विकासन्युज

जुम्लाको सिञ्जा गाउँपालिकाले सुत्केरीलाई पाँच हजार भत्ता दिने

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए । घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ थियो । बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार यहाँका २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ । सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भई सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट ८४ हजार छ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत छ करोड ७४ लाख ९२ हजार दुई सय ६२, आश्रित परिवार सुरक्षा योजनाबापत सात करोड ९६ लाख ७६ हजार दुई सय २६ र वृद्धावस्था सुरक्षा योजनाबाट चार अर्ब नौ करोड ५८ लाख ३३ हजार तीन सय ९९ भुक्तानी गरिएको कोषले जनाएको छ । कोषमा हालसम्म ३५ अर्ब १० करोड योगदान रकम सङ्कलन भइसकेको छ । कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन् । अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ । कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र पाँच लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन् । सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो ।

स्वास्थ्य सर्वेक्षण : नेपालमा बाल मृत्युदर घट्यो

काठमाडौं । नेपालमा बालमृत्युदर न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले बालमृत्युदरमा घटेको देखाएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा एक सय १८ को मृत्यु हुने गरेकामा अहिले आएर ३३ मात्र मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । नवजात शिशुमृत्युदर पनि प्रतिएक हजारमा ७८ बाट घटेर २१ मा पुगेको छ । पाँच वर्षमुनिका बालमृत्युदर भौगोलिक क्षेत्रअनुसार फरक रहेको छ । पहाडी क्षेत्रमा प्रतिएक हजारमा ३१ र हिमाली क्षेत्रमा एक हजारमा ५५ जना रहेको छ । यस्तै गण्डकी प्रदेशमा प्रतिहजारमा २३ र सुदूरपश्चिम प्रदेशमा एक हजारमा ४९ बालबालिकाको मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार पुड्कोपना पनि घटेको पाइएको छ । सन् १९९६ मा ५७ प्रतिशत पुड्कोपन रहेकामा अहिले २५ प्रतिशतमा झरेको छ । यसैगरी ७१ प्रतिशत जीवित बच्चा स्वास्थ्य संस्थामा जन्मिने गरेका छन् । तीमध्ये ६२ प्रतिशत सरकारी अस्पतालमा जन्मिने गरेको पाइएको छ । सर्वेक्षणले १९ प्रतिशत बालबालिका अझै पनि घरमै जन्मिने गरेको सर्वेक्षणमा देखाइएको छ । घरमा बच्चा जन्माउनेमा सबैभन्दा बढी मधेस प्रदेशमा ३२, कर्णाली प्रदेशमा २४ र कोशी प्रदेशमा १८ प्रतिशत रहेको छ । यसैगरी १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट हुने गरेको छ । शल्यक्रियाबाट बच्चा जन्माउने बढी माध्यमिक शिक्षाभन्दा बढी हासिल गरेका ४८ प्रतिशत महिला रहेका छन् । यस्तै सम्पन्न परिवारका ३८ प्रतिशत महिला र सहरी क्षेत्रका २२ प्रतिशत महिलाले पनि शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन् । सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेको र एक प्रतिशतले अझै पनि जन्मदर्ता नगरेको पाइएको छ ।

चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन ठिक ढंगले चलने र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए । उनले नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । उनले सरकार छोड्नपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न काँग्रेसले सक्नुपर्ने बताए । महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले भने, ‘हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन ग¥यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ ।’ उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने बताए । उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गरे । ‘१० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकेटीमा बस्छ, के बिग्रिन्छ, अब नेपाली काँग्रेसले छलफल गर्ने बेला आएको छ’, महामन्त्री थापाले भने । महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्ने बताए ।

सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए । लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् । ‘बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ, क्षतिको विवरण संकलन गरिरहेका छौँ’, वडाध्यक्ष कार्कीले भने, ‘रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन् ।’

हुम्लामा गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा

हुम्ला । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ । मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य एकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य एकाइमा ६८ गर्भवतीको स्वास्थ्य जाँच गरिएको संयोजक ढकालले बताए । यसअघि स्वास्थ्य सेवा लिन अधिकांस गर्भवती सदरमुकाम सिमकोट र छिमेकी जिल्ला बाजुरा अस्पताल जाने गरेका थिए । ‘गाउँकै स्वास्थ्य संस्थाबाट सेवा दिन थालेका छौँ’, उनले भने । ताँकोट–१ देखि वडा नम्बर पाँचसम्मका सम्पूर्ण गर्भवती तथा शिशुको अवस्था थाहा पाउन नियमित जाँच गर्ने गरिएको छ । उक्त सेवा प्रभावकारी भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । दुर्गम गाउँमा स्वास्थ्य शिविरसमेत समय समयमा सञ्चालन गर्दैआएको उनले बताए।

हिमालय एयरलाइन्सद्वारा काठमाडौं-बेइजिङ-काठमाडौंको नियमित उडान सञ्चालन

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ । यस नयाँसेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्स्को विश्वास रहेको छ । काठमाडौं–बेइजिङ–काठमाडौं रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरे । उनको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फगहिरो ध्यानाकर्षणको प्रतीक भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सको पहिलो उडान एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समय अनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने एयरलाइन्सले जनाएको छ । ‘काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौं, यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्नेहुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्र्ण छ’, एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘यस नयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थितिलाई बलियो बनाउने मात्र होइन, व्यवसायिक र फुर्सदका यात्रुहरू दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ’, उनले थपे । यात्रुहरूले हिमालय एयरलाइन्स्को टिकटिङ्ग काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी खुसी

पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरु खुशी भएको बताए । उनले व्यवसायीहरुले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिएकाले पनि पर्यटकहरुको आगमन बढेको बताए । ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरु पोखरामा आएको र उनीहरुबाट अन्य पर्यटकहरु पनि आउने वातावरण बनेको बताए । उजले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए । ‘कोरोनापछि अहिले पर्यटनले लय लिएको छ, राहत महशुस गरेका छौँ । हामीले पनि विभिन्न देशमा गएर पर्यटन प्रवद्र्धन गर्दा नतिजा राम्रो आएको छ । भारतीय र चिनियाँ नागरिकहरुबाट पोखराको पर्यटन भइरहेको छ । ड्रागन बोट फेस्टिबलले पनि यहाँको माहोल तातेकको छ । साथै भारत सरकारको योग दिवसका कारण यहाँ भारतीय पर्यटकहरु पनि आइरहनुभएको छ । यहाँबाट नियमित उडान भर्नसके राम्रो हुने थियो । पोखरा विमानस्थल सञ्चालन हुनसके मात्रै पर्यटनमा कायापलट हुनेछ । पोखराको पर्यटन राम्रो हुने देखिएको छ । पोखराको पर्यटनले लय लिएको अवस्था छ । पोखराको बढी भन्दा बढी प्रवद्र्धनात्मक काम गर्न जरुरी छ’, अध्यक्ष श्रेष्ठले भने । त्यस्तै, होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए । उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए । ‘पोखराको पर्यटन व्यवसाय अहिले बढेको छ । अहिले हामी आशावादी भएका छौँ । पर्यटन व्यवसायी थला परेका थिए, अहिले राम्रो भइरहेको छ । बाहिर जानेहरुलाई पनि यहाँ सिक्ने अवसर भएको छ । हामीले हजारौँ रोजगारी सिर्जना गरेका छौँ । कोरोना पछाडि दक्ष जनशक्तिको अभाव छ । अब पर्यटकहरुको भीड लाग्नेछ । गर्मी छल्न अहिले पनि भारतीय पर्यटक पोखरा आइरहेका छन्’, अध्यक्ष सुवेदीले बताए । त्यस्तै, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गरेका छन् । उनले कोरोनापछि पर्यटकहरु बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको उनको भनाइ छ । उनले पोखरामा विदेशी पर्यटकहरुको आगमन अझै कम रहेको बताए । उनले भने, ‘यस्ता कार्यक्रमहरुले पर्यटन अलि माथि आउँछ फेरि कुनै इभेन्टहरु नहुँदा तल झर्ने समस्या छ । अहिले ४० प्रतिशत भन्दा बढी रिकभर भएको छैन । विदेशी पर्यटकहरुको आगमन कम नै छ । तर केही आन्तरिक पर्यटकहरु बढेका छन् । पुरानो अवस्थामा फर्किन अझै समय लाग्छ । व्यवसायीहरु उत्साहीत छन्, अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । तर अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा चिन्ताको विषय छ । यसमा सरकारले ध्यान दिनुपर्छ । सरकारले पर्यटन प्रवद्र्धनमा ध्यान नदिएको हो की भन्ने महशुस व्यवसायीहरुलाई भएको छ । सरकारले प्राथमिकतामा राखेर पर्यटक भित्र्याउने वातावरण मिलाउनु पर्छ । नेपाल एयरलाइन्सले नै यहाँबाट उडान गर्नुपर्छ ।’ व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरुको मनोबल बढ्ने र पर्यटकहरु पनि वृद्धि हुने बताएका छन् । उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए ।