विकासन्युज

सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

काठमाडौं  । सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ । अदालतले मंगलबार जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ । सूचनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यू आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवम् कानुन व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ । –––

सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले आज सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।  प्रदर्शनकारीहरू कार्यालयको परिसरमा प्रवेश गरी मुख्यमन्त्रीको सरकारी सवारीसाधनमा तोडफोड गरेका हुन् ।  सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदाहुँदै प्रदर्शनकारीहरू भवनसम्म प्रवेश गर्न सफल भएका थिए। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ । 

युलेन्स स्कुलमा आगजनी

काठमाडौं । जेनजी प्रशर्दनकारीहरूले युलेन्स स्कुलमा आगजनी गरेका छन् ।  आरजु राणा देउवा अध्यक्ष रहेको ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी गरेको विद्यालयका प्रधानाध्यापक मेदिन लामिछानेले बताए । विकासन्युजसँगको कुराकानीमा प्रधनाध्यापक लामिछानेले भने, ‘आगो लागिरहेको छ, हामी हेरेर बसिरहेका छौं, गर्न सकिने अवस्था केही छैन ।’उनले दमकल समेत प्रदर्शनकारी आउन नदिएको बताए । जुद्ध बारूण यन्त्र कार्यालय र दमकललाई खबर गरेपनि पुग्न नसकेको बताए। विद्यालय भवनमा अहिले आगो दन्की रहेको छ ।

रास्वपा सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् । उनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्यको हैसियतमा नरहेको घोषणा गरेका हुन् ।  साथै, आजको उनले मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको र जेनजी आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । 

देउवा निवास प्रदर्शनकारीको कब्जामा, अश्रुग्यास प्रहार

काठमाडौं । प्रदर्शनकारीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे धनगढीस्थित निवासमा प्रवेश गरेका छन् । उनीहरुले निवासभित्र प्रवेश गरेर आगजनी गरेका छन् ।  प्रहरीले उनीहरुलाई बाहिर पठाउने प्रयास गरे पनि प्रदर्शनकारीको ठूलो भीड हुँदा समस्या सिर्जना भएको हो ।   

उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । काठमाडौं उपत्यकाको  सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए । जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो ।  उपत्यकाका तीनै जिल्ल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौंलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । उनले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गरेका छन् ।

धनगढीमा रहेको देउवाको घरमा ढुङ्गामुढा

काठमाडौं । धनगढीमा रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको  घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । नयाँ पुस्ताका युवामाथि प्रहरीले गरेको दमनको विरोधमा मंगलबार देउवाको निवासमा जेनजीले ढुङ्गामुढा गरेका हुन् । अहिले देशभरका विभिन्न स्थानमा जेनजीका प्रदर्शनहरू जारी छन् । 

बानेश्वरमा फेरि गोली चल्यो

काठमाडौं । नयाँ बानेश्वरमा फेरि गोली चलेको छ । जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले फेरि गोली चलाएको हो । प्रदर्शनमा सहभागी हाम्रा सम्वाददाताका अनुसार प्रहरीले भर्खरै गोली चलाउन सुरु गरेको हो ।