विकासन्युज

भारतमा बन्ने ८ धावनमार्गको एसियाकै ठूलो नोएडा अन्तर्राष्ट्रिय विमानस्थल कहिले तयार हुन्छ ?

एजेन्सी । भारतको उत्तर प्रदेशमा निर्माण भइरहेको एसियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल (जेआईए) करिब डेढ महिनापछि अर्थात फेब्रुअरीमा सञ्चालनमा आउने भएको छ । जेवर इन्टरनेशनल एयरपोर्ट (जेआईए) वा नोएडा इन्टरनेशनल एयरपोर्ट भनिने यो विमानस्थल निर्माण र सञ्चालनको जिम्मा स्वीटजरल्याण्डको जुरिच इन्टरनेशनल एयरपोर्ट एजीले पाएको छ । जुरिचले ४० वर्षसम्म यो विमानस्थल सञ्चालन गर्न पाउने ठेक्का पाएको छ । जुरिचका अनुसार २०२४ बाट दुईवाटा धावनमार्ग (रनवे) सञ्चालनमा ल्याइने छ भने भविष्यमा थप २ हजार ९ सय हेक्टर क्षेत्रफल ओगटेर धावनमार्ग संख्या ८ पुर्‍याइने छ । विमानस्थल सञ्चालनमा आएपछि यसले वार्षिक १ करोड २० लाख यात्रु व्यवस्थापन गर्ने छ । आगामी ३० वर्षभित्र विमानस्थल विस्तार गर्दै लगेर ८ धावनमार्ग बनेपछि यसले वार्षिक ६ करोडदेखि १२ करोडसम्म यात्रु व्यवस्थापन गर्ने जुरिचले जनाएको छ । संयुक्त समन्वय समिति (जेसीसी) को पाँचौं बैठकमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थल (जेआईए) को काम तीव्र गतिमा भइरहेको आश्वासन दिइएको थियो । अहिले विमानस्थल निर्माण कार्य तीव्र गतिमा चलिरहेको छ । विमानस्थल समयमै तयार हुने अपेक्षा गरिएको छ । अर्को वर्षदेखि यहाँ विमानहरू उडान सुरु हुनेछन्। विमानले फेब्रुअरी २०२४ बाट अभ्यासका रूपमा उडान सुरु गर्ने विमानस्थल निर्माणसँग सम्बन्धित अधिकारीहरूले बताएका छन् । उत्तर प्रदेशका प्रमुख सचिव दुर्गाशंकर मिश्राले शुक्रबार नोएडा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्यको निरीक्षण गरेका थिए । त्यसपछि संयुक्त समन्वय समितिको पाँचौं बैठक बस्यो । बैठकमा केन्द्रीय निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । बैठकमा मिश्रले विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने अपेक्षा गरिएको बताए । ‘यो महत्वपूर्ण आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर छ,’ उनले भने । यो बैठकमा विमानस्थल निर्माणसँग सम्बन्धित अधिकारीहरूले प्रगति प्रतिवेदन पेस गरेका थिए । जुरिच इन्टरनेशनल एयरपोर्ट एजी र यमुना इन्टरनेशनल एयरपोर्ट प्राइभेट लिमिटेडका अधिकारीका अनुसार निर्माण कार्यमा प्रयोग हुने मेसिनरी र आयोजनामा ​​काम गर्ने मजदुर पनि बढाइएको छ । यसबाट समयमै निर्माण कार्य सम्पन्न हुने अपेक्षा छ ।

सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

काठमाडौं । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल इञ्जिनियरिङअन्तर्गत पुल्चोक क्याम्पसमा एक सय आठ स्थान (कोटा) रहेकामा एक स्थान मात्र भर्ना हुन बाँकी छ । सो विषयमा थापाथली क्याम्पसमा ३६ स्थानमध्ये नौमा भर्ना हुन बाँकी छ । ती दुई क्याम्पसमा कम्प्युटर इञ्जिनियरिङमा क्रमशः ३६ र १२ स्थान रहेकामा सबैमा भर्ना भइसकेका छन् । इलोक्ट्रोनिक्स, कम्युनिकेशन र इन्फर्मेशन इञ्जिनियरिङमा ती क्याम्पसमा क्रमशः २४/२४ स्थान रहेकामा सबै सिटमा भर्ना भइसकेका छन् । अन्य क्याम्पसमा पनि ती विषयमा विद्यार्थी भरिन थालेका छन् । मेकानिकल इञ्जिनियरिङमा पुल्चोक क्याम्पसमा २४ स्थान रहेकामा दुई स्थान खाली छ भने थापाथली क्याम्पसमा सो विषयमा ३६ स्थान रहेकामा हालसम्म १८ विद्यार्थी मात्रै भर्ना भएका छन् । जिओम्याट्रिक्स इञ्जिनियरिङमा पश्चिमाञ्चल क्याम्पसमा ३६ स्थान रहेकामा अझै १३ स्थान भर्ना हुन बाँकी छ । त्रिविका सरकारी र निजी गरी १५ कलेजमा चार हजार तीन सय ४४ विद्यार्थीले स्नातक तहमा इञ्जिनियरिङ पढ्न