विकासन्युज

काठमाडौंमा अतिक्रमित जग्गा हटाउन ७ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौंमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिनको अल्टिमेटम दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् ।  महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिने निर्णय गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवन जन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गर्नुहोला,’ महानगर र प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । 

आज दिनभरी वर्षा हुने, साँझदेखि मौसममा सुधार आउने

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान  छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका केही  तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना छ । यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ । भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ । प्रशासनले बिहीबार सार्वजनिक सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई सो आग्रह गरिएको जनाएको छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, खुमईलगायतका क्षेत्रमा पदयात्रामा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रजीअ शिवप्रसाद लम्सालले बताए ।  यसैगरी प्रशासनले जिल्लाका विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ र सिक्लेस सडक खण्डमा शुक्रबारसम्म रातको समयमा यातायात सञ्चालनमा समेत रोक लगाएको छ ।  बर्सातको समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु नचढाउन र संयमता पूर्वक सवारी चलाउन आग्रह गरिएको छ । प्रशासनले विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई, सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । 

महाकाली सिँचाइ आयोजनाकाे मुआब्जामा सकस, प्रगति २७ प्रतिशतमा सीमित

काठमाडौं । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचे अनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेश भक्त पोखरेलले जानकारी दिए ।  ‘राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो । अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण ४ वटा प्याकेजमा काम भइरहेको छ,’ सिडीई पोखरेलले भने ।  ४ प्याकेजको मूल नहर निर्माणका लागि १ अर्ब ९७ करोड रुपैयाँको ठेक्का सम्झौता गरिएको छ । करिब २ वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि ४ वटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य ३ वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहर अन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट)देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए । भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल-भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने १ हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेड रेगुलेटर लगायतका संरचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकारात्मक देखिएको छैन । ‘मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, ५/७ वटा शाखा नहरसमेत निर्माण गरिएको छ । पानीका लागि पटकपटक ताकेता पनि भएको छ,’ पोखरेलले भने ।  उनले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा ९ अर्ब रुपैयाँ लगानी भइसकेको जानकारी दिए । करिब २ वर्षअघि मालाखेतीसम्म ४ वटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ ।  ‘मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झन लगायतका कारणले कामले गति धेरै लिन सकेन । पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन,’ उनले भने ।  आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनवस्ती, गुलरिया र दोधारा चाँदनी पुर्याइनेछ । त्यसका लागि कुल १५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ । आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन १ लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गनुपर्ने बाध्यता विद्यमान छ । महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिचाइँ सुविधा पुगेको थियो । 

घरजग्गाको कारोबार गर्नेलाई लाइसेन्स बाँड्दै विभाग, १० लाख रुपैयाँ शुल्क

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । विभागले एक सूचनामार्फत ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ । अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । विभागको सूचनाअनुसार एक पटकमा ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले ५ लाख रुपैयाँ र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ । सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा ६ वटा महानगर र ११ वटा उप-महानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो ।

आज विश्वका विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदै

काठमाडौं । शहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जन केन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा यसै अवसरमा आज कोलोम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसर युक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवर्द्धन गर्नु हो । विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ । राष्ट्र सङ्घको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ ।   

चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते, अवरुद्ध भएको सडक खुल्यो

काठमाडौं । गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका-९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । चितवनस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ । 

हिमालयनबाट बाहिरियो हबिब बैंक, अब नेशनल लाइफ सबैभन्दा ठूलो सेयरधनी

काठमाडौं । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.२२ अंक बढेर २ हजार ६००३८ विन्दुमा पुग्यो । दिनभरिको उतारचढाव पछि सेयर कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबर भयो । आज दिनभर ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको नेप्सेले जनाएको छ । आज हिमालयन बैंकको १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर ब्रोकर नम्बर ४८ अर्थात् त्रिशक्ति सेक्युरिटिज पब्लिकबाट बिक्री भएको छ भने ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट खरिद गरिएको छ । उक्त सेयर हिमालयन बैंकका सबैभन्दा ठूलो संस्थापक सेयरधनी पाकिस्तानको हबिब बैंक लिमिटेडले बिक्री गरेको हो । हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन लागेको हो ।  हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकको उक्त सम्पूर्ण संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गरेको हो । यस मूल्यका आधारमा नेशनल लाइफले उक्त सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९९ रुपैयाँमा खरिद गरेको हो । तर, नेप्सेमा भने बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१ रुपैयाँमा कारोबार भएको देखिन्छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार होम पेज (गृहपृष्ठ)मा देखिएको सेयर मूल्य १३१ रुपैयाँ रेगुलर ट्रेड भएपनि वास्तविक मूल्य भने फ्लोरसिटमा देखिन्छ ।  ‘होमपेजमा देखिएको १३१ रुपैयाँ रेगुलेर ट्रेड हो । हिमालयन बैंकको सेयर खरिद बिक्री नेगोसिएट विण्डोबाट भएको हो । फ्लोरसिटमा भने खरिदबिक्री प्रतिकित्ता ११८.८८ रुपैयाँमै भएको छ,’ उनले भने, ‘यस्तो सेयर खरिद बिक्रीलाई नेगोसिएट भनिन्छ । किनभने बाहिर नै सेयर मूल्य तय भएर नेप्सेमा कारोबार देखाएको मात्रै हो । यसले दुविधा भएपनि आगामी दिनमा यस्तो सुधार गरिनेछ ।’  साथै हबिबले बिक्रीमा राखेको सेयरमध्ये बिहीबार ५० प्रतिशत मात्रै कारोबारमा आएको छ । बाँकी रहेको ५० प्रतिशत सेयर आइतबार मात्रै कारोबारमा आउने नेशनल लाइफ स्रोतले जनाएको छ ।  ‘आज ५० प्रतिशत मात्रै सेयर कारोबार भयो । कारोबारको डिजिजका कारण बाँकी रहेको ५० प्रतिशत अर्थात् १ करोड ४० लाख ६ हजार २२३ कित्ता सेयर आइतबार मात्रै कारोबारमा आउनेछ,’ कम्पनी स्रोतले भन्यो । हबिबले तिर्याे १३ करोड २२ लाख रुपैयाँ कर हबिबले हिमालयन बैंकको संस्थापक सेयर नेशनल लाइफलाई बिक्री गर्दा १३ करोड २२ लाख १८ हजार रुपैयाँ कर सरकारलाई तिर्नु परेको छ । हबिबले पुँजीगत लाभकर २५ प्रतिशतका दरले उक्त कर सरकारलाई बुझाउनु परेको हो । बैंकले बिक्रीमा राखेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयरको मूल्य अंकित मूल्य १ सय रुपैयाँ कायम हुनेछ । तर, बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १८.८८ रुपैयाँ थप गरेर बिक्री गरेको हुँदा सो आम्दानीमा २५ प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्ने हुन्छ ।  ‘बिक्री गर्ने संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ । नेप्सेमा कारोबार भएपछि सिस्टमबाट टीडीएस बापत १० प्रतिशत काट्छ भने १५ प्रतिशत रकम कर कार्यालयमा बिक्री गर्ने ब्रोकर कम्पनीले संस्था (हबिब) को नाममा जम्मा गर्नुपर्छ,’ एक ब्रोकर व्यवसायीले भने, ‘११८.८८ रुपैयाँमा खरिद बिक्री भएपनि १८.८८ रुपैयाँमा मात्रै २५ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ ।’