विकासन्युज

बैंकको ऋण तिर्नु हुन्न भन्ने ‘दुर्गाहरू’को प्रभाव ब्यालेन्ससिटमा, खराब कर्जा ४ गुणासम्म बढ्यो

काठमाडौं । विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध अराजक गतिविधि भइरहेका छन् । बैंकरमाथि दूर्व्यवहारदेखि कुटपिटसम्मका घटना बढाएर अराजक गतिविधि गरिरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र मनिराम ज्ञवालीले बैंकबाट लिएको ऋण मिनाह गर्नु पर्ने र सावाँ ब्याज नै नतिर्न सर्वसाधारणलाई उक्साए । बैंकबाट लिएको ऋण नै तिर्न नपर्ने उनीहरूकाे भ्रमपूर्ण अभिव्यक्ति पछि लाग्दै धेरैले सावाँ ब्याज नै तिरेनन् । त्यसको नकारात्मक प्रभाव अहिले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको छ । ऋणीहरूले समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा बैंकहरूमा ठूलो असर परेकाे छ । जसले गर्दा चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा औसत ४८ प्रतिशत बढेको छ । पुस मसान्तसम्म बैंकहरूको खराब कर्जा औसत १.०५ प्रतिशत बिन्दु बढेर औसत ३.२५ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको पुसमा बैंकहरूको खराब कर्जा औसत २.२ प्रतिशत मात्रै थियो । समीक्षा अवधिमा तीन वटा वाणिज्य बैंककाे खराब कर्जा घटेकाे छ भने अन्य सबै बैंकको बढेको छ । कृषि विकास बैंकले सबैभन्दा धेरै खराब कर्जा घटाएको छ । यस बैंकले गत वर्षको तुलनामा ३३.१८ प्रतिशत घटाएर ३.०२ प्रतिशत बिन्दुमा कायम गरेकाे छ । कृषि विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) यज्ञप्रकाश न्यौपाने बैंकले रिकभरीमा जोड दिएका कारण खराब कर्जा घटेको बताउँछन् । पहिलो त्रैमासमा बैंकको खराब कर्जा अत्यधिक बढेपछि रिकभरीमा जोड दिँदा नियन्त्रणमा ल्याएको उनको भनाइ छ । ‘पहिलो त्रैमासमा बैंकको एनपीएल ५.३३ प्रतिशत थियो, हामीले २/३ महिना रिकभरीमा जोड दियौं, अहिले ३ प्रतिशतमा झरेको छ, अझै घटाउने योजना छ,’ उनले भने । पुस मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा नेपाल एसबिआई बैंकको बढेको देखिन्छ । यस बैंकको ३८७.२३ प्रतिशत बढेर २.२९ प्रतिशत बिन्दु पुगेको हो । यस्तै, लक्ष्मी सनराइज बैंकको २ सय प्रतिशत बढेर ४.६७ प्रतिशत बिन्दु पुगेकाे छ । लक्ष्मी सनराइज बैंकका चिफ फाइनान्स अफिसर पियुशराज अर्याल मर्जरको प्रभावले खराब कर्जा बढेको बताउँछन् । मर्जरपछि कर्जाको व्यवस्थापन गर्न समय लागेका कारण एनपीएल वृद्धि भएको उनको भनाइ छ । ‘पहिलो त्रैमासदेखि नै बैंकको खराब कर्जा बढ्न थालेको हो, मर्जरपछि दुवै बैंकको कर्जा मिलाउन समय लाग्यो, मर्जरअघि १ प्रतिशतको हाराहारीमा खराब कर्जा हुन्थ्यो, त्यसैले मर्जरको प्रभाव परेको हो,’ उनले भने, ‘लक्ष्मी सनराइज बैंकमा मध्यम किसिमका कर्जाले असर गरेको छ, ५/१० करोडका कर्जाले धेरै असर गरेको हो ।’ उनका अनुसार घरजग्गा बिक्री गरेर कर्जा तिर्न चाहेको भएपनि बिक्री हुन नसकेको उनले बताए । साथै, व्यवसाय नबढेका कारण पनि कर्जा तिर्न ऋणीहरूलाई समस्या परेको बताउँदै उनले भने, ‘सेयरको मूल्य पनि कम छ, सेयर बिक्री गर्ने अवस्था पनि छैन, अहिले अर्थतन्त्रको अवस्था पनि कमजोर नै छ ।’ प्रभु बैंकको १४७.४७ प्रतिशत बढेर ४.९० प्रतिशत बिन्दु, सानिमा बैंकको १२३.३७ प्रतिशत बढेर १.७२ प्रतिशत बिन्दु पुगेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२२.२२ प्रतिशत बढेर १.६ प्रतिशत बिन्दु, एनआइसी एशिया बैंकको ९५ प्रतिशत बढेर १.१९ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ८५.८१ प्रतिशत बढेर २.६२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ६०.२७ प्रतिशत बढेर ४.६८ प्रतिशत बिन्दु पुगेको छ । यस्तै, सिद्धार्थ बैंकको ६० प्रतिशत बढेर ३.