विकासन्युज

खानेपानी मन्त्री प्रदीप यादवले पदबाट दिए राजीनामा

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । ‘प्रिय युवा भाईबहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भने, ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’

ओलीले बोलाए सर्वदलीय बैठक, वार्तामार्फत अघि बढ्न अपिल

काठमाडौं । राजधानीसहित देशका विभिन्न भागमा हिजो भएका प्रदर्शन र त्यसपछिका घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चासो व्यक्त गरेका छन्।  उनले कुनै पनि प्रकारको हिंसा राष्ट्र र जनताका हितमा नहुने भन्दै शान्तिपूर्ण तरिकाले संवादमार्फत समाधान खोज्न सबैलाई आग्रह गरेका छन् । ओलीले मंगलबार एक वक्तव्य जारी गर्दै भने, ‘राष्ट्रलाई थप अस्थिरतामा धकेल्ने हिंसात्मक गतिविधि भन्दा सहमति, संवाद र परिपक्व राजनीतिक व्यवहार नै हाम्रो अपनाउनुपर्ने बाटो हो । ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उक्त बैठकले आगामी कदमबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। साथै उनले सम्पूर्ण नेपालीहरूलाई यस विषम परिस्थितिमा संयम रहन पनि अनुरोध गरेका छन् ।  

खानेपानीमन्त्री यादवले गरे राजीनामा दिने घोषणा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सोमबार ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जना युवाको मृत्यु भएको घटनापछि मन्त्री यादवले सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । ‘प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईंहरू नै मेरो पहिलो प्रेरणा र ऊर्जा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो भएको आन्दोलनप्रति समर्थन र सरकारले गरेको दमनप्रति विरोध जनाउँदै म खानेपानी मन्त्री पदबाट राजीनामा दिन्छु ।’

कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी

काठमाडौं । प्रदर्शनकारीहरुले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेको छ । मंगलबार जेन–जी प्रर्दशनकारीहरुले  किर्तिपुरको नयाँ बजारस्थितकीर्तिपुर भवनमा आगजनी गरेका हुन् । नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले प्रमुख कृष्णमान डंगोलको कार्यकक्षमा आगजानी सुरु भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ   प्रर्दशनकारीले आज देशभरका विभिन्न स्थानमा तोडफोड तथा आगजानी गरिहेका छन् । प्रर्दशनकारीहरु आक्रामक बन्दै गएको छ ।       

जेनजी पुस्ताको माग सुनुवाइ गरेर सहज वातावरण सिर्जना गर्न इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले हालै २८ वर्षमुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएका घटनाप्रति दुःख व्यक्त गरेको छ । संस्थाले घटनाबाट उत्पन्न चिन्ताजनक अवस्था सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । विभिन्न स्थानमा मंगलबार पनि विरोध प्रदर्शन जारी रहेको बेलामा असहज परिस्थितिपछि सबै प्रदर्शनकारीहरूलाई थप हानि हुनबाट बचाउन इप्पानले माग गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले प्रदर्शनकारीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता प्रदान गर्ने र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने जस्ता वैध माग सरकारबाट यथोचित सुनुवाइ हुनुपर्ने माग गरे ।  'घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौँ,' उनले भने । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै इप्पानले उनीहरुको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीलाई अपिल गरेको छ । शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा अनावश्यक बल प्रयोग हुनु लोकतान्त्रिक मूल्य र संविधानविपरीत भएको इप्पानको ठहर छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् । जेनजी युवाहरूको समूहले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् ।

नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आगजनी

काठमाडौं । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ। जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका हुन् ।  सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् । 

सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

काठमाडौं  । सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ । अदालतले मंगलबार जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ । सूचनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यू आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवम् कानुन व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ । –––