विकासन्युज

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

काठमाडौं । मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ । यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ । ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ । सो अवधिमा २ हजार ८ सय ६९ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन् । लामो समयदेखि विदेशमा मृत्यु र अंगभंग भएका नेपालीको संख्यामा बढ्दै गएको छ । बिदेसिएका कामदारको मृत्यु भए बोर्डले ७ लाख रूपैयाँ दिने गरेको छ । सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कल्याणकारी कोष स्थापना गरेको छ । वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ । यसबीच वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३ सय १७ रूपैयाँ सहायता शीर्षकमा खर्च गरेको छ । हालसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ । संकलित सोही रकमबाट वैदेशिक रोजगार बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरूका लागि सहायता उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू मृत्यु वा अगंभंग भएको अवस्थामा उद्धार गर्ने प्रयोजनका लागि संकलित रकम खर्च गरिने बोर्डले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

निफ्रा बैंकले पनि घटायो निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार ५ वर्षभन्दा माथिको शुभ पुर्वाधार खातामा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि सोही खातामा बैंकले संस्थागतलाई ८.१५ प्रतिशत र व्यक्तिलाई १० प्रतिशत ब्याज दिइरहेको थियो । यस्तै कर्जातर्फ भने बैंकले प्रोजेक्ट लोनमा ११ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर लिने भएको छ । यस्तै, ब्रिज ग्याप लोनमा भने प्रोजेक्ट लोनको भन्दा ०.५ प्रतिशत बढी ब्याज लिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, आजदेखि लागू हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.३० प्रतिशतदेखि अधिकतम ६.३० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । बैंकले महालक्ष्मी डलर बचत खातामा ३.२८ प्रतिशत र कल डिपिोजिटमा २.१५ प्रतिशत तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने महालक्ष्मी डलर बचतमा ३.२८ प्रतिशत र कल डिपिोजिटमा २.२० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.३० प्रतिशत र ब्यक्तिगततर्फ ९.३० प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा १०.३० प्रतिशत तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशत र ब्यक्तिगततर्फ ९.४० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा १०.४० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनसेलको सेयर किन्न बीमा कम्पनी तम्सिए, ५०/५० करोड हाल्न सबै तयार

काठमाडौं । एनसेलको विदेशी साझेदार आजियाटाले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने निर्णय गर्याे । आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका विदेशी नागरिक सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बिक्री गरिसक्यो । सन् २०१६ मा तत्कालीन टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ अमेरिकी डलर अर्थात् १ खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियो । तर, अहिले सोही सेयर ५ करोड अमेरिकी डलर अर्थात् साढे ६ अर्ब रुपैयाँमा बिक्री भएको छ । चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा खरिदबिक्री भएपछि त्यसको मूल्याङ्कनमा प्रश्न उठेको छ । एनसेलको व्यवसायिक मूल्य साढे ६ अर्ब रुपैयाँ ताेक्नु ज्यादै कम भएकाे विषयमा धेरैको ध्यान गएकाे छ । नेपालभित्रै सेवा दिइरहेका जीवन बीका कम्पनीहरूले साढे ६ अर्ब रुपैयाँ भन्दा बढी मूल्य तिरेर एनसेलको सेयर किन्ने विषयमा छलफल चलाएका छन् ।  जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच एनसेलको सेयर खरिद विषय चलिरहेको हो। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)शिवनाथ पाण्डेले सरकारले जीवन बीमा कम्पनीहरूलाई एनसेल खरिद गर्न अनुमति दिने हो बीमा कम्पनीहरू सेयर किन्न तयार रहेको बताए । बीमा कम्पनीहरूमा दीर्घकालिन प्रकृतिकाे काेषहरू हुन्छ । उक्त रकम बैंकको मुद्दती निक्षेपमा लगानी गरेर ब्याज खानुभन्दा एनसेलमा लगानी गर्नु धेरै फाइदाजनक हुने बीमकहरूको भनाइ छ । ‘लगानी गर्नुहोस् स्वीकृति दिन्छौं सरकारले भन्छ र अहिलेको मूल्यमा एनसेलको सेयर दिने हो भने बीमा कम्पनी तयार छन् । १४ वटा जीवन बीमा कम्पनीले ५०/५० करोड रुपैयाँ मात्रै लगानी गर्ने हो भनेपनि ७ अर्ब हुन्छ,’ उनले भने, ‘लगानी विविधिकरण पनि हुन्छ, बैंकले दिने ब्याजभन्दा उच्च प्रतिफल पनि हुन्छ ।’ ‘बीमा कम्पनीहरूलाई सरकारले प्रोत्साहन गर्ने हो भने एनसेल चलाउन सक्षम छौं, बीमा कम्पनीहरूसँग ठूलो फण्ड पनि छ तर, जोखिम लिने कि नलिने, उसले पनि दिने कि नदिने भनेर नियामकको भर पर्नुपर्छ,’ उनले भने, ‘पब्लिक कम्पनीले गरेको फाइदा अन्ततः सर्वसाधारणले पाउने हो, त्यसैले बीमा कम्पनी एनसेल खरिदका लागि उपयुक्त लगानीकर्ता हुन सक्छन् ।’ एनसेल जस्ताे कम्पनी व्यक्ति वा प्राइभेट कम्पनीले चलाउनुभन्दा पब्लिक कम्पनीले चलाउँदा उपयुक्त हुने बीमा कम्पनीका सीईओहरूको तर्क छ । बीमा कम्पनीलाई एनसेलको सेयर दिँदा लगानीमा पनि विविधिकरण हुने र जोखिम पनि घट्ने सीईओ पाण्डे बताउँछन् । एनसेलबाट गत ६ आर्थिक वर्षमा मात्र लगानीकर्ताले ८३ अर्ब ५० करोड रुपैयाँ लाभांश लिएका छन् । यति धेरै नाफामा रहेको र ७० अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति भएको एनसेल ५ करोड अमेरिकी डलरमा पाए आफूहरुले किन्न तयार भएको एक कम्पनीका सीईओले बताए । जीवन बीमा कोष लगायत दीर्घकालिन प्रकृतिको कोषमा रकम वृद्धि हुँदै जाँदा जीवन बीमा कम्पनीहरुले दीर्घकालिन प्रकृतिको लगानीको क्षेत्र खोजिरहेका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले ठूला र ख्याती कमाएका कम्पनीहरुको सेयरमा लगानी विस्तार गरिरहेका छन् । एनसेल जस्तो उच्च नाफा हुने कम्पनीमा नेपालीको लगानी हुँदा लाभांश बाफत हरेक वर्ष विदेशीले करोडौं डलर (अर्बौ रुपैयाँ) नेपालमा नै रहने र त्यसले अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्ने जानकारहरु बताउँछन् ।  

तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने

फाइल फोटो भक्तपुर । नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ । तरुण दलले बुधबार भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्पले क्षति पुर्याएका जिल्लामा अस्थायी आवास निर्माण अभियान सुरु गर्ने बताए । अध्यक्ष गुरुङले भने- ‘भूकम्पबाट आफ्नो बास गुमाएका पीडितको बस्ने बासको व्यवस्था गर्न हामी पुस १ गतेदेखि अस्थायी आवास निर्माण अभियान सुरु गर्दैछौँ, जाजरकोट र पश्चिम नेपालका जिल्लामा तरुण दलका दस्ताले ८० देखि एक सय वटासम्म अस्थायी टहरा निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्नेछ, देशभरका तरुणको सहयोगको साथ ६० जनाको टोली त्यस क्षेत्रमा खटिनेछ ।’ भूकम्प गएपछि तरुण दलले ती क्षेत्रमा न्यानो कपडा र खाद्यान्नका सामग्री वितरण गरिसकेको जानकारी दिँदै अध्यक्ष गुरुङले अब अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गर्ने भएको बताए । देशभरका वडा, पालिका, नगर, जिल्ला, प्रदेश र केन्द्रका तरुणबाट स्वतस्फूर्तरुपमा सङ्कलन भएको रकमबाट यो अभियान सञ्चालन गरेर अस्थायी आवास निर्माण एवं सामाजिक दायित्वमा देशभरका तरुणको भावना जोड्न लागेको बताउँदै उनले अस्थायी आवास निर्माणका लागि बाह्य सहयोग नलिई तरुण दलको आन्तरिक व्यवस्थापनबाटै अभियान सम्पन्न गर्ने बताए । पार्टीले जिम्मा दिए थप अस्थायी आवास बनाएर फर्कने बताउँदै अध्यक्ष गुरुङले भने- ‘कांग्रेस केन्द्रीय कमिटीले त्यस क्षेत्रमा एक हजार वटा अस्थायी टहरा बनाउने भएको छ । पार्टी केन्द्रीय कमिटीसँग हामी जाजरकोटबाटै सम्पर्कमा रहनेछौँ, तरुण दलको अभियान सम्पन्न भएपछि पार्टीले व्यवस्थापनसहित जिम्मेवारी दिए, पार्टीको निर्देशनमा थप अस्थायी आवास बनाउने छौँ ।’ पुस १ गतेदेखिको अभियानका लागि तरुण दलले काठमाडौंबाट २५ जना, कर्णालीबाट २० जनाको डकर्मी टोली र अन्य जिल्लाबाट सहभागी हुने तरुणसहित ६० जना अस्थायी टहरा निर्माणमा खटिने उनले बताए । भूकम्पका कारण त्यस क्षेत्रका हजारौं नागरिक चिसोमा आवास बिहिन हुन पुगेको दुःखद् अवस्था र त्यहाँका वृद्धवृद्धा, बालबालिका, गर्भवतीमा थप समस्या परेको बेलामा नेपाल तरुण दलले अस्थायी आवास निर्माण गरेर राजनीतिमा मात्रै नभई मानव सेवामा पनि तरुण दल अग्रसर हुन्छ भन्ने सन्देश प्रवाह गर्ने भएको उनले बताए । केन्द्रीय बैठकमा पदाधिकारीलगायत केन्द्रीय सदस्यले विभिन्न राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै भूकम्पपीडित क्षेत्रमा अस्थायी टहरा निर्माणको सवालमा पारदर्शीरुपमा अगाडि बढ्ने र सामाजिक दायित्वलाई निरन्तरता दिने निर्णय गरेको छ । रासस

