विकासन्युज

कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतिले पारित भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टटेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको बताए । साथै, आर्थिक वर्षमा बैंकले सेयरधनीको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने उनको भनाई छ ।

कोरियाले नेपाली कामदारलाई रोक लगाउन सक्छ ?

काठमाडौं । इम्प्लोमेन्ट परमिट सिस्टम (ईपीएस) भाषा परीक्षाको विषयलाई लिएर नेपालमा भएको आन्दोलन, घट्नाक्रम र अदालतको आदेशको विषयलाई लिएर दक्षिण कोरियाली राजदूतले आश्चर्य प्रकट गरेका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँगको भेटमा नेपालको घट्नाक्रमबाट आश्चर्यचकित भएको प्रतिक्रिया दिएको मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए । सचिव भण्डारीका अनुसार मन्त्रालयको प्रतिनिधिमण्डलले नेपालमा भएका घट्नाक्रम र अदालतले जारी गरेको आदेशका विषयमा जानकारी गराएको थियो । तर, कोरियाली राजदूतले भने सो विषयमा कुनै ठोस प्रतिक्रिया दिएका छैनन् । कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्छ भनेर नेपालमा भएको आन्दोलनलाई कोरियाले संवेदनशील रुपमा लिनसक्ने सचिव भण्डारीको अनुमान छ । कोरियाले ईपीएस प्रणालीमार्फत १६ वटा देशबाट वर्षेनी कामदार लैजाने गरेको छ । सबै देशबाट कामदार लैजाने प्रकृया एउटै छ । नेपालमा एउटा भाषा परीक्षामा सहभागी भएकाहरूले पुनः अर्को भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने भन्दै युवाहरूले गरेको आन्दोलन कोरियाले अबलम्बन गरेको नीति अनुकुल देखिँदैन । ‘कोरियाले १६ वटा देशबाट कामदार लैजान्छ, अरु देशमा पनि एउटा परीक्षामा सहभागी भएका व्यक्तिहरु अर्को परीक्षामा सहभागी हुन पाउँदैनन्,’ सचिव भण्डारीले विकासन्युजसँग बताए । भाषा परीक्षाको विषयलाई लिएर नेपालमा मंसिरदेखि नै युवाहरूले आन्दोलन गर्दै आएका छन् । मन्त्रालयका सचिव भण्डारीका अनुसार डिसेम्बर २० देखि कार्यकाल सकिएर ईपीएस शाखाका प्रमुख फिर्ता गइसकेका छन् । त्यसपछि कोरियाले तत्कालै प्रमुख पठाउनुपर्नेमा पठाएको छैन । नेपाली मजदुरप्रति आकर्षित भएर कोटा बढाउँदै गएको कोरिया कतै पछिल्ला घट्नाक्रमबाट तर्सेको त छैन भन्ने प्रश्न उठेको छ । ‘हामीले यो विषयलाई संवेदनशील रूपमा लिएका छाैं, कोरिया पक्षसँग छलफललाई अगाडि बढाइसकेका छाैं,’ सचिव भण्डारीले भने । पाटन उच्च अदालतले एउटा भाषा परीक्षामा सहभागी भएकालाई अर्को परीक्षाको पनि फर्म भर्न दिन भनेर आदेश दिएको छ । नेपालको ईपीएस शाखाले अदालतको उक्त आदेशलाई कार्यान्वयनमा पनि ल्याइसकेको छ । तर, कोरियाले अदालतको उक्त आदेशलाई कसरी लिन्छ भन्ने विषयमा भने अझै कुनै औपचारिक जानकारी आइसकेको छैन । कोरियाको भाषा परीक्षामा सहभागिताको विषयलाई लिएर नेपालमा भएको आन्दोलन, मुद्दा र अदालतको आदेशलाई रोजगारदाता निकायले कामदार लैजानकै लागि आफ्नो प्रणालीमा हेरफेर गर्‍यो भने मात्रै सम्बोधन हुनसक्ने देखिन्छ । ‘काममा लैजाने मान्छे आन्दोलनमा भएको देख्दा उसले कसरी लिन्छ, यो निकै संवेदनशील देखिएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले विकासन्युजसँग भने । एउटै व्यक्ति दोहोरो भाषा परीक्षामा सहभागी हुने विषयलाई कोरियाले अस्विकार गर्‍यो भने आगामी दिनमा हुने म्यानुफ्याक्चरिङ तर्फको भाषा परीक्षा नै अनिश्चित हुन समेत सक्ने देखिन्छ । मन्त्रालयका सचिव भण्डारीले भने आफूहरुले छलफलको सुरुवात गरिसकेकाले निराश हुन नहुने बताए ।

बैंकबाट ऋण लिने र दिनेका कारण अर्थतन्त्रमा समस्या-अर्थमन्त्री

काठमाडौं । सरकारले पछिल्लो एक वर्षमा मुलुकको आर्थिक अवस्था सकारात्मक दिशातिर अग्रसर भइरहेको दाबी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र गठबन्धनका शिर्षस्थ नेताहरुले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढीरहेकाले आत्मविश्वास बढाएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै आएका छन् । तर उद्योगीहरु व्यवसायीहरु भने सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको बताउँदै आएका छन् । उनीहरुले सरकार गठन भएको वर्ष दिन पुग्दा पनि निजी क्षेत्रको आत्मविश्वास बढाउन नसकेको आरोप लगाउँदै आएका छन् । यता अर्थमन्त्री डा. महत भने अर्थतन्त्र सकारात्मक दिशामा अघि बढीरहेको र असहज स्थितिमा रहेको अर्थतन्त्रलाई लयमा ल्याएको दाबी गर्छन् । उनले युवाहरु विदेश जाने क्रम पनि बिस्तारै कम हुँदै गएको र मुलुकभित्रै सम्भवना छ भन्ने आवाज प्रवाह भइरहेको हुनाले अर्थतन्त्र वृद्धि सहितको सकारात्मक बाटोमा गएको दाबी गरे । उनले वित्त व्यवस्थापन र मौद्रिक नीति सहजताको माध्यमबाट अर्थतन्त्र चलायमान हुँदै गएको जिकिर गरे । उनले जिम्मेवार ठाउँमा बसेर कानून नमान्नेहरुप्रति आखाँ चिम्लन नसकिने बताए । लगानी सम्मेलनको आयोजना गरी नेपाली लगानी कर्तालाई अझै सहज बनाउने र विदेशी लगानीकर्तालाई कृषि, पर्यटन,,आइटी र जलविद्युतका क्षेत्र केन्द्रमा राखेर लगानी सम्मेलनको तयारीमा रहेको जानकारी दिए । अर्थमन्त्री महतले राजश्व परिचालनका विषयमा सरकारले उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरे । प्रस्तुत छः सरकारको एक वर्ष पुगेको अवसरमा अर्थतन्त्र चलायमान र सुदृढ बनाउन गरेको कामबारे अर्थमन्त्री डा. महतसँग गरेको कुराकानीको सम्पादित अंश नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको वर्ष दिन पूरा भएको छ, तपाईं अर्थमन्त्री भएको पनि १० महिना भइसक्यो, अर्थमन्त्री भएपछिको १० महिनामा गरेको काम र सरकारले एक वर्षमा गरेका कामलाई कसरी लिनुभएको छ ? म सरकारमा अर्थमन्त्री भएर आउँदा अर्थतन्त्रमा केही समस्याहरु विद्यमान थिए । अर्थतन्त्रका समस्याहरुमा लगानी, राजश्व संकलन, मूल्यवृद्धि, बैंकको ब्याजदर, पुँजी प्रवाहमा समस्या, ऋण लिनेले पनि तिर्न नसक्ने अवस्था थियो । त्यसको कारण कोभिडको समयमा राष्ट्र बैंकले मौद्रिक नीति सहज बनाउँदा धेरै बजारमा पुँजी प्रवाह भएको थियो । सरकारले गरेको लगानीको प्रतिफल आउने क्षेत्रमा नभएर अधिकांश लगानी सेयर मार्केट, जग्गामा भएको परिस्थिति थियो । पछिल्लो कोभिडका कारण वाह्य र आन्तरिक कारणले लगानीको प्रतिफल आउन नसकेको अवस्थाले पनि अर्थतन्त्रमा समस्याहरु चुलिँदै थियो । त्यस्तै वित्त व्यवस्थापन अर्थात बजेट विनियोजनतर्फ समस्याहरु थिए । भविष्यमा आउने आम्दानीको राम्रो आँकलन गरी स्रोत सुनिश्चिता गर्ने, बजेट विनियोजन नभएका ठाउँमा ठेक्का लगाउने कामले वित्त व्यवस्थापनमा पनि बेथितिहरु थिए । प्राथमिकताका क्षेत्रमा खर्च नगरेर अनुत्पादन क्षेत्रमा ठूला-ठूला बिल्डिङ ठेक्कामुखी लगानीका कारणले प्रतिफल नआउने परिवेश सरकारी लगानीमा पनि थियो । यसले गर्दा अर्थतन्त्रमा समस्याहरुको ठूलो चाङ जम्मा भएको अवस्था थियो । त्यस्ता समस्याहरु हल गर्न एक धक्काले सम्भव थिएन । धैर्यताका साथ बिस्तारै समस्याहरु हल गर्नुपर्ने अवस्थामा म अर्थमन्त्री भएर आएको थिएँ । म अर्थमन्त्री भएर सरकारमा गएपछि बजेट प्रश्तावमा नै अर्थतन्त्र सुधारका प्रश्तावहरु राख्यौं । अर्थतन्त्रलाई चलायमान बनाउने, मौद्रिक नीतिमा सहजता ल्याउनुपर्ने, वित्त नीतिमा हचुवाको भरमा बहुवर्षीय ठेक्का दिने र लगानीका प्राथमिकताहरु निर्धारण गर्दा प्राथमिकताका क्षेत्रलाई मध्यनजर नराख्ने विषयलाई कम गर्न चार गुणा भन्दा बढीका बहुवर्षीय ठेक्का गर्न नपाउने राखेका धेरै प्रश्तावहरु अहिले सरकारले कार्यान्वयन गरिरहेको छ । यि समग्र प्रयास र कोभिड सकिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा बिस्तारै सहजता भइरहेको अवस्थामा रेमिट्यान्स पनि अहिलेसम्मकै उच्च ३० प्रतिशतले बढेको छ । कोभिडपछि पर्यटन आगमन धेरै घटेको थियो । अहिले सबैभन्दा धेरै पर्यटकहरु मुलुकमा आगमन भएको अवस्था छ । आन्तरिक पर्यटक पनि देशभित्र घुम्ने प्रचलन बढेको छ । यसले पनि आर्थिक गतिविधि बढाएको छ । होटल, रेष्टुरेण्टसँग जोडिएका उद्योग व्यवसाय र कृषिमा पनि मद्दत पुर्याउँदै छ । त्यो सँगसँगै सरकारले मौद्रिक नीतितर्फ निरन्तर राष्ट्र बैंकसँग संवाद र छलफल गरेर पछिल्लो समय मौद्रिक नीतिमा पनि सहजता भएको हुनाले बैंकको ब्याजदर पनि घट्दै गएको छ । जसले ऋण लिएर प्रयास गर्दा पनि समस्यामा छन् । ती समस्याहरुबाट राहत दिलाउनको लागि ब्याजदर कम गर्न र चैतसम्म थप समय दिने व्यवस्थाले समस्यामा रहेका ऋणीहरुलाई पनि केही राहत दिनेछ । सेयरबजार पनि अहिले १८ सयको बिन्दुबाट २१ सयको बिन्दुमा जाँदैछ । सेयर बजार पनि सकारात्मक बाटोमा गइरहेको छ । घरजग्गा कारोबारमा पनि केही वृद्धि र बिस्तार हुँदै गएको छ । यसले मुलुकको आर्थिक गतिविधि बिस्तारै चलायमान हुँदै गएको छ । हाम्रो पुँजीको समस्या होइन । अहिले बैंकहरुमा पनि पुँजी छ । बैंकहरुसँग भएको पुँजीको कर्जा प्रवाह बढाउनुपर्ने र लगानीर्ताहरुले लगानी बढाउनुपर्ने र उपभोक्ताहरु खर्च गर्न थाल्यो भने मात्रै अर्थतन्त्र चलायमान हुन्छ । पुँजी एकै ठाउँमा बसिराख्यो भने पुँजीको फाइदा अर्थतन्त्रले पाउँदैन । पुँजी प्रवाह नहुनुको पछिल्लो कारण विगतका कमी कमजोरी थियो । तर एक थरीले जबरजस्ती ढङ्गले राजनीतिक मनशायलाई पृष्टपोषण गर्न अर्थतन्त्र खत्तम छ, नेपालमा कुनै भविष्य छैन, नेपालमा बस्नुको कुनै औचित्य छैन, मुलुकमा लोकतान्त्रिक पद्धती आएर पनि राम्रो भएन भन्ने जस्तो अनर्गल प्रचार भएको छ । सहकारी, लघुवित्त र बैंकहरुबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने किसिमको अराजक गतिविधिले ऋण तिर्नु नै पर्दैन कि भनेर त्यो वर्ग पछि लागेको अवस्था हो । तर आम जनताले पनि बिस्तारै बुझ्दैछन् । कुन आशय र मनशायले नकारात्मक प्रचार गरिएको छ भन्ने जनताले पनि बुझेका छन् । मुलुकको आर्थिक सूचकको संकेतहरुले पनि सकारात्मकतर्फ गइरहेको हुनाले लगानीकर्ताहरु पनि बिस्तारै उत्साहित हुँदैछन् । उपभोक्ताहरुले पनि खर्च बढाउन थालेका छन् । युवाहरु विदेश जाने क्रम पनि बिस्तारै कम हुँदै गएको छ । मुलुकभित्रै सम्भवना छ भन्ने बिस्तारै सन्देश प्रवाह भइरहेको हुनाले अर्थतन्त्र वृद्धि सहितको सकारात्मक बाटोमा जान्छ । अब अर्थतन्त्र उत्पादनशिलतातर्फ उन्मुख हुन्छ । सरकारले बजेट वित्त व्यवस्थापनलाई पनि प्रभावकारी बनाउँदै लगेका छौं । अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति पनि सकारात्मक बाटोतर्फ उन्मुख भएको छ । सरकारले वित्त व्यवस्थापन र मौद्रिक नीति सहजताको माध्यमबाट अर्थतन्त्र चलायमान हुँदैछ । नयाँ लगानीकर्ताहरु पुरानो लगानी देखेर पछि हट्ने क्रममा थिए । त्यो बेलामा ऋण लिने ऋणीले पनि विचार पुर्याएन । ऋण पाइहाल्यो लिइहाल्यौं भन्नेर ऋण लिए । त्यसरी लिएको ऋण अनुत्पादक क्षेत्रमा लगानी भयो । माग भन्दा पनि बढी सप्लाई भएकाले समस्या आएको हो । सरकारले पछिल्लो समय अर्थतन्त्र सुधारको लागि गरेका प्रयासले बिस्तारै सुधार हुँदै गएको छ । देशभित्रै अवसरहरु छन् । अर्थतन्त्रका सूचकहरुले अर्थतन्त्र सकारात्मकतर्फ रहेको देखाएको छ । नेपालमा पनि प्रशस्त अवसरहरु छन् । पर्यटनमा ठूलो अवसर छ । आइटीमा युवाहरुलाई ठूलो अवसर छ । युवाहरुको अनकुलको क्षेत्र पनि आइटी हो । मुलुकको अर्थतन्त्र संकटमा छ, अब मुलुकमा केही पनि हुँदैन, अवसरको लागि विदेश नै उत्तम विकल्प हो भन्ने मानस्थितिमा पुगेका आम जनताको मानसिकता परिवर्तन गर्नको लागि सरकारले कस्तो खालको योजना बनाएको छ ? सरकारले आम जनतामा परेको नकारात्मक मानसिकतालाई परिवर्तन गर्न सरकारले गरेका प्रयासहरु जनताले बुझ्ने गरेर राख्ने हो । सरकारले तथ्याङ्कले जे देखाइरहेको छ । तथ्याङ्कले देखाएको कुरा बुझाउने हो । मुलुकमा केही छैन भनेर जुन खालको कुप्रचार गरिरहेको छ त्यो गलत हो । जनताले कुप्रचारलाई बुझ्न जरुरी छ । सरकार वर्तमान अर्थतन्त्रको अवस्था र बाहिर भइरहेको कुप्रचारको विषयमा जानकार छ । त्यसको लागि समर्पणका साथ अर्थमन्त्रीको हैसितले समर्पित भएर लागेको छु । त्यहीअनुसार काम भएको छ । सरकार पनि जनतालाई सहजता