सक्ने क्षमता त्रिविअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन एवं प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा डा सुशीलबहादुर बज्राचार्यले जानकारी दिए । उनका अनुसार पाँच सरकारी (आंगिक) क्याम्पसमा छ सय विद्यार्थीले पढ्न पाउँछन् । निजी (सम्बन्धन प्राप्त) मा विभिन्न समावेशीताका आधारमा ३१  प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शुल्क तिरेर पढ्ने एक हजार चार सय विद्यार्थी हुन्छन् । त्रिविका अतिरिक्त काठमाडौं, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्न सक्ने क्षमता रहेको छ । सबै विषय गरी पुल्चोक क्याम्पसमा छ सय २४ स्थान रहेकामा ३०, थापाथली क्याम्पसमा चार सय ३२ मा एक सय आठ, पश्चिमाञ्चल क्याम्पसमा चार सय ३२ मा एक सय १९ र पूर्वाञ्चल क्याम्पसमा पाँच सय २८ स्थान रहेकामा एक सय एक स्थान भर्ना हुन बाँकी रहेका सम्बन्धित क्याम्पसले जनाएका छन् । त्यस्तै इञ्जिनियरिङ कलेजहरुमा भर्ना हुन बाँकी कोटामध्ये काठमाडौँमा तीन सय ८४ मध्ये एक सय ५४, कान्तिपुरमा दुई सय ८८ मध्ये दुई सय नौ, सगरमाथामा एक सय ४४ मध्ये ६२, एडभान्स्ड इञ्जिनियरिङ कलेजमा तीन सय ३६ मध्ये एक सय ६०, हिमालयमा दुई सय ४० मध्ये एक सय ३६, नेशनल कलेज अफ इञ्जिनियरिङमा दुई सय ४० मध्ये २९, ललितपुरमा ९६ मध्ये ५५, काथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा एक सय ९२ मध्ये एक सय तीन, जनकपुर इञ्जिनियरिङ कलेजमा एक सय ९२ स्थानमध्ये एक सय ७२, ख्वपः इञ्जिनियरिङ कलेजमा एक सय ९२ मध्ये २७ र चितवनमा २४ मध्ये दुई स्थान बाँकी छन् । सहायक डीन प्रा डा बज्राचार्यले भर्ना प्रक्रिया जारी रहेको अवस्थामा अहिले तेस्रो सूचीसम्म मात्र पुगेकाले समग्रमा विद्यार्थी कम भएको भन्न नमिल्ने बताए । उनले विषयगतरुपमा हालसम्मको भर्ना भएको तथ्याङ्क हेर्दा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्सका तुलनामा मेकानिकल र जिओम्याट्रिक्स इञ्जिनियरिङमा विद्यार्थी कम मात्रामा भर्ना भएका जानकारी दिए । समग्रमा इञ्जिनियरिङ विषयमा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि प्रवेश परीक्षामा अनुपस्थित हुने विद्यार्थी बढेकाले भर्ना हुनेको सङ्ख्या केही घट्ने आँकलन गरिएको प्रा डा बज्राचार्यको भनाइ थियो । उनले बाहिर प्रचार गरिए जस्तो विद्यार्थीको कमी भएको भन्नेमा सत्यता नभएको जिकिर गरे । ‘पुस २२ गतेसम्म भर्नाको समय तोकिएको छ । माघ २ गतेदेखि नियमित कक्षा सञ्चालन हुन्छ । पढाइ सुरु हुनु अघिसम्म भर्ना लिइन्छ । अहिल्यै विद्यार्थी कम भए भनेर विश्लेषण गर्न मिल्दैन’, बज्राचार्यले भने, ‘कतिपय विषय र क्याम्पसका सवालमा विगतको जस्तो आकर्षण नहुन सक्छ । हामी अहिले नै विश्लेषण गरेर चिन्तित हुनुपर्ने अवस्था छैन ।’ उनले हालसम्म भर्नाको तेस्रो सूचीसम्म प्रकाशन भएको जनाउँदै १२औँ सूचीसम्म प्रकाशन हुने जानकारी दिए । उनका अनुसार गतवर्ष तेस्रो सूची आउँदा ६६ प्रतिशत भर्ना भएकामा यस वर्ष यो सङ्ख्या दुई प्रतिशतले कम भएर ६४ प्रतिशत भर्ना भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर सिटी कलेज (केसिसी) का प्रशासन प्रमुख राजीब तिमिल्सिनाका अनुसार सो कलेजमा सिभिल इञ्जिनियरिङमा एक सय ४४ स्थान रहेकामा हालसम्म ४० र कम्प्युटर इञ्जिनियरिङमा ४८ स्थान रहेकामा २५ विद्यार्थीले भर्ना गरिसकेका छन् । कोभिड–१९ को महामारीपछि पछिल्ला दुई वर्षयता लगातार विद्यार्थी घट्नुमा प्रदेशस्तरमा कलेजहरु सञ्चालन हुनु, विद्यार्थी प्रवेश परीक्षाको झञ्झटमा लाग्न नचाहनुलगायत कारण हुनसक्ने उनले बताए । त्रिविको अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामाका कारण प्रवेश परीक्षाको मिति पछि सर्दा शैक्षिक वर्ष २०८०/८१ को प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी घटेका प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा डा बज्राचार्यले बताए। बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाए पनि आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो । यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा आठ हजार मात्रै सहभागी भएको उनले जानकारी दिए । बज्राचार्यका अनुसार गत वर्ष नौ हजार चार सयले आवेदन दिएकामा १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित थिए । संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि २० गतेसम्म लिइएको प्रवेश परीक्षामा यस वर्ष सूचना प्रविधिका आधारमा पहिलो पटक कम्प्युटर विधिमार्फत प्रादेशिकरुपमा परीक्षा सञ्चालन गरिएको सहायक डीन प्रा डा बज्राचार्यले जानकारी दिए । आंगिक क्याम्पसका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्श्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिन्छन् । बोर्डले तोके अनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ । इन्जिनियरिङका विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान यसैबीच, नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले रू १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् । सो कलेजका विद्यार्थी विप्लव पनेरु र हालै स्नातक गरेका अनुप पौडेलका साथै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङअन्तर्गत स्नातक चौथो वर्षका विश्व पनेरुले उक्त अनुदान प्राप्त गरेका हुन् । उनीहरुले ‘टेक्नो–इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि अनुदान पाएका हुन् । विप्लव, अनुप र विश्व तिनै जनाले युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका जनाइएको छ । यो परियोजना एसियाबाट एक मात्र छनोट भएको परियोजना हो । रासस

सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना हालसम्म ६० प्रतिशत निर्माण भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको अझै ४० प्रतिशत निर्माणकार्य बाँकी रहेको आयोजनाले जनाएको छ । यस आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ । आयोजनाका प्रवन्धक निर्देशक दिनेश गुरुङका अनुसार विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग, छ हजार ८०० किलोमिटर सुरुङमार्गमध्ये चार किलोमिटर टनेलको सुरुङ, भूमिगत पावर हाउस खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित ५०० मिटर खन्नेजस्ता काम सम्पन्न भइसकेको छ । त्यस्तै ड्याम साइडसम्मको २२ किलोमिटर सडक निर्माणलगायत काम पनि सम्पन्न भइसकेको उनको भनाइ थियो । निर्देशक गुरुङले भने, ‘अहिले आयोजनाको नौ वटा ठाउँबाट विभिन्न कामहरु भइरहेका छन् । आयोजनामा हाल ५०० कामदारले काम गरिरहेका छन् । हेलिकोप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पुर्याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने गरिएको थियो ।’ आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार दुई वर्षभित्र अर्थात् ९२०८१ असारभित्र० विद्युत् उत्पादन सुरु गरिसक्नु पर्नेमा उनले सम्झौताअनुसार समय सिमाभित्र सम्पन्न हुन नसक्ने बताए । कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लाग्नाका साथै कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्यालगायतले निर्माण कार्यमा ढिलाई भए पनि विसंं २०८२ असारभित्र सम्पन्न हुने अनुमान छ । हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको यो आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गर्नेछ । प्रवर्दधकको इक्वीटी (स्वपूँजी) रु एक अर्ब ७५ करोड रहनेछ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्दधकको २५ प्रतिशत हिस्सा रहने आयोजनाले जनाएको छ । करिब रु सात अर्बको लागतमा निर्माणको काम पूरा गरिने आयोजनाको लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ । यस आयोजनाका अनुसार वर्षात्को छ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयामको छ महिनामा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गरिने भएको छ । रासस

बुटवल पावरले घोषणा गर्यो ५ प्रतिशत लाभांश, एफपीओ पनि जारी गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, सो दिनको बैठकले एफपीओ (थप सार्वजनिक निष्काशन) जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । कम्पनीले एक करोड कित्ता सेयर एफपीओ मार्फत निष्काशन गर्ने निर्णय गरेको हो ।

एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर

काठमाडौं । एनएमबि बैंकले एक अर्ब ८४ करोड रुपैयाँ बराबरको कर तिरेको छ । बैंकले आर्थिक ऐन २०८० बमोजिम विशेष व्यवस्थाको सुविधा लिई एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको हो । मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि बैंकले सो रकम बराबरको कर तिरेको हो । बैंकले विगतमा अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिँदा तथा अन्य संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा पाएको रकम र एफपीओमा प्राप्त रकमलाई आयमा समावेश गरी उक्त रकम करकार्यालयमा तिरेको हो । संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्वरको बुँदा बदर गर्न माग गर्दै एनएमबिसहित १६बैंकले गत भदौ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वाेच्चले सरकारको निर्णयलाई सदर गरेको हो ।

मदिरा उत्पादन र कुखुरा-बंगुर पाल्न नपाइने म्याग्दीको गाजने गाउँ

बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए । ‘यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्,’ उनले भने । बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन । तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ । गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीपबमले १५ औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए । पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो । रासस

७५ वर्षकाे उमेरसम्म पर्यटक घुमाइरहेका ‘टुरिस्ट गाइड’ सुरेन्द्र

काठमाडौं । ६ वर्ष अगाडिको कुरा हो । १२/१३ जना मान्छे अमेरिकाबाट आएर होटल ह्यातमा बसेका थिए । उनीहरूले पूरै होटल बुक गरेका थिए । यस्तो खबर उनले सञ्चारमाध्यमबाट थाहा पाएका थिए । होटल ह्यातको खबर थाहा पाएको एक दिन उनी घरमा बसिरहेका थिए । त्यही खबर थाहा पाएको त्यस्तै दुई–तीन दिनअघि अचानक सुरेन्द्र लोहनीलाई अमेरिकी दूतावासबाट फोन आयो । ‘सुरेन्द्र, आई एम कलिङ फ्रम अमेरिकन एम्बेसी । आर यु फ्री सम डेज आफ्टर टुमरो ?,’ फोनमा एक महिलाको आवाज आयो । सुरेन्द्रले भने, ‘एस म्याम, आई एम ।’ उताबाट फेरि आवाज आयो, ‘क्यान यु गो टु बौद्ध स्तुपा एट सिक्स थर्टी अन टुमरो मर्निङ ?’ उनले भने, ‘एस म्याम, आई क्यान ।’ बौद्ध जान सुरेन्द्रलाई स्पेसल ड्रेस (कोट पाइन्ट, टाई र जुत्ता) मा सजिएर आउन भनिएको थियो । त्यसो भनिरहँदा सुरेन्द्रलाई सानो मान्छे आउन लागेको होइन क्यारे भन्ने मनमा लागिसकेको थियो । त्यो दिन सुरेन्द्र तयार भएर सखारै ६ बजे नै बौद्ध स्तुपाको प्रवेशद्वार गेटमा पुगेर उभिए । ‘त्यहाँ अमेरिकन एम्बेसीबाट मान्छेहरू आए । पुलिसहरू पनि तैनाथ भइरहेका थिए । फुटपाथमा कसैलाई हिँड्न दिइएको थिएन । केही मान्छे फूलमाला लिएर पनि उभिइरहेका थिए,’ सुरेन्द्र उज्यालिँदै विकासन्युजसँग अनुभव सुनाउँछन्, ‘जब साढे ६ बज्यो, तब प्रहरीका भ्यान साइरन बजाउँदै आए । त्यहीबीचमा कालो लिमोजिन कार पनि सँगै आयो । कारको ढोका खुल्नासाथ त्यहाँबाट एक महिला ओर्लिइन् । उनी थिइन्, अमेरिकी संसदको पूर्वसभामुख न्यान्सी पेलोसी । उनीसँग अरू १२ जना कँग्रेस प्रतिनिधिमण्डल पनि थियो ।’ न्यान्सीलाई उनको बौद्ध स्तुपा घुमाउने टुरिष्ट गाइड (पर्यटक पथप्रदर्शक) सुरेन्द्र हुन् भनेर चिनाइएको थियो । गाडीबाट ओर्लिएको एकैछनिमा न्यान्सीले सुरेन्द्रलाई देखिन् । देख्नासाथ भनिन्, ‘हाई सुरेन्द्र, हाउ डु यु डु ?’ सुरेन्द्रले भने, ‘आई एम फाइन म्याम ।’ त्यसपछि न्यान्सी, उनको प्रतिनिधिमण्डल र सुरेन्द्र बौद्ध स्तुपा क्षेत्र प्रवेश गरे । न्यान्सीले बौद्ध स्तुपाका बारेमा सुरेन्द्रसँग विविध जानकारी मागिन् । सुरेन्द्रले आधा घण्टा न्यान्सीलाई बौद्ध घुमाए । ‘मैले बौद्ध स्तुपाबारे जानेजतिको सबै कुरा उहाँलाई बुझाएँ,’ सुरेन्द्र अहिले पनि पुलकित हुँदै भन्छन्, ‘अनि मैले न्यान्सीलाई स्तुपाभित्र लिएर गएँ । त्यहाँ पहिला नै खबर गरिएको थियो । मैले उनलाई त्यहाँको सिस्टम र उनीहरूले गर्ने सबै कामबारे जानकारी दिएँ ।’ ००० जीवनका पाँच दशकभन्दा बढी समयदेखि टुरिस्ट गाइड गरिरहँदाका अनेक अनुभव छन् सुरेन्द्रसँग । तर, न्यान्सी पेलोसीसँग बौद्धमा बिताएको ३० मिनेट ७५ वर्षीय सुरेन्द्रको जीवनकै सबैभन्दा अविष्मरणीय पल हो । ‘त्यहाँबाट बिदा हुने समय न्यान्सीले मलाई टोकन अफ लभ भनेर एउटा क्वाइन दिनुभएको थियो,’ उनले भने, ‘त्यसमा एकातिर उहाँको सिग्नेचर छ भने अर्कातिर अमेरिकी संसद भवनको फोटो छ । भोलिपल्ट अमेरिकी दूतावासबाट हाम्रो अतिथिलाई राम्रो गाइड गर्नुभएकोमा तपाईंलाई धेरै धन्यवाद भनेर प्रशंसापत्र पनि आएको थियो । ती क्षण मेरा लागि निकै अविष्मरणीय छन् ।’ न्यान्सी अमेरिकी संसदको ५२औं सभामुख हुन् । उनी दुई कार्यकाल सभामुख भएकी थिइन् । सन् २००७ देखि २०११ सम्म पहिलोपटक र २०१९ जनवरीबाट २०२३ जनवरीसम्म दोस्रोपटक । सुरेन्द्रले न्यान्सीलाई बौद्ध स्तुपा घुमाउँदा न्यान्सी पूर्वसभामुख थिइन् । ००० झण्डै ५० वर्षअघि एकजना योगी आएका थिए भारतबाट । उनले योगको सात दिने कार्यक्रम चलाएका थिए । त्यसमा सुरेन्द्रले पनि भाग लिएका थिए । त्यहाँ योगा गर्दा उनले एकदमै आनन्द महसुस गरे । त्यही बेला नै उनले योगाप्रति आफूलाई प्रतिबद्ध गरेका थिए । उनी दैनिक बिहान एक घण्टा योगा गर्छन् । ७५ वर्षको उमेरसम्म पनि उनी फुर्तिलो हुनुको राज हो योगा । ‘म जति पनि हिँड्न सक्छु,’ उनी आँटिले पारामा भन्छन्,’ दुई वर्षअघि पोखरा ट्रेकिङ गएको थिएँ । त्यहाँ ११ घण्टाको ट्रेक गरेँ, केही भएन । पर्यो भने अहिले पनि जान्छु भन्ने हिम्मत आउँछ ।’ ००० काठमाडौं खिचापोखरीमा जन्मिएका हुन् वरिष्ठ टुरिस्ट गाइड सुरेन्द्र लोहनी । उनले शान्ति निकेतन विद्यालयबाट विद्यालय शिक्षा सुरु गरे । उनका हजुरबुबाले डिल्लीबजारमा घर किनेपछि उनीहरू त्यहाँ बसाइँ सरेर गए । त्यहाँ आएपछि उनले डिल्लीबजारमा रहेको पद्मोदय विद्यालयबाट २०१८ सालमा एसएलसी पास गरे । नेवारी समुदायमा हुर्के बढेका सुरेन्द्रका टोलभरिका केटा साथी थिए । स्कुलमा पनि उनका प्रशस्तै साथी थिए । तिनै साथीसँग मिलेर सुरेन्द्र खुबै गुच्चा खेल्ने, चंगा उडाउने, टुँडिखेलमा गएर फुटबल खेल्ने गर्थे । उनी डिल्लीबजार आउँदा अहिलेजस्तै ठूला भवन बनेका थिएनन् । पुरानो घर खिचापोखरी जाँदा सुरेन्द्र त्यही टुँडीखेलको मैदान हुँदै जान्थे । राजा महेन्द्रको पालामा नै टुँडिखेल फिनिसिङ गरिएको उनलाई सम्झना छ । सुरेन्द्रका बुबा जुटमिलमा काम गर्थे । १८ वर्ष जुटमिलमा काम गरेपछि उनी फेरि नेपाल राष्ट्र बैंकको बोर्ड डाइरेक्टर भएर पनि काम गरे । त्यतिबेलाका सुमधुर र रमाइला सम्झना उनका मनसपटलमा अझै ताजै घुमिरहन्छन् । ००० एसएलसीपछि सुरेन्द्र त्रिचन्द्र कलेजमा आइकम गर्न व्यवस्थापन संकायमा भर्ना भए । पढाइमा पनि उनी मध्यम विद्यार्थी थिए । उनले बिकम पनि त्रिचन्द्र कलेजबाट नै पूरा गरे । व्यवस्थापनमै मास्टर्स (स्नातकोत्तर) पनि सक्काए । सन् १९६८ मा उनले मास्टर्स पढ्दै गर्दा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल नेपाली पढ्दै थिए । अर्थशास्त्रमा पूर्वअर्थन्त्री रामशरण महत र पूर्वमन्त्री अर्जुननरसिंह केसी पोलिटिकल साइन्स लिएर पढ्दै थिए । कलेज पढ्दा पनि उनी र उनका साथी खेलकुदका क्रियाकलापमा बढी सक्रिय हुन्थे । त्यहाँ पनि फुटबल, टेबलटेनिसलगायत खेलहरू आयोजना हुन्थे । त्यस्तै कलेजमै आयोजना हुने नाटकमा पनि उनी भाग लिन्थे । ००० सुरेन्द्र आइकम पढ्ने बेला नेशनल ट्रेडिङको अफिस अहिले याक एण्ड यती होटल भएको ठाउँमा थियो । त्यहाँ असिस्टेन्ट पदका लागि भ्याकेन्सी खुलाएको थियो । उनी र उनका साथी मिलेर त्यहाँ एप्लाई गरे । परीक्षा दिए र उनीहरूको त्यहाँ नाम पनि निस्क्यो । उनले त्यहाँ ६ महिनामात्रै काम गरे । ‘म त्यहाँ काम गर्दा कलेजमा बिहान पढाइ हुन्थ्यो,’ सुरेन्द्रले सुनाए, ‘काम गर्न जानका लागि मैले दुइटा विषयको पढाइ छुटाउनुपर्ने भयो । त्यसो गर्नुपरेपछि मेरो ती विषयमा पढाइ पनि कमजोर हुँदै गयो ।’ पढाइ कमजोर हुँदै गएपछि घरबाट पनि सुरेन्द्रलाई जागिर नखान र पढाइमा ध्यान दिन सुझाव आयो । ‘घरमा बुबाले पढाइ सकेर पो जागिर खाने त, यसरी त पढाइ पनि बिग्रिन्छ, पढाइ सकेरमात्रै जागिर खानू भन्नुभयो, मैले ६ महिनामात्रै काम गरेँ,’ उनी सम्झिन्छन् । उनले पढ्नकै लागि भनेर जागिर छाडे । तर, उनका साथीले भने जागिरलाई निरन्तरता दिए । उनका साथीको ठूलो पोस्टमा बढुवा हुँदै गएको पनि उनले सुनाए । त्यो टर्निङ प्वाइन्ट पढाइलाई निरन्तरता दिएका सुरेन्द्रले एमकम पनि सके । जागिर छाडेको हुनाले यसै घरमा बसेर पत्रिका पढिरहेका थिए । उनले गोरखापत्र पढ्दै गर्दा त्यहाँ भएको एउटा सूचनामा उनको नजर गयो । त्यहाँ लेखिएको थियो– ‘जो कोही गाइड बन्न चाहनुहुन्छ भने दर्खास्त दिनुहोला’ । त्यो सूचना निकालेको थियो पर्यटन विभागले । सूचना पढेपछि सुरेन्द्रले त्यहाँ एप्लाई गर्ने विचार गरे । उनले त्यो खबर साथीलाई पनि सुनाए । उनीसहित चार साथीले त्यहाँ अन्तर्वार्ता दिए । विभागले उनीहरू सबैलाई छान्यो । त्यसपछि सुरु भयो तालिम । तालिम लिइसकेपछि उनीहरूको परीक्षा भयो । परीक्षामा पास पनि भए । ‘त्यतिबेला ३–३ महिनामा परीक्षा हुन्थ्यो,’ उनले भने, ‘वर्षको अन्तिममा फाइनल परीक्षा हुन्थ्यो । पास हुनका लागि ७० प्रतिशत अंक ल्याउनुपथ्र्यो ।’ सुरेन्द्रले गाइड नै बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । एमकमको परीक्षा दिएका उनले रिजल्टका लागि तीन महिना कुर्नुपथ्र्यो । त्यो खाली समयको सदुपयोग गर्ने उद्देश्यले उनी त्यहाँ जोडिएका थिए । ००० २०२९ सालमा सुरेन्द्रले त्यसबेलाको टप ट्राभल कम्पनी यती ट्राभल्सबाट गाइडिङ पेसा सुरुवात गरे । त्यहाँ पनि उनले ६ महिनामात्र काम गरे । त्यसपछि उनले चिया विकास समितिमा अधिकृत चौथो श्रेणीमा काम गरे । त्यहाँ उनले टोकला चियाको मार्केटिङ गरे । त्यहाँ काम गर्दाको अनुभ पनि गजबको भएको उनी सुनाउँछन् । ‘मैले काम गर्दा मेरो अफिस बालाजु थियो, त्यहाँ बेलायतका एकजना मार्केटिङ हेड थिए,’ उनले सुनाए, ‘त्यतिबेलाका चिया विकास संस्थानका अध्यक्षले राम्रोसँग काम गर्नुभयो भने बेलायतीको ठाउँमा तपाईंलाई राख्छौं भने ।’ ६ महिना नपुग्दै बोर्डको निर्णयले सुरेन्द्रलाई मार्केटिङ हेड बनायो । ५–६ वर्ष काम गरेपछि उनको दोस्रो श्रेणी र अर्को ६–७ वर्षपछि उनको प्रथम श्रेणीमा बढुवा भयो । उनले सुरुदेखि अन्तिमसम्म नै मार्केटिङ हेरे । मार्केटिङ गर्दाका अनुभव पनि सुरेन्द्रसँग कम रमाइला छैनन् । ‘बजार बुझ्नका लागि बेलाबेला गइरहन्थेँ । असन, इन्द्रचोक, नयाँसडक हाम्रा बजार थिए । कसैले चियाको मूल्य बढी भयो भन्थे, कसैले सरकारी कम्पनीले पनि भारतबाट ल्याएको चियाभन्दा पनि महँगो बेच्ने भन्थे,’ उनी सम्झिन्छन्, ‘त्यतिबेला सरकारी सामान एकदमै सस्तो हुनुपर्छ भन्ने मान्यता थियो । चियाको मूल्य ७० रुपैयाँ थियो । हम्रो मार्जिन त्योभन्दा अलिकति कम हुन्थ्यो । मान्छेलाई कन्भिन्स गर्ने काम सजिलो होइन ।’ त्यो बेला, झापा, इलाम, कन्यामजस्ता ठाउँबाट चिया काठमाडौं ल्याएर प्रशोधन गरी बजार पुर्याउने गरिएको उनी बताउँछन् । त्यतिबेला उनको सरकारी तलब महिनाको ३ हजार रुपैयाँ थियो । ००० यती ट्राभल्समा काम गर्ने क्रममा नै गाइडको लाइसेन्स लिइसकेका सुरेन्द्रलाई चिया विकास समितिबाट रिटायर हुनासाथ के गर्ने भन्ने तनाव भएन । उनले त्यहाँबाट रिटायर भइसकेपछि फेरि टुरिस्ट गाइडको काम सुरु गरे । उनलाई एडभेन्चर ट्राभल्स एजेन्सीबाट गाइडिङका लागि अफर आयो । तर, उनले फ्रिलान्सर भएर काम गर्न थाले । उनलाई एकपछि एक ट्राभल एजेन्सीबाट अफर आउन थाल्यो । ‘त्यसरी जब होल्डर भएर काम गरिनँ मैले,’ उनी भन्छन्, ‘आफ्नै घरमा बस्ने, आइडेन्टीटी उपलब्ध गराउने हो । राम्रो काम गर्नेका लागि कामको कमी हुँदैन ।’ अहिलेसम्म सुरेन्द्रले तीन दर्जनजति ट्राभल कम्पनीका लागि काम गरिसकेका छन् । टुरिस्ट गाइडिङका अनेकौं अनुभव सँगालेका छन् सुरेन्द्रले । उनी अंग्रेजी भाषामा टुरिस्टलाई गाइड गर्छन् । हुन त उनले बिकम पढ्ने बेला नै जापानी र फ्रेन्च भाषा सिकेका थिए । उनले गाइड नै गर्छु र मलाई यो चाहिन्छ भनेर सिकेका भने होइनन् । ‘केही भाषा सिक्यो भने विदेश नै जानुपर्यो भने पनि काम लाग्छ भनेर सिकेको थिएँ,’ उनले भने, ‘त्यतिबेला युनाइटेड नेसनमा काम गर्ने धेरैजना विदेश गएका थिए । मलाई पनि अवसर धेरै ठाउँमा थियो ।’ तर, आफूले सिकेका दुई भाषा जापानी र फ्रेन्च भने काम नलागेको उनी बताउँछन् । सुरेन्द्रले टुरिस्ट गाइड बनेर नेपालका अधिकांश पर्यटकीयस्थलमा पर्यटक घुमाइसकेका छन् । उनी चितवन, पोखरा, भैरहवा, लुम्बिनी, पाल्पा र काठमाडौं उपत्यकाका सबै ठाउँ पुगेका छन् । ००० आधा जीवनभन्दा बढी अवधि पर्यटकसँग बिताएका सुरेन्द्रसँग अनेकौं अविस्मरणीय पल छन् । ‘अमेरिकीलाई घुमाउँदा धेरै आनन्द आउँछ,’ उनी सुनाउँछन्, ‘अमेरिका उन्नत देश त्यसै भएको रहेनछ । नेपाल आउने बेला पनि यो विकासशील देश हो । यिनीहरूले पनि विकास सिक्दैछन्, हामीले सहयोग गर्नुपर्छ भनेर सोच्ने रहेछन् । उनीहरू एकदमै स्नेही मान्छे हुन् । उनीहरूसँग घुलमिल हुँदा मलाई धेरै रमाइलो लाग्छ ।’ नेपाल आउने पर्यटकले नेपालसँग विकास गर्ने प्रशस्त माध्यम हुँदाहुँदै पनि किन विकास हुन नसकेको भन्ने प्रश्न गर्ने सुरेन्द्र बताउँछन् । ‘उनीहरू खासगरी हाम्रो देशको भाषा, संस्कृति, इतिहास, धर्म, वेषभूषा, सम्पदा लगायतका बारेमा जान्न इच्छुक हुन्छन्,’ उनी भन्छन्, ‘हाम्रा १६औं शब्तादीमा बनेका मठमन्दिर देख्दा उनीहरू दंग पर्छन् । त्यतिबेला तिमीहरू यति उन्नत रहेछौ, हाम्रो त केही थिएन १६औं शताब्दीमा भन्छन् ।’ सुरेन्द्रले अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडालगायत देशका टुरिस्टलाई गाइड गरेका छन् । उनीहरूलाई गाइड गर्ने क्रममा अनेकौं कुरा सिक्न र सिकाउन पाउँदा उनलाई खुसी लाग्ने गर्छ । ‘यति धेरै विदेशीलाई घुमाएँ र अझै पनि घुमाउँदै छु,’ उनी भन्छन्, ‘अहिलेसम्म मैले त्यस्तो नमिठो अनुभव गर्नुपरेको छैन ।’ ००० लगनशील भएर लाग्ने हो भने गाइडिङ पेसामा रहेर पनि आनन्दले जीवन निर्वाह गर्न सकिने सुरेन्द्रको अनुभव छ । ‘निरन्तरता दिनुपर्यो पहिलो कुरा,’ उनी भन्छन्, ‘आफ्नो भाषा सुधार गर्दै जानुपर्यो । साइट सिइङ गर्न जाने बेला हामीले पर्यटकलाई विस्तार गर्ने विषयवस्तुको राम्रो ज्ञान भयो भने दुःख हुन्छ जस्तो मलाई लाग्दैन ।’ आफ्ना हातखुट्टा चल्दासम्म गाइड गरिरहने सुरेन्द्र बताउँछन् । उनले धेरै देशका पर्यटकलाई गाइडिङ गरे । तर, उनलाई पश्चिमी देशका मान्छे गाइड गरिरहँदा उनीहरूको मधुर बोली, म्यानर, खाना खाने तरिका, उठबस र व्यक्तित्व निहार्दा निकै घत लाग्ने गर्छ । ‘मैले उनीहरूको त्यो व्यक्तित्व अपनाउन धेरै परिश्रम गरेँ,’ उनी भन्छन्, ‘कति सफल भएँ थाहा छैन । तर, म उनीहरूबाट धेरै इम्प्रेस्ड (प्रभावित) छु, हामी आफूलाई धर्म संस्कृतिका हिसाबले कल्चर्ड कन्ट्री त भन्छौं, उनीहरू आफ्नो बानी व्यवहारलाई कल्चर मान्छन्, यो हामीले अनुशरण गर्नुपर्ने एउटा पक्ष छ ।’ ००० सन् १९९८ देखि २००१ सम्म नेपालको पर्यटकीय अवस्था एकदमै राम्रो भएको सुरेन्द्र बताउँछन् । त्यसपछि दशक लामो आन्तरिक द्वन्द्व, प्राकृतिक विपत्तिले हेर्न लायक संरचना ढलेपछि बिस्तारै पर्यटक कम हुँदै गएको उनको अनुभव छ । ‘आन्तरिकरूपमा हेर्ने हो भने पर्यटकका लागि चाहिने वातावरण हामीले सिर्जना गर्न सकेका छैनौं,’ उनी भन्छन्, ‘हामीसँग अझै विश्वलाई देखाउनुपर्ने धरोहर धेरै बाँकी छन् । तर, तिनीहरूको हुनुपर्ने संरक्षण, त्यहाँ जाने बाटोघाटो र सुगमता विकास गर्न सकेका छैनौं ।’ पर्यटक जान रुचाउने क्षेत्रमा बाटोघाटो नभएको सुरेन्द्र बताउँछन् । सबै पर्यटक ट्रेकिङ नै गर्न रुचाउँछन् भन्ने नहुने उनको भनाइ छ । ‘धेरै पर्यटक हिमाली क्षेत्रमा जान रुचाउँछन्, माउन्टेन फ्लाइट गर्न रुचाउँछन्, जाने माध्यम हवाई मार्ग हो,’ उनी भन्छन्, ‘हाम्रा जहाजलाई युरोपियन युनियनदेखि लिएर आइकाओसम्मले ब्ल्याक लिस्टमा राखेको छ, यसले पनि नराम्रो सन्देश प्रवाह भइरहेको छ ।’ काठमाडौंलाई मात्रै टुरिज्म हब भनेर भन्न नमिल्ने सुरेन्द्रको तर्क छ । ‘हामीकहाँ आउने पर्यटक ट्रेकिङ जान्छन्, हिमाल जान्छन्,’ उनी भन्छन्, ‘काठमाडौंको ट्राफिक जुन छ, त्यो एकदमै डरलाग्दो छ, हामीले एयरपोर्टबाट होटल लैजाने समयमा उनीहरूले यो अवस्था नजिकबाट नियालिरहेका हुन्छन्, यहाँको धुलो, धुवाँ, ट्राफिक अस्तव्यस्तता देखेर यसकै लागि हामीले ८–१० हजार डलर खर्च गरेका हौं त भनेर प्रश्न पनि गर्छन् ।’ सरकाले देखेको पर्यटनबाट देशको समृद्धिको सपना अहिले भइरहेका प्रयासबाट मात्रै सम्भव नहुने सुरेन्द्र बताउँछन् । ‘सरकारले पर्यटक भित्र्याउन केही गरेकै छैन,’ उनी भन्छन्, ‘गरेको भए कागजमै गरेको होला, सुरुमा गर्नुपर्ने महत्वपूर्ण काम भनेको ट्राफिक नियन्त्रण हो, भिसामा पनि सहुलियत दिनुपर्यो, पूर्वाधार विकास हुनुपर्यो, गाडीबाट चढ्ने र झर्ने ठाउँ तोकिनुपर्यो, उनीहरूको सहजता हेनुपर्यो, तब न लक्ष्य पूरा हुन्छ ।’ पर्यटन मन्त्रालय, पर्यटन विभाग तथा पर्यटन बोर्डले देशमा भएका ट्राभल ट्रेड तथा गाइडलाई पर्यटनका के समस्या छन् भनेर सोध्नुपर्ने बताउँछन् उनी । समस्या पहिचान गरेर समाधानतर्फ लाग्न सकियो भने मात्रै नेपालमा पर्यटक वृद्धि गरेर समृद्धिको सपना साकार हुने उनी बताउँछन् ।

प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।