काभ्रेपलाञ्चोकमा पनि लगाइयो कर्फ्यु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसो करिब १२:१५ बजेदेखि कर्फ्यु लागू भएको हो । बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गरेको जनाएको छ। कर्फ्यु लागू भएपछि काभ्रे हुँदै चल्ने राजमार्गहरू पूर्णरूपमा बन्द भएका छन् । सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ ।
एमाले सचिव रघुवीर महासेठको घरमा ढुङ्गामुढा
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव रघुवीर महासेठको घरमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । मंगलबार महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । सोमबार जेन–जी समूहले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध गरेको आन्दोलन आज मगलबार थप चर्केको छ । देशभर प्रर्दनशनकारी थप आक्रामक बन्दै गइरहेको छ ।
राष्ट्रपति भवनमा गोली चल्यो, भित्र पस्ने तयारीमा प्रदर्शनकारी
काठमाडौं । राष्ट्रपति भवन परिसरमा गोली चलेको छ। प्रदर्शनकारीले राष्ट्रपति भवनको पर्खाल भत्काउन थालेपछि प्रहरीले गोली चलाएको हो । जेनजीहरु अहिले राष्ट्रपति भवनमा पनि पुगेका छन् । उनीहरुले विभिन्न शीर्ष नेताहरुको घर घेराउ गरिरहेका छन् । विभिन्न नेताहरुको निवासमा पुगेर उनीहरुले तोडफोड तथा आगजनी गरिरहेका छन् ।
युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपालको प्रतिनिधित्व गर्दै एससिटीका सीईओ घिमिरे
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाको प्रतिनिधित्व गरेका छन् । यस प्रतिष्ठित मञ्चमा एशिया–प्रशान्त क्षेत्रका अग्रणी व्यक्तिहरू भेला भई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिएको छ । कार्यक्रममा घिमिरेले क्षेत्रीय सहकार्यलाई अझ गहिरो बनाउने र भुक्तानी प्रणालीबीच आपसी पहुँच र प्रयोग बढाउने आवश्यकतामा जोड दिए । उनले सुरक्षित, समावेशी र जोडिएको भुक्तानी वातावरण निर्माणको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे। उनले अष्ट्रेलियाको कमनवेल्थ बैंक, डीबीएस बैंक लिमिटेड (सिङ्गापुर), र इन्टर्नेसनल फाइनान्स संस्थाका प्रतिनिधिहरूसँगै उच्चस्तरीय छलफलमा वक्ताको रूपमा सहभागी हुँदै नयाँ भुक्तानी प्रवृत्ति, सहकार्यका अवसरहरू, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी प्रणालीको विकासबारे आफ्नो दृष्टिकोण राखे । यससँगै घिमिरेले एससिटीको तर्फबाट अन्य महत्त्वपूर्ण संस्थागत प्लेटफर्महरू पीसीआई सुरक्षा मापदण्ड परिषद र एससिटी–युनियनपे बोर्डमा पनि निरन्तर प्रतिनिधित्व गर्दै आएका छन् । उनको सक्रिय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा एससिटीको नेतृत्वलाई मजबुत तुल्याएको छ र नेपालसहित क्षेत्रीय स्तरमा नवप्रवर्तन, सहकार्य, र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ ।
रमेश लेखकको घरमा पनि आगजनी
काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि आगजनी भएको छ । जेनजी प्रदर्शनकारीले उनको घरमा आगजनी गरेका हुन् । अहिले प्रदर्शनकारी उनको घरको अगाडि प्रदर्शन गरिरहेका छन् । उनले सोमबार रातिमात्रै गृहमन्त्रीबाट राजीनामा दिएका थिए । उनले सोमबार भएको प्रदर्शनबाट १९ जनाको मृत्यु भएको र सयौं घाइते भएको भन्दै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।
झापाको बिर्तामोडस्थित एमालेको कार्यालयमा आगजनी
काठमाडौं । झापामा एमाले कार्यालयमा आगजनी गरिएको छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् । कोशी प्रदेशका इटहरी, विराटनगर लगायत शहरमा बिहानैबाट आन्दोलन जारी छ ।
कर्फ्यु तोड्दै सडकमा युवा: चर्किँदै आन्दोलन
काठमाडौं । नयाँ पुस्ताका युवामाथि प्रहरीले गरेको दमनको विरोधमा आज देशभर प्रदर्शनहरू भइरहेका छन् । कर्फ्यु आदेश जारी गरिएको अवस्थामा पनि देशका विभिन्न स्थानमा युवाहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा चक्रपथभित्र कर्फ्यु आदेश लागु गरिएको भए पनि प्रदर्शन रोकिएको छैन । उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शनहरू जारी छन् । यस्तै, ललितपुरमा सञ्चारमन्त्रीको निवासमा आगजनी भएको पुष्टि भएको छ । यद्यपि आगजनी कसले र कसरी ग¥यो भन्ने विषयमा विस्तृत जानकारी आउन बाँकी छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा आज बिहानैदेखि फेरि प्रदर्शनहरू भइरहेका छन् । सातदोबाटो र कलंकीको चक्रपथ खण्डमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शन बढ्दै गएकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्छ भने केही स्थानमा स्थिति तनावपूर्ण बन्दै गएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा, आगजानीको प्रयास
काठमाडौं । जनकपुरधाम स्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगा मुढा प्रहार भएको छ । आज बिहानै बाटै आन्दोलनमा होमिएका युवाहरूले मुख्यमन्त्री कार्यालयमा ढुंगा मुढा गरेका हुन् । कार्यालयभित्र प्रदर्शनकारीले आगो लगाउने प्रयास समेत गरेका छन्, तर सुरक्षा कडा भएकाले सम्भव भएको छैन । हिजो सोमबार जेन–जीेले सुरु गरेको आन्दोलनमा सयौं जना घाइते भएका छन् भने १९ जनाले ज्यान गुमाएका छन् । आज देशभर आन्दोलन जारी छ । देशका विभिन्न ठाउँको अवस्था आन्दोलनमय भइरहेको छ ।