जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्ला । जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बीमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । आठ स्थानीय तह रहेको जुम्लामा बीमा लागू भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । ज्येष्ठ नागरिक तीन हजार ७२६, अति अशक्त अपाङ्गगता ८७ र महिला स्वास्थ्य स्वंयसेविका २८८ जनाको परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालय प्रमुख भण्डारीले बताए । उनले भने, 'जिल्लाका १३ हजार बढी घरपरिवार बीमामा आबद्ध छन्, विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको हो ।' स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्ण रुपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् । अहिले बीमा सहजकर्ता घरघरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको हकमा शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा नै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।
यी हुन् बढी वैदेशिक व्यापार गर्ने भन्सार कार्यालय
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन-असोज) महिनासम्ममा देशभरका २८ भन्सार कार्यालयबाट ४ खर्ब ६८ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । भन्सार विभागका अनुसार असोजसम्ममा सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट २ खर्ब १८ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । त्यसैगरी धेरै वस्तु तथा सेवा त्रिभुवन विमानस्थलबाट भित्रिएको छ । असोजसम्ममा उक्त कार्यालयबाट ५३ अर्ब २० करोड ९३ लाख रुपैयाँ आयात भएको छ । तीन महिनामा चोभार भन्सारबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको वस्तु तथा सामान भित्रिएको छ । विभागको तथ्यांक अनुसार चोभार भन्सार कार्यालयबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७१ अर्ब ६० करोड रुपैयाँ, विराटनगर भन्सारबाट ५८ अर्ब ७६ करोड रुपैयाँ, मेची भन्सारबाट १२ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ, तातोपानीबाट ९ अर्ब ४४ करोड रुपैयाँ, कृष्णनगर भन्सार कार्यालयबाट ६ अर्ब ९ करोड ४६ लाख रुपैयाँ, कैलाली भन्सार कार्यालयबाट ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ, मुस्ताङ भन्सार कार्यालयबाट ५ अर्ब २७ करोड ९० लाख रुपैयाँ वस्तु तथा सामान भित्रिएको छ । जलेश्वर भन्सार कार्यालयबाट १ अर्ब ९० करोड ६६ लाख रुपैयाँ, सर्लाही भन्सारबाट ६८ करोड ४६ लाख रुपैयाँ, सुनसरी भन्सार कार्यालयबाट ५३ करोड ५१ लाख रुपैयाँ, कञ्चनपुर भन्सारबाट ५० करोड ७७ लाख रुपैयाँ, रसुवा भन्सारबाट ३८ करोड ८१ लाख रुपैयाँ, गौर भन्सार कार्यालयबाट ३७ करोड २ लाख रुपैयाँ, सुठौली भन्सार कार्यालयबाट २७ करोड ७६ लाख रुपैयाँ, जनकपुर भन्सारबाट २७ करोड ३० लाख रुपैयाँ, महेशपुर भन्सार कार्यालयबाट २० करोड २२ लाख रुपैयाँ आयात भएको छ । विभागका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट १७ करोड ६८ लाख ३० हजार रुपैयाँ, सत्तीबाट १७ करोड १७ लाख रुपैयाँ, भद्रपुर ११ करोड ७९ लाख रुपैयाँ, सिराहाबाट १० करोड ५२ लाख रुपैयाँ, राजविराजबाट ६ करोड ९० लाख रुपैयाँ, ड्राइपोर्ट भन्सारबाट ४ करोड १० लाख रुपैयाँ, ठाँडी भन्सार कार्यालयबाट १७ लाख ३१ हजार रुपैयाँ, पशुपतिनगर भन्सार कार्यालयबाट १ लाख २७ हजार रुपैयाँ र त्रिवेणी भन्सारबाट ७४ हजार रुपौँ बराबरको वस्तु तथा सामान भित्रिएको छ । ७२ अर्ब ७८ करोडको निर्यात भन्सार विभागका अनुसार तीन महिनामा १६ भन्सार कार्यालयबाट ७२ अर्ब ७८ करोड २८ लाख रुपयाँ बराबरको वस्तु बाहिरिएको छ । जसमध्ये सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । विरगञ्जबाट २६ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ निर्यात भएको छ । त्यस्तै विराटनगर भन्सारबाट ६१ अर्ब ६६ करोड २२ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७ अर्ब ४४ करोड रुपैयाँ, जलेश्वरबाट १ अर्ब ३८ करोड १५ लाख रुपैयाँ र मेचीबाट ४ अर्ब ८० करोड २५ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।
लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग आग्रह गरेको छ । महासंघले ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको जनाएको छ । 'घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारवाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरुबाट जानकारी प्राप्त भैरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढन गइ लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ । यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दिर्घकालीन असर पार्ने छ,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ । यसबारे औपचारिक आग्रह गर्दै महासंघले गृहमन्त्रालयमा पत्राचार समेत गरिसकेको छ । सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरि जिल्ला स्तरिय सुरक्षा योजना, जोखिम मुल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यवसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरुको सहभागिताका लागि आग्रह गरेको हो । आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभइ स्थायित्व नहुने, स्थायित्व नभइ उद्यम व्यवसाय संचालन हुन नसक्ने र उद्यम व्यवसाय संचालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य सर्त भएको बताए । उनले दण्डहीनता अन्त्य गरि भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्ने बताए । उनले समाजमा थप अन्यौल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहिनताको अन्तको लागि दोषीमाथी छानबिन गरि कारबाहीको गर्नु पर्ने बताए । महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न निजी क्षेत्रले सरकारको सक्रियता अपेक्षा गरेको बताए । यस्तै उनले अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरि स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीहरूको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । छलफलका क्रममा देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै यस अवस्थामा उद्यमी व्यवसायीले निर्वाध रुपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको थियो । छलफलमा महासंघमा उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य सहित स्थायी समिति तथा समितिरफोरमका सभापतिहरू सहभागी भएका थिए ।
कांग्रेस कार्यवाहक सभापति खड्काले भने - प्रतिनिधिसभा विघटन असंवैधानिक
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवस समारोहमा उनले आफ्नो विचार राख्दै असंवैधानिक कदमको कडा आलोचना गरेका हुन् । खड्काका अनुसार जनआन्दोलनको माध्यमबाट गठन भएको अन्तरिम सरकारले देशको लोकतान्त्रिक प्रक्रियामा चोट पुर्याएको छ । उनले भने, 'हाम्रो संविधान र लोकतान्त्रिक मान्यताहरूको मर्मलाई बेवास्ता गर्दै प्रतिनिधिसभा विघटन गर्नुले जनताको विश्वासमा ठूलो धक्का पुगेको छ ।' सभापतिले पार्टीको भातृ संगठन नेपाल तरुण दलका सदस्यहरूलाई लोकतन्त्रको रक्षामा सक्रिय भूमिका खेल्न र सचेत नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा संवाद र सहकार्यको महत्त्वमा पनि जोड दिएका छन् । कार्यवाहक सभापति खड्काले युवाहरूलाई असंवैधानिक कदमहरूलाई नसहन र संविधानको सर्वोच्चता कायम राख्ने लडाइँमा अनवरत लाग्न निर्देशन दिएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सलाई ‘डबल ए माइनान्स’ रेटिङ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘डबल ए माइनान्स’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम न्यून रहेको मानिन्छ । नेपाल लाइफले सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले हाल देशभर करिब १९० भन्दा बढी शाखा विस्तार गर्दै आएको छ । अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थान समूह मिलेर सञ्चालन हुँदै आएको यस कम्पनीले जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा राख्दै आएको छ । कम्पनीको कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी अंश रहेको छ । जसले कम्पनीको नाफा र प्रिमियम बढाउन सहयोग पुगेको छ । कम्पनीको पहिलो वर्षको प्रिमियममा केही उतारचढाव भए पनि नवीकरण प्रिमियम आम्दानीले उल्लेखनीय नाफा कमाउँदै आएको छ । कम्पनीको लगानीको गुणस्तर पनि राम्रो मानिएको छ । स्थिर आम्दानी दिने निक्षेप र साधनहरूमा गरिएको लगानीले कम्पनीलाई सुरक्षित प्रतिफल दिलाएको छ । हाल ब्याजदर घट्दो क्रममा भए पनि कम्पनीले झन्डै ९.३ प्रतिशतसम्म औसत ब्याज दर पाएको छ । कम्पनीको करिब ९९ प्रतिशत व्यवसाय बचतमुखी बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्याएको छ । २०८२ साउनसम्ममा कम्पनीको सॉल्भेन्सी अनुपात करिब १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि हो । कम्पनीले आफ्ना बीमा जोखिमहरूलाई नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेड मार्फत पुनर्बीमा गरेको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको ८ औं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । चार दिनसम्म चल्ने यो सभा सोमबारदेखि बिहीबारसम्म भारतमा हुँदैछ । जसमा ४० भन्दा बढी देशका ऊर्जामन्त्रीहरू सहभागी हुनेछन् । सभामा सौर्य ऊर्जाको प्रवद्र्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरूबारे विस्तृत छलफल हुने कार्यक्रम छ । नेपालका तर्फबाट मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ विषयमा सम्बोधन गर्ने तय भएको छ । नेपाल २०८१ साल भदौमा १०१ औं सदस्य राष्ट्रका रूपमा आईएसएमा आवद्ध भएको थियो । मन्त्री घिसिङले बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
जलविद्युत् आयोजना र ठेकेदार विवादले दाङखोलामा मोटरेबल पुल निर्माण ५ वर्षदेखि अलपत्र
म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबिच विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो । वि.सं. २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य सुरु नै नभएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । 'धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ', उनले भने,'पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु भएको छैन ।' वि.सं. २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको वडाध्यक्ष खत्रीले बताए । पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौता लगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, वि.सं. २०७७ को बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र पछिल्लो समय निर्माण व्यवसायी अदालत गएपछि पुल निर्माण कार्य प्रभावित बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । काम नभएपछि कार्यालयले ठेकेदारलाई पेस्की दिएको रु ३३ लाख धरौटीबाट फिर्ता गरेको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले दाङखोलामा मोटरेबल पुल नबन्नुको मुख्य कारण दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजना भएको बताए । 'सम्झौता लगत्तै आएका ठेकेदारलाई काम गर्न दिएको भए त्यही समयमा पुल बन्ने थियो', उनले भने, 'सहमतिअनुसार दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले नै दाङखोलामा पुल बनाउनुपर्छ ।' जलविद्युत् आयोजनाको प्रवर्द्धक धौलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको र मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए । तत्कालीन निर्देशक हर्कमान मगरले दाङखोलामा सरकारी पक्षबाट पुल निर्माण हुन नसके आयोजनाले पुल बनाउने लिखित निर्णयमा हस्ताक्षर गरेका थिए । रासस
प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजा गर्न जाने
काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की सोमबार कमलपोखरीमा छठ पूजा गर्न जाने भएकी छन् । छठ पर्वको अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा पूजा हुने भएकाले कमलपोखरी क्षेत्रलाई विशेष रूपमा सजावट गरिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्कीले आज दिउँसो ४:१५ बजे कमलपोखरीमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी कमलपोखरी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।