सिमेन्टको मूल्य घटाउन सहयोग गर्ने सबैलाई निर्माण व्यवसायी महासंघको धन्यवाद
काठमाडौं । केही समय अगाडि सिमेन्टको मूल्य प्रति बोरा एक सय रुपैयाँ वृद्धि भएकोमा हाल पुरानै मूल्य कायम गरिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले मंगलबार विज्ञप्ति मार्फत् सिमेन्टको पुरानै मूल्य कायम गरिएको जानकारी दिएका छन् । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको विषम परिस्थितिलाई मध्यनजर गरी महासंघको आग्रहमा नेपाल सिमेन्ट उत्पादक संघ लगायत सिमेन्ट उद्योगीहरूले मुल्यवृद्धि घटाई पुरानै अवस्थामा कायम गरिएको महासंघको भनाइ छ । महासंघको आग्रह बमोजिम मूल्य घटाइदिएकोमा विज्ञप्तिमा नेपाल सिमेन्ट उत्पादक संघ लगायत सिमेन्ट उद्योगीहरूलाई हार्दिक धन्यवाद दिइएको छ । त्यस्तै महासंघले मुल्यवृद्धि घटाउन आवश्यक पहल तथा समन्वय गरिदिने नेपाल सरकारका सबै सम्बन्धित् निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै महासंघको समस्या समाधानका लागि सदा झै महत्वपूर्ण भूमिका निर्वाह गरिदिने समस्त सञ्चार माध्यमहरूप्रति महासंघले विज्ञप्ति मार्फत् विशेष आभार व्यक्त गरेको छ ।
१० वर्षमा पाँच प्रतिशतले बढ्यो सहरी जनसङ्ख्या
काठमाडौं । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ । त्यसैगरी, सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ । मुख्यसचिव डा बैकुण्ठ अर्यालबाट सार्वजनिक सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ दशमलबमा प्रतिशतमा झरेको देखिन्छ । सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ जवकी प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको कार्यालयका प्रवक्ता डा हेमराज रेग्मीले जानकारी दिए । जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३ दशमलव ८३ प्रतिशत रहेको छ । नेपालमा ६६ दशमलव १७ प्रतिशत सहरी क्षेत्र छ भन्ने आधार अर्धसहरी वा सहरोन्मुख नगरपालिकाले नदिने हुँदा यस्तो अवस्थामा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी त्यसलाई स्थानीयकरण तथा पुर्नपरिभाषित गर्नुपर्ने अवस्थामा प्रतिवेदन तयार गरिएको कार्यालयले जनाएको छ । भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरणविधि अनुसारको विश्लेषणले ग्रामीण जनसङ्ख्या पाउमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित भएको देखाएको छ । सहरोन्मुख जनसङ्ख्या तराई क्षेत्रमा ८४ प्रतिशत र पोखरा महानगरपालिका र काठमाडौंका उपत्यका कारण असन्तुलित हुँदै सहरी जनसङ्ख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत केन्द्रित भएको देखिएको छ । हाल मुलुकमा दुई सय ९३ नगरपालिका (नौ महानगरपालिका र उपमहानगरपालिकासहित) र चार सय ६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन् । कार्यक्रममा मुख्यसचिव डा अर्यालले मनोगत कुराले नभइ तथ्याङ्क र प्रमाणमा आधारित नीति र कार्यक्रम बनाउन तीनै तहका सरकारका सम्बन्धित कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिए । उनले तथ्याङ्क कार्यालयको पुनःसंरचनासहित नियमावली ल्याउन सरकारले गृहकार्य गरिरहेको बताए । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायले कार्यालयको जनशक्ति नघट्ने अपेक्षा गर्दै सङ्घीयताको मर्म अनुसार तथ्याङ्कका काम तीन तहको समन्वयमा हुनुपर्ने र आफ्नो कार्यालयले केन्द्रस्तरको भूमिका निर्वाह गर्ने बताए । पूर्व महानिर्देशक सम्मानित कार्यक्रममा साविक केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक डा. निजामुद्धिन सुभानीलाई सम्मान एवं कार्यालयका निर्देशक बद्रीबहादुर कार्कीलाई यस वर्षको उत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरियो । रासस
युवाविहीन बन्दै हुम्लाका गाउँ, रोजगारीको खोजीमा युवा पलायन
सिमकोट । सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन् । सहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै यता दुर्गम गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत सहरमा कामका लागि गाउँ छोड्ने गरेका छन् । हुम्लाको अदानचुली गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन हुन थालेको नेकपा (एमाले) गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले बताए । गाउँमा चरम आर्थिक मन्दी छाएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौँको सङ्ख्यामा अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिकाका युवा कालापहाड (भारत) जान थालेका भण्डारीले बताए । यही पुस १० गते मङ्गलबार परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको सङ्ख्या निकै बढी देखिएको छ । कावाडी प्रहरीचौकीका एक सुरक्षाकर्मीले चेकजाँच गर्दा र सोधीखोजी गर्दा गाडी र पैदलमा गएका सबैले भारत जान लागेको बताएका जानकारी दिए । अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा विरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि नयाँ अत्यावश्यक कामबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल भएको स्थानीय बुढाले बताए । गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानुपरेको बुढाको भनाइ छ । अहिले गाउँमा कोही बिते पनि लास उठाउने युवा पाउन मुस्किल भएको उनको गुनासो छ । आफ्नो गाउँ घरबाट मात्रै यही पुस १३ गते २३ जना तथा विभिन्न टोल भएको अदानचुली– २ बाट झन्डै सयको सङ्ख्यामा भारत गएका उनको भनाई छ । हिउँदमा घरको काम पनि हुँदैन । विकास निर्माणको काम गरेर केही रकमको जोहो गर्ने गरेको यहाँका युवाका लागि एक वर्षयता कुनै विकास निर्माणका कामहरु ठप्प भए पनि झन्डै दुई दशकपछि पहिलोपटक यति ठूलो सङ्ख्यामा युवा विदेशिएका हुन् । लामो समयदेखि छिमेकी मुलुक नगएको यहाँका युवा दिनहुँ सयौँको सङ्ख्यामा छिमेकी मुलुक भारत गएको अदानचुली–५ का रामबहादुर छत्यालले बताए । गाउँमा रोजगारीका काम नहुनु, गाउँपालिकाले भएका योजनाहरुको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा फ्रिज हुनुलगायत कारणले अदानुचलीका युवाले हिउँदको आफ्नो कामको गन्तव्यका रुपमा भारतलाई रोजेका हुन् । घरमा बसौँ भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नपाएपछि धेरै लामो समयपछि अदानचुलीका युवाको रोजाइ कालापहाड बनेको हो । गएका वर्षहरुमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढीमा पाँच/सातजना कालापहाड जाने गरेको भए पनि यो वर्ष जानेको सङ्ख्या निकै वृद्धि भएको अदानचुली–२ को मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले बताए। केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी ‘रिजर्भ’ गरेर यहाँको युवाले दुई/तीन महिनाको गन्तव्यका रुपमा कालापहाड रोजेका हुन् । आफूसहित २२ जनाको समूहले एक बलेरो जिप बाजुराको मार्तडीसम्म रिजर्भ गरेर गएको र पुस १३ गते मात्रै पाँच सयको सङ्ख्यामा युवा कालापहाड लागेका भारत जान लागेका एक युवाले जानकारी दिए । कर्णाली कोरिडोरमा अस्थायी रुपमा चलेका जिपहरुमा प्रायः कालापहाड जाने अदानचुलीका युवा मात्रै भेटिने गरेका छन् । कुनै जिपले बेलुका अबेरसम्म पनि गाउँबाट युवा ओसारिरहेका हुन्छन् । आफूसँग गाडी भाडा नभएका दर्जनौँ युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि जाने गरेको बुढाले बताए । अदानचुली–३ मकै गाउँका अङ्कल रोकायाले गाउँभर खोज्दा पनि गाडी भाडा नपाएपछि पैदलै आफूसहित केही युवा बाजुराको मार्तडी पुगेको बताए । ‘मसँगै गाउँका नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको टोलीले जाने गाडी भाडा पनि नपाएपछि एक दिन एक रात हिँडेर बाजुरा सदरमुकाम मार्तडी पुगेका हौँ’, फोनमा उनले भने, ‘बाटोमा सबै गाडी चढेर हिँड्ने, हामीमात्र पैदल हिँडेको देख्दा आफैँलाई लाज होला भनेर हामी घरबाट हिँडेदेखि रातदिन नभनेरै पैदल कुदेका हौँ । एक रात एक दिनमा मार्तडी पुग्यौँ भने अब यहाँबाट नेपाल र भारतको सिमानामा पुग्न पनि त्यही दुई दिन एक रात लाग्छ कि जस्तो छ ।’ रासस
लक्ष्मी सनराइज मर्जपछि राजेन्द्र खेतान एसबिआई बैंकमा प्रवेश
काठमाडौं । नेपाल एसबिआई बैंकमा विभिन्न ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार स्टेट बैंक अफ इण्डिया (एसबिआई)को ५५ प्रतिशत अर्थात् ५ अर्ब ५६ करोड ६३ लाख ४५ हजार ७२९ रुपैयाँ लगानी नेपाल एसबिआईमा छ । यस्तै, सबैभन्दा धेरै ठूलो सेयरधनीहरूमध्ये कर्मचारी संचय कोषको १५ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड ८० लाख ९४ हजार ३४० रुपैयाँ सेयर स्वामित्व छ । बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ । जसमध्ये सर्वसाधारण सेयरधनीहरूको ३० प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६१ लाख ८८ हजार ६१२ रुपैयाँ सेयर लगानी बैंकमा छ । बैंकको सञ्चालक समेत रहेकी अप्सरा उप्रेतीको ५ हजार ४६१ कित्ता सेयर रहेको तथ्याङ्क छ । यस्तै, बैंकको व्यवस्थापकहरू सहायक महाप्रबन्धक विष्णुदेव यादवको २ कित्ता र अर्जुन नेपालको ६ हजार ४८३ कित्ता सेयर लगानी छ । साथै, कम्पनी सचिव श्रीधर अधिकारीको २ हजार ३४९ कित्ता सेयर रहेको बैंकले जनाएको छ । सन् २०२३ जुलाई १६ तारिखसम्मको तथ्याङ्क अनुसार बैंकका सबैभन्दा ठूला १० सेयरधनीहरू स्टेट बैंक अफ इण्डिया, कर्मचारी संचय कोष, हिमालयन लाइफ इन्स्योरेन्स, बालकृष्ण श्रेष्ठ, राजेन्द्र कुमार खेतान, प्रभु सेलेक्ट फण्ड, रोजन कर्मचार्य, नेपाल लाइफ इन्स्योरेन्स, अमिर श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठ हुन् । जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको ०.५१७२ प्रतिशत सेयर छ । राजेन्द्र खेतान लक्ष्मी बैंकका मुख्य प्रवर्द्धक हुन् । खेतानले लक्ष्मी बैंकको अध्यक्ष पद छाेडेकाे करिब एक दशक भयाे । लक्ष्मी र सनराइज मर्जपछि अहिले लक्ष्मी सनराइज बैंक भएको छ । पछिल्लाे समय खेतान सेयर बजारका सक्रिय ठूला लगानीकर्ता भएकाे जानकारहरू बताउँछन् ।
रानी जमरा कुलरिया आयोजना : सिँचाइसँगै बल्यो बिजुली
काठमाडौं । कैलालीको सम्मफाँट । चित्ताआकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ । सोही नदीमा अनेकन नामबाट परम्परागत रुपमा नै सिँचाइ उपलब्ध हुँदै आएको थियो । आर्थिक वर्ष २०६६/६७ मा परम्परागत सिँचाइलाई आधुनिकीकरण गर्ने काम सुरु भयो । अनि नाम दिइयो– रानीजमरा कुलरिया सिँचाइ आयोजना । सो सिँचाइ प्रणाली स्थानीय किसानले नै निर्माण गरेर व्यवस्थापनसमेत हुँदै आएको सबैभन्दा ठूलो मध्येको एक हो । सो प्रणालीको स्रोत कर्णाली नदीको पश्चिम भङ्गालो झरही नाला हो । स्थानीयवासीका अनुसार सो प्रणालीको निर्माण करिब एक सय २० वर्षभन्दा पहिले नै भएको हो । ऐतिहासिक महत्व बोकेको सो आयोजनाले कैलालीका समथर फाँटको सिँचाइ मात्रै