विकासन्युज

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ ।  त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।  सूचनामा भनिएको छ, 'मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।'   

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि, गतवर्ष ८२ करोडभन्दा बढी कारोबार

मुस्ताङ । मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा-काठमाडौंलगायत स्थानमा पुर्‍याइसकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताए । गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’ स्याउ बगैँचा क्षेत्र रहेकामा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको उनले जानकारी दिए । यसवर्ष गत वर्षभन्दा एक सय २५ मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । यस वर्ष गत वर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङले सुनाए । गत वर्ष यहाँ आठ सय ३० हेक्टरमा स्थानीय लगाइएकामा छ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो । ज्ञान केन्द्रले गत वर्षभन्दा ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको छ । थासा-१ टुकुचेका कृषक दिपसागर थकालीले यसवर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताए । 'गत वर्ष लटरम्म फलेको थियो, तर यस वर्ष बोटमा स्याउ नै थोरै फलेको छ', उनले भने । केही क्षेत्रमा भने उत्पादनमा समस्या नआउने अनुमान रहेको छ । यहाँको घरपझोङ-५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका सञ्चालक कर्म गुरुङले बताए । बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानले समेत स्याउ उत्पादनमा फरक पर्ने उनले सुनाए । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बोटमा फूल फुल्दै गरेको बेला वर्षा भएकाले असर पुर्याएकाले उत्पादनमा कमी आउने देखिएको बताए । तथापि, जिल्लामा कति स्याउ उत्पादन भयो भन्नेबारे असोजपछि यकिन हुने उनको भनाइ छ । केन्द्रका अनुसार स्थानीय र ‘हाइब्रिड’ गरी गतवर्ष यहाँ छ हजार १६ हेक्टर क्षेत्रफलमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ बाहिर निकासी भएको थियो । स्याउ निकासीबाट रु ८२ करोड ६८ लाख कारोबार हुँदा रु नौ करोड १८ लाख ६७ हजार बाराबर जिल्लामै खपत भएको ज्ञान केन्द्रले जनाएको छ । रासस

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।        सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।        सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताएका छन् । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।   

कान कम सुन्ने र मुटुको अपरेसन गरेको आमाको कोठामा आक्रमण गर्नेको फलोस् फुलोस् : गभर्नर डा. पौडेल

काठमाडौं । जेनजी आन्दोलनकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका घरमा समेत तोडफोड र आगजनी गरेका छन् । गभर्नर पौडेलको ललितपुरको भैँसेपाटी र चितवनस्थित घरमा तोडफोड र आगजनी गरेको जनाएका छन् ।  कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा आक्रमण गरिएको उनले बताए । गभर्नर भएपछि पनि हरेक हप्ता एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गरेको उनले सुनाए । चितवनस्थित घरमा भएको आक्रमणको भिडियो सेयर गर्दै पौडेलले भने, ‘यस भिडियोमा शुरूमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीय बुढी आमाको सुत्ने कोठा हो । वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म विद्यार्थी छँदा नै बनाएको घर हो ।’  गभर्नर पौडेलका बुवा ८७ वर्षका भएका छन् । भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् भन्दै भिडियो सेयर गरेका छन् ।  ‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन्,’ उनले भने, ‘जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सिधै कक्षामा फस्ट हुन्थे । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस् ।’  

आज देशभर मौसम बदली, यी प्रदेशमा मध्यम र भारी वर्षा हुने

काठमाडौं । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी तराईका भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कर्फ्यु आदेश खुकुलो गर्दै सेना, बिहान ४ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यु खुकुलो तुल्याइने जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यु भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ । निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि  १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ । निषेधाज्ञा तथा कर्फ्युको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनाहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ । उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाएकाे छ । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नु हुने सेनाले स्पष्ट गरेको छ । सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ । काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिए बमोजिम हुने जानकारी दिइएको छ । जस्तोसुकै परिस्थितिमा पनि आमनेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्‍याउन सबैमा सेनाले अपिल गरेको छ ।

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बालेनको समर्थन, संसद् विघटन गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन् । जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको भन्दै मेयर बालेनले  कार्कीलाई समर्थन गरेका हुन् ।  साथै, उनले कार्की प्रधानमन्त्री बन्नु अघि संसद् विघटन गर्नुपर्ने उनले बताए ।  ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला,’ उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिएको थियो ।  https://www.facebook.com/share/p/1JZ4wEaudr/  

संविधानसम्मत प्रक्रियाबाट संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा भएको मृत्यु र सयौं घाइते भएको घटनाप्रति सो पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । एमालेका महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौंको क्षति पुगेको र जेलबाट हजारौं कैदीबन्दी बाहिरिएको प्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । वक्तव्यमा सुरक्षा निकायको भूमिकाको पनि समीक्षा हुनुपर्ने भनिएको छ । यस्तो प्रतिकूल अवस्थामा पार्टी पङ्क्तिलाई अविचलित र एकताबद्ध रहन आग्रह गर्दै वक्तव्यमा भनिएको छ, ‘अहिले सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अघि बढ्नु जरुरी छ ।’ उत्पन्न राजनीतिक अवस्थाको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने भन्दै एमालेले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न र युवापुस्ताका मागलाई सम्बोधनका लागि पहल गर्न आग्रह गरेको छ ।