विकासन्युज

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन- सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अव्यवहारिक भन्सार नीतिका कारण सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दिनदिनै जीवन कष्टकर बनेको बताएका छन् । कांग्रेसले सुरु गरेको साप्ताहिक 'ग्रिन टेबल' शृंखलाअन्तर्गत पहिलो कार्यक्रम 'सीमामा १०० को सीमा'मा उनले यस्तो बताएका हुन् । अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रका नागरिकमा असन्तुष्टि बढ्दै गएको र सरकारप्रति आक्रोश चुलिँदै गएको उनको भनाइ छ । राजस्व बढाउने नाममा संघीय सरकारले सीमा क्षेत्रको सामाजिक-सांस्कृतिक पक्षलाई बेवास्ता गरेको आरोप लगाउँदै थापाले काठमाडौंमा बसेर जनभावनाविपरीत नीति बनाउँदा सीमावर्ती नागरिकहरूले त्यसको मूल्य चुकाउनुपरेको बताए । उनले विगतमा आफ्नै पार्टी सरकारमा रहँदा पनि यस्ता अव्यवहारिक कानुन हटाउन र व्यवहारिक नीति बनाउन नसकेको स्वीकार गरे । 'सीमामा कडाइ हुँदा नागरिकले सास्ती व्यहोर्नुपर्दा कांग्रेसले आवाज उठाएको थियो, तर दिगो समाधान दिन सकेन,' उनले भने, 'अब सरकारले प्रभावित नागरिकको आवाज सुनेर व्यवहारिक भन्सार नीति ल्याउनुपर्छ ।' सीमावर्ती क्षेत्रका नागरिकले केही अतिरिक्त सुविधा पाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले भन्सार जाँचका नाममा नागरिकको आत्मसम्मानमा चोट पुग्नु गलत भएको बताए । कार्यक्रममा सीमा तथा अन्तरदेशीय व्यापार विज्ञ राजन शर्माले भन्सारमा सर्वसाधारणमाथि कडाइ गर्ने नीति अव्यवहारिक भएको बताए। यसले मजदुर, किसान, गरिब तथा साना-मझौला व्यवसायीहरू प्रभावित भएको उनको भनाइ थियो । 'राजस्व जनताको भावनाभन्दा माथि हुन सक्दैन,' उनले भने, 'वैध र अवैध व्यापार छुट्याउन नसकेर सबैलाई एउटै रूपमा हेर्ने प्रवृत्ति गलत हो।' उनले तस्करी नियन्त्रण र सीमा सुरक्षा सुदृढ गर्न एकीकृत जाँच चौकी (आईसीपी) को प्रभावकारी उपयोग, डाटा साझेदारी र समन्वित सीमा व्यवस्थापन प्रणाली आवश्यक रहेको बताए । प्रतिनिधिसभा सदस्य रेखा कुमारी यादवले भन्सार कडाइका कारण महिलाहरू बढी प्रभावित भएको बताइन् । घरायसी सामान ल्याउँदा महिलाले अपमानजनक व्यवहार भोग्नुपरेको उनको आरोप थियो । उनले किसान र मजदुरसमेत प्रभावित भएको उल्लेख गर्दै कृषि सामग्री आयातमा अवरोध हुँदा उत्पादन लागत बढ्ने र खेतीप्रति निरुत्साह बढ्ने खतरा औंल्याइन् । कांग्रेस नेता कञ्चन झाले सीमा क्षेत्रमा 'बोर्डर हाट', सीमावर्ती बासिन्दा कार्ड तथा स्थायी परामर्श संयन्त्रजस्ता उपाय लागू गर्न सुझाव दिइन् । सरकारले हाल भारतबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार शुल्क लगाउने व्यवस्था कडाइका साथ लागू गरेको छ । वस्तुको प्रकृतिअनुसार ५ प्रतिशतदेखि ८० प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था गरिएको छ ।भन्सार विभागले यस उपायबाट उल्लेखनीय राजस्व संकलन नहुने स्वीकार गरिसकेको छ ।

