विकासन्युज

हेवाखोला तर्न तुइन र फड्केको सहारा

काठमाडौं । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो । ‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भने, ‘ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो, डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो ।’ वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाको भनाइ छ । यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरकै २ गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । तर एक साता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुनसकेको छैन । विगत तीन दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ । पाँचथर उद्योग वाणिज्य सङ्घसहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ । मेची राजमार्गमा हेवाखोलाको वारिपारि दुईतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन् । तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले भने बाँसको फड्केबाट खोला तर्न पाएका छन् । राष्ट्रिय युवासङ्घ पाँचथरसहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो । तर, छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य एक साता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकामा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाले गुनासो पोखे । डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य सङ्घसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ । तर, चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारीलगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन् । पानीको सतह घटेको तीन दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिबार आठवटा ह्युमपाइप ल्याइएको छ । यस्तै डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको छ । प्राविधिकको सल्लाहबमोजिम १२ ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् । यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ । सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सो कार्य अहिलेकै गतिमा अघि बढे एक महिनामा पनि सम्पन्न हुन कठिन छ । बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ । रासस

बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं । बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए । जीप दुर्घटनामा एक जनाको मृत्यु जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध १ ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता

काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता लिएका थिए । आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति पैदा भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गर्नुभएसँगै सो ऐन जेठ १७ गते राजपत्रमा प्रकाशित गरिएको थियो । राजपत्रमा प्रकाशित भएको स्वतः कानुन हुने भएकाले कार्यान्वयन स्वतः हुने (परिपत्र जारी गर्न नपर्ने) प्रावधान रहेको छ । जिल्ला प्रशासन कार्यालय बारा, सर्लाही, बाँके, बर्दिया, रौतहट, पर्सा, सर्लाही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सिरहालगायतले ऐनबमोजिम नागरिकता लिन संलग्न गर्नुपर्ने कागजात उल्लेख गरी, नागरिकताका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस गरी पठाउन शुक्रबार नै सार्वजनिक आग्रह गरेको थियो । यो समाचार नेपाल साचारपत्र दैनिकमा छ ।

हिमाल दोलखाको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले जेठ २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताले अब असार २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६० लाख कित्ता सेयरको साधारण सभाबाट निर्णय भएबमोजिम सेयर अनुपात १ः०.७५ को १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीका लगानीकर्ताले हाल कायम १ कित्ता सेयर बराबर ०.७५ कित्ता सेयर आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैशाख २७ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख २६ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।

अप्पर स्याङ्गे हाईड्रोको आईपीओ आजदेखि बिक्री खुला, १ लाख कित्ता खरिद गर्न पाईने

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले आज असार १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानी कोष, २ प्रतिशत कर्मचारीलाई बिक्री गरेर बाँडफाँट पश्चात् बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार १३ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’