ग्रीन डेभलपमेण्ट बैंक र नासा सेक्युरिटिजबीच सम्झौता, सेयर कारोबार सहज हुने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र नासा सेक्यूरिटीज कम्पनी (स्टक ब्रोकर नं. ५८) बीच निक्षेप सदस्य सेवा अन्तर्गत हितग्राही खाता खोल्ने सम्बन्धी सेवालाई सहजीकरण तथा विस्तार गर्ने सम्बन्धमा समझदारी भएको छ । सम्झौता पछि बैंकका ग्राहकहरुले बचत खाताका साथसाथै डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टिएमस), सी-आस्वा र मेरो सेयर सेवा लिन सक्नेछन् । आफ्ना ग्राहकलाई सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी र नासा सेक्यूरिटीज कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक मदन पौड्यालले हस्ताक्षर गरेका छन् ।

हिमालयन ह्वाइट हाउस कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसले सहकार्य गर्ने

काठमाडौं । काठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसबीच  सम्झौता भएको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज र चाइनीज एकेडेमी अफ साइन्सेज (सीइएस)बीच सम्पदा, शैक्षिक र पर्यटनका विषयमा सम्झौता भएको हो । चाइनिज एकेडेमीअफ साइन्सेसका प्रोफेसर र रिसर्चरहरुको एक टोली नेपालमा भएका सम्पदा, शैक्षिक अवस्थाबारे जानकारी लिइ सहकार्य गर्ने उद्देश्यले नेपाल आएको र सोही क्रममा निजी क्षेत्रको अब्बल शैक्षिक संस्थासँग महत्वपूर्ण सम्झौता गरेको जनाइएको छ । सम्झौताअनुसार विशेषगरी बीएचएम र बायोटेक्नोलोजीका विद्यार्थीलाई चाइनीज युनिभर्सिटीमा कसरी एकिकृत गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्नेछन् । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले आफू शैक्षिक र पर्यटनका हिसावले टोलीसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । ‘चीन शिक्षाको हिसावले मात्र नभइ सबै क्षेत्रमा विकसित र शक्तीशाली राष्ट्र हो, तपाईहरुसँग सहकार्य गर्न पाउँदा खुसी भएका छौं’, कलेजका प्रिन्सिपल पौडेलले भने । कार्यक्रममा जेराफिक विज्ञान र प्राकृतिक स्रोत अनुसन्धान संस्थानका प्राध्यापक, रिसर्चर झाओपिङयाङले नेपाल पर्यटकीय हिसावले सुन्दर रहेको बताइन् । उनले भनिन्, ‘देश सुन्दर छ भन्ने थाहा थियो, आएर हेर्दा राम्रो लाग्यो अब हामीले नेपालको शिक्षा र सम्पदालाई जोडेर काम गर्नुपर्छ, यसले दुवै देशको लागि फाइदा हुन्छ ।’ सम्झौतामा कलेजमा होटेलम्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई प्रशिक्षणका लागि चीन लैजाने र केही विद्यार्थीलाई स्कलरसिपमा अध्ययन गर्न लाने र कलेजलाई आवश्यक पर्ने प्रविधि हस्तान्त्रण गरिने उल्लेख छ । यस्तै कलेजले पनि नेपालमा रहेको सम्पदा र शैक्षिक अवस्थाबारे अध्ययन गर्न समन्वय गर्ने जनाएको छ । चिनियाँ टोलीले कलेजका प्रिन्सपललाई भ्रमणको लागि समेत औपचारिक निमन्त्रणा गरेका छन् । कलेजका प्रिन्सिपल पौडेलले सम्झौताले कलेजलाई मात्र नभइ समग्र देशको लागि फाइदा हुने बताए । उनले भने, ‘चीन हामी भन्दा शक्तिशाली राष्ट्र हो । त्यहाँ शिक्षण पेशामा प्रयोग हुने प्रविधि धेरै छन्, त्यहाँबाट अलिकति पनि हामीलाई पाउन सक्यौँ भने, हाम्रा विद्यार्थीलाई धेरै फाइदा हुन्छ ।’ उनले थपे ‘हामीबीच क्वालीटि, एक्सचेन्ज, स्टुडेन्ट एक्सचेन्ज गर्ने विषमा पनि सम्झौता भएको छ ।’ सिभिल इन्जिनियरिङमा चीनमा बनेका सामानहरु नेपाल पठाउने पूर्वाञ्चल विश्वविद्यालयलाई पनि सहयोग गर्ने विषयमा पनि द्वीपक्षीय छलफल भएको छ । कोभीड पछि चीनबाट नेपाल आउने र नेपालबाट चीन जानेहरुको संख्या पातलिदा अब कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे टोलीले नेपालको पर्यटन मन्त्रालय र शिक्षा मन्त्रालयमा समेत छलफल गर्ने भएको छ । नेपालको सम्पदा शिक्षा र होटेल म्यानेजमेन्ट लगायतका क्षेत्रमा उनीहरूले भ्रमण गर्नेछन् ।

आधा दर्जन बैंकले घटाए ब्याजदर

काठमाडौं । पछिल्लो समयमा बैंकहरूले धमाधम ब्याजदर घटाईरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूसँग प्रयाप्त तरलता भएकाले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् । साथै, ब्याजदर उच्च हुँदा कर्जा प्रवाह सुस्ताएकाले सोको लागत घटाउन पनि बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरूलाई दबाब सिर्जना भएको थियो । सोही कारण निक्षेपको ब्याजदर घट्दा स्वतः कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिन्छ । हालसम्म आधा दर्जन बैंकले ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ब्याजदर घटाएका हुन् । एनआईसी एशिया बैंकले पुस १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । यसअघि मंसिरमा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६७ प्रतिशत र ब्यक्तिगततर्फ ८.६७ प्रतिशतमा ब्याजदर झारेको हो । यसअघि बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साथै, बैंकले कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको छ । कुमारी बैंकले मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ५.७१० प्रतिशतदेखि अधिकतम ६.७१० प्रतिशतसम्म प्रदान गर्नेछ । यसअघि न्यूनतम ५.५१० प्रतिशतदेखि अधिकतम ७.५१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले संस्थागततर्फ ८.०१० प्रतिशत र ब्यक्तिगततर्फ १०.०१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । एनएमबि बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतमा झारेको हो । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याज दिएको थियो । एनएमबि जन्मभूमि रेमिट्यान्स खातामा भने अन्य खाताको तुलनामा २ प्रतिशत बढी ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म ब्याज तोकेको छ । यसअघि सोही खातामा ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले जनाएको छ । मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशत, ब्यक्तिगततर्फ ९.६० प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १०.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि संस्थागततर्फ ८.६०३ प्रतिशत, ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र रेमिट्यान्स खातामा ११.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ गतेदेखि लागू हुनेगरी साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतम ६.८० प्रतिशतसम्म प्रदान गर्नेछ । सुनौलो रेमिट्यान्स खातामा भने ७.८० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म र सुनौलो रेमिट्यान्स खातामा ८.६० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५५ प्रतिशत निर्धारण गरेको छ । यसअघि मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६० प्रतिशत र ब्यक्तिगततर्फ १०.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा ११.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । गरिमा विकास बैंकले मंसिर २७ गतेदेखि लागू हुनेगरी साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । रेमिट्यान्स खातामा भने ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४।७५ प्रतिशतदेखि अधिकतम ६।७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स बचत खातामा ७।७५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशत, ब्यक्तिगततर्फ ९.४० प्रतिशत र रेमिट्यान्स मुद्दतीमा १०.४० प्रतिशत तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७५ प्रतिशत, ब्यक्तिगततर्फ ९.७५ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।