प्रदान गरी अर्थतन्त्र सुधार गर्ने पक्षमा लागेको हुनाले आत्मविश्वास वृद्धि हुँदै गएको छ । आत्मविश्वासलाई जगाउने काम सरकारले भनेर मात्रै हुँदैन । सरकारका प्रतिनिधि तथा अर्थमन्त्रीले भन्दा बढाएर भन्यो भन्ने हुन्छ । सरकार वा अर्थमन्त्रीले भनेको कुरालाई मात्रै सुनेर हुँदैन । अर्थतन्त्रको तथ्याङ्क गर्नुपर्छ । तथ्याङ्कको आधारमा सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक पार्टीका नेताहरुले आफ्ना कुराहरु संप्रेषण गर्न थाले भने निराश हुनुपर्ने अवस्था छैन । अर्थतन्त्र थप सुधारको लागि सकारात्मक बहस गर्न आवश्यक छ । चालु आर्थिक वर्षको ६ महिना बित्न लागेको छ, सरकारले गर्ने बजेट खर्च निराशाजनक छ, बजार चलायमान भएर धनात्मक हुनुपर्नेमा ऋणात्मक छ, अर्थतन्त्रको चक्र अंकमा सम्हालिए पनि व्यवहारमा लयमा आउन नसकेको प्रधानमन्त्री स्वयंले पनि भन्दै आउनुभएको छ, यसमा कमजोरी कहाँ भयो ? अर्थतन्त्रमा धेरै समस्याहरु भएको अवस्थामा रातारात परिवर्तन देखिँदैन । समस्यामा रहेको अर्थतन्त्र बिस्तारै–बिस्तारै परिवर्तन हुने हो । जसरी एउटा घर बनाउँदा जगबाट थाल्नुपर्छ । एकै पटक खोइ घर कहाँ गयो ? भनेर घर एकै पटकमा देखिँदैन । त्यसको लागि सबैभन्दा पहिला जग लगाउनु पर्छ । त्यसपछि बिस्तारै थप्दै लगेर घर बन्छ । हामीले बुझ्नुपर्ने कुरा सरकारले घरको जग लगाउने काम गरेको छ वा छैन भनेर त्यसबाट निष्कर्ष निकाल्ने हो । यसरी हेर्दा अहिले सरकारले अर्थतन्त्र सुधारको लागि काम गरिरहेको भन्ने कुरा तथ्याङ्कहरुले पनि प्रमाणित गर्छ । हाम्रो काम पनि त्यतातर्फ नै उन्मुख भएकाले अविश्वास गर्नुपर्ने कारण छैन । अहिलेसम्म नकारात्मक महोल मात्रै प्रचार भएको छ । लगानी गर्नेले लगानी नबढाउ, उपभोग गर्नेलाई नगर भन्ने प्रचार भएको छ । लगानी गर्नेहरुको लागि पनि सबैले यस्तो समस्या छ भनिरहेका छन् । लगानी गर्ने समय होइन भन्ने सन्देश गयो । त्यसलाई उल्ट्याउने बित्तिकै अहिलेको तथ्याङ्कले सकारात्मक बनाउँछ । अहिले बिस्तारै बजारमा आर्थिक गतिविधिहरु बढिरहेका छन् । पछिल्लो समय पुँजीबजार उकालो लागेको छ । त्यो अर्थतन्त्रका सूचककै आधारमा बढेको हो । घर जग्गा कारोबार पनि त्यहीअनुसार बढेको हो । यो पनि अप्राकृतिक रुपमा धेरै बढ्यो भने पनि राम्रो हुँदैन । त्यसलाई स्वाभाविक रुपमा गयो भने जसले धेरै लगानी गरेर फसे उनीहरु उम्किने ठाउँ दिन्छ । त्यो किसिमको कुराकानी भइरहेको छ । पुँजी बाहिरबाट पनि आइरहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा भएको पुँजी बाहिर बजारमा प्रवाह गर्नुपर्छ । उद्योग व्यवासायीहरुले लगानी गर्न थाल्नुपर्यो । उपभोक्ताहरुले पनि अब हामीले कसिलो पटुका बाँध्न आवश्यक छैन भनेर खुकुलो बनाउन थाले मात्रै माग बढ्न थाल्छ । बजारमा माग बढेमात्रै उद्योगहरुले वस्तुहरु सप्लाई बढ्छ । यी कुराहरु बिस्तारै भइरहेको छ तर आज भन्यो भोलि नै जादु गरे जस्तै नतिजा निस्कँदैन । अर्थतन्त्र जादु गरेर सुधार ल्याउने विषय होइन । सरकारले बिस्तारै क्रमिक रुपमा सुधार गर्दै अगाडि बढेको छ । सरकारले तथ्याङ्कमार्फत नै अर्थतन्त्र सकारात्मक बाटोमा छ भन्दैगर्दा निजी क्षेत्रका लगानीकर्ताहरु लगानी गर्न सरकारप्रति किन विश्वास गरिरहेका छैनन् ? त्यस्तो होइन । पछिल्लो समय मुलुकमा निजी क्षेत्रको लगानी बढिरहेको छ । अहिले बैंकहरुको कर्जा बढिरहेको छ । अहिलेसम्म विश्वास नहुनुको कारण बैंकको ब्याजदर अलि बढी नै थियो । पहिला बैंकबाट ऋण लिएका ऋणीहरू समस्यामा थिए । त्यो बेला ऋण लिने र दिने दुवैले कमजोरी गरेका हुन् । कोभिडको कारण देश नै बन्द भएको अवस्थामा बैंकहरूबाट सबै भन्दा धेरै ऋण प्रवाह भयो । त्यो बेलामा पसलदेखि उद्योग व्यवसाय बन्द थियो । त्यो बेला ऋण लिएर ऋणीहरुले घरभित्र बसेर सेयर बजारमा कम्प्युटर प्रयोग गरेर लगानी गर्ने तथा मास्क लगाएर जग्गा खरिदमा लगाउने काम भयो । जुन आवश्यक भन्दा बढी लगानी हुँदा पनि समस्या भएको हो । वित्तीय व्यवस्थापनतर्फ पनि सरकारले विचार नपुर्याउँदा त्यहाँ पनि समस्या आएको हो । दुवैतर्फ करेक्शन भइरहेको अवस्थामा अब अविश्वास गरिरहनुपर्ने अवस्था छैन । पहिला फस्यो अब त्यसबाट पाठ सिक्नुपर्यो । अब लगानी गर्दा विचार पुर्याएर