जनकपुरधाम । करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए। आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो । ‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बनेका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको स्वाद चखाएका थिए। तर त्यति धेरै प्रयास गर्दा पनि खोजे र रोजेजस्तो परिकार खुवाउन नपाएकोमा साहलाई अझै पनि पछुतो छ । त्यसको केही समयपछि जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यसहित अर्कोपटक जनकपुर आउने कार्यक्रम त बन्यो तर खोजे र रोजेजस्तो खाना खान नपाउने समस्या फेरि दोहोरिने भयो । त्यसैले उहाँले साथीकै रेस्टुराँमा खाना खाने निधो त गरे, तर दुई घण्टा कुर्दा पनि ताजा खाना खान पाएनन् । त्यसपछि मात्रै जनकपुरधाममा ‘मिथिला थाली’ रेष्टुराँ सञ्चालन गर्ने योजना जन्मिएको साहको भनाइ छ । ‘म यही माटोमा जन्मिएँ, हुर्किएँ र यहीँको परिवारले ख्याति पनि कमाएँ’, उनले भने, ‘यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच त थियो तर यति चाँडै गरौँला भन्ने तयारी थिएन ।’ ती दुई अनुभवबाट प्राप्त सिकाइले जनकपुरमा मिथिला थाली जन्मिएको उनको भनाइ छ । ‘मिथिला थाली व्यापार मात्रै होइन’ मिथिला थाली सञ्चालन गर्ने भएपछि त्यसको सम्भावना, मौलिक परिकारका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता बुझ्न साहलाई गाउँ पस्नुपर्‍यो । जसमा साहलाई दाई दिलीपकुमारले सहयोग गरे। तर गाउँमा भने जस्तो सामान पाउन भने गाह्रो भयो । ‘युवाहरू वैदेशिक रोजगारीमा गएपछि पहिले जस्तो खेती नहु्ने रहेछ । उत्पादन कम हुन थालेपछि खोजेको जस्तो सामान भेट्न गाह्रो भयो’, उनले भने । साहले चार महिनामा गाउँबाट करिब चार सय केजी ‘बिर्या’ जम्मा गरे । बेथेको सागबाट बन्ने एक केजी बिर्याका लागि करिब १० केजी साग आवश्यक पर्छ । अग्रिम भुक्तानी गरेर सङ्कलन गरेको चार सय केजी बिर्याले मुस्किलले एक महिनामात्रै पुग्ने साहले बताए । त्यसैगरी पाँच सय केजी आँपको अचार, तिलौरी ९चामलको कनिकाबाट बन्ने० र एउटा मिथिला थालीमा राखिने १५ देखि १७ प्रकारका परिकारका लागि आवश्यक सामग्री स्थानीय बजार र गाउँघरबाट ल्याइएको उनको भनाइ छ । साहले नेपाली खानाको मौलिकता र विविधतालाई संरक्षण गर्ने, गृहिणीलाई उत्पादनसँग जोडेर एक रुपैयाँमात्रै भए पनि घर–घरसम्म पुर्‍याउने सपनासहित मिथिला थालीमार्फत परिकारको प्रवर्द्र्धनमा जुटेको बताए। सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिक्नुभएका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्षमात्रै भएको राससलाई सुनाए । ‘चौध वर्ष इन्डियामा काम गरेँ। त्यसपछिका १३ वर्ष लन्डनमा बिताए । म भारतीय खानको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ’, उनले भने । जीविका चलाउनका लागि अनेकन परिवार बनाए पनि बिबिसीबाट प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ले नै बनाएको उनको भनाइ छ । ‘त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ ।’ उनी उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उनको अनुभव छ । नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउनेमात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ । लक्ष्यः पाँच वर्षमा एक सय ‘मिथिला थाली’ भारतमा नौ सय भारु तलबबाट जागिरे जीवन सुरु गरेका साहसँग यतिबेला नाम र दाम दुवै छ । उहाँलाई नामले मात्रै लाखौँ कमाउने अवसर छ । तर, उनी त्यतिमै मात्र सीमित हुन चाहन्नन् । ‘जागिरबाट कर्जन्हाबाट वैदेशिक रोजगारीमा जाने युवाले के पाउँछन् रु, पाँच वर्षको उमेरमा बुवा गुमाएर सात सन्तान हुर्काउन एकल आमाले के पाउँछन् रु’ उनले भने, ‘मलाई यी प्रश्नले घोच्यो र उत्तरका रुपमा मिथिला थाली जन्मियो ।’ साहसँग पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पुर्‍याउने लक्ष्य छ । उहाँको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ । ‘यो व्यापारमात्रै होइन, अभियान पनि हो । यसको सफलतासँगै प्रत्यक्षरूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्’, उनले भने, ‘ती रेस्टुराँमा एकल महिलाले काम गर्नेछन् । उत्पादनसँग जोडिने भएपछि सयाँै गृहिणी तथा किसान पनि लाभान्वित हुनेछन् ।’ प्रत्येक मिथिला थालीमा रु एकदेखि तीनसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उनको भनाइ छ । गत असार ६ गते आमाको हातबाट उद्घाटन गरिएको मिथिला थालीमा करिब दुई करोड लगानी भएको छ । त्यसयता थालीप्रतिको मानिसहरुको आकर्षणले साहलाई थप हौसला मिलेको छ । साथै उहाँको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ । ‘कोसिस गर्नेहरुको हार हुँदैन’ सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा जन्मिएका साहले पाँच वर्षको उमेरमा बुवा गुमाए । त्यसपछि आमा एक्लैले आफूसहित सात सन्तान हुर्काउँदाको सङ्घर्ष साहले नजिकबाट बुझेका छन् । एकल महिलाका रुपमा आमाले खानेकुराको जोहो र चुल्होमा खाना पकाउन गरेको मेहनत साहले अनुभव गरेका छन् । त्यही सङ्घर्षले खारिएकै कारणले आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ । ‘सानैदेखि स्थानीय अन्नका परिकारसँग निकट हुन पुगेँ । जीविका चलाउन आमासँगै हटियामा पाउरोटी बेच्ने सङ्घर्षसँगै आज खाए भोलि पुग्ला कि नपुग्ला भन्ने अवस्थाले नि धेरै कुरा सिकायो’, उनले भने, ‘पारिवारिक अवस्था, स्थानीय परिवेश, कला, संस्कृतिको प्रभाव ममाथि पर्‍यो ।’ अभावै अभावका बीच कक्षा १० सम्म पुगेपनि साहले फलामे ढोका एसएलसी भनेपास गर्न सकेनन्। त्यसपछि अध्ययन छाडी १५ वर्षको उमेरमा नै उनी कर्जन्हाबाट भारत गएका थिए । ‘एसएलसीमा अनुत्तीर्ण भएँ । अर्को परीक्षा कुर्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने लागेपछि गाउँकै केही साथीहरुसँग भारत गएँ’, उनले भने, ‘अरु सीप नभएपछि रेष्टुराँमा भाँडा माझ्न सुरु गरेँ ।’ ‘एसएलसी पास गर्न नसके पनि कामबाटै धेरै कुरा सिक्ने मौका पाएँ । होटलमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट कोर्ष पनि पढेँ’, साहले भने, ‘त्यही कोर्षले जागिरे जीवनको कोर्ष नै बदल्न सहयोग गर्यो । पछि कुक हुँदै सात वर्षमा पाचँतारे होटलको ‘एक्ज्युकेटिभ सेफ’ पनि भएँ ।’ साह एसएलसीमा अङ्ग्रेजी विषयमा फेल भएका थिए। त्यतिबेला त्यसो नभएको भए सायद साहको जीवनको बाटो नै अर्को हुन्थ्यो होला । भनिन्छ, कोसिस गर्नेहरूको हार कहिल्यै हुँदैन । साहले पनि त्यही गरे जसले आजको ठाउँमा पुर्‍यायो । ‘सङ्घर्ष नै सफलताको आधार हो । मेरो सङ्घर्षले आज सफलताको नजिक पुर्‍याएको छ । अब मबाट अरु कति खुसी हुन्छन् भन्ने कुराले सफलताको मापन हुनेछ । म जुन विषयमा अनुत्तीर्ण भएर गाउँ छाड्न बाध्य भएको थिएँ, संयोग नै मान्नुपर्छ आज त्यही कक्षा, त्यही विषयको पाठ्यक्रममा मेरो बारेमा पढाइ हुन थालेको छ’, उनले भने । आम युवालाई उनको सुझाव छ, एउटा बाटो छेकिँदैमा जीवनको गति रोक्नु हुँदैन । अर्को बाटो निर्माण गर्न लाग्नुपर्छ, एक दिन अवश्य सफल भइन्छ । रासस ।

