको स्थानबाट चोरी भएको थियो । सुजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै खोजतलासका लागि उजुरी दिएको भए पनि हालसम्म भेटिएको छैन । त्यसैगरी बागलुङकै साजन आचार्यको मोटरसाइकल बागलुङ कालिका मन्दिरको पार्किङ स्थलबाटै मोटरसाइकल चोरी भयो । नवदुर्गाको समयमा कालिका मन्दिरमा पुजा गर्न पुगेका आचार्यको मोटरसाइकल चोरी हुँदै गरेको दृष्य सिसिटिभी क्यामेरामा कैद भएको छ । साजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै सिसिटिभी फुटेज सहित उजुरी दिएका छन् । तर, हालसम्म मोटरसाइकल भेटिएको छैन । गण्डकी प्रदेशको सबैभन्दा धेरै कास्कीबाट सवारी साधन हराएका छन् । त्यसपछि नवलपुर र त्यसपछि सवारी हराउनेको शीर्ष स्थानमा बागलुङ रहेको छ । गत आर्थिक वर्षमा कास्कीमा १ चार पाङ्ग्रे र ४१ वटा दुई पाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । त्यसमध्ये १ चार पाङ्ग्रे र १४ वटा दुई पाङ्ग्रे गरी १५ वटा फेला परे । २७ वटा दुई पाङ्ग्रे सवारी अहिले पनि हराएको सूचीमा छन् । चालु आर्थिक वर्षमा कास्कीमा हालसम्म सवारी चोरी भएको वा हराएको उजुरी परेको छैन । फेला परेका सवारी साधन प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी नवलपुरबाट १६ वटा दुई पाङ्ग्रे सवारी चोरी भएको भन्दै खोजी गरिदिन निवेदन परेको थियो । जसमध्ये हालसम्म एउटा पनि फेला परेको छैन । यो आर्थिक वर्षमा नवलपुरबाट एउटा दुई पाङ्ग्रे सवारी हराएको उजुरी परेको छ । गत आर्थिक वर्षमा बागलुङबाट १ चार पाङ्ग्रे र ३ दुई पाङ्ग्रे सवारी हराएको निवेदन परेको थियो । जसमध्ये १ चार पाङ्ग्रे र १ दुई पाङ्ग्रे सवारी फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा हराएको १ गरि ३ वटा दुई पाङ्ग्रे सवारी अहिले पनि हराएको सूचीमा छन् । त्यसैगरी गत आर्थिक  वर्षमा तनहुँमा २ वटा दुई पाङ्ग्रे सवारी हराएको निवेदन प्रहरीमा परेको थियो । अहिलेसम्म दुवै हराएको सूचीमा छन् । गत आर्थिक वर्षमा म्याग्दीमा पनि एउटा २ पाङ्ग्रे सवारी हराएको थियो । हालसम्म भेटिएको छैन । हराएको सवारीको तुलनामा भेट्टिनेको सङ्ख्या न्यून रहे जस्तै सवारी साधन चोर्ने व्यक्ति पनि भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार भेटिएका सवारी बेवारिस अवस्थामा फेला परेका थिए । अघिल्लो आर्थिक वर्षमा बागलुङबाट हराएका १ चार पाङ्ग्रे र १ दुई पाङ्ग्रे सवारी फेला परे पनि सवारी चोरी गर्ने व्यक्ति हालसम्म फेला परेको छैन । सवारी साधन हराएको वा चोरी भएको जानकारी प्राप्त भएपछि संवेदनशील भएर सवारीसँगै चोरी गर्ने व्यक्तिको खोजी गर्ने गरेको उनले बताए । 

कोशीका होटलहरूमा दैनिक ३ हजार पर्यटक बस्न सक्ने क्षमता, भारतीयको रोजाइमा पूर्वी पहाड

काठमाडौं । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको ६ महिना पूरा गरिसकेको छ ।  भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना ४  जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन् । ‘यसअघि पनि साथीहरूसँग घुम्न नेपाल आएको थिएँ, तर परिवारसँग पहिलोपटक नेपाल आएको छु,’ इलामको कन्याममा भेटिएका उनले भने ।  उनका अनुसार अघिल्लो समयमा भन्दा यस वर्ष भ्रमण निकै सहज र रमाइलो भएको छ। आफूजस्तै अरु पनि थुप्रै भारतीय नागरिक नेपाल घुम्न रुचाउने शर्मा बताउँछन् । सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइएको उनले बताए । सुरुवाती ३ महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए तापनि पछिल्ला ३ महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई सरकार सँगसँगै निजी क्षेत्रको पनि उत्तिकै सहभागितामा पर्यटन वर्ष सफल बनाउन लागिरहेको कोशी पर्यटन वर्ष २०८२ का सह-संयोजक भविष श्रेष्ठ बताउँछन् । उनले धार्मिक, प्राकृतिक, संस्कृतिसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने जानकारी दिए । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको छ । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऊर्जा, जलविद्युत्, पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताए । प्रदेशमा पर्यटकस्तर करिब ५ सय होटल र वानस्टार स्तरदेखि फाइभस्टार स्तरसम्मका डेढ सय होटल रहेको पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ का सह-संयोजक श्रेष्ठको भनाइ छ । यी होटलहरूमा दैनिक ३ हजार पर्यटक बस्न सक्ने क्षमता रहेको उनले दाबी गरे ।  गत महिना पूर्वी पहाडी जिल्लामा आएको बाढी पहिरोले पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष असर गरेको श्रेष्ठ बताउँछन् । छठ पर्व पछाडि पर्यटन वर्ष २०८२ को थप प्रचारप्रसार गरिने उनले बताए ।  कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित ८ हजार ८४८ मिटर अल्गो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भू-भाग कचनकवल पनि छ । सूर्योदय हेर्न इलामको श्रीअन्तु डाँडामा दैनिक हजारौं स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशी टप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ । कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलका रूपमा १० स्थान समावेश गरेको छ । सर्वोच्च शिखर सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्याङ्क छ । धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण क्षेत्र हुन् । इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङ डाँडा, पाँचथरको साधुटार लगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुलगायत हिमशृङखलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसी र रोचक मानिन्छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यावरणीय पर्यटनको आधार मानिन्छ ।

३३५ मेगावाटको हुम्ला कर्णाली आयोजना बन्ने, ७२.९० अर्ब रुपैयाँ लागत

काठमाडौं । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७.१३ हेक्टर जमिन आवश्यकता पर्नेछ । विद्युत् उत्पादन अन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ । सोहीअनुसार इआइएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ । नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो । प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेण्ड रहेको छ । आयोजनामा २ वटा डाइभर्सन सुरुङ निर्माण हुनेछ । डाइभर्सन सुरुङको लम्बाई ५४५ मिटर र ५४२ मिटर रहनेछ । डाइभर्सन सुरुङको व्यास नौ दशमलव पाँच मिटर रहनेछ । आयोजनाबाट सुक्खायामका ६०९.८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा १ हजार १८४.८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट ४ सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ । आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन् । यस्तै १८८ वटा रुख कटान गर्नुपर्नेछ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँबराबर रहेको छ । यस्तै, कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ । आयोजना निर्माण चरणमा औसत १ हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन् ।