इरानले ४२ हजार नागरिकको हत्या गर्‍यो, अब कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिइने छैन: राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न नदिने स्पष्ट सन्देश दिएका हुन् । ट्रम्पका अनुसार यदि अन्तर्राष्ट्रिय समुदाय पनि इरानलाई परमाणु हतियार बनाउन नदिने कुरामा सहमत छ भने आफूले अघिल्लो कदमहरू सफल भएको दाबी गरे ।  उनले भनेका छन्, ‘हाम्रो सेनाले इरानलाई पूर्ण रूपमा कमजोर बनाएको छ, जसका कारण इरानको अर्थतन्त्रमा गम्भीर असर परेको छ ।’ ट्रम्पले इरान सरकारमाथि गम्भीर आरोप पनि लगाएका छन् । उनका अनुसार, इरानमा विरोध प्रदर्शन गर्ने करिब ४२ हजार निहत्था र निर्दोष नागरिकहरूको हत्या गरिएको छ ।  उनले इरान सरकारलाई ‘उग्रवादी समूह’को संज्ञा दिँदै त्यसलाई कमजोर पारिएको दाबी गरे । यता यूनाइटेड स्टेट्स सेन्ट्रल कमाण्डका कमाण्डर एडमिरल ब्रैड कूपरले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध सम्भावित सैन्य विकल्पहरूको जानकारी दिएका छन् । फक्स न्युजका अनुसार ह्वाइट हाउसको सिचुएसन रूममा भएको बैठकमा ‘सानो तर अत्यन्त शक्तिशाली हमला’ गर्ने विकल्प प्रस्तुत गरिएको थियो । उक्त विकल्पअनुसार, आवश्यक परेमा अमेरिका पहिलोपटक इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्न सक्ने सम्भावना पनि औंल्याइएको छ ।  यसले मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

भारतमा खाना पकाउने ग्यासको मूल्यमा ४८ प्रतिशतले वृद्धि, जेट इन्धन पनि महँगियो

काठमाडौं । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ । भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत पेट्रोलियम ग्याँस (एलपिजी) को लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको भारतको ठूलो हिस्साले खाना पकाउन प्रयोग गर्ने इन्धन ग्यास हो ।  फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भएदेखि नै आयातमा अवरोध आइरहँदा नयाँ दिल्लीले घरपरिवार र अत्यावश्यक क्षेत्रहरू पर्याप्त मात्रामा आपूर्ति भएको सुनिश्चित गर्न कदम चालेको छ, जसले धेरै रेस्टुरेन्ट, निर्माता र पावर प्लान्टहरूलाई अलपत्र पारेको छ । सरकारले भारतले समग्र इन्धनको अभाव नरहेको बताउँदै आएको छ । सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसिएल) ले भनेको छ, ‘ धेरै मात्रा र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपिजी सिलिन्डरको मूल्य संशोधन गरिएको छ ।’  आइओसीएलको मूल्य तालिकाअनुसार व्यावसायिक प्रयोगका लागि बनाइएको १९ केजीको ग्यास सिलिन्डरको मूल्य ९९३ भारतीय रूपैयाँ (१०.५० अमेरिकी डलर) कायम भएको छ ।  यो भनेको राजधानी नयाँ दिल्लीमा ग्यासको मूल्यमा झण्डै ४८ प्रतिशतले वृद्धि भएको छ । स्थानीय करका कारण दरहरू शहर अनुसार फरक हुन्छन् । तीव्र वृद्धिले रेस्टुरेन्टहरूलाई विशेष गरी कडा असर पार्नेछ, मध्य पूर्व युद्धको समयमा धेरैले पहिले नै सेवाहरू घटाएका छन् । अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि जेट इन्धनको मूल्य पनि समायोजन गरिएको भारतीय इन्धन कम्पनीले जनाएको छ । आइओसीएलको तालिकाअनुसार दिल्लीमा हवाई इन्धन (एटिएफ) करिब पाँच प्रतिशतले बढेको छ ।

