कान्तिपुरविरुद्ध अदालत पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कान्तिपुर पब्लिकेशनविरुद्ध अदालत पुगेका छन् । आफूलाई तथा नियोजित रुपमा बदनाम गर्न खोजेको भन्दै उनी सोमबार बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालत पुगेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू उक्त मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गर्दै अदालत पुगेको बताएका हुन् । कान्तिपुरले आफूलाई सहकारी घोटालामा जोडेर समाचार सम्प्रेशण गरी आफूलाई बदनाम गर्न खोजेको लामिछानेको आपत्ति छ । उनले लेखेका छन् : एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ । उक्त विवादको आगामी माघ १७ गते सुुनुवाइ ताकिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिए । अध्यक्ष लामिछानेले फिरादपत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्याउने मनसायले जानीबुझी चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गरेको उल्लेख गरेका छन् । उत्तः समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानिनोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार साङ्केतिकरुपमा एक सय ५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
विद्युत् प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त
काठमाडौं । वरिष्ठ इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रीस्तरीय निर्णयबाट उनलाई सोमबार नियुक्ति गरिएको हो । नेपाल विद्युत प्राधिकरणले सोमबारकै सञ्चालक समितिको बैठकमा उनलाई सहभागी गराएको छ । सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा लिएका उद्योगहरुलाई सो वापतको प्रिमियर शुल्कको बक्यौता भुक्तानी अधिकतम् ६० किस्तामा गर्न सकिने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले ऊर्जामन्त्री बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्योगीहरुलाई लाइन नकाटीकन सहज ढंगले बक्यौता रकम भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिएपछि त्यसलाई ध्यानमा राखेर प्राधिकरणले ६० किस्तामा बुझाउन सकिने सहुलियत दिएको हो । यो सहुलियत पाएपछि हिमाल आइरन एण्ड स्टील इन्ड्रष्ट्रिले पहिलो किस्ता बुझाएको छ । किस्ता भुक्तानीसंगै प्राधिकरणले हिमाल आइरनको काटिएको विद्युत लाईन जोडेर विद्युत आपूर्ति सुचारु गरेको छ । नेपाल विद्युत प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले १० हजार ८ सय मेगावाट क्षमता पहिचान भएको कर्णाली चिसापानी आयोजनालाई अगाडि बढाउन डिपीआर, इआईए लगायतका काम गर्न प्राधिकरणको इन्जिनियरिङ विभागलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । नेपाल विद्युत प्राधिकरणमा २९ वर्ष ८ महिना २५ दिन काम गरेर अवकाश लिएका वरिष्ठ इञ्जिनयर ऐरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालिसकेका छन् । झण्डै पौने ३० बर्षको आफ्नो व्यवसायिक जीवनमा इञ्जिनियर ऐरले विद्युत प्राधिकरणका जलविद्युत उत्पादन, प्रशारण र वितरण तिनै क्षेत्रमा काम गरेका थिए । उनले सुदूरपश्चिमको गौरवको रुपमा हेरिने चमेलिया जलविद्युत आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । सो आयोजनाको सर्वेक्षण, डिजाइन, टेण्डर कागजात तयारी, पहुँच सडकको निर्माण सुपरीवेक्षण, आरसीसी र स्टील पुलहरुको निर्माण र सुपरीवेक्षण तथा बाँध, पावर हाउस र प्रशारण लाइनको निर्माणमा उनी सम्पूर्ण रुपले सक्रिय रहेका थिए । उनले खिम्ती भक्तपुर बालाजु १३२ केभी प्रशारण लाइन निर्माणमा प्रशारण लाइन मार्गको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी, सरोकारवाला निकायसंग समन्वय गरेर आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए। वरिष्ठ इञ्जिनियर ऐरले अत्तरियादेखि डँडेल्धुरासम्मको १०६ किमि लामो ६६ केभी प्रशारण लाइनको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी र प्रशारण आयोजनामा टावरको स्थापना र जडानका साथै तार टाँग्ने काम सम्पन्न गराएका साथै डँडेल्धुरामा १.५ एमभीए ३३/११ केभी र दिपायलमा ३ केभीए ३३ र ११ केभी क्षमताका सबस्टेशनको सिभिल, इलेक्ट्रिकल र मेकानिकल कामहरु आफ्नै नेतृत्वमा सम्पन्न गराई आयोजना सुसम्पन्न गराएका थिए । उनकै नेतृत्वमा सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ग्रामीण विद्युतीकरण सम्पन्न भएको थियो । सो आयोजनामा पनि सर्वेक्षण , डिजाइन,टेण्डर कागजात तयारी,मूल्यांकन,नेगोसिएसन,निर्माणको व्यवस्थापन र सुपरीवेक्षण जस्ता इञ्जिनियरिड।का पक्षहरु उनले हेरेका थिए । उनले भवन,आवास र शहरी विकास डिभिजनको सदस्य सचिवको रुपमा महेन्द्रनगर नगर विकास समिति र बेलौरी नगर विकास समितिका सम्पूर्ण इञ्जिनियरिङ सम्बन्धी काम गरेका थिए । त्यस अगाडि भवन,आवास तथा शहरी विकास विभागको सहायक इञ्जिनियर तथा कामु डिभिजनल इञ्जिनियर रहेका ऐरले सदस्य सचिवको रुपमा टीकापुर, धनगढी र अत्तरिया नगर विकास समितिका सम्पूर्ण इञ्जिनियरिङ कामहरु हेरेका थिए । उनले त्यसपहिले जिल्ला विकास समिति कञ्चनपुर र महाकाली सिंचाई आयोजनामा पनि काम गरेका थिए । सन १९९५ डिसेम्बरदेखि सन १९९७ मार्च सम्म र सन् २००१ जनवरीदेखि सेप्टेम्बरसम्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका ई. ऐरले प्रधानमन्त्रीलाई देशको पूर्वाधार विकास, इञ्जिनियरिङ र प्राविधिक विषयमा सुझाव र सल्लाह दिने गरेका थिए । खार्खोभ नेशनल अटोमोवाइल एण्ड हाइवे युनिभर्सिटी खार्खोभ युक्रेनबाट हाइवे इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ई. ऐरले आफ्नो सेवा अवधिमा विभिन्न मुलुकहरुको भ्रमण पनि गरेका छन् र दर्जनौ तालिमहरु पनि लिएका छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर नीति निर्माण र कार्यान्वयनमा नै महत्वपूर्ण भूमिका खेलिसकेका अनुभवी व्यक्तित्व ई. ऐरको नियुक्तिले नेपाल विद्युत प्राधिकरणमा अब विवेकपूर्ण निर्णय हुने र प्राधिकरणले थालेका आयोजनाहरु समयमा नै पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् । बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौंदेखि पोखरा र काठमाडौँदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् । यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी काठमाडौँदेखि पोखरा र सुनौली आठवटा पर्यटक बसले सेवा प्रदान गरेको बताए । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भएपनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गरे । रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनाल पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताए । उनले आफ्नो कम्पनीले रु दुई करोड ५० लाखमा दुईवटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गरे । रेम्बो, ब्ल्यू र यतीले भित्र्याएका बसहरुले काठमाडौँ–पोखरा पर्यटकलाई सेवा प्रदान गर्नेछन् । यसअघि काठमाडौंदेखि पोखरा र काठमाडौंदेखि चितवन पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको बाबा एडभेन्चरले सुनौलीका यात्रुलाई लक्षित गरी काठमाडौं सुनौली बससेवा सञ्चालन गरेको छ । बाबा एडभेन्चरका सञ्चालक एवं टुरिष्ट बस एसासिएसनका पूर्वअध्यक्ष प्रल्हाद लोहनीले भारतीय पर्यटकलाई लक्षित गरी नयाँ वर्षदेखि बाबा एडभेन्चरले दुईवटा बस सञ्चालन गरेको जानकारी दिए । नेपालमा पर्यटक बसमा ठूलो लगानी भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा व्यवसायीलाई समस्या परेको छ । हाल काठमाडौँ महानगरपालिका–१६ स्थित सोह्रखुट्टे सडकबाट पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् । टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव मिलन नेपालले पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या परेको बताए । हाल काठमाडौं सोह्रखुट्टे सडक हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् । रासस
बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’