गरेको छैन, तराईमा पहिलो पटक बिजुलीसमेत उत्पादन गरेको छ । विगतमा टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइँदै आएको थियो । आधुनिक सिँचाइ प्रणालीको विकासपछि ३८ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । रानीजमरा कुलरिया सिँचाइ मूल उपभोक्ता समितिका अध्यक्ष कुमारराज शाहीका अनुसार परम्परागत सिँचाइ प्रणालीलाई नै आधुनिक प्रणालीले अनुसरण गरेको छ । यसले इतिहासको सम्मान गर्दै आधुनिकताको खोजी गरेको छ । आयोजनास्थलको स्थलगत निरीक्षणमा पुगेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीसमक्ष शाहीले भने, ‘पानीको उचित व्यवस्थापन गरिदिन अनुरोध छ । आयोजनाले सिँचाइ मात्रै नभई बिजुली पनि उत्पादन गरेकाले त्यसबाट स्थानीय उपभोक्ताले बढी लाभ पाउनुपर्छ भन्ने हाम्रो माग छ ।’ आफ्ना माग सुनाउन भेला भएका स्थानीयवासीले कर्णाली नदीले दिने दुःखको इतिवृत्त पनि सुनाए । उनीहरुले बलियो तटबन्धको मागसमेत राखे । नदी उकास गरेर खेतमा बगेको खोलालाई तह लगाइदिन पनि अनुरोध गरे । अध्यक्ष शाहीले आयोजनाको सञ्चालन, व्यवस्थापन स्थानीय उपभोक्ताले गर्ने भएकाले सरकारले कुनै चिन्ता नलिनसमेत अनुरोध गरे । यद्यपि, उनले निर्माण व्यवसायीले अझै पूर्ण काम सम्पन्न नगरेकामा गुनासो पनि गरे । आयोजनाको रानी र जमराको काम सम्पन्न भएको छ । विश्व बैङ्कको सहयोगमा सिँचाइ प्रणालीको आधुनिकीकरणतर्फको प्रथम चरणको काम पूरा भएको छ । दोस्रो चरणको काम चालु आवमा सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको छ । किसान निर्मित तथा व्यवस्थित सिँचाइ प्रणालीलाई सञ्चालन गर्न किसानले प्रत्येक वर्ष कर्णाली नदीमा (झरही नाला)मा स्थानीय झारपात ढुड्डा आदि जस्ता उपलब्ध सामग्रीको प्रयोग गरी तीन वटा अलग–अलग स्थानमा अस्थायी बाँध बनाउँथे । नदीको बगरमा कुलो खनेर आ–आफ्नो सिँचाइ प्रणालीका लागि पानी लैजाने व्यवस्था मिलाउँदै आएका थिए । हरेक वर्ष अस्थायी बाँध र बगरमा बनाइएको कुलो कर्णाली नदीले बगाउँथ्यो । खेतमा पानी पुर्याउन उपभोक्ताले पुनः बनाउनुपर्ने झन्झट व्यहोर्नु पर्दथ्यो । कर्णाली नदीमा आउने बाढीले बनाइएको बाँध र नदीको बगरमा बनाइएको नहरलाई क्षति गरेपछि देशावर लगाउनुपर्दथ्यो । क्षतिग्रस्त प्रणालीलाई आवश्यकताअनुसार ठूलो जनश्रम परिचालन गरी मर्मत गरी प्रणालीलाई सञ्चालनमा ल्याउनु परेको थियो । बर्सेनि गर्नुपर्ने मर्मत संभारको समस्याका साथै प्रणालीमा पानीको बहाव नियन्त्रण गर्ने संरचना नभएकाले कर्णालीबाट आउने अनियन्त्रित पानी प्रणालीमा प्रवेश गर्दा यस प्रणालीको सिञ्चित क्षेत्र र यसको किनारा क्षेत्रमासमेत पानी जम्ने समस्या, सिञ्चित क्षेत्र कटान पनि उत्तिकै हुन्थ्यो । सोही समस्या अब भने स्थायी रुपमा समाधान हुने भएको छ । कर्णाली चिसापानी पुल नजिकै सिँचाइ आयोजनाको बाँध निर्माण गरिएको छ । नेपालमा खासगरी विसं १९७९ देखि सिँचाइ प्रणालीको काम औपचारिक रुपमा सुरु भएको मानिन्छ । चन्द्र नहरको निर्माण भएपश्चात्, सरकारीस्तरमा सिँचाइको विकास सुरु भएको हो । विसं २००९ मा नहर विभागको स्थापना भएपछिको अवस्थालाई हेर्ने हो भने सिँचाइ आयोजनाले बिजुली पनि उत्पादन गरेको पहिलोपटक हो । सरकारले सिँचाइ आयोजनालाई बहुउद्देश्यीय बनाउन थालेको छ । त्यसको खास उदाहरणका रुपमा भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाभन्दा पहिले नै रानीजमरा कुलरिया आयोजनाले बिजुली उत्पादन गरेको छ । गत मङ्सिरको अन्तिम सातादेखि आयोजनाले परीक्षण उत्पादन थालेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणका प्राविधिकको उपस्थितिमा आवश्यक परीक्षण भइसकेको छ । व्यावसायिक उत्पादन छिट्टै सुरु गर्ने तयारी छ । त्यसका लागि केही प्राविधिक निर्णय आवश्यक छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर टोपबहादुर खत्रीले गत मङ्सिर अन्तिमदेखि चार दशमलब ७१ मेगावाट विद्युत् उत्पादन सुरु गरेको जानकारी दिए । सिँचाइ आयोजना भए पनि परियोजनामा बिजुलीसमेत उत्पादन भएपछि स्थानीय र सम्बद्ध आयोजनाका अधिकारीलाई पनि खुसी तुल्याएको छ । तराई क्षेत्रमा पनि आठ मिटर बराबरको हेड (उचाइ) प्राप्त भएपछि बिजुली उत्पादनको लक्ष्य राखिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ओलीको भनाइ छ । सिँचाइ नहरमा पानी उपलब्ध हुँदा बिजुली पनि उत्पादन हुन्छ । बत्ती बाल्न सुरु गरिएको छ । राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि आफूले आवश्यक निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन । सिँचाइसँगै बिजुली पनि उतपादन सुरु भएकाले के कसरी सञ्चालन गर्ने, त्यसबाट प्राप्त हुने आम्दानीको बाँडफाट कसरी गर्ने भन्ने बारेमा आवश्यक निर्णय हुनु जरुरी छ । सञ्चालन मोडालिटी नभएकाले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको आवश्यक तयारी गरिरहेको छ । प्राधिकरणले विद्युत् खरिद सम्झौताका अलावा त्यसबाट प्राप्त हुने आम्दानीको विन्यासका बाारेमा छिट्टै निर्णय हुने विश्वास व्यक्त गरेको छ । विभागले आफ्नो आयोजना भएकाले आफूहरुले नै सञ्चालन गर्ने बताउँदै आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले यसबारेमा छिट्टै निर्णय हुने स्थानीयवासीलाई समेत आश्वस्त बनाएका छन् । मन्त्री बस्नेतले आयोजनास्थलमा नै बिजुली उत्पादनको अवस्थाका बारेमासमेत यही पुस १० गते जानकारी लिएका थिए । सिँचाइ आयोजनामा बिजुली बाल्न खासमा सजिलो काम थिएन । अनेकन प्राविधिक जटिलता पनि आइपरे । बिजुली उत्पादनका लागि स्वदेशी तथा भारतीय प्राविधिकले नियमित काम गरे । सो आयोजनाको कूल लागत रु २७ अर्ब ७० करोड बराबर छ । हाल आयोजनको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत बराबर छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ओलीका अनुसार आयोजनाको साइड इन्टेकमा गेट अटोमेसनसहित मूल नहर निर्माण पूरा भएको छ । बालुवा थिग्र्याउने पोखरी निर्माण पूरा भएको छ । मूल नहरमा गेट जडान, एक ४४ किलोमिटर लामो लम्की शाखा नहर परीक्षण सम्पन्न भइसकेको छ । रासस
कान्तिपुरविरुद्ध अदालत पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कान्तिपुर पब्लिकेशनविरुद्ध अदालत पुगेका छन् । आफूलाई तथा नियोजित रुपमा बदनाम गर्न खोजेको भन्दै उनी सोमबार बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालत पुगेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू उक्त मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गर्दै अदालत पुगेको बताएका हुन् । कान्तिपुरले आफूलाई सहकारी घोटालामा जोडेर समाचार सम्प्रेशण गरी आफूलाई बदनाम गर्न खोजेको लामिछानेको आपत्ति छ । उनले लेखेका छन् : एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ । उक्त विवादको आगामी माघ १७ गते सुुनुवाइ ताकिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिए । अध्यक्ष लामिछानेले फिरादपत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्याउने मनसायले जानीबुझी चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गरेको उल्लेख गरेका छन् । उत्तः समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानिनोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार साङ्केतिकरुपमा एक सय ५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