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल सहित नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए । काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन् । आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आवद्ध छन् । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे । शनिबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राज बहादुर शाह, विदुषी राणा, अजित विक्रम शाह, हेम राज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, विरेन्द्रराज पाण्डे निर्वाचित भए । यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुण कुमार तोदी, राहुल कुमार अग्रवाल, शरद कुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, आदित्य संघाई निर्वाचित भए । निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन् । अमित मोर र भीम घिमिरे पहिलो पटक परिसंघको उपाध्यक्ष बनेका हुन् । यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन् । अध्यक्ष राजेशकुमार अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धीहरुलाई संस्थागत गर्दै थप नयाँ उचाईमा पुर्याउन सक्रिय रुपमा लाग्ने बताए । उनले सरकारका छिटो छिटो परिवर्तन हुने नीति नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजनाहरु स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि प्रभावकारी रुपमा प्रस्तुत हुने बताए । उनले निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए । साधारण सभामा विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । सबैभन्दा सक्रिय उपाध्यक्षमा रोहित गुप्ता, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्यमा अनलराज भट्टराई, परिसंघले आयोजना गरेका कार्यक्रमहरु मध्ये मस्ट ह्याप्पीनिङ इभेन्ट वुमन लिडरसिप समिट, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समितिको अवार्ड पर्यटन समितिले प्राप्त गरेको छ । यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड लुम्बिनी उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड उपनिर्देशक रवि प्रजापतीले प्राप्त गरे ।

वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा

एजेन्सी । रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । ‘हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौं । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौं’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रूसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ । प्रिगोजिनको टेलिग्राम च्यानलमार्फत् विद्रोहको चेतावनीका थुप्रै श्रव्य सामग्री पोस्ट गरिएपछि यो अपिल आएको हो । रूसी समाचार संस्था तासका अनुसार यी रेकर्डिङमा प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रूसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको उल्लेख छ । यी घटनाहरूपछि मस्कोमा सुरक्षा उपायहरू उल्लेखनीय रूपमा सुदृढ गरिएको छ । अत्यावश्यक सुविधाहरू, राज्यका संस्थाहरू र यातायात पूर्वाधारहरूलाई उच्च सुरक्षामा राखिएको छ र प्रहरी र प्रतिकार्य एकाइहरू उच्च सतर्कतामा राखिएको तास समाचार एजेन्सीले जनाएको छ ।