गर्नुपर्छ । एउटाले राम्रो गरेको देखेपछि सबैले त्यही हाम्फालेर लगानी गर्यो भने के हुन्छ ? माग भन्दा बढी सप्लाई हुन्छ । माग भन्दा बढी सप्लार्ई भएपछि घाटा पर्छ । त्यस कारण लगानीकर्ताहरुले पनि नयाँ क्षेत्र हेरेर लगानी गर्नुपर्यो । नयाँ-नयाँ क्षेत्रमा लगानी गर्ने सोच निजी क्षेत्रले पनि गर्नुपर्छ । नयाँ अवसरहरु कहाँ छन् त्यहाँ लगानी गर्नतर्फ निजी क्षेत्रले पनि ध्यान दिनुपर्यो । सरकारले बजेटमार्फत राजश्व लक्ष्य बढी लियो, चालु आर्थिक वर्षमा पूरा हुन सक्दैन भनिएको छ । तर, पछिल्लो समय राजश्व संकलन पनि वृद्धि भइरहेको छ, बजेटले लिएको लक्ष्य पूरा हुन्छ ? सरकारले सोचेको जस्तो राजश्व अझै बढेको छैन । राजश्व संकलन सकारात्मक छ । आगामी दिनमा अझ बढ्छ । नेपालको खुला बोर्डर र आयात प्रतिवन्ध भएको अवस्थामा अनेकौं राजश्व बिन्दुभन्दा बाहिरबाट सामानहरु प्रवेश गर्ने प्रवृत्तिहरु बढेको छ । त्यसलाई कसरी कम गर्ने भनेर सुरक्षा निकायहरु सम्बन्धित मन्त्रालयहरुसँग निरन्तर कडाई गर्न अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । भन्सार बिन्दुबाट नै आयात हुने परिस्थिति र भ्यालुएसनमा पनि वस्तुको जुन खरिद मूल्यको आधारमा भन्सार लगाउने वैज्ञानिक आधार खोज्नुपर्छ । जसले गर्दा भन्सार बिन्दुबाट नै सामान ल्याउन प्रोत्साहित बनाउने गरी सरकारले काम गरिरहेको छ । राजश्वको सम्बन्धमा एउटा उच्चस्तरिय कार्यदलले राजश्व संकलनमा कहाँ सुधारको काम गरिरहेको छ । हामीले भारतको मूल्य के छ । त्यो नै भन्सार बिन्दुमा जोडेर त्यसको आधारमा तय गरौं भने यथार्थ मूल्यको आधारमा भन्सार कर लगाउने स्थिति बन्छ । त्यसले सरकारको राजश्वमा सकारात्मक प्रभाव पार्छ । राजश्व संकलनको पद्धति यस्तै हो भन्ने मानसिकता छ । यसलाई चिरेर होइन, सरकारले जे भन्छौं, त्यो गर्नको लागि हो भनेर सरकार आफैँ गम्भिर हुनुपर्छ, भन्ने समग्र सोच कर्मचारी प्रशासनतन्त्रमा आउनुपर्छ । कतिपय नियामक निकायहरुले आफ्नो क्षेत्र भन्दा पनि अगाडि बढेर निर्देशन दिँदा पनि प्रशासनतन्त्रमा रहेकाहरु सामान्य किसिमको निर्णय गर्न हिच्किचाई रहेको अवस्था छ । त्यसले निर्णय प्रक्रियालाई झन् प्रतिकुल असर परेको छ । नियामक निकायहरुले दिने निर्देशनहरु कानूनी रुपमा मिल्यो की मिलेन,दुरुपयोग भयो की भएन भनेर हेर्नुपर्छ । कर्मचारीहरुले सरकारले गर्ने घोषणा हुँदै गर्छन् भन्ने मानसिकता छाडेर देश र जनताले दिएको जिम्मेवारी पूरा गर्नु आवश्यक छ । सरकारले दिएको राजश्वको लक्ष्य शतप्रतिशत नभए पनि त्यो भन्दा तलमाथि हुन्छ । चालु आर्थिक वर्षमा बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ, अहिलेको अर्थतन्त्रको अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धि हुनसक्छ ? सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखेका थियौं । समग्र अर्थतन्त्रको सिस्टम उत्साहका साथ अगाडि बढ्नुपर्छ । सरकारको एकल प्रयासले मात्रै आर्थिक वृद्धि हासिल हुने होइन । निजी क्षेत्रको ठूलो भुमिका हुन्छ । निजी क्षेत्रको आत्मविश्वास कति बढ्छ । सरकारले कति सहज अवस्था बनाउन सक्छौं । यी सबै कुराले आर्थिक वृद्धि कति हुने भन्ने निर्धारण गर्छ । तर सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नसक्ने भन्ने होइन । ४ प्रतिशतसम्म आर्थिक वृद्धि हुने विश्व बैंक तथा एडिबीले पनि प्रक्षेपण गरेको छ । ८ प्रतिशत लक्ष्य राखेर २.१६ प्रतिशत वृद्धि भएको अवस्थामा थियौं । तर अहिले त्यस्तो अवस्था हुँदैन । हामी करिव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा पुग्छौं भन्ने लागेको छ । बजारको मूल्यवृद्धि पनि ८.