विकासन्युज

सीप बिल्डिङमा आवेदन दिएका सबैले ईपीएस परीक्षा दिन पाउने, अदालतले दियो आदेश

काठमाडौं । सीप बिल्डिङमा आवेदन दिएका सबै आवेदकले ईपीएसको परीक्षा दिन पाउने भएका छन् । उच्च अदालत पाटनले आदेश दिएसँगै सीप बिल्डिङमा आवेदन दिएकाहरू सबै ईपीएस परीक्षामा सामेल हुन पाउने भएका हुन् । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो । आदेशमा भनिएको छ,‘…निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’ यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । अदालतको आदेशसँगै अब उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले आवेदन फारम भर्न पाउने छन् ।

एनआईसी एशिया र काठमाडौं ल्यानकोबीच ‘आइडिया टु आइपीओ’ समझदारी

काठमाडौं । एनआईसी एशिया क्यापिटल र काठमाडौं ल्यानकोबीच ‘आइडिया टु आइपीओ’ सेवाअन्तर्गत ‘निष्कासन तथा बिक्री प्रबन्धक’ नियुक्ति गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । एनआईसी एशियाले ‘आइडिया टु आइपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ। कम्पनीका अनुसार काठमाडौं ल्यानकोलाई क्यापिटलको आइडिया टु आइपीओ सेवाअन्तर्गत काठमाडौं ल्यानकोलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्नका लागि दुवै संस्थाबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको हो । काठमाडौं ल्यानको संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटीमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ । जसमध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन्। दोश्रो चरणमा भने अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडी बढाइएको कम्पनीले जनाएको छ। काठमाडौं ल्यानकोले आवासीय परियोजनाहरुको अतिरिक्त काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर उच्च गुणस्तरीयस्तरका भवन निर्माण गर्ने लक्ष्यसहित उच्च व्यवसायीक क्षमता हासिल गरेका संचालक, संस्थापक र संस्थागत लगानीकर्ताहरुको समूहबाट स्थापित संस्था भएको हुँदा आगामी दिनमा सानाठूला सबैं किसिमका व्यक्तिगत भिला तथा व्यावसायिक भवन निर्माणमा आफ्ना व्यवसाय तीव्र विस्तार गरी नेपालको रियल इस्टेट विकास कम्पनीको रुपमा नम्बर वान कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित  

काठमाडौं । माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरु प्रदान गरिएको छ । बैंकलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको थियो । बैंकका अनुसार हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आफ्ना ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आई रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो स्र्माट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

नागरिक लगानी कोषको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्न लागेको छ । इन्स्योरेन्स कम्पनीले सीआईटीमा रहेको आफ्नो स्वामित्वको केही प्रतिशत सेयर बिक्री गर्न प्रक्रिया शुरु गरेको छ । लगानीलाई विविधि करण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित कम्पनीले सीआईटीको सेयर बिक्री गर्न लागेको हो । इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार नागरिक लगानी कोषले हालसम्म वितरण गरेको बोनस सेयरलाई बिक्री गर्ने योजना बनाएको हो । सीआईटीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविक प्रिमियर इन्स्योरेन्स)को १.२४ प्रतिशत सेयर स्वामित्व छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीआईटीले वितरण गरेको बोनस सेयरसहित करिब ५ लाख कित्ता सेयर स्वामित्व रहेको छ । जसमध्ये करिब २ लाख कित्ता सेयर बिक्री गर्ने योजना कम्पनीले बनाएको स्रोतको भनाइ छ । कम्पनीले सीआईटीको संस्थापक सेयर बेच्न लागेको हो । संस्थापक सेयर बजार मूल्यको झण्डै आधा मूल्यमा कारोबार हुने गरेको छ । विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सीआईटीको सेयर मूल्य प्रतिकित्ता २ हजार १९० रुपैयाँ किनबेच भएको छ । सो मूल्यका आधामा बिक्री गर्दा उक्त संस्थापक सेयर प्रतिकित्ता करिव ११ सय रुपैयाँमा कारोबार हुन सक्छ । कम्पनीले बिक्री गर्न लागेको उक्त सेयर कम्पनीले मात्रै खरिद गर्न पाउँछ । कम्पनीले सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । कम्पनीले सबै सेयर बिक्री गरेर सीआईटीबाट बाहिरिने योजना बनाएको थियो । तर, एकैपटक महँगो मूल्यमा सेयर बिक्री नहुने भएपछि किस्ता किस्तामा लिलामीमा बिक्री गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट कम्पनीले सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ । कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो । साथै, प्रिमियम मूल्यमा एफपीओ र हकप्रद सेयर बिक्रीबाट भएको आम्दानीमा कर तिर्नु परेपछि कम्पनीले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको जनाएको छ ।

मौरी पालेर वार्षिक आठ लाख कमाउँदै तुलसीपुरका माधव केसी

दाङ । तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित भएका छन् । विगत डेढ दशकदेखि सो पेसा अँगालेका केसीले तीनजनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिएका छन् । माहुरीपालनबाट वार्षिक रु आठ लाख बचत गर्न सफल भएको उनले बताए । सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ । आजभोलि महको सिजन भएकाले उनी माहुरी कर्ममा व्यस्त छन् । कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि विसं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको माहुरीपालन सुरुआत गरेको उनले बताए । सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गरेका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन् । उनले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउँछन् । माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । ‘तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो रु पाँच सय र जङ्गमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो रु आठ सयसम्म बिक्री गर्ने गरेको छु’, उनले भने । बुधबार माहुरी फार्ममा मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए । ‘महमा औषधीजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ’, उनले भने । केसीले फार्ममा हालसम्म रु एक करोडसम्मसम्म लगानी गरिसकेका छन् । उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्छन् । सबै खर्च कटाएर वार्षिक रु सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताए । उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन् । माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ । बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ । उनी भन्छन्, ‘सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ ।’ हाल उनको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरु आउने गरेका छन् । नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरुले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोखे । रासस

बालकुमारीमा प्रहरीको गोली लागेर एक पुरुषको मृत्यु, २ जना गम्भीर घाइते

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी सुजन राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । त्यस्तै भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर थप दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएका एक जनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको समेत जानकारी गराइएको छ ।

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी 

गलेश्वर । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन्। पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु ५० हजारदेखि डेढ लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । ‘मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु’, कृषक पुनले भनिन्, ‘व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । ‘सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ’, उनले भने, ‘एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।’ व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर रु एक लाख ३० हजार आम्दानी गरेको उनले बताइन् । यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौं र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएको रुन्माकी टीका विकले बताइन् । ‘सुन्तलाबाट हुने आम्दानीले नै घरखर्च, केटाकेटीको पढाइ लेखाइ पुग्ने भएपछि लोग्नेले विदेशमा कमाएको रकम बचत हुने गरेको छ । बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन’, उनले भनिन् । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताइन् । यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौं, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा सात सय छ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष तीन हजार नौ सय पाँच मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस

मन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । रासस