रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिँदै, सडकमा उत्रिन रविको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सबै सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । अहिले आकस्मिक संसदीय दलको बैठक बसेर सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । अहिलेसम्म असिम साह, सुमना श्रेष्ठ र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन् । हिजो सभापति रवि लामिछानेले सबै सांसदहरूलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार रास्वपाका सांसदले राजीनामा दिन लागेका हुन् । देशभर जेनजीको आन्दोलन आक्रामक बनेपछि नेताहरूका घर र निवासहरूमा तोडफोड भइरहेको छ ।
गगन थापाको घरमा ढुंगामुढा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।
देशभर सार्वजनिक यातायात बन्दको घोषणा
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर सार्वजनिक तथा मालवाहक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महासंघले हालको असहज परिस्थितिमा यात्रुवाहक र मालवाहक सार्वजनिक यातायात सञ्चालन असम्भव भएको उल्लेख गर्दै नेपाल सरकारले शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति नदिएसम्म देशभर सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द रहने स्पष्ट पारेको हो । महासंघले विज्ञप्ति जारी गर्दै ‘जेनजी’ को प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै नेपाल सरकारलाई घाइतेहरूको उपचारको समुचित व्यवस्था गर्न माग गर्दै महासंघ अन्तर्गतका सबै संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई उपचार सहयोगका लागि आग्रहसमेत गरेको छ । विज्ञप्तिमार्फत महासंघले आफ्ना सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरुलाई सार्वजनिक तथा मालवाहक सवारी साधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको छ ।
रास्वपा सांसद डा. तोसिमा कार्कीले दिइन् राजीनामा
काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले सांसद पदबाट राजीनामा दिएकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद पदबाट हट्ने घोषणा गरेकी छन् । उनले आफू जेनजीको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् । ‘म आधिकारीक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११ः५५ बजे देखिनै यो अपराधि र संवेदनाहिन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,’ उनले लेखेकि छिन् ।
खानेपानी मन्त्री प्रदीप यादवले पदबाट दिए राजीनामा
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । ‘प्रिय युवा भाईबहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भने, ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’
ओलीले बोलाए सर्वदलीय बैठक, वार्तामार्फत अघि बढ्न अपिल
काठमाडौं । राजधानीसहित देशका विभिन्न भागमा हिजो भएका प्रदर्शन र त्यसपछिका घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चासो व्यक्त गरेका छन्। उनले कुनै पनि प्रकारको हिंसा राष्ट्र र जनताका हितमा नहुने भन्दै शान्तिपूर्ण तरिकाले संवादमार्फत समाधान खोज्न सबैलाई आग्रह गरेका छन् । ओलीले मंगलबार एक वक्तव्य जारी गर्दै भने, ‘राष्ट्रलाई थप अस्थिरतामा धकेल्ने हिंसात्मक गतिविधि भन्दा सहमति, संवाद र परिपक्व राजनीतिक व्यवहार नै हाम्रो अपनाउनुपर्ने बाटो हो । ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उक्त बैठकले आगामी कदमबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। साथै उनले सम्पूर्ण नेपालीहरूलाई यस विषम परिस्थितिमा संयम रहन पनि अनुरोध गरेका छन् ।
खानेपानीमन्त्री यादवले गरे राजीनामा दिने घोषणा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सोमबार ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जना युवाको मृत्यु भएको घटनापछि मन्त्री यादवले सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । ‘प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईंहरू नै मेरो पहिलो प्रेरणा र ऊर्जा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो भएको आन्दोलनप्रति समर्थन र सरकारले गरेको दमनप्रति विरोध जनाउँदै म खानेपानी मन्त्री पदबाट राजीनामा दिन्छु ।’
कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी
काठमाडौं । प्रदर्शनकारीहरुले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेको छ । मंगलबार जेन–जी प्रर्दशनकारीहरुले किर्तिपुरको नयाँ बजारस्थितकीर्तिपुर भवनमा आगजनी गरेका हुन् । नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले प्रमुख कृष्णमान डंगोलको कार्यकक्षमा आगजानी सुरु भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ प्रर्दशनकारीले आज देशभरका विभिन्न स्थानमा तोडफोड तथा आगजानी गरिहेका छन् । प्रर्दशनकारीहरु आक्रामक बन्दै गएको छ ।