५ प्रतिशत भनेका थियौं त्यो भन्दा तल झरेको अवस्था छ । यो पनि एउटा सुखद् संकेत हो । यसले कस्ट अफ विजनेस लगानी लागतलाई कम गर्न मद्दत पुग्छ । त्यसैले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न गम्भिरताका साथ हामी निजी क्षेत्र सरकार मिलेर काम गरियो भने लक्ष्यको नजिक पुग्छौं । सरकारले खर्च कटौति गर्ने निर्णय कार्यान्वयन गरेको छैन, विदेश भ्रमण रोक्ने पनि भनेको थियो तर मन्त्रीहरुको विदेश भ्रमणको सूचि लामो छ, खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा असफल भएको भन्न मिल्छ ? सरकारले खर्च कटौति गर्न विदेश भ्रमण रोक्ने निर्णय भन्दा बाहिर गएको छैन । साँच्चिकै जानै पर्ने ठाउँमा मात्रै पठाएका छौँ । सरकारको खर्च गरेर जानै पर्नेलाई मात्रै जान अनुमति दिइका छौं । होइन भने अनावश्यक रुपमा विदेश भ्रमणमा खर्च गरेका छैनौं । खर्च कटौतीमा धेरै कडाई गरेकाले अन्य मन्त्रालयहरुले अर्थ मन्त्रालयले धेरै फाइलहरु रोकिदियो भन्ने आरोप लाग्न थालेको छ । विगतका सहज रुपमा खर्च गर्दा त्यसबाट फाइदा उठाउनेहरु पनि मसँग रिसाएका छन् । हामीले बैंकिङ प्रणाली करको दायरा भित्र आउनुपर्ने महालेखा परीक्षकले पटक–पटक भन्यो । त्यसलाई अघिल्ला अर्थमन्त्रीहरुले वास्था गरेका थिएनन् । सरकारले महालेखापरीक्षकको कार्यालयले भनिसकेपछि बैंकिङ प्रणाली करको दायरामा ल्याउने विषय निर्णयमा लैजानुपर्छ भनेर ब्याजदर अतिरिक्त शुल्कमा छुट दिन्छौं, मंसिरसम्म बुझाउनुस् भन्यौं । उहाँहरुले चित्त नबुझाएर अदालतमा जानुभयो । अदालतको निर्णयले बैंकरुले सरकारलाई कर तिर्नैपर्ने भनेपछि उहाँहरुले कर तिर्नुभयो । बैंकरहरु पनि पहिला आँखा चिम्लेका थिए । अहिले कर लगाएर उठायो भनेर रिसाउनुभएको होला । अरु कतिपय ठाउँमा कानून भएर पनि सरकारले कार्यान्वयन गरेको ठाउँमा अहिले कार्यान्वयन गर्दा उनीहरु पनि रिसाएका होलान् । मसँग रिसाउनेको कमी छैन । अर्थमन्त्रीले ठिक काम गरेन भन्नेहरु पनि प्रशस्त छ । तर मैले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने हो । देशमा कानून हुँदाहुँदै कार्यान्वयन गर्ने विषयमा जिम्मेवार ठाउँमा बसेर आखाँ चिम्लन सकिँदैन । कही सुधारको आवश्यकता छ भने सुधार गरेर जान्छौं । सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ, लगानी सम्मेलनमा सरकारको अपेक्षा के छ ? एनसेल खरिद प्रक्रिया जस्ता काण्डले केही असर पर्छ की ? सरकारले बैशाखमा गर्ने लगानी सम्मेलन खाली लगानीको लागि सम्मेलन जस्तो नभएर नेपालको लगानी गर्ने प्रणालीमा कति कमजोरीहरु छन् । लगानीकर्ताको अपेक्षा के छ । त्यसमा सुधारको कार्ययोजनासहित अगाडि बढ्ने गरी काम गरिरहेको छौं । लगानी सम्मेलन भनेर विदेशीलाई बोलाएर मात्रै हुँदैन उनीहरुलाई विश्वास नेपाल सरकारले जगाउनुपर्ने हुन्छ । त्यो किसिमको तयारी यो तीन महिनामा सक्नेगरी कन्ट्रिरेटिङ गर्ने काम शुरु गरेका छौं । लगानीका स्टुमेण्टहरुलाई नेपालमा प्रयोग गर्ने तयारी गरिरहेका छौं । लगानीकर्ताको संख्या बढाएर मात्रै होइन । गुणस्तरीय खालको लगानी गर्न इच्छुक हुन र कस्ता खालका सम्भावित आयोजनाहरु छन्, त्यसको तयारी पनि सरकारले गर्नुपर्ने हुन्छ । त्यस हिसावले सरकार लगानी सम्मेलनको तयारीमा लागेको छ । नेपाली लगानीकर्ताहरुलाई लगानीको लागि अझ सहज बनाउँदै छौं । गैरआवासीय नागरिकहरु जसले लगानी गर्न इच्छुक छन् । उनीहरुलाई पनि लगानीको लागि नेपाल ल्याउने तयारी गरिरहेका छौं । विदेशी लगानीकर्तालाई कृषि व्यवसाय, पर्यटन, आइटी र जलविद्युत चारवटा महत्वपूर्ण क्षेत्रहरुलाई केन्द्र राखेर लगानी सम्मेलनको तयारीमा छौं । एनसेल खरिद प्रक्रियाको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण त्यसको नियमनकारी निकाय हो । उसको पनि शतर्कता र क्रियाशिलता हुनुपर्छ । यो भन्दा अगाडि पनि बिना अनुमति किनबेच भयो । नियमनकारी निकायले निगरानी नगर्दा उनीहरुले हल्का रुपमा लिए । कानूनी व्यवस्थाअनुसार उपयोग गर्न जसले पनि कोशिस गर्छ । तर अनुमति नै नलिई शेयर खरिद बिक्री गरिएको छ त्यो विषय गम्भिर हो । त्यसमा नियमक निकाय पनि गम्भिर हुनुप¥यो । सरकारले जुन छानविन समिति बनाएको छ । उनीहरुले पनि चाँडै प्रतिवेदन दिन्छ । नियमक निकायले पनि नियमनको परिधिभित्र ल्याउनुपर्छ । यो प्रकरणबाट अन्य विदेशी लगानीकर्ताहरु भड्किनुपर्ने कुनै कारण छैन । सरकारले कानूनी आधारमा नै लगानी ल्याउन दिने हो । लगानीकर्ता र सरकार दुवैैले कानूनको परिधि मान्नुपर्छ । सरकारले उनीहरुलाई कर लाग्नुपर्छ भनेर कर लगायौं । त्यसमा कर तिर्नुपर्दैन भनेर अन्तर्राष्ट्रिय अदालतमा पनि गए । अन्तर्राष्ट्रिय अदालतले पनि नेपालले लगाउनुपर्ने कर हो भनेर निर्णय गर्यो । विदेशी लगानीकर्ता पनि नेपालको कानूनलाई मानेर आउने हो । न्युज एजेन्सी नेपाल