पोखरा । ‘खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’ पोखरा महानगरपालिका-२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । ‘एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल आए । अहिले खेती गर्दा कमिला मार्ने औषधि, पोटास के हो के हाल्नुपर्छ सबै विषाक्तको प्रयोगले माटो नै मरिसक्यो । अनि अर्ग्यानिक स्वाद कहाँ पाउनु ।’ कृषि सञ्जालका संयोजकसमेत रहेका गुरुङले जेठोबुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बीउ नै प्रमुख कारण भएको बताउँछन्, ‘तत्कालीन समयमा किसानलाई रैथाने स्वाद र बास्नाभन्दा धेरै फल्ने धानको बीउ अनुदानमा दिइयो । रासायनिक मल प्रयोग गर्न प्रेरित गरियो, किसान उत्पादन बढेकामा खुशी माने तर यता बास्नादार रैथाने जातका धानको बीउ मासिँदै गयो ।’ विषादीको प्रयोग बढे धानमात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि उस्तै असर परेको उनको भनाइ छ । ‘किसानलाई सबैकुरा जानकारी नहुने भएकाले कृषि विज्ञहरुले यसको महत्व बुझाएर रैथाने बाली प्रवद्र्धनका कार्यक्रम ल्याउनु पथ्र्यो तर त्यो भएन’, गुरुङले भने, ‘बुझाउनेहरुले राम्रोसँग बुझाएनन्, उत्पादन बढ्छ भन्ने बहानामा उन्नत जातको धानको बीउ प्रयोग गर्न लगाउँदा र अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथाने बालीहरु लोप हुँदै गए, योसँगै पहिले गुर्दी गुरुडा, ठिमाहालगायत धानहरु पनि विस्थापित हुँदै गए ।’ अहिले महानगर, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) जस्ता संस्थाले रैथाने बाली प्रवद्र्धनको कार्यक्रम ल्याएर केही प्रवद्र्धनको पहल गरेको उनको भनाइ छ । पोखरा-१३ का किसान टेकनाथ बराल पनि प्रतिकूल वातावरण, रासायनिक मलको प्रयोग साथै मूलको पानीको अभावले जेठोबुढो धानको बास्ना हराउँदै गएको बताउँछन्, ‘पहिला मूलको चिसो पानीबाट सिँचाइ हुन्थ्यो, गाईवस्तुको मलले नै खेती लगाउन पुग्थ्यो तर अहिले वातावरण बदलिएको छ, धानका बीउ पनि मासिन थाले, धेरै फल्ने धान लगाउन थाले”, बरालले भने । उनले आफूले जेठोबुढो प्रवद्र्धनका लागि लिबर्डको सहयोगमा सुधारिएको जेठोबुढो बीउ उत्पादन र बिक्री वितरण गरिरहेको बताए । जेठोबुढोको मागलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको लि-बर्डले यो धान संरक्षणमा अगुवाइ गरेको सो संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेल बताउँछन् । ‘पोखरा आउने पाहुनादेखि देश–विदेशमा समेत माग हुँदै आएको स्वादिलो जेठोबुढोको भातको बास्ना पहिलाजस्तो नभए पनि यो धानलाई लोप हुनबाट जोगाउन केही पहल भने भएका छन्,’ पौडेलले भने । उनका अनुसार पोखरा आसपासका विभिन्न फाँटमा किसानले लगाएको जेठोबुढो धानमा एकरुपता थिएन । के कारणले विविधता आयो भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् र लि-बर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालय मिलेर सातवटा फाँटबाट तीन सय ३८ वटा किसानबाट जेठोबुढो धानको नमूना सङ्कलन गरेर लगातार परीक्षण गरेको थियो । परीक्षणपछि सन् २००६ मा सुधारिएको पोखरेली जेठोबुढो नामाकरण गरियो। राष्ट्रिय स्तरबाट सूचीकृत नभए बिक्रीवितरण गर्न नपाइने भएकाले सूचीकृतपश्चात् यसको प्रवद्र्धनमा अझ बढी चासो दिइएको उनको भनाइ छ । किसानको अनुभवमा बगिरहने चिसो पानीमा यसको गुणस्तर उच्च हुने भएको र पोखरा फेवाफाँटको जस्तो उत्पादन अन्तको फाँटमा नहुने उनको बुझाइ छ ।पछिल्लो समय उन्नत जातले पेल्दै जाँदा र खेतीयोग्य जमिनमा चक्लाबन्दी हुन थालेपछि पनि यसको गुणस्तर ह्रास आएको उनी बताउँछन् । लि-वर्डले जेठोबुढो स्रोत बीउ जिम्मेवारी लिएको छ । कृषि ज्ञान केन्द्र र पोखरा महानगरपालिकाले सिफारिस गरेका किसानलाई बीउ उत्पादनका लागि दिँदै यसको संरक्षण र उत्पादनमा पहल गरिरहेको उनको भनाइ छ । उनका अनुसार गत वर्ष एक हजारदेखि १५ केजी बीउको बिक्रीवितरण हुने गरेको थियो । उत्पादनका हिसाबले कम फले पनि प्रतिक्विन्टल रु नौदेखि १० हजारमा बिक्रीवितरण हुने भएकाले किसानको चाहना अझै पनि जेठोबुढोमा रहेको छ । महानगरपालिकाले जेठोबुढो धानको प्रवद्र्धनका कार्यक्रम ल्याएकाले यसको बास्ना हराए पनि लोप हुनबाट जोगाउने पहल भइरहेको बताउँदै पौडेल भन्छन्, ‘यस धानका बारेमा अनुसन्धान गरेर अझै कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान जारी नै रहेको छ ।’ पोखरा महानगरपालिकाले सुधारिएको पोखरेली जेठोबुढो पुरानो रैथाने जातको धानको २०६३ सालमा नेपाल सरकारले सूचीकृत गर्यो । सुरुआततिर जेठोबुढो मात्रै भनेर भनिए पनि अहिले यो जातको धानलाई पोखरेली जेठोबुढोको भनेर चिनिन्छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया पनि मगमग बास्ना आउने, लामो सीता भएको र खाँदा नरम हुने जेठोबुढोको विभिन्न कारणले बास्ना हराउँदै गएको बताउँछन् । पौडेल भने, ‘यो धानको पहिला बास्ना धेरै आउने गथ्र्यो, कम फले पनि मीठो बास्नासहित स्वादिलो थियो तर अहिले खेती गर्ने तौरतरिकामा फेरबदल, आयातित मलको प्रयोग, सिँचाइको अभावले यसको रैथाने स्वादमा प्रभाव पा¥यो ।’ प्रमुख कडरियाका अनुसार जेठोबुढोमा एकरुपता नहुँदा तीन सबभन्दा बढी जातबाट छनौट गरेर छवटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो । यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन् । चिसो पानीमा कहीँकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको उनको भनाइ छ । उनले जेठोबुढोको महानगरपालिकाले ‘ब्रान्डिङ’ गरेर न्यूनतम समर्थन मूल्य तोकेपछि यसको महत्व झनै बढेको र अहिले पनि प्याकेजिङ र प्रशोधनमा सहयोग गर्न भनेर कार्यक्रम राखेको बताए । अहिले ११ हजार दुई सय हेक्टरमध्ये ४० प्रतिशत जमिनमा जेठोबुढो लगाउने गरिएको पाइन्छ । पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ । छ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्दछ । पोखरा र आसपासका किसानले परापूर्वदेखि लगाउँदै आएको यो धानमा व्यापक अनुसन्धानको खाँचो रहेको कडरिया बताउँछन् । तत्कालीन नगरप्रमुख मानबहादुर जिसीको कार्यकालमा पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत पोखरेली जेठोबुढो धानको ब्रान्डिङ गर्ने घोषणा गरेको थियो भने जेठोबुढो धान रोप्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने गरेको थियो । योसँगै जेठोबुढो धानको न्यूनतम मूल्य तोकेर महानगरले यो अभियानलाई व्यवहारमा उतारेको कडरियाले बताए । अहिले महानगरले एक क्विन्टल जेठोबुढो धानको मूल्य नौ हजार पाँच सय तोकेको छभने केजी रु ९५ तोकिएको छ । कडरियाका अनुसार पोखरेली ब्रान्ड जेठोबुढो उत्पादनमा किसानलाई आकर्षित गर्ने साथै यो जातको धानलाई जोगाइराख्ने हिसाबले धानको मूल्य निर्धारण गरिएको हो । साथै यो धान व्यावसायिक हिसाबमै जेठोबुढो उत्पादन गर्न किसानलाई प्रोत्साहितसमेत गर्दै आएको उनले बताए । पोखरा महमानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५० प्रतिशत अनुदानमा नौ टन जति जेठोबुढोको धानको बीउ वितरण गरेको छ । जेठोबुढोको निकै विविधता भएकाले यसलाई कृषि अनुसन्धान विधिबाटै बास्ना आउने धानको बीउमात्र छुटाएर लगाउन सके यसको बास्ना कायम गर्न सकिने बताइएको छ । कृषि ज्ञान केन्द्र गण्डकी प्रदेशका प्रमुख किरण सिग्देलले पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको भए पनि अहिले बास्ना हराएको गुनासो सर्वत्र आएको बताए । उनले भने, ‘बास्ना घटे पनि यसको उत्तिकै माग भएको र खाद्यान्न प्रवद्र्धन आयोजनाबाट आएका किसानलाई छनौट गरेर जेठोबुढो बीए उत्पादनका लागि पनि पहल गर्दै आएका छौँ ।’ उनले जेठोबुढोको बारेमा औपचारिक रुपमै कृषि प्रणालीमार्फत अनुसन्धान हुन जरुरी रहेको बताए । आयातित रासायनिक मलको प्रभावले जेठोबुढोको बास्न हराएको हुनसक्ने विज्ञहरुको भनाइ छ । ऋषि कृषि खोज पाठशालाका अध्यक्ष रामचन्द्र बराल पनि जेठोबुढो स्वाद निकै मीठो भएर काँचै खाँदा पनि स्वाद आउने गरेकामा अहिले त्यसको स्वाद हराउँदै गएको बताउँछन् । उनका अनुसार रासायनिक मलको प्रयोगले क्रमशः माटोमा अम्लियपन ल्याई बालीको गुण बिगार्नाका साथै विभिन्न नयाँ नयाँ रोगहरु देखिन थालेको हो । आयातित बीउलाई प्राथमिकता दिँदा रैथाने बीउ मासिँदै गएको र यसको असर जेठोबुढो धानमा पनि परेको उनको भनाइ छ । रासस