४४ प्रतिशत बिन्दु, कुमारी बैंकको ५७.७७ प्रतिशत बढेर ४.९७ प्रतिशत बिन्दु, प्राइम बैंकको ४४.८३ प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, नेपाल बैंकको ४४.६९ प्रतिशत बढेर ४.५० प्रतिशत बिन्दु पुगेको छ । यस्तै, एभरेष्ट बैंकको ४० प्रतिशत बढेर ०.७७ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३१.२९ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ३६.१२ प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको २८ प्रतिशत बढेर ४.७५ प्रतिशत बिन्दु र एनएमबि बैंकको २७.६७ प्रतिशत बढेर २.८६ प्रतिशत बिन्दु पुगेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, नबिल बैंकले १७.८० प्रतिशत घटाएर १.२ प्रतिशत विन्दु र राष्ट्रिय वाणिज्य बैंकले ८.८२ प्रतिशत घटाएर २.७९ प्रतिशत बिन्दुमा खराब कर्जा झारेको हो ।

अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले रूसी उड्डयन प्राधिकरणका अनुसार अफगानिस्थानमा दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा छ जना रहेका छन् । दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन । प्रान्तीय सूचना विभागका प्रमुख जबीहुल्लाह अमिरीले एएफपीसँग भने, ‘विमान दुर्घटनाबारे बिहान स्थानीय प्रत्यक्षदर्शीले हामीलाई खबर गरेका थिए ।’ ‘हिमाली क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ तर स्थान भने खुल्न सकेको छैन । हामीले खोजीका लागि टोली पठाएका छौँ । उनीहरूबाट थप जानकारी प्राप्त हुनसकेको छैन ।’ घटनास्थल दुर्गम पहाडी क्षेत्रमा रहेको भन्ने प्रत्यक्षदर्शीको प्रारम्भिक जानकारी आएकोले उद्धार टोली घटनास्थल पुगेर सूचना पठाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ । अफगानिस्तानको सबैभन्दा अग्लो ७,४९२ मिटर (२४,५८० फिट) को हिमाल नोशाक रहेको हिन्दूकुश पर्वत शृङ्खला वादख्शानमा रहेको छ । रासस

सेबोनका डा. अधिकारीले पाए निमित्त अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थमन्त्रालयले अधिकारीलाई बरिष्ठ कर्मचारीको हैसियतमा निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो । गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । त्यस्तै, सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि हमाललाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ । साथै, सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।

डिशहोमको एक्सन स्पोर्टस च्यानलले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्र्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो । ९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उदघाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमने सामने हुनेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ । साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा नगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ । राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङको विशेष सहयोग रहेको छ। प्रतियोगिताको अफिसियल बैंक लुम्बिनी विकास बैंक तथा अफिसियल एयरलाइन्स बुद्ध एयर छन् । प्रतियोगिताका उत्कृष्ट ५ विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा युकेद्वारा सौजन्य हुने आयोजकको भनाइ छ । प्रतियोगिता सञ्चालन गरेर बचत हुन आउने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिने बताइएको छ ।

६ महिनामा सात खर्ब व्यापार घाटा, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो । विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ । नेपालले सबैभन्दा धेरै भारतसँग चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ । छ महिना अवधिमा भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख रुपैयाँ बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाँचौ नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड रुपैयाँ, युक्रेनसँग नौ अर्ब ९६ करोड रुपैयाँ र मलेसियासँग आठ अर्ब ६० करोड रुपैयाँ बराबर व्यापार घाटा छ । नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । चालु आवको छ महिनामा नेपालले अमेरिकाबाट सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार रुपैयाँ बराबरको आयात गर्दा आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अर्थात् ७० करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ । पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । रासस

पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक, वार्षिक १३ लाख बचत

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहानबेलुका गाईभैँसीका बाच्छाबाच्छी/पाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने गरेको छ । बिहान मिर्मिर उज्यालोदेखि ८ बजेसम्म र बेलुका ५:३० देखि ८ बजेसम्म गाईभैँसीका बाच्छाबाच्छी र पाडापाडीको स्याहारसुसार गर्ने, दूध बिक्रीवितरणको व्यवस्था गर्नेलगायत काममा बित्ने गरेको छ । दिउँसोको समयमा भने शिक्षण पेसामा बित्ने गरेको उनले बताए । डाँगी छोटो समयमा व्यावसायिक रुपमा पशुपालन गरेर एक सफल उद्यमीको रुपमा आफूलाई चिनाउन सफल भएका छन् । उनी तुलसीपुर–१० मा रहेको एक निजी विद्यालयका शिक्षक हुन् । उनले १५ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराइरहेका छन् । साथै नौ वर्षदेखि पशुपालनमा लागेका डाँगी अहिले घरपरिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै छन् । उनले स्थानीय पाँचजनालाई रोजगारीसमेत दिएका छन् । डाँगीका अनुसार दुईजनाले पूर्ण र तीनले आंशिक रुपमा रोजगारी गरिरहेका छन् । उनले भने, ‘वार्षिक करिब १२ देखि १३ लाख बचत गर्न सफल भएको छु । विसं २०७१ मा लक्ष्मी सेवा पशुपालन फर्म दर्ता गरी व्यावसायिक रुपमा भैँसीपालनको सुरुवात गरेको थिएँ ।’ डाँगीले सुरुमा चार लाखको लागतमा पाँचवटा उन्नत जातका मुर्रा भैँसी र एउटा होलेस्टन उन्नत जातको गाई खरिद गरी पशुपालन थालेको जानकारी दिए । उनका अनुसार अहिले फर्ममा गाई तथा बाच्छाबाच्छी २१ र भैँसी तथा पाडापाडी १२ गरी ३३ वटा पशुचौपाया रहेका छन् । तीमध्ये १० गाई तथा सातवटा भैँसी दुहुना छन् । भैँसीले दैनिक ९० देखि ९५ लिटरसम्म दूध दिने गरेको भन्दै उक्त दूधलाई तुलसीपुर बजारका डेरी उद्योगमा बिक्रीका लागि लग्ने गरिएको डाँगीले बताए । केहीले दूध फर्मबाटै खरिद गरी लैजाने गरेका छन् । कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भन्दै अहिले भने बजारमा कुनै समस्या नरहेको डाँगीले बताए । दाङमा अहिले दूधप्रतिलिटर ९० र दही एक सय रहेको छ । शनिबार डाँगीको फर्ममा दूध खरिद गर्न आएकी तुलसीपुर–६ गोलौरीकी ४३ वर्षीया सरस्वती चौधरीले आफ्नै घर आगनमा शुद्ध दूध खान पाइएको बताइन् । उनले भनिन्, ‘पहिले–पहिले एक लिटर दूध किन्न तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो । तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।’ डाँगीले फर्ममा अहिलेसम्म ६० लाखसम्म लगानी भइसकेको जानकारी दिए । उनका अनुसार दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २५ देखि २८ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गतवर्ष झण्डै १२ लाख आम्दानी भएको उनले बताए । शिक्षण पेसामा संलग्न भएका तपाईँ पशुपालनमा कसरी लाग्नुभयो भन्ने प्रश्नको जवाफमा डाँगीले भने, ‘धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेका समाचार दिनहुँ आउन थालेपछि स्वदेशमै स्वरोजगार सृजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरु गरेको थिएँ । पशुपालन व्यवसायबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहित पाँच जना युवालाई रोजगारीसमेत दिन सक्षम भएको छु ।’ समयको व्यवस्थापना आफूले पढाउने विद्यालय घरदेखि नजिकै रहेकाले बिहान बेलुका र बिदाको समयमा पशुपालनमा रमाउने गरेको डाँगीले बताए । १० देखि ५ बजेसम्म विद्यालयमा हुने भन्दै बाँकी समय फर्मलाई दिने गरेको उनको भनाइ थियो । परिवारका सदस्यले समेत उनको यस कामलाई सघाइरहेका छन् । डाँगीले दुई बिघामा फर्म सञ्चालन गरेका छन् । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनले बताए । ‘अहिलेसम्म सरकारी कुनै निकायबाट केही सहयोग पाएको छैन’, उनले भने, ‘अरु समयभन्दा जाडोको समयमा उत्पादित दूधजन्य वस्तुलाई बिक्रीमा केही समस्या हुने गरेको छ ।’ कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै डाँगीले अहिले फर्ममा विभिन्न ठाउँबाट गाईभैँसी अवलोकन गर्न, दूधजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेका बताए । पढेलेखेका पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन भन्दै स्थानीयस्तरमा स्वरोजगार सृजना गर्न सकिने उनको सुझाव छ । युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने डाँगीको अनुभव छ । रासस

विद्युतीय गाडी १६६ र एच.आर.सिट आयात ३०४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिना अवधिमा नेपालको आयात तथा निर्यात दुवै खुम्चिदा केही वस्तुको आयातमा भने ठूलो मात्रामा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिना अवधिमा गत आवको तुलनामा विद्युतीय कार/जीप/भ्यान र एच.आर.सिट ठूलो मात्रामा आयात भएको हो । चालु आवको ६ महिनामा व्यवसायीहरुले १३ अर्ब १२ करोड बराबरको विद्युतीय कार/जीप/भ्यान आयात गरेको विभागको तथ्यांकले देखाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६६ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिमा व्यवसायीहरुले जम्मा ४ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्रै कार/जीप/भ्यानको आयात गरेका थिए । त्यस्तै, चालु आवमा उद्योगीहरुले विभिन्न तयारी वस्तु बनाउन प्रयोग हुने फलाम एच.आर.सिट २२ अर्ब ३६ करोड बराबरको आयात गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ३०४.३३ प्रतिशतले बढी हो । गत आवमा उद्योगीहरुले एच.आर. सिट ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै आयात गरेका थिए । विभागका अनुसार चालु आवको ६ महिनामा अघिल्लो आवको तुलनामा तयारी कपडा, मोबाइल, एलोपेथिक औषधि लगायतका वस्तुहरुको आयातमा वृद्धि भएको छ । डिजेल, एलपि ग्यास र सुनको आयत भने अघिल्लो आवको तुलनामा घटेको तथ्यांकले देखाएको छ । चालु आवको समीक्षा अवधिमा नेपालले ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको विभिन्न वस्तुको आयात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.०९ प्रतिशतले कमि हो । त्यस्तै, समीक्षा अवधिमा नेपालले ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो आवको तुलनामा ७.२३ प्रतिशतले कमि हो । समीक्षा अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा संकुचन आएर २.६२ प्रतिशतले कमि आएको विभागको तथ्यांकले देखाएको छ ।

अपर तामाकोशीका सीईओको सेयरधनीलाई सन्देश: ढुक्क हुनुस्, देशको नम्बर वान कम्पनी बन्छ

एक दशकको ठूलो प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सफलरूपमा बिजुली उत्पादन भइरहेको छ । ४५६ मेगावाट क्षमताको देशको गौरव गर्न लायक यो आयोजनाको नेतृत्व गर्ने जिम्मा अहिले मोहन प्रसाद गौतमको काँधमा छ । जलविद्युत् क्षेत्रमा साढे दुई दशकको अनुभव भएका गौतमले देशका महत्वपूर्ण आयोजनाको नेतृत्व गर्ने अवसर पनि पाएका छन् । बुटवल पावर कम्पनीबाट करिअर सुरु गरेका गौतमले खिम्ती-१ जलविद्युत् आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षणका साथै दुधकाेसी जलाशयुक्त आयाेजना प्रमुख र त्रिशुली जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालक भएर पनि काम गरिसकेका छन् । विद्युत प्राधिकरणका निर्देशक गौतमले २०७९ चैतमा मात्रै अपर तामाकोशीको नेतृत्व गर्ने अवसर पाएका हुन् । रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका गौतमसँग विकासन्युजका लागि सन्तोष रोकाया र राजिव न्यौपानेले कम्पनीको वर्तमान अवस्था, भावी योजना र सेयरधनीले पाउने प्रतिफल लगायतका विषयमा कुराकानी गरेका छन् । माथिल्लाे तामाकोशी जलविद्युत आयोजनाको विद्युत् उत्पादनको पछिल्लो अवस्था के छ ? बिजुली पूर्णरूपमा उत्पादन भइरहेको हो ? माथिल्लाे तामाकोशी जलविद्युत आयोजना ४५६ मेगावाटको आयोजना हो । यो आयोजनाबाट बर्खाको समयमा मात्रै पूर्ण क्षमतामा विद्युतको उत्पादन हुन्छ भने  हिउँदमा दैनिक चार घण्टा विद्युत उत्पादन हुन्छ ।  अहिले खोलामा पानीको बहाव घटेकोले तामाकोशीबाट दैनिक १०० मेगावाट विद्युतको उत्पादन भइरहेको छ । आयोजनाको टनेल र पावर हाउस लगायतका संरचनाहरू ४५६ मेगावाटकै विद्युत् उत्पादनको लागि हो । दैनिक पिकिङ खालकाे आयाेजना भएकाेले  ६६ हजार लिटर प्रति सेकेण्ड पानीको बहाव हुँदैन । असारदेखि कात्तिकसम्म ४५६ मेगावाट नै विद्युतको उत्पादन हुँदै आएको थियो । मंसिर लागेपछि खोलामा पानीको बहाव घट्दै गएको छ । त्यसले विद्युत उत्पादनमा पनि कमी आएको छ । यो आयोजनाको वार्षिक उत्पादन क्षमता २२ सय ८१ गिगावाट आवर हो । हामीलाई हाइड्रोलोजीले थोरै असर गरेको छ । हाइड्रोलोजीको २० औं वर्ष अध्ययन गरेर यो क्षमता निर्धारण भएको थियो । पानी यति उपलब्ध हुन्छ भनेर इनर्जी टेबुलेशन पनि भएको छ । विगतका वर्षहरूको तुलनामा गत वर्ष हाइड्रोलोजी नसोचेको तरिकाले घट्यो । हाइड्रोलोजी रिभ्यू ५ वर्षमा गर्न सकिने व्यवस्था छ । निजी क्षेत्रका उत्पादकहरूले पनि अहिले हाम्रो जस्तै समस्या भोग्नु परेको छ । प्राधिकरणले दुई वर्षभित्रमा हाइड्रोलोजी रिभ्यू गर्न मिल्छ भनेको छ । हाइड्रोलोजी रिभ्यू गर्दा कहिलेकाहीँ हामीले सोचको भन्दा फरक पनि आइदिन सक्छ । हामीले बर्खाको समयमा मासिक सवा अर्ब रुपैयाँसम्मको विद्युतको बिक्री गरेका छौं भने अहिले ५०/६० करोड रुपैयाँको विद्युत बिक्री भइरहेको छ । हाइड्रोलोजीको समस्या सिर्जना भयो भन्नुभयो, त्यसले त कम्पनीलाई आर्थिक रूपमा थप असर गर्ने देखियो नि ? अपर तामाकोशीको कमाइ पनि राम्रै छ । आम्दानीको ६५ प्रतिशत रकम ऋणको किस्ता तिर्दै जान्छ । अहिले अपर तामाकोशीसँग ७४ अर्ब रुपैयाँ ऋण छ । सो ऋण ६० वटा किस्तामा गरेर सावाँ ब्याज बुझाइरहेका छौं । त्यस्तो ठूलो असर नपर्ला । माथिल्लाे तामाकोशीले जारी गरेको हकप्रद सेयरमा लगानीकर्ताको आकर्षण कस्तो रह्यो ? यसमा आवेदन के कस्तो पर्‍यो ? संस्थापक सेयरधनीबाट ५१ प्रतिशतको ५ अर्ब ४० करोड रुपैयाँ रकम उठ्यो । त्यसबाट उठेको रकमले नबिल बैंक, नेपाल विद्युत् प्राधिकरण र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को ऋण तिर्यौं । सर्टट्रम लोन तिरिसक्यौं । अब लिलामी सेयर हेर्न बाँकी छ । प्रक्रिया अगाडि बढिरहेको छ । १ करोड ७० लाख कित्ताका लागि आवेदन माग गरेका थियौं । यकिन तथ्यांक आउन बाँकी छ । तर, आवेदन राम्रै परेको छ । कटअफ रेट १ ४६ रुपैयाँ हाराहारीमा आएर ९० करोड रुपैयाँ फाइदा कम्पनीलाई देखिन्छ । कम्पनीको सेयर लिलामीमा राख्नुपर्ने अवस्था किन आयो ? हाम्रो नियत लिलामीमा जाने थिएन । तर, अवस्था त्यस्तै आयो । धेरै जसो स्थानीयले डिम्याट खाता खोल्नु भएको रहेनछ । जसले डिम्याट खाता खोलको छ, उहाँहरूलाई हकप्रद सेयर भर्न सजिलो भयो । दोलखा जिल्लाका करिब २ लाख सेयरधनीमध्ये अधिकांश नागरिकको डिम्याट खाता रहेनछ । डिम्याट खाता खोल्नको लागि बैंकका शाखाहरूलाई त्यहाँ पुर्याई कम्पनीले नै खर्च गरेर भएपनि स्थानीय प्रशासनको सहयोगमा धेरैलाई डिम्याट खोल्न लगायौं । डिम्याट खोल्नु भएको सेयरधनीहरूले हकप्रद भर्नु भयो । कतिपयले अझैं डिम्याट खोल्दैनौं भनेर भनिराख्नु भएको छ । विदेशमा गएका वा थोरै कित्ता सेयर भएका लगानीकर्ताहरूले हकप्रद सेयर नभरेको पनि देखिन्छ । सञ्चय कोषको सञ्चयकर्ताहरूको पनि नआएको जस्तो मलाई लाग्छ । समग्रमा ८० प्रतिशतले हकप्रद सेयर भर्नु भयो । माथिल्लाे तामाकोशीको वर्तमान अवस्था र यसको वित्तीय विवरण देखेर असन्तुष्ट हुँदै लगानीकर्ताले सेयर नभरेको हुन सक्छ भनेर बुझ्दा कस्तो हुन्छ ? मान्छेको अपेक्षा धेरै हुन्छ । यो आयोजना समयमै सकिएको भए अहिले लाभांश वितरण गर्ने अवस्था हुन्थ्यो । किनभने हाम्रो आम्दानी वार्षिक ९/१० अर्ब रुपैयाँ छ । प्रशासकीय खर्च र प्लान्ट चलाउन त्यसको ५ प्रतिशत रकम पनि चाहिँदैन । तर, दुर्भाग्यको विषय यो परियोजना बनाउनको लागि धेरै समय लाग्यो । आयोजना निर्माणमा लिएको ऋण नै मिटर ब्याजजस्तै भयो । जुन बेला जोखिम थियो त्यो बेला सञ्चय कोष, बीमा संस्थान, नेपाल टेलिकम र लगानी कोषको लगानी भएको छ । त्यसमध्ये सञ्चय कोषबाट लिएको ऋणको ब्याजदर बढी छ । म यहाँ नियुक्त भएर आएपछि ब्याजदर घटाउनको लागि पहल गरिरहेको छु । उक्त ब्याजदर १ प्रतिशत मात्र घट्दा वार्षिक रूपमा ७०/८० करोड रुपैयाँको फरक पर्छ । कम्पनीलाई फाइदामा लैजानको लागि पहिलो विषय ब्याज नै कम गर्नुपर्छ । अहिले बैंकहरूले पनि ब्याजदर घटाइरहेको अवस्था छ । ब्याज घटेको बेलामा ब्याजदर एकल अंकमा मात्र कायम गरौं । अन्य निकायको ब्याज १० प्रतिशत पनि छ । त्यो १० लाई ९ प्रतिशतमा मात्र ल्याउँदा वार्षिक एक अर्ब रुपैयाँको फरक पर्न आउँछ । विद्युत् प्राधिकरणले ६ प्रतिशतमा दिइरहेको छ । त्यसले गर्दा पनि केही मात्रमा ब्याजदरको कमी भएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । त्यसैले पनि यो आयोजनाका लागि सबैले सहयोग गर्नुभयो भने ब्याज घट्छ र कम्पनी माथि उठ्न सहज हुन्छ । हाम्रो वार्षिक आम्दानी नै सावाँ ब्याज तिर्नमा खर्च हुन्छ । यो कम्पनीलाई सस्टेन गर्नका लागि ३/४ वर्ष राज्यले हेर्नुपर्छ जस्तो मलाई लाग्छ । अहिले रोल्वालिङ हाइड्रोपावर निर्माणको चरणमा छ । उक्त आयोजनाकाे टनेलबाट निस्कने पानीकाे प्रयाेग गरी २२ मेगावाटकाे विद्युथबाट माथिल्लाे तामाकाेशीकाे जलाशयमा खसालिन्छ । उपकरण जडान नगरी टनेल खन्न सकियाे भने पनि २१२ गिगावाट आवर विद्युत उत्पादन गर्रन सकिन्छ । २२ मेगावाटको यो हाइड्रोपावरको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने क्रममा छ । यो आयोजनाको काम सकेर व्यावसायिक उत्पादन गर्न सक्यो भने कम्पनीलाई आर्थिक रूपमा धेरै फाइदा हुन्छ । अबको तीन वर्षजति कम्पनीलाई अफ्ठयारो छ । हाम्रो लाइसेन्स अवधि ३५ वर्षको छ । अपर तामाकोशी निर्माण गर्दै १० वर्ष बितिसक्यो । लाइसेन्सको २३ वर्षभन्दा कम अवधिमा छ । दोलखामा भूकम्पले थिलथिलो नै बनाएको थियो । त्यो दुई वर्ष मात्र समय अवधि थपिदिए हुन्थ्यो भनेर विद्युत विकास विभाग र मन्त्रालयमा पनि पहल गरेका छौं । त्यसको पत्राचार पनि गर्ने तयारीमा छौं । पीपीएको पुनरावलोकन गर्ने, लाइसेन्स अवधि बढाउने र ब्याज घटाउने विषयमा सम्बन्धित निकायहरू सकारात्मक छन् ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पीपीएको विषयमा छलफल भएको छ । रोल्वालिङको पीपीए दर राम्रै दिने कुरा भएको छ । ब्याजदरको विषयमा पनि सम्बन्धित निकायहरूसँग छलफल भएको छ । कर्मचारी सञ्चय कोषको २७ अर्ब, नेपाल विद्युत प्राधिकरणको २२ अर्ब, नेपाल टेलिकमको १४ अर्ब, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको ५/५ अर्ब रुपैयाँ ऋण छ । यी संस्थाको ब्याज घटाउनका लागि सरकारले पनि पहल गर्न आवश्यक छ । हामीले पनि आग्रह गरिरहेका छौं । अहिले हामीले कर्मचारी सञ्चय कोषलाई १०.५ प्रतिशत, टेलिकमको ९.७५ प्रतिशत, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको १०/१० प्रतिशत ब्याजदर छ । ब्याजदरलाई औसत ८ प्रतिशतमा ल्याउन सकियो भने पनि हामीलाई धेरै सहज हुन्छ । ब्याजदर घट्यो भने कम्पनी नाफामा जान थाल्छ । दीर्घकालीन ऋणको अहिलेसम्म ब्याज मात्रै १३ अर्ब रुपैयाँ तिरिसकेका छौं । हकप्रद सेयरबाट संकलन भएको रकम केमा लगानी गर्नुहुन्छ ? हकप्रद सेयरबाट साढे ११ अर्ब जति रकम संकलन हुने अपेक्षा छ । त्यसबाट उठेको रकम रोल्वालिङ खाेला जलविद्युत आयोजना निर्माणमा परिचालन हुन्छ । त्यसैले त्यो आयोजनाका लागि कुनै पनि निकायसँग ऋण लिनु पर्दैन । त्यसको कम्पनी आफैंले लगानीको व्यवस्थापन गर्ने हो । रोल्वालिङ करिब ७ अर्ब रुपैयाँको परियाेजना हो । त्यो आयोजनाको काम समयमै सक्यौं भने थप ऊर्जा बिक्री गर्न सकिन्छ । र, कम्पनीको ऋण घटाउन पनि मद्दत पुग्छ । उक्त आयोजनाको सम्भवतः पीपीए पनि राम्रै रेटमा हुन्छ । रोल्वालिङको पीपीए पाइपलाइनमा छ । माथिल्लाे तामाकोशीको लाइसेन्सको अवधि कति वर्षका लागि थप्नुपर्छ भन्ने माग हो ? विद्युत ऐनमा ५० वर्षसम्म लाइसेन्स अवधि दिन सकिने व्यवस्था छ । तर, अपरकाे हकमा ३५ वर्षकाे उत्पादन लाइसेन्स छ । भूकम्पकाे अवरोधका कारण हाम्रो लाइसेन्स २ वर्ष थपिदिनु पर्ने माग हो । निर्माण भइसकेका आयोजनाको अवधि भने ५० वर्ष पुर्याउन सकिने व्यवस्था छैन । विशेष गरी अपर तामाकोशीको लाइसेन्स अवधि २ वर्ष थपिदिए राम्रो हुन्थ्यो भन्ने हाम्रो माग हो । त्यसको लागि लिखित रूपमा प्रयास भएको छैन मौखिक मात्र भएको छ । लिखित रूपमा नै समय अवधि थप्नु पर्याे भन्ने विचारमा छौं । अपर तामाकोशीका लगानीकर्ताले लाभांश पाउन अझै कति वर्ष कुर्नुपर्छ ? मैले भनेका विषयलाई नेपाल विद्युत प्राधिकरण, नेपाल सरकार र ऋणदाताहरूले सहजीकरण गर्यो भने ३ वर्षभित्रै कम्पनी नाफामा जान सुरु गर्छ । कम्पनीको वित्तीय अवस्था पनि राम्रो हुँदै जान्छ । लगानीकर्ताले त्यसपछि मात्रै लाभांश पाउने वातावरण बन्छ । तपाईंले देखाएका यी विभिन्न समस्याहरू सम्बन्धित निकायहरूले सम्बोधन नगर्ने हो भने त कम्पनी नै समस्या पर्ने अवस्था देखिन्छ नि ? ती समस्याहरूको सम्बोधन भयो भने कम्पनीको वित्तीय सुधार हुन्छ । तर, बर्वाद नै भने हुँदैन । किनभने हाम्रो कमाइ पनि राम्रै छ । विस्तारै ऋण तिर्दै जान्छौं । एउटा आशा हकप्रद सेयरले जगायो । त्यो बिना ब्याजको पैसा हो । लगानीकर्ताले पनि सेयर पाउँदा उहाँहरूको क्यापिटल बढ्यो । निर्माण भइरहेका जलविद्युत आयोजनाकै सेयर भ्यालू ५००/६०० रुपैयाँ छ । तर, अहिलेको अवस्थामा तामाकोशीको सेयर भ्यालू कम छ । अन्य जलविद्युत आयोजनाको तुलनामा यसको सेयर मूल्य कम नहुनु पर्ने हो । तपाईंले भनेका सबै समस्या समाधान भयो भने अबको तीन वर्षभित्र यो कम्पनी कस्तो देखिन्छ ? म यो कम्पनीमा आएपछि