एक दर्जन लघुवित्तले लाभांश घोषणा गर्दा १९ वटाले नबाँड्ने, अझै ३१ संस्थाले डाकेनन् साधारणसभा
काठमाडौं । पुँजी बजारमा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचीकृत छन् । जसमध्ये हालसम्म ३१ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका हुन् । ३१ वटा लघुवित्तहरूले लाभांश सम्बन्धि निर्णय गर्दा १२ वटा लघुवित्तले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् । आरएसडिसी, स्वावलम्बन, एनआईसी एशिया, सपोर्ट, धौलागिरी, फर्स्ट माइक्रोफाइनान्स, साना किसान विकास, समता घरेलु, आत्मनिर्भर, ग्लोबल आइएमई, छिमेक र जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेका हुन् । गत वर्षको नाफाबाट विभिन्न १९ वटा लघुवित्तले लाभांश नबाँड्ने निर्णय गरेका हुन् । युनिक लघुवित्त, लक्ष्मी, गणपति, उन्नति सहकार्य, सिवाईसी नेपाल, बिपिडब्लु, इन्फिनिटी, उपकार, फरवार्ड, लसामुदायिक, नाडेप, हिमालयन, गुराँस र ग्रामीण विकास लघुवित्तले लाभांश बिना नै साधारणसभा आह्वान गरेका छन् । सबैको लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, मेरोमाइक्राफाइनान्स लघुवित्त र नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने भनेर घोषणा गरेतापनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैनन् । हालसम्म २४ वटा लघुवित्त संस्थाहरूले वार्षिक साधारणसभा आह्वान गरेका छन् । अझै ३१ वटा लघुवित्तले वार्षिक साधारण डाकेका छैनन् । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ४ गते काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ६ गते सम्पन्न छैठौँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे डाकेको छ । यस्तै, धौलागिरी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले १४औं वार्षिक साधारणसभा पुस २८ गते काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते भक्तपुरको बोडेमा बिहान ११ बजे आह्वान गरेको छ । यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले पाँचौं वार्षिक साधारणसभा पुस २८ गते दाङ्गको घोराहीमा बिहान ११ बजे डाकेको छ । यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले ११औं वार्षिक साधारणसभा पुस २९ गते लेकसाइड पोखरामा बिहान ९ बजे डाकेको छ । यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते मकवानपुर हेटौंडामा बिहान ११ बजे डाकेको छ । यस्तै, जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत र कर प्रयोजनसहित ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते केन्द्रय कार्यालय मोरङ्गमा बिहान साढे १० बजे पाँचौं वार्षिक साधारणसभा डाकेको छ । १९ लघुवित्तका सेयरधनीहरूको हात रित्तो युनिक लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेपनि तीन महिनापछि उक्त लाभांश रद्द गरी साधारणसभा आह्वान गरेको हो । लघुवित्त सञ्चालक समितिको मंसिर ३० गते बसेको बैठकले पुस २४ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको हो । लक्ष्मी लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे अग्रवाल भवन कमलपोखरी काठमाडौंमा १२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । गणपति लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे केन्द्रिय कार्यालय तनहुँमा सातौं वार्षिक साधारणसभा बोलाएको छ । उन्नति सहकार्य लघुवित्तको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले पुस २९ गते बिहान १० बजे रुपन्देही (भैरहवा)मा नवौं वार्षिक साधारणसभा डाकेको छ । सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे लेकसाइड पोखरामा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । बिपिडब्लु लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे जावलाखेल ललितपुरमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । इन्फिनिटी लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २८ गते बिहान १० बजे गैंडाकोट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)मा सातौं वार्षिक साधारणसभा बोलाएको छे । उपकार लघुवित्तको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले पुस २८ गते बिहान १० बजे कोहलपुर बाँकेमा पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको हो । फरवार्ड लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान ११ बजे दुहवी सुनसरीमा ११औं वार्षिक साधारणसभा डाकेको छ । सामुदायिक लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान ११ बजे काभ्रेपलाञ्चोकमा १०औं वार्षिक साधारणसभा बोलाएको हो । नाडेप लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान १० बजे काठमाडौंमा नवौं वार्षिक साधारणसभा बोलाएको हो । हिमालयन लघुवित्तको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते बिहान ११ बजे काठमाडौंमा १२औं वार्षिक साधारणसभा डाकेको हो । गुराँस लघुवित्तको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले पुस १८ गते बिहान ११ बजे बाँकेमा आठौं वार्षिक साधारणसभा बोलाएको हो । ग्रामीण विकास लघुवित्त सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर ३० गते बिहान ११ बजे आठौं वार्षिक साधारणसभा बोलाएको हो ।
एकैदिन तोलामा १३ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पर्यटन क्षेत्रमा जागेको आशा, एक वर्षमा १० लाख बढीले गरे नेपाल भ्रमण
काठमाडौं । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन सङ्ख्या बढिरहेको छ । विशेषगरी सेवा तथा आथित्य सत्कार र हिमाल आरोहणलगायत साहसिक गतिविधिसँग जोडिएको पर्यटन वैदेशिक मुद्रा आर्जनका लागि रेमिट्यान्सपछिको नेपालको सबैभन्दा ठूलो उद्योग हो । पछिल्लो समय यो क्षेत्र विदेशी मुद्रा आर्जन र राजस्वको प्रमुख स्रोत पनि बनिरहेको छ । वर्तमान सरकार गठनपछि पर्यटन क्षेत्रलाई दिइएको उच्च प्राथमिकताले गर्दा निजी क्षेत्रको लगानीमा वृद्धि तथा पर्यटकीय पूर्वाधारहरुको विकासले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । आजको दिनमा ३५ लाख पर्यटकलाई धान्न सक्ने पर्यटन क्षेत्रको क्षमता विकास भइसकेको छ । राज्यले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटन, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकको कार्यक्रमहरुलाई निजी क्षेत्रसँगको सहभागिता र समवन्यमा कार्यक्रमहरु द्रुत गतिमा अगाडि बढाउने काम भइरहेको छ । नेपालको सन्दर्भमा साहसिक पर्यटनको गन्तव्यका रूपमा देशलाई पुनस्र्थापित गर्न विद्यमान पर्यटन नीतिमा समेत समयसापेक्ष सुधार आवश्यकको महसुस गरिएको छ । अन्य मुलुकहरुसँगको हवाई सम्झौता विस्तार हुने क्रममा छ । नेपाल तथा रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छभने स्विट्जरल्यान्ड तथा इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको छ । नेपाल भ्रमण दशक अवधारणाको कार्यान्वयन सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी नेपाल भ्रमण दशक (२०२३–३२) अवधारणा स्वीकृत भई कार्यान्वयनमा ल्याएको छ । कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको घोषणा भएको हो । ‘सबैका लागि पर्यटन’ भन्ने अवधारणासहित आगामी १० वर्षभित्र मुलुकका वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकले लक्ष्य लिएको छ । विश्वका परम्परागत पर्यटन बजारबाट नेपालले पर्यटकलाई आतिथ्य प्रदान गर्न सन् १९९८ मा नेपाल भ्रमण वर्षलगायत सन् २००० र २०१० को दशकका अवधिमा अनेकन अभियान सञ्चालन गरे पनि लक्षित उपलब्धि हासिल हुन सकेको छैन । विगतको अनुभवबाट पाठ सिक्दै भ्रमण दशकको कार्यान्वयन गर्न ल्याइएको कार्ययोजनाअनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्याउने लक्ष्य लिइएको छ । पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ । आगामी १० वर्ष भित्र वार्षिक १ लाखका दरले थप रोजगारी सिर्जना हुने समेत कार्ययोजनाको लक्ष्य रहेको छ । पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वयमा जोड दिइएको छ । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । कोभिड महामारी र विशवका विभिन्न देशमा भएका द्वन्द्व र आर्थिक मन्दीका कारण शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्याण गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ । भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबाट एक सय २५ पुर्याउने लक्ष्य राखेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पुर्याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ । यसका लागि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रवद्र्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवद्र्धन, पर्यटन उपजको विकास र विस्तार र देशैभर पर्यटनसम्बन्धी अभियान चलाइने समेत कार्यदलको सिफारिसमा उल्लेख छ । कोभिड महामारीपछि करिब शून्यमा झरेको पर्यटक आगमन गत वर्षदेखि लयमा फर्किएकामा यो वर्ष उत्साहजनक रुपमा वृद्धि भएको छ । यस वर्ष १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकामा गत वर्षदेखि सुधार भएको छ । यही गतिमा बढ्दै जाने हो भने आगामी वर्ष पर्यटक आगमनले २०१९ को रेकर्ड तोड्ने आशा गर्न सकिन्छ । पर्यटक आगमनको लक्ष्य पूरा सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ । १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख एक हजार आठ सय ४४ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ । चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पु¥याउने घोषणा गरेको थियो । सन् २०२२ मा केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा पनि छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यस वर्ष तीन लाख १३ हजार नौ सय एक पर्यटक नेपाल आएका छन् । त्यसैगरी, अमेरिकाबाट ९९ हजार तीन सय २६ र चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । संयुक्त अधिराज्य ९युके०बाट ५२ हजार चार सय ९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार एक सय ४९, बङ्गलादेशबाट ३५ हजार चार सय ९२, जर्मनीबाट २६ हजार सात सय ९३, थाइल्यान्डबाट २५ हजार दुई सय ७०, दक्षिण कोरियाबाट २३ हजार चार सय ३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ । सन् २०२३ मा पर्यटक आगमनको सङ्ख्या जनबरी ५५,०७४ फेब्रुअरी ७३,२५५ मार्च ९९,४२६ अप्रिल ९८,७७३ मे ७७,७०३ जुन ७२,२५० जुलाई ५७,७२६ अगष्ट ६७,१५३ सेप्टेम्बर ९१,०१२ अक्टोबर १,१७,३०६ नोभेम्बर १,०८,६३० डिसेम्बर बुधबारसम्म ८३,५३६ जम्मा १०,०१,८४४ खेल पर्यटनमा जोड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा हालै देशवासीका नाममा गरेकाे सम्बोधनको क्रममा खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। गत कात्तिकमा नेपालमै सम्पन्न भएको खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेसँगै देशमा खेल पर्यटनको ठूलो आधार तयार भएकाले त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइएको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा विस्तार गरिने तथा मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको जनाएको छ । चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाका रूपमा तीन तहकै सरकारको समन्वयमा निर्माण गर्ने सरकारको योजना छ । ‘ग्रासरुट’बाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल पर्यटनको ठूलो सम्भावना हासिल गर्न सरकारले कुनै कसर नछाड्ने प्रधानमन्त्री दाहालको भनाइ छ । उड्डयन क्षेत्रमा सुधार वर्तमान सरकार गठनको एक वर्षको अवधिमा नागरिक उड्डयनको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको पाइन्छ । नेपाल वायुसेवा निगमको व्यापार विस्तार गरी नाफामा लगिएको र निगमको तिर्न बाँकी दायित्वमध्ये करिब चार अर्ब ऋण चुक्ता गरिएको छ । दुर्गम स्थानमा हवाईसेवाको पहुँच बढाउन नेपाल वायु सेवा निगमबाट थप तीनवटा साना जहाज खरिद प्रक्रिया अगाडि बढेको छभने प्रयोगविहीन भई भूमिस्थ रहेका पाँचवटा चिनियाँ जहाजहरूको लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । यस अवधिमै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यको शिलान्यास भएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सहजीकरण गर्न प्रक्रिया अघि बढाइएको छ । यसैगरी नेपाल वायुसेवा निगमद्वारा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट साताको एक दिन काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं नियमित उडान थालनी भएको छभने साताको एक दिन काठमाडौं–इलाम–काठमाडौँ नियमित उडान सञ्चालन भएको छ । नेपाल वायुसेवा निगमबाट गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरी व्यावसायिक उडानको थालनी भएको छ । तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा एटिआर–७२ विमानबाट सेवा सुरु गरिएको छ । काठमाडौं–इलाम–काठमाडौं हप्ताको एक दिन नियमित उडान सुरु भएको छ । साथै, जुम्ला, रुकुम, रारा तथा सिमकोट विमानस्थल विस्तार स्तरोन्नतिका लागि जग्गा प्राप्ति प्रक्रिया पनि अगाडि बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय अनलाइन टिकेटिङ्ग सेवाको सुरुआत भएको छ । जुगल हिमशृङ्खलामा पर्ने पाँचवटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सूचना प्रविधिको माध्यमबाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली, नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय र आन्तरिक हवाई टिकट अनलाइनबाट लिन सकिने व्यवस्था र राष्ट्रिय सङ्ग्रहालयमा भर्चुअल टुरको व्यवस्था गरिएको छ । सम्पदा क्षेत्रको प्रवर्द्धन जुगल हिमशृङ्खलामा पर्ने छवटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सो सहित हालसम्म आरोहणका लागि खुला गरिएको हिमालको सङ्ख्या चार सय १९ पुगेको छ । नेपाल र मित्रराष्ट्र चीनबीच सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन दुवै देशका पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक दस्तावेजहरूलाई नेपाली तथा चिनियाँ भाषामा प्राज्ञिक अनुवादसम्बन्धी कार्य अगाडि बढाइएको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न गत २०२३ सेप्टेम्बर ३० मा युनेस्कोमा पेस गरिएको प्रोभिजनल कागजातमा प्राप्त सुझावका आधारमा तयार गरिएको नोमिनेसन डोसियर स्वीकृतिका क्रममा रहेको बुझिएको छ । युनेस्कोको समन्वयमा रामग्राम स्तूपको उत्तर पश्चिम भागको उत्खनन कार्य सम्पन्न भई रामग्रामको बृहत्तर विकासका लागि पूर्वाधार निर्माण गर्न गुरुयोजना निर्माण गर्ने तथा सोही अनुसार पूर्वाधार तथा संरक्षणका कार्य अगाडि बढाइएको छ । रासस ।
सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त
काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । पुस १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी पुस १२ गतेदेखि नै लागू हुनेगरी नियुक्त भएको बैंकले जनाएको छ । उनीसँग बैकिङ क्षेत्रको करिव ४ दशक लामो अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका डा. आत्रेय त्यसपछि पनि विभिन्न संस्थामा सक्रिया रहदै आएका छन् । राष्ट्र बैंककै प्रतिनिधिको रुपमा उनले नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम पनि गरेका थिए । पछिल्ला समय विशाल ग्रुप सम्बद्ध कम्पनीहरूमा सक्रिय भएका डा आत्रेयले इमर्जी नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत, प्रुडेन्सियल इन्स्याेरेन्समा विज्ञ सञ्चालक, सूर्य लाइफ इन्स्याेरेन्समा विज्ञ सञ्चालक भएर काम गरेका थिए ।
म्याग्दीमा आठ महिनामा ६ पुल निर्माण, दुईवटा पुलको ठेक्का लगाउने तयारी
म्याग्दी । म्याग्दीमा आठ महिनाका अवधिमा छ वटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । सङ्घीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यस वर्ष दुईवटा मोटरेबल पुल निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुईवटा पुलको ठेक्का लगाउने तयारी गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा २५ मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि फेवा–बिएम जेभी पोखरासँग विसं २०७६ माघ १७ गते मूल्य अभिवृद्धि कर (भ्याट) सहित दुई करोड ८१ लाख ७८ हजार ६ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक विभागको पुल महाशाखाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम पुल निर्माण गरेको छ । बिओकेआई\हिमालयन जेभीले भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँमा विसं २०७८ असार २९ गते सम्झौता गरेको यो पुल लक्ष्यभन्दा छ महिनाअघि नै सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय बाग्लुङले