विदेशबाट फर्केर २० लाख लगानीमा सामूहिक माछापालन, मनग्य आम्दानी
गलेश्वर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ । पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लागेका हुन् । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उनीहरुले सामूहिक रूपमा ट्राउट जातका माछा पालेका छन् । रू २० लाख लगानीमा माछापालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिए । विसं २०७९ कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछापालन व्यवसाय सुरु गरिएको उनले बताए । ‘सुरुमा रू आठ लाखको लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्यौँं । अहिले १० पोखरी निर्माण गरेका छौंँ’,उनले भने । गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताए । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेका उनले जानकारी दिए । पूर्णका अनुसार पहिलो वर्ष सात सय केजी बढी माछा बिक्री भएको थियो । यस वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उनले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताए । माछापालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो । वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्रले सुनाए । यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उनले बताए । पहिलो वर्ष प्रतिकेजी रू एक हजार दुई सयमा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले रू एक हजार तीन सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिए । बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उनको भनाइ थियो । उनीहरुले टिमुरेमा सामूहिक रुपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गरेका छन् । पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिए । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उनको भनाइ थियो । आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछापालन सुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिएको यमेन्द्रले बताए । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछापालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताए । उनका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरी घेरबार गरिएको छ । सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गरे। आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको उनले बताए । रासस
रोयल इनफिल्डको हन्टर ब्रेकफाष्ट राइड
काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर ब्रेकफाष्ट राइड’ आयोजना भएको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड हन्टर ब्रेकफाष्ट राइड कार्यक्रम आयोजना गरिएको हो । यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइर्डस्हरु सहभागी भएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना, सुरक्षित राइड, ठाऊ संरक्षण एवम् प्रर्बद्धन गर्नु रहेको थियो । मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरुमदेखि दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी, हुदै कालुपाण्डे हिलसम्मको रहेको कम्पनीले जनाएकाे छ।
कामना सेवा र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराएको कम्पनीले जनाएकाे छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३५ शाखा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि-आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
साझा यातायातमा सीईओका लागि दरखास्त आह्वान
काठमाडौं । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले सोमबार सूचना प्रकाशित गर्दै रिक्त रहेको सीईओको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको छ । कम्पनीका अनुसार दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ । त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुकले ४५ दिनभित्रमा आवेदन दिन सक्ने कम्पनीको जनाएको छ ।
हुलाकी सडकले यसरी फेरिँदै जनजीवन, दुर्गम गाउँ सुगम बन्दै
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी छन् । ‘घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ’, सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आएका वलीले भने, ‘हुलाकी सडक बनेपछि अब बजारमा किनमेल गर्न जान, बिरामी हुँदा अस्पताल जान धेरै सजिलो भएको छ, सडक बन्दा दुई कट्ठा जमिन खेर गयो तर अहिले सडकले जग्गाको भाउ पनि बढाएको छ ।’ राप्ती सोनारी गाउँपालिका–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर बिष्ट नेपालगञ्जबाट दैनिक मोटरसाइकलमा विद्यालय जाने आउने गर्छन् । दुई वर्ष अघिसम्म बिनौना गाउँमै डेरा खोजेर बस्दै आएका बिष्ट फत्तेपुरदेखि नारायणपुर हुलाकी सडक पक्की बनेपछि अहिले नेपालगञ्जबाटै आवत जावत गर्न थालेका हुन् । सडक बनेपछि घरदेखि आधाघण्टामै पुगिने भएपछि अहिले घरबाटै आउन जान सम्भव भएको उनले बताए । ‘हुलाकी सडक बनेपछि सर्वसाधारण जनताको जीवनयापनमा ठूलो प्रभाव परेको छ, अब सहरमा काम गरेर साँझ घर फर्किन सक्ने स्थिति बनेको छ’, प्रधानाध्यापक विष्टले भने, ‘रोजगारीको लागि पनि नेपालगञ्ज गएर आउनसक्ने अवस्था भयो । यतै पनि रोजगारी खुलेका छन् ।’ नेपालगञ्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ । बिनौना र बैजापुर चोक अहिले बजारको रुपमा विकसित हुँदै गएका छन् । पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन् । राप्ती सोनारी ४ बैजापुरका अगुवा तुलसी थारुका अनुसार हुलाकी सडक बैजापुर र बिनौनावासीको लागि वरदानै सावित भएको छ । हुलाकी सडक बनेपछि अब गाउँको उत्पादन सहज तरिकाले आधा घण्टामै नेपालगञ्ज पुगेर बिक्रीवितरण गर्नसक्ने अवस्था सिर्जना भएको र मौसम अनुसारको तरकारी उत्पादन गरेर बजार पु¥याउँदा किसानको आम्दानीको स्तर बढेको उनको भनाइ छ । दुर्गम गाउँ सुगम बन्दै बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुर देखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रुपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्ने गरिएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए। ‘पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधाघण्टामै पुगिन्छ’, यादवले भने, ‘हुलाकी सडक नरैनापुरबासीको लागि ‘लाइफलाइन’ बन्न पुगेको छ ।’ नेपालगञ्जदेखि नरैनापुरको सुइया बघौडासम्म हुलाकी सडक पुगेपछि स्वास्थ्य र शिक्षामा पनि उल्लेख्य प्रगति भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । उनले नेपालगन्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतीकरणको काम पूरा भएपछि नरैनापुरवासीको मुहार उज्यालो हुँदै गएको उल्लेख गरे । यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँको सम्बन्ध सिधा नेपालगन्ज सहरसँग जोडिएको छ । नरैनापुर गाउँपालिकाका स्थानीय अगुवा बिक्रम यादवले हुलाकी सडक कालोपत्र भएसँगै अहिले दैनिकरूपमा क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्न थालेको बताए । उनका अनुसार, सडक पुगेपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुँदै गएको छ । बघौडामा उत्पादित वस्तुहरु सिधै सदरमुकाम पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि सो क्षेत्रको महत्व पनि बढ्दै गएको छ । गाउँमा सडक नपुग्दा सीमापारी भारतमा दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता पनि अहिले समाप्त भएको छ । हुलाकी सडकले सो क्षेत्रको मुहार नै फेरिदिएको यादवको भनाइ छ । हुलाकी सडकले गाउँबस्तीको मुहार फेर्दै नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम धमाधम अघि बढेपछि स्थानीयवासी उत्साहित देखिएका छन् । हुलाकी सडक अन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्रावेल गर्ने कार्य भईरहेको छ । एक वर्षको अवधिमानै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताए । ‘यही गतिमा काम भए हाम्रो घरै अगाडि छिटै चारलेन सडक बन्ने छ’, बर्माले खुशी हुँदै भने,’यति छिटो काम भएकोमा स्थानीयवासिन्दा सबै खुशी भएका छन् ।’ गत वर्षको भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु भएको हो । यो सडक निर्माण भएपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको छ । खजुरामा निर्माणाधिन चारलेन सडक निर्माण लामो समयसम्म अलपत्र हुँदा निराश बनेका स्थानीयवासीमा अहिले सडक विस्तारको काम धमाधम हुँदा उत्साह थपेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनले नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम अहिले उत्साहजनकरुपमा भईरहेको उल्लेख गर्दै यहि गतिमा काम सम्पन्न गर्न गराउन आफूले आवश्यक पहल गरिरहेको सुनाए । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी शर्मा एण्ड कम्पनीका प्रतिनिधि नवीन शर्माले सम्झौता अवधिभन्दाअगावै सकिने गरी काम गरिरहेको बताए । बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि वैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक निर्माण कार्य भईरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए । उनका अनुसार, राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे काम एपिक्स कन्काई खड्का जेभीले ७६ करोडको लागतमा गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर मध्ये ११ दशमलव छ किलोमिटर चारलेन र बाँकी दुईलेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले गरिरहेको छ । यसैगरी नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको काम ज्ञानिस शारदा जेभिले रु १२ करोडमा विस्तारको काम गरिरहेको छ । फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे सडक निर्माण सकिएर रङरोगनको काम भइरहेको छ भने अन्य दुईवटै हुलाकी सडकको काम तीव्र गतिमा भइरहेको इञ्जिनियर पाण्डेले जानकारी दिए। हुलाकी सडक अगैयासम्म विस्तार गरिँदै बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी–३ नारायणपुरबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत रहेको अगैयासम्म विस्तार गरिने भएको छ । नेपालगञ्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने एक हजार छ सय मिटर सडकको चौडा र कालोपत्रे गरी विस्तार गर्ने योजना अगाडि बढेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए । केही दिनअघि बाँके आएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि उक्त सडकको स्तरोन्नति गर्नका लागि निर्देशन पनि दिएको उनले जानकारी दिए । नारायणपुरदेखि अगैयासम्मको एक हजार छ सय मिटर सडकखण्डको राप्ती नदीस्थित सिक्टाको बाँधसम्म र बाँधलाई छाडेर पारी अगैया बजारसम्मको सडकको स्तरोन्नति गरिने उनले जानकारी दिए । नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दुरी छोटो भएका कारण नेपालगन्जबाट पूर्व–पश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले उक्त सडक प्रयोग गर्दै आएका छन् । नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्मको सडकको दुरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्व–पश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दुरी छ । दुरी छोटो पने भएकोले सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारीकै सडक रोज्ने गरेका छन् । हुलाकी सडकको नियमित अनुगमन गर्दै आएका बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकाललले काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए । उनले हुलाकी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न आफुले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडकले बाँकेवासी जनतालाई विकासको अनुभूति गराएको उल्लेख गरे । रासस
इस्लिङ्टन कलेजमा साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन
काठमाडौं । इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित कार्यक्रमबिच केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पनि उपस्थिति रहेको थियो । अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको कलेजले जनाएको छ । शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने जनाइएको छ । यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेसन केन्द्र, र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार सुसज्जित रहेको छ । अनुसन्धान केन्द्रले नेपालको महत्त्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरु नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्ने कलेजको भनाई छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो – भाइस चान्सलर नोना म्याकडफले साइबर सुरक्षाशिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरेकी थिइन् ।
सराङ्कोटसँगै पर्यटकको रोजाइमा पुम्दीकोट डाँडा
कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ । शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ । नजिकैको शान्ति स्तूपामा पर्यटक आएको देख्दा भुम्दीकोटका स्थानीय यहाँ पनि पर्यटक ल्याउन हौसिए । उनीहरूले ‘भ्यूटावर’ निर्माणदेखि धेरै योजना अघि सारे । सोही समयमा व्यवसायी तथा समाजसेवी चन्द्रकान्त बरालले विशाल महादेवको मूर्ति बनाउने योजना ल्याए । उनको परिकल्पनामा गाउँलेले साथ दिए । सबै गाउँले मिलेर पुम्दीकोट कोट विकास समिति गठन गरी त्यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लागि परे । ‘पुम्दीकोटमा पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो । समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि आउथेँ र शिवको दर्शन गरी फर्किन्थेँ’, समाजसेवी बरालले भने, ‘पुर्खादेखिको धार्मिक आस्थालाई जीवन्तरुप दिन विशाल महादेवको मूर्ति निर्माण गर्ने परिकल्पना आयो ।’ मूर्ति निर्माणार्थ समितिले दुई पटक महायज्ञ आयोजना गर्यो । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ र २०७८ मा महाशिवपुराण आयोजना गर्यो । सुरुमा छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा र दोस्रो पटक करिब तीन करोड सहयोग प्राप्त भएको उनले जानकारी दिए । यो अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग प्राप्त भएको उनले बताए । दोस्रो पटकको महायज्ञपछि मूर्ति स्थापनाको कार्य सुरु गरिएको समितिका सदस्य मातृका बरालले बताए । कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति ठडियो । अहिले दक्षिण फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्ति तयार भएको छ । मूर्ति बनेपछि त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ । जनस्तरको सक्रियतामा पुम्दीकोटमा महादेवको मूर्ति निर्माण गरिएपछि पुम्दीकोट डाँडाको परिचय फेरिएको समितिका सदस्य मातृकाले बताए । उनले भने, ‘जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन् ।’ मूर्ति स्थापना गरिएपछि पुम्दीकोट डाँडामा पर्यटकको भीड लाग्ने गरेको छ । दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसक्नुहुन्छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर पर्यटकले विशाल महादेवको मूर्तिसँगै पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । पहिले गाईबस्तु चराउने डाँडामा पर्यटकको भीड देख्दा स्थानीय तारापति बराल पनि निकै खुसी छन् । ‘हामी सानो हुँदा गाईबस्तु चराउने डाँडाले यसरी मुहार फेर्छ भनेर मैलै कल्पना पनि गरेको थिइन’, उनले भने, ‘घर नजिकै यति धेरै पर्यटक आउँदा मनै फुरुङ्ग हुन्छ ।’ पछिल्लो समय मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको स्थानीय उनले बताए । ‘पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ’, उनले भने,‘विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि गाउँ फर्कन थालेका छन् ।’ सुरुमा २० करोड लगानी गरेर भौतिक संरचना बनाउने योजना अघि सारेको समितिले पछि ४० करोडको परिमार्जित गुरुयोजना तयार गरेको समितका अध्यक्ष बरालले बताए । अहिलेसम्म २७ करोडको संरचना बनाइसकिएको उनले जानकारी दिए । परिमार्जित गुरुयोजनाअनुसार, सुमेरु पर्वत, विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यास्थित पार्किङ रहेका छन् । यीमध्ये सुमेरु पर्वत निर्माण भइसकेको छ । हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड ९गङ्गा पोखरी०, १०८ धारा जडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको समितिका अध्यक्ष बरालले जानकारी दिए । दुई सय १६ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ वटा सटर, कम्पाउडवाल, दुई सय मिटर पक्की पहुँचमार्ग पनि निर्माण सम्पन्न भइसकेको उनले बताए । आगामी दिनमा परियोजनाका अधुरा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बरालले बताए । साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने योजना रहेको उनले सुनाए । रासस
शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न
काठमाडौं । शौर्य मिथिला लोक चित्रकला प्रतियोगिताअन्तर्गत दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टले आयोजना गरेको मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको हो । मधेस प्रदेश स्तरमा गरिएको कार्यक्रममा १५० भन्दा बढी आवेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाई छनौट गरिएको हो । छनौट भएका ७५ जनालाई शौर्य सिमेन्ट उद्योग परिसरमा रहेको हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो । क्त चित्रकलाका आधारमा तेस्रो चरणका लागि १५ जना छनौट गरिने कम्पनीले जनाएको छ । छनोट हुने प्रतियोगीले शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनुपर्नेछ । तेस्रो चरणको प्रतियोगिता पुस २ देखि ७ सम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५ -५ हजार नगद प्रदान गरिने कम्पनीले जनाएकाे छ । कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर छन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रिजले कार्यक्रम आयोजना गरेको हो ।