जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…
कैलाली । कैलारी गाउँपालिका-५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ । गाउँका सबैले कठरियालाई स्नेहपूर्वक 'रामदास डाक्टर' भनेर सम्बोधन गर्छन् । तर उनी न त डाक्टर न वैद्य नै हुन् । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् । हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउँछन् । छामेरै भन्छन्, 'यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।' त्यसपछि उपचार गर्छन् । आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्यांक छैन । त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका हाेइनन् । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे । अहिले त्यही सीप उनको परिचय बनेको हो । ४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् । कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउँछन् । उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्। उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गर्दैनन् । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्छन् । भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्छन्, 'मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौं, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।' हरेक गाउँमा उनले उपचार गरेका अनेकौं उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उनीकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् । उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन्। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउँछन् । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउँछन् । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । 'मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,' उनी भन्छन्, 'उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।' उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहन्छन् । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनी भन्छन् 'अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।' रासस
राष्ट्रपति पौडेल कतार प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । सोमबार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गरेका हुन् । कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गरेका हुन् । उनी कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनेछन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदमाई गरे । पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भाग लिन मन्त्रीपरिषद्को बैठकले गत बुधवार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो ।
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,’ जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उनले भने ‘सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।’ स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए/नभएको स्थलगत अध्ययन गरेका थिए । स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए । 'पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ,' उनले भने 'रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ ।' डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकीन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ । रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ । यसैबीच दातृ निकाय टोलेडोजुका आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको छ । समुद्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्टापन्न वन्यजन्तुको सूचीमा राखेको छ । जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बजानकारी दिए । 'चोरीसिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधिका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि र संरक्षणमा चुनौती देखिएको छ,' उनले भने 'समुदायस्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौँ ।' जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, किसानलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए । 'हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ,' उनले भने 'रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ ।' रासस
फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे १३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहतर्फको ३ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा लघुवित्तको १३ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लघुवित्तको सेयरमा आज कात्तिक १७ गतेदेखि कात्तिक २३ गतेसम्म आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ
आरएसडिसी लघुवित्तको वितरणयोग्य नाफा ९.९३ करोड रुपैयाँ, लाभांश क्षमता ६.१७ प्रतिशत
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २ करोड ११ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको ३ महिनामा लघुवित्तले २ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो । गत आवको ३ महिनाको तुलनामा चालु आवको ३ महिनामा लघुवित्तको नाफा घटेको देखिन्छ । चालु आवको असोज मसान्तसम्मा लघुवित्तले ४ करोड ४८ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४० लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तले खुद शुल्क तथा कमिशन आम्दानी २० लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ करोड ६९ लाख ३९ हजार रुपैयाँ, सञ्चालन नाफा ३ करोड १ लाख ५४ हजार रुपैयाँ रहेको छ । गत असोजसम्ममा लघुवित्तको वितरणयोग्य नाफा ९ करोड ९३ लाख ५८ हजार रुपैयाँ रहेको छ । सो आधारमा लघुवित्तको लाभांश क्षमता ६.१७ प्रतिशत रहेको छ । लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको असोजसम्ममा लघुवित्तले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटी लिई ६ अर्ब २७ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको असोजमा २.५७ प्रतिशत रहेको खराब कर्जा बढेर चालु आवको असोजमा ४.४४ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर ६.६७ प्रतिशत रहेको छ ।
गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले भोलि अर्थात् कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंक सञ्चालक समितिले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।
कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले ३२ लाख ६८ हजार २०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २० गते कृषि विकास बैंकको सभाहल रामशाहपथ काठमाडौंमा बिहान ११:३० बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, सञ्चालक समिति गठन गर्नेछ । कृषि विकास बैंकका कर्मचारी र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरूको संचय कोषको रकम तथा अन्य पुँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरूको धितोपत्र तथा ऋृणपत्रहरू र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यका साथ विसं २०५० चैत २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विसं २०५० चैत ३० गतेदेखी संचालनमा आएको हो ।
८ अर्ब ७० करोडका सवारी भित्रिँदा ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन
काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ७० करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारी साधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ३ महिनामा सवारी साधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए । जबकी गत आवको ३ महिनामा भने ६ अर्ब १९ करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको ३ महिनामा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको ३ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ पर्ने २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै गत आवको ३ महिनाको अवधिमा भने २ अर्ब ४९ करोड रुपैयाँ पर्ने १९ हजार ४८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको ३ महिनामा ६२ करोड २४ लाख रुपैयाँ पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ । ती सवारी साधनको आयातबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको ३ महिनाको अवधिमा भने ७६ करोड ५८ लाख रुपैयाँ पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारी साधनको आयातबाट भने १ अर्ब ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको ३ महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारी साधन आयातबाट ९ करोड ११ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।