बेनी नगरपालिका–४ फापरखेत र मङ्गला गाउँपालिका–३ बरञ्जाको पखेर जोड्ने एक सय १७ मिटर र मङ्गला गाउँपालिका–२ माटेबगर र वडा नं ५ पोक जोड्ने ८० मिटर लामो दुईवटा मोटरेबल पुल बनाएको छ । म्याग्दी नदीमाथि बनेका दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरञ्जा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मङ्गला गाउँपालिकाका–३ का वडाअध्यक्ष याम रोकाले बताए । पूर्वाधार विकास कार्यालयमार्फत मालिका गाउँपालिका–१ र ६ को सिमानास्थित छ्यारछ्यारेको म्याग्दी नदीमा ४० मिटर लामो स्टिल ट्रष्ट प्रविधिको मोटरेबल पुुल निर्माण भएको छ । सो पुल निर्माणका लागि प्रदीप जुम्ली जेभीसँग २०७७ साल साउन ४ गते चार करोड ४५ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते फेवा सावित्री जेभी पोखराले दुई करोड ७२ लाख ९४ हजार पाँच सय ६९ रुपैयाामा ठेक्का सम्झौता गरेको थियो । मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ भारवाङघाट स्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । यो पुल निर्माणका लागि विसं २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले छ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारास्थित रितुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको छ । असोज अन्तिम साता चार करोड १० लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको बिएम कोन्डा जेभीले पुलको फाउन्डेसन खन्न सुरु गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए । उनका अनुसार मङ्गला गाउँपालिका–३ र बेनी नगरपालिका–४ को सिमाना अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन असोज अन्तिम साता तीन करोड ४१ लाख १६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको प्रमाण सारस जेभी कार्यस्थलमा परिचालन हुने तयारीमा छ । धवलागिरि गाउँपालिका–२ को दरखोला र मालिका गाउँपालिका–७ शिवरात्रि खोलामा पनि मोटरेबल पुल निर्माणको तयारी भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निर्माणाधीन पुललाई सम्पन्न गराउने र नयाँ पुल निर्माणसम्बन्धी योजना भित्र्याउन पहल गरिएको बताए । रासस
नयाँ वर्षमा फोनपेको अभियान : स्मार्ट फोन उपहार
काठमाडौं । भुक्तानी संचालक कम्पनी फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ । फोनपे सँग ‘सहज भुक्तानी विधि अप्नाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मूल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गरेको छ । फोनपे क्यूआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्तालाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु, यस अभियानको उद्देय रहेको कम्पनीको भनाई छ । पुस १३ देखि १७ सम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधिभर, पाँचपटकसम्म प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको छ । त्यसको साथसाथै, फोनपे क्यूआर वा फोनपे डिरेक्ट, दुवै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरूले अभियानमा सहभागिता जनाउन सक्ने छन् । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई ‘मी साओमी १२’ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ ।यस अभियान मार्फत फोनपेले, फोनपे सेवाहरूद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानी आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यक्ता नै हुन पुगेको छ। अभियानको उदेश्यका बारेमा फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्मा भन्छन्, ‘फोनपे गर्ने हो अभियानले, ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्साहित गरेको छ। सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ ।’ फोनपे सधैँ आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको कम्पनीको भनाई छ । अनुरुप सुरक्षित कारोबारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको कम्पनीले जनाएको छ ।
नेपाल सुपर लिगमा यामाहा रेजेडआर हाइब्रिडको हेल्मेट र्याक पहल
काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको दुनियाँमा अग्रणी नाम रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्याकहरू उपलब्ध गराएको छ। यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने कम्पनीको अटल प्रतिबद्धता झल्काउने विश्वास कम्पनीले लिएको छ । नेपाल सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिड १२५ को यस नौलो पहलकदमीले खेलको मजा लिँदैगर्दा फ्यानहरूलाई हेल्मेट राख्नको लागि सुविधाजनक स्थान उपलब्ध हुनेछ । यसले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूसँग आफ्नो हेडगियर राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्नेछ जसले गर्दा वहाँहरुले निश्चिन्त भएर फुटबलको मजा लिन सक्नेछन् । फुटबल खेललाई माया गर्ने भावुक प्रशंसकहरूको सम्मानस्वरूप यामाहा रेजेडआर हाइब्रिड र केटीएम रेजेडआर्सले उत्साहपुर्वक यसको पहलकदमी लिएका हुन् । नेपाली खेलकुद र विशेषगरी फुटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ए डिभिजन लिगमा समेत सक्रिय रुपमा संलग्न छ। यामाहाको एमएडब्लू टू ह्वीलर डिभिजनका अधिकारीहरूका अनुसार हेल्मेट र्याकको स्थापनाले फ्यानहरूमा फुटबलको रोमान्च अझै बढ्ने छ । यस पहलकदमी फुटबल उत्साहीहरूका लागि सुविधा, पहुँच र बढ्दो उत्साह प्रदान गर्नमा केन्द्रित रहेको छ । नेपाली खेलकुदलाई सहयोग गर्ने यामाहाको प्रतिबद्धतालाई नेपाल सुपर लिगसँगको साझेदारीले थप प्रगाढ बनाएको छ भने हेल्मेट र्याकको स्थापनाले फुटबलको मजामा अझै धेरै सहजता र आनन्द थपेको छ ।
६७ वटा नर्सिङ क्याम्पसले शिक्षामन्त्रीलाई बुझाए चाबी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् । मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताए। यस विषयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायत सरोकारवाला निकायका अधिकारीसँग छलफल गरेर समस्या समाधानका लागि आफूले पहल गर्ने उनले बताए । यी शिक्षालयमा २०७७ सालमा भर्ना भएका विद्यार्थीको अन्तिम र वार्षिक परीक्षासमेत २०८० मङ्सिर २६ गते सम्पन्न भइसकेको छ । नयाँ विद्यार्थी नभएका कारण संस्था बन्द भएकोले चाबी मन्त्रीलाई बुझाइएको ती संस्थाको साझा संस्था फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले बताए । ती शिक्षालयका सम्पूर्ण शैक्षिक पूर्वाधार प्रयोगविहीन अवस्थामा पुगेको सापकोटाले बताए । सापकोटाका अनुसार हरेक शिक्षालयमा कार्यरत १५ जना नर्सिङ प्रशिक्षक १० जना प्रशासनिक कर्मचारी गरी देशभरमा एक हजार पाँच जना नर्सिङ प्रशिक्षक तथा ६७० जना प्रशासनिक कर्मचारीलाई बाध्यात्मक रूपमा बेतलबी बिदामा पठाइएको छ । नर्सिङ विषयमा विद्यार्थी भर्नासम्बन्धी निर्णय नहुने हो भने उनीहरुलाई सेवामा फर्काउन नसकिने सापकोटाले बताए । उनले भने, ‘नर्सिङ कार्यक्रम बन्द रहेकोले शिक्षण संस्थामा भएको करोडौँको लगानी धराशयी भएको छ । अर्कातर्फ यसै वर्ष मात्र स्टाफ नर्स विषय अध्ययन गर्न चाहने १२ हजार विद्यार्थीमध्ये १० हजारभन्दा बढी विद्यार्थी र अभिभावकले अध्ययनकै लागि बिदेसिनु वा मन फेरेर अर्को विषय अध्ययन गर्न बाध्य हुनु परेको अवस्था छ ।’ संसद्ले २०४९ सालमा निर्माण गरेको सिटिइभिटी ऐन, २०४९ ले यो विषयको अभिभावकत्व निर्वाह गर्ने जिम्मेवारी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अध्यक्षको हैसियतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ । ‘मन्त्रीज्यूबाट बन्द भएको शिक्षण संस्थामा भर्ना खोली नर्सिङ शिक्षामा अध्ययनको अवसर, शिक्षक तथा कर्मचारीको रोजगारीको अवसर, शिक्षण संस्थाको आर्थिक लगानीको सुरक्षाको प्रत्याभूति हुने अपेक्षा हामीले राखेका छौँ,’ शिक्षण संस्थाको चाबी मन्त्रीलाई हस्तान्तरण गर्दै सापकोटाले भने । उनीहरूले बिहीबार नै आफूहरूको समस्या समाधानको पहल गरिदिन अनुरोध गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका निकायलाई पनि ज्ञापनपत्र बुझाएका छन् । चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार एक सय शैयाको अस्पताल हुने शैक्षिक संस्थालाई मात्रै नर्सिङ पढाइको अनुमति दिन सकिने भन्दै चिकित्सा शिक्षा आयोगले ती कलेजमा भर्नाको अनुमति नदिएको कलेज सञ्चालकहरूको भनाइ छ । गाेरखापत्रबाट ।