काठमाडौं महानगरको वडा तहबाटै भूमि प्रशासन सेवा

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान गरेको छ । विसं २०८२ चैत १२ गते मालपोत कार्यालय चाबहिल, डिल्लीबजार र कलङ्कीसँग सम्झौता गरेर २०८३ वैशाख २ गतेदेखि नमूनाका रूपमा सेवा थालिएका वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट यो सेवा प्रदान गरिएको हो ।  प्रदान गरिएका सेवामध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व परिवर्तनको हो । भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका सम्पर्क व्यक्ति अशोक श्रेष्ठका अनुसार यस्तै, १९ जनालाई प्रमाणपुर्जा प्रदान गरिएको छ । यसमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित, रैकर जग्गा दर्ता सेवा प्रदान गरिएका छन् श्रेष्ठले भने ।  काठमाडौंले यसअघि चारकिल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा दिँदै आएको थियो । यो सेवा प्रारम्भ भएपछि भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएका वडाबाटै प्राप्त हुनेछन् । नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछ । यस प्रक्रियामा वडाले नामसारी निवेदन र मुलुकी देवानी संहिता, २०७४ बमोजिम पारित हुने लिखतमा आफ्नो रोहवरमा कारणीको ल्याप्चे सही छाप, दस्तखत तथा सनाखत गराएर थप प्रक्रियाका लागि मालपोत पठाउने छ । जग्गाधनी सङ्केत नम्बर कायम भएका र ससिम कित्ताको कारोबारका लागि मात्र लिखत र नामसारी निवेदन तयार गर्नेछ ।  जग्गाधनी सङ्केत नम्बर कायम नभएका जग्गाधनीको हकमा जग्गाधनी विवरण अद्यावधिकका लागि मालपोत कार्यालयमा पठाउने कामपाले जानकारी दिएको छ । नेपालको संविधानले भूप्रशासनको काम स्थानीय तहलाई दिएको छ । यसअघि पूर्वाधार र जनशक्ति तयार नभएकाले यो काम सङ्घ सरकारबाटै हुँदै आएको थियो ।  

पोखराको ३१ पार्क होटलमा पूर्व राजपरिवार, 'छु मी' रेस्टुरेन्टमा लिए चिनियाँ परिकारको स्वाद

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले परिवारसहित पोखराको बाराहीघाटस्थित ३१ पार्क होटलमा रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’ मा शुक्रबार भोजन गरेका छन् । होटल स्रोतका अनुसार निजी भ्रमणका क्रममा पोखरामा रहेका पूर्व राजपरिवार चिनियाँ परिकारको स्वाद लिन सो रेस्टुरेन्ट पुगेका हुन्  ।  उनको आगमनले होटलमा एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको व्यवस्थापनले जनाएको छ ।  ‘शुक्रबार अपराह्न हाम्रा लागि विशेष बन्यो, जहाँ हामीले पूर्व राजपरिवारलाई आत्मीय भोजनको अनुभव प्रदान गर्ने अवसर पायौं,’ होटल स्रोतले भन्यो । भोजनपछि पूर्व राजा शाहले रेस्टुरेन्टको आतिथ्यता, सेवा र शान्त वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका छन् । उनले पोखराको आतिथ्य संस्कृति र सेवाको स्तरले नेपालको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने बताएका छन् । अंशुवरा ग्रुपको लगानी रहेको ३१ पार्क होटल परिसरमा अवस्थित ‘छु मी चाइनीज रेस्टुरेन्ट’ गुणस्तरीय चिनियाँ खानाका लागि पोखरामै परिचित मानिन्छ । स्थानीय पर्यटन व्यवसायीहरूले यस्ता उच्चस्तरीय र विशिष्ट व्यक्तित्वहरूको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।  निजी र अनौपचारिक भ्रमण भए तापनि पूर्व राजपरिवारको उपस्थितिले पोखराको पर्यटकीय छवि अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार (आज) सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा शुक्रबार (आज) पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका-२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिए ।  उनका अनुसार कार्की उक्त डोजरका चालक हुन् । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो । प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए ।  

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ।  प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो । काठमाडौँको दक्षिणकाली नगरपालिका-५, बुढानिलकण्ठ नगरपालिका-६ र चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक/एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ बाट दुई, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्यस्तै, कैलालीको भजनी नगरपालिका-३ र धनगढी उपमहानगरपालिका-६ बाट एक/एक, इलामको सूर्योदय नगरपालिका-७ हर्कटेबाट दुई, सुनसरीको दुहवी नगरपालिका-१०, बराहक्षेत्र नगरपालिका-२ पुनर्वास र धरान उपमहानगरपालिका-१७ बाट एक/एक जना पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-११ भोजाडबाट तीन, भरतपुर महानगरपालिका-१ आँपटारीबाट एक, राप्ती नगरपालिका-११ डुम्रेखाडी जङ्गलबाट एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँबाट दुई जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका-३ सामादैजीबाट एक, बेलौरी नगरपालिका-१० सडकघाटबाट चार जना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । जाजरकोटको शिवालय गाउँपालिका- छेडाचौरबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पोखरिया नगरपालिका-४ बाट एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट दुई, मोरङको सुन्दरहरैँचा नगरपालिका-९ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।