३७९ यात्रु बोकेको जापान एयरलाइन्सको जेट जहाजमा आगलागी

काठमाडौं । जापान एयरलाइन्सको जेट जहाजमा आगलागी भएको छ । जापानको हनेदा विमानस्थलको धावन मार्गमा गुडिरहेको अवस्थामा उक्त जहाजमा आगो लागेको हो । समाचार एजेन्सीहरुका अनुसार उक्त जहाज होक्काइदो सहरबाट ३७९ भन्दा बढी यात्री लिएर जापान फर्किएको थियो । र, जहाज अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो । उक्त जहाजमा सवार यात्रीको अवस्थाबारे खुलाइएको छैन । र, आगलागीपछि उद्धारकर्मीको टोलीले आगो निभाउन प्रयास भइरहेको बताइएको छ । उक्त जहाज त्यहाँ रहेको अर्को जहाजमा ठोक्किएपछि आगो लागेको अनुमान गरिएको छ । यद्पि औपचारिक विवरण भने सार्वजनिक भएको छैन ।

सिमेन्टको मूल्य घटाउन सहयोग गर्ने सबैलाई निर्माण व्यवसायी महासंघको धन्यवाद

काठमाडौं । केही समय अगाडि सिमेन्टको मूल्य प्रति बोरा एक सय रुपैयाँ वृद्धि भएकोमा हाल पुरानै मूल्य कायम गरिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले मंगलबार विज्ञप्ति मार्फत् सिमेन्टको पुरानै मूल्य कायम गरिएको जानकारी दिएका छन् । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको विषम परिस्थितिलाई मध्यनजर गरी महासंघको आग्रहमा नेपाल सिमेन्ट उत्पादक संघ लगायत सिमेन्ट उद्योगीहरूले मुल्यवृद्धि घटाई पुरानै अवस्थामा कायम गरिएको महासंघको भनाइ छ । महासंघको आग्रह बमोजिम मूल्य घटाइदिएकोमा विज्ञप्तिमा नेपाल सिमेन्ट उत्पादक संघ लगायत सिमेन्ट उद्योगीहरूलाई हार्दिक धन्यवाद दिइएको छ । त्यस्तै महासंघले मुल्यवृद्धि घटाउन आवश्यक पहल तथा समन्वय गरिदिने नेपाल सरकारका सबै सम्बन्धित् निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै महासंघको समस्या समाधानका लागि सदा झै महत्वपूर्ण भूमिका निर्वाह गरिदिने समस्त सञ्चार माध्यमहरूप्रति महासंघले विज्ञप्ति मार्फत् विशेष आभार व्यक्त गरेको छ ।

१० वर्षमा पाँच प्रतिशतले बढ्यो सहरी जनसङ्ख्या

काठमाडौं । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ । त्यसैगरी, सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ । मुख्यसचिव डा बैकुण्ठ अर्यालबाट सार्वजनिक सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ दशमलबमा  प्रतिशतमा झरेको देखिन्छ । सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ जवकी प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको कार्यालयका प्रवक्ता डा हेमराज रेग्मीले जानकारी दिए । जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३ दशमलव ८३ प्रतिशत रहेको छ । नेपालमा ६६ दशमलव १७ प्रतिशत सहरी क्षेत्र छ भन्ने आधार अर्धसहरी वा सहरोन्मुख नगरपालिकाले नदिने हुँदा यस्तो अवस्थामा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी त्यसलाई स्थानीयकरण तथा पुर्नपरिभाषित गर्नुपर्ने अवस्थामा प्रतिवेदन तयार गरिएको कार्यालयले जनाएको छ । भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरणविधि अनुसारको विश्लेषणले ग्रामीण जनसङ्ख्या पाउमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित भएको देखाएको छ । सहरोन्मुख जनसङ्ख्या तराई क्षेत्रमा ८४ प्रतिशत र पोखरा महानगरपालिका र काठमाडौंका उपत्यका कारण असन्तुलित हुँदै सहरी जनसङ्ख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत केन्द्रित भएको देखिएको छ । हाल मुलुकमा दुई सय ९३ नगरपालिका (नौ महानगरपालिका र उपमहानगरपालिकासहित) र चार सय ६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन् । कार्यक्रममा मुख्यसचिव डा अर्यालले मनोगत कुराले नभइ तथ्याङ्क र प्रमाणमा आधारित नीति र कार्यक्रम बनाउन तीनै तहका सरकारका सम्बन्धित कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिए । उनले तथ्याङ्क कार्यालयको पुनःसंरचनासहित नियमावली ल्याउन सरकारले गृहकार्य गरिरहेको बताए । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायले कार्यालयको जनशक्ति नघट्ने अपेक्षा गर्दै सङ्घीयताको मर्म अनुसार तथ्याङ्कका काम तीन तहको समन्वयमा हुनुपर्ने र आफ्नो कार्यालयले केन्द्रस्तरको भूमिका निर्वाह गर्ने बताए । पूर्व महानिर्देशक सम्मानित कार्यक्रममा साविक केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक डा. निजामुद्धिन सुभानीलाई सम्मान एवं कार्यालयका निर्देशक बद्रीबहादुर कार्कीलाई यस वर्षको उत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरियो । रासस