धेरै विषयमा परिवर्तन भइसकेको छ । त्यो बेलासम्म कम्पनीको आफ्नै कर्पोरेट भवन हुनेछ । कम्पनीका कार्यरत कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अगाडि बढ्छ । कर्मचारीलाई स्थायी गरेपछि उहाँहरूलाई कम्पनीप्रतिको अपनत्व बढ्छ । प्राधिकरण र विदेशी जनशक्तिहरूको भरमा नपरी  आफ्नै जनशक्तिबाट कम्पनी सञ्चालनमा हुनेछ । यो कम्पनीको सेयर मूल्य अहिलेको अवस्थामा ५०० रुपैयाँ हुनुपर्ने हो । हरेक हिसाबबाट यो कम्पनी भविष्यमा देशको नम्बर वान कम्पनी हुनेछ । अबको केही वर्षसम्म नेपालमा यो साइजको प्रोजेक्ट निर्माण भइसक्ने अवस्थामा छैन । योभन्दा ठूला आयोजनाहरूको पनि अध्ययन भइरहेको छ । तर, तत्काल अगाडि बढाउन सक्ने अवस्था छैन । किनभने दुधकोशी, अपर अरुण जस्ता आयोजना धेरै ठूला भए । यी आयोजनाको काम सक्न धेरै वर्ष लाग्छ । यदि डिजाइन परिवर्तन, कोभिड र भूकम्प नभएको भए कम्पनीको अवस्था यस्तो हुँदैन थियो । सेयर बजारमा अपर तामाकोशीको सेयर मूल्य जुन अवस्थामा छ, त्यो सन्तोषजनक छ ? सेयर मूल्यको निर्धारण मुलतः वित्तयि अवस्थाबाट हुने हो । तत्काल लाभांश दिन नसक्ने अवस्था र कम्पनीको ऋण लगायत विषयले पनि सेयरको मूल्यमा प्रभाव पारेको हुन सक्छ । चिलिमे जलविद्युत आयोजनाको रेटभन्दा अपर तामाकोशीको रेट कम हुनु पर्ने कारण चाहिँ म देख्दिनँ । कमाइ नै नभएका आयोजनाको पनि सेयर मूल्य धेरै भएको पाएको छु । अपर तामाकोशीको सेयर मूल्य अहिले जति छ त्योभन्दा बढी हुनुपर्ने हो जस्तो लाग्छ । लगानीकर्ताले माथिल्लाे तामाकोशीप्रति विश्वास गर्दै सेयर होल्ड गरेर बस्दा सही निर्णय नै हुन्छ ? यो कम्पनी राज्यको नै मेरुदण्ड भएको छ । भारतमा बिजुली निर्यात गर्न हाम्राे कम्पनीले ठूलाे टेवा पुर्याएकाे छ । एकदिन मात्र यहाँ प्लान्ट बन्द भयो भने त्यहाँ विद्युतको आपुर्ति प्रणालीमै समस्या आउँछ । कम्पनीको ऋण तिर्न बाँकी भए पनि यसले वार्षिक ९/१० अर्ब रुपैयाँ आम्दानी छ । त्यसैले कम्पनीप्रति लगानीकर्ताले ढुक्क हुँदा हुन्छ । सेयरधनीलाई तपाईंको सन्देश के हो ? यो कम्पनी राम्रो छ । हामीले अन्य आयोजना अगाडि बढाउने योजना पनि बनाइरहेका छौं । करिब १०० मेगावाटसम्मको नयाँ आयोजनामा काम गर्ने योजना बनाइरहेका छौं । त्यसको अध्ययन गर्ने र साधन स्रोत व्यवस्थापन गर्दै जान्छौं । हामीसँग सबै स्रोत साधन उपलब्ध छ । तामाकोशीको सेयर एकदिन अवश्य बढ्छ । पखाई भने आवश्यक छ । तपाईंको चार वर्षको कार्यकालमा यो संस्थामा के-के परिवर्तन हुन्छ ? ऋणका कारण वित्तीय अवस्था सन्तोषजनक नभएको देखिन्छ । घाटालाई विस्तारै कम गर्दै नाफातर्फ उन्मुख गर्ने मेरो योजना हो । त्यसपछि अन्य आयोजनाको विकास गर्ने वातावरणको सिर्जना गर्छु । पहिलो वर्ष नै १५/२० प्रतिशत लाभांश दिनसक्ने कर्मचारीलाई बोनस पनि दिनसक्ने अवस्थामा हुनेछौं । रोल्वालिङ जलविद्युत आयोजना अगाडि बढाउन केही समस्या भएको देखिन्छ, विवाद के हो ? रोल्वालिङ सानो प्रोजेक्ट हो । यसको काम अगाडि बढिसकेको अवस्था छ । यो आयोजना तामाकोशीको पारिपट्टी पर्छ । जहाँ सडकको पहुँच छैन । त्यहाँ बस्ती पनि एकदमै सानो छ । तर, स्थानीयको माग भने ठूल्ठूला छन् । जुन मागहरू यो आयोजनाले पुरा नै गर्न सक्दैन । सडक निर्माण गर्ने काम यो आयोजनाले सक्दैन । जहिले पनि आयोजनाको सामान ओसारपसारमा समस्या भइरहेको छ । काम गर्दा स्थानीय सरकार र प्रशासनको सहयोग लिनुपर्ने अवस्था छ । स्थानीयको सहयाेग भयाे भने समयमै यो परियोजना निर्माण हुन्छ । अर्काे महत्वपूर्ण विषय, बिस्फोटक पदार्थको उपलब्धतामा समस्या छ । भारतबाट आयता गर्न सकिएको छैन । यसका लागि सम्बन्धित निकायले सहजीकरण गरिदियो भने काम गर्न सहज हुन्छ ।