खेल खेल्न अरुलाई पनि प्रेरित गर्नुस् : मेयर साह
काठमाडौं । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा करिव ३२ सय जना विद्यार्थीहरुले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए । ‘आजबाट शुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरुले भाग लिनुभएको छ । मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । भोलिका दिनमा वल्र्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईहरुले आफूसँगै अरुलाई इन्स्पायर गर्नुस्’, उनले भने । मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
गण्डकी । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । ‘अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले भने, ‘पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ ।’ सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए । अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेको ‘एक्याप’को तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा ‘सार्क’ क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गत वर्ष जम्मा ९४ हजार चार जनाले सो क्षेत्र घुमेको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए । उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सो अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्क छ । कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्तयसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानैलय समातेको हो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । आयोजना प्रमुख डा कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको बताए । ‘सडक मार्ग विस्तारले अन्नपूर्ण क्षेत्रमा पदमार्गको अस्तित्व सङ्कटमा परेको छ, जसले गर्दा पदयात्रामा आकर्षण घट्दै गएको पाइएको छ, विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक छ, पर्यटन सम्बद्ध सबैको यसतर्फ ध्यान जानु जरुरी छ ।’ अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । ‘आन्तरिक पर्यटकको सङ्ख्या त एकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य रहेको हुन्छ’, प्रमुख डा कडरियाले भने, ‘असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा पर्यटकको चाप बढी हुन्छ ।’ सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दस गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्व थप चुलिएको थियो । त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताएका थिए । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । ‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ’, उनले भने, ‘आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।’ रासस
सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ जारी गर्ने, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले आगामी पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यस्तै, कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं.२, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त आइपीओ प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आवेदन खुला गर्दै छ । जसमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त दुबै समूहका लगानीकर्ताहरुले माघ १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ । सोअवधिसम्म पनि सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूले आगामी माघ २५ गतेसम्म आवेदन दिन पाउने छन् । त्यस्तै, कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।
ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ
काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ । पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ । रासस