युवाविहीन बन्दै हुम्लाका गाउँ, रोजगारीको खोजीमा युवा पलायन

सिमकोट । सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन् । सहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै यता दुर्गम गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत सहरमा कामका लागि गाउँ छोड्ने गरेका छन् । हुम्लाको अदानचुली गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन हुन थालेको नेकपा (एमाले) गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले बताए । गाउँमा चरम आर्थिक मन्दी छाएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौँको सङ्ख्यामा अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिकाका युवा कालापहाड (भारत) जान थालेका भण्डारीले बताए । यही पुस १० गते मङ्गलबार परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको सङ्ख्या निकै बढी देखिएको छ । कावाडी प्रहरीचौकीका एक सुरक्षाकर्मीले चेकजाँच गर्दा र सोधीखोजी गर्दा गाडी र पैदलमा गएका सबैले भारत जान लागेको बताएका जानकारी दिए । अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा विरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि नयाँ अत्यावश्यक कामबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल भएको स्थानीय बुढाले बताए । गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानुपरेको बुढाको भनाइ छ । अहिले गाउँमा कोही बिते पनि लास उठाउने युवा पाउन मुस्किल भएको उनको गुनासो छ । आफ्नो गाउँ घरबाट मात्रै यही पुस १३ गते २३ जना तथा विभिन्न टोल भएको अदानचुली– २ बाट झन्डै सयको सङ्ख्यामा भारत गएका उनको भनाई छ । हिउँदमा घरको काम पनि हुँदैन । विकास निर्माणको काम गरेर केही रकमको जोहो गर्ने गरेको यहाँका युवाका लागि एक वर्षयता कुनै विकास निर्माणका कामहरु ठप्प भए पनि झन्डै दुई दशकपछि पहिलोपटक यति ठूलो सङ्ख्यामा युवा विदेशिएका हुन् । लामो समयदेखि छिमेकी मुलुक नगएको यहाँका युवा दिनहुँ सयौँको सङ्ख्यामा छिमेकी मुलुक भारत गएको अदानचुली–५ का रामबहादुर छत्यालले बताए । गाउँमा रोजगारीका काम नहुनु, गाउँपालिकाले भएका योजनाहरुको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा फ्रिज हुनुलगायत कारणले अदानुचलीका युवाले हिउँदको आफ्नो कामको गन्तव्यका रुपमा भारतलाई रोजेका हुन् । घरमा बसौँ भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नपाएपछि धेरै लामो समयपछि अदानचुलीका युवाको रोजाइ कालापहाड बनेको हो । गएका वर्षहरुमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढीमा पाँच/सातजना कालापहाड जाने गरेको भए पनि यो वर्ष जानेको सङ्ख्या निकै वृद्धि भएको अदानचुली–२ को मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले बताए। केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी ‘रिजर्भ’ गरेर यहाँको युवाले दुई/तीन महिनाको गन्तव्यका रुपमा कालापहाड रोजेका हुन् । आफूसहित २२ जनाको समूहले एक बलेरो जिप बाजुराको मार्तडीसम्म रिजर्भ गरेर गएको र पुस १३ गते मात्रै पाँच सयको सङ्ख्यामा युवा कालापहाड लागेका भारत जान लागेका एक युवाले जानकारी दिए । कर्णाली कोरिडोरमा अस्थायी रुपमा चलेका जिपहरुमा प्रायः कालापहाड जाने अदानचुलीका युवा मात्रै भेटिने गरेका छन् । कुनै जिपले बेलुका अबेरसम्म पनि गाउँबाट युवा ओसारिरहेका हुन्छन् । आफूसँग गाडी भाडा नभएका दर्जनौँ युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि जाने गरेको बुढाले बताए । अदानचुली–३ मकै गाउँका अङ्कल रोकायाले गाउँभर खोज्दा पनि गाडी भाडा नपाएपछि पैदलै आफूसहित केही युवा बाजुराको मार्तडी पुगेको बताए । ‘मसँगै गाउँका नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको टोलीले जाने गाडी भाडा पनि नपाएपछि एक दिन एक रात हिँडेर बाजुरा सदरमुकाम मार्तडी पुगेका हौँ’, फोनमा उनले भने, ‘बाटोमा सबै गाडी चढेर हिँड्ने, हामीमात्र पैदल हिँडेको देख्दा आफैँलाई लाज होला भनेर हामी घरबाट हिँडेदेखि रातदिन नभनेरै पैदल कुदेका हौँ । एक रात एक दिनमा मार्तडी पुग्यौँ भने अब यहाँबाट नेपाल र भारतको सिमानामा पुग्न पनि त्यही दुई दिन एक रात लाग्छ कि जस्तो छ ।’ रासस

लक्ष्मी सनराइज मर्जपछि राजेन्द्र खेतान एसबिआई बैंकमा प्रवेश

काठमाडौं । नेपाल एसबिआई बैंकमा विभिन्न ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार स्टेट बैंक अफ इण्डिया (एसबिआई)को ५५ प्रतिशत अर्थात् ५ अर्ब ५६ करोड ६३ लाख ४५ हजार ७२९ रुपैयाँ लगानी नेपाल एसबिआईमा छ । यस्तै, सबैभन्दा धेरै ठूलो सेयरधनीहरूमध्ये कर्मचारी संचय कोषको १५ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड ८० लाख ९४ हजार ३४० रुपैयाँ सेयर स्वामित्व छ । बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ । जसमध्ये सर्वसाधारण सेयरधनीहरूको ३० प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६१ लाख ८८ हजार ६१२ रुपैयाँ सेयर लगानी बैंकमा छ । बैंकको सञ्चालक समेत रहेकी अप्सरा उप्रेतीको ५ हजार ४६१ कित्ता सेयर रहेको तथ्याङ्क छ । यस्तै, बैंकको व्यवस्थापकहरू सहायक महाप्रबन्धक विष्णुदेव यादवको २ कित्ता र अर्जुन नेपालको ६ हजार ४८३ कित्ता सेयर लगानी छ । साथै, कम्पनी सचिव श्रीधर अधिकारीको २ हजार ३४९ कित्ता सेयर रहेको बैंकले जनाएको छ । सन् २०२३ जुलाई १६ तारिखसम्मको तथ्याङ्क अनुसार बैंकका सबैभन्दा ठूला १० सेयरधनीहरू स्टेट बैंक अफ इण्डिया, कर्मचारी संचय कोष, हिमालयन लाइफ इन्स्योरेन्स, बालकृष्ण श्रेष्ठ, राजेन्द्र कुमार खेतान, प्रभु सेलेक्ट फण्ड, रोजन कर्मचार्य, नेपाल लाइफ इन्स्योरेन्स, अमिर श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठ हुन् । जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको ०.५१७२ प्रतिशत सेयर छ । राजेन्द्र खेतान लक्ष्मी बैंकका मुख्य प्रवर्द्धक हुन् । खेतानले लक्ष्मी बैंकको अध्यक्ष पद छाेडेकाे करिब एक दशक भयाे । लक्ष्मी र सनराइज मर्जपछि अहिले लक्ष्मी सनराइज बैंक भएको छ । पछिल्लाे समय खेतान सेयर बजारका सक्रिय ठूला लगानीकर्ता भएकाे जानकारहरू बताउँछन् ।