विद्युत् प्राधिकरणको सञ्चालकमा रतनबहादुर ऐर नियुक्त
काठमाडौं । वरिष्ठ इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रीस्तरीय निर्णयबाट उनलाई सोमबार नियुक्ति गरिएको हो । नेपाल विद्युत प्राधिकरणले सोमबारकै सञ्चालक समितिको बैठकमा उनलाई सहभागी गराएको छ । सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा लिएका उद्योगहरुलाई सो वापतको प्रिमियर शुल्कको बक्यौता भुक्तानी अधिकतम् ६० किस्तामा गर्न सकिने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले ऊर्जामन्त्री बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्योगीहरुलाई लाइन नकाटीकन सहज ढंगले बक्यौता रकम भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिएपछि त्यसलाई ध्यानमा राखेर प्राधिकरणले ६० किस्तामा बुझाउन सकिने सहुलियत दिएको हो । यो सहुलियत पाएपछि हिमाल आइरन एण्ड स्टील इन्ड्रष्ट्रिले पहिलो किस्ता बुझाएको छ । किस्ता भुक्तानीसंगै प्राधिकरणले हिमाल आइरनको काटिएको विद्युत लाईन जोडेर विद्युत आपूर्ति सुचारु गरेको छ । नेपाल विद्युत प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले १० हजार ८ सय मेगावाट क्षमता पहिचान भएको कर्णाली चिसापानी आयोजनालाई अगाडि बढाउन डिपीआर, इआईए लगायतका काम गर्न प्राधिकरणको इन्जिनियरिङ विभागलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । नेपाल विद्युत प्राधिकरणमा २९ वर्ष ८ महिना २५ दिन काम गरेर अवकाश लिएका वरिष्ठ इञ्जिनयर ऐरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालिसकेका छन् । झण्डै पौने ३० बर्षको आफ्नो व्यवसायिक जीवनमा इञ्जिनियर ऐरले विद्युत प्राधिकरणका जलविद्युत उत्पादन, प्रशारण र वितरण तिनै क्षेत्रमा काम गरेका थिए । उनले सुदूरपश्चिमको गौरवको रुपमा हेरिने चमेलिया जलविद्युत आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । सो आयोजनाको सर्वेक्षण, डिजाइन, टेण्डर कागजात तयारी, पहुँच सडकको निर्माण सुपरीवेक्षण, आरसीसी र स्टील पुलहरुको निर्माण र सुपरीवेक्षण तथा बाँध, पावर हाउस र प्रशारण लाइनको निर्माणमा उनी सम्पूर्ण रुपले सक्रिय रहेका थिए । उनले खिम्ती भक्तपुर बालाजु १३२ केभी प्रशारण लाइन निर्माणमा प्रशारण लाइन मार्गको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी, सरोकारवाला निकायसंग समन्वय गरेर आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए। वरिष्ठ इञ्जिनियर ऐरले अत्तरियादेखि डँडेल्धुरासम्मको १०६ किमि लामो ६६ केभी प्रशारण लाइनको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी र प्रशारण आयोजनामा टावरको स्थापना र जडानका साथै तार टाँग्ने काम सम्पन्न गराएका साथै डँडेल्धुरामा १.५ एमभीए ३३/११ केभी र दिपायलमा ३ केभीए ३३ र ११ केभी क्षमताका सबस्टेशनको सिभिल, इलेक्ट्रिकल र मेकानिकल कामहरु आफ्नै नेतृत्वमा सम्पन्न गराई आयोजना सुसम्पन्न गराएका थिए । उनकै नेतृत्वमा सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ग्रामीण विद्युतीकरण सम्पन्न भएको थियो । सो आयोजनामा पनि सर्वेक्षण , डिजाइन,टेण्डर कागजात तयारी,मूल्यांकन,नेगोसिएसन,निर्माणको व्यवस्थापन र सुपरीवेक्षण जस्ता इञ्जिनियरिड।का पक्षहरु उनले हेरेका थिए । उनले भवन,आवास र शहरी विकास डिभिजनको सदस्य सचिवको रुपमा महेन्द्रनगर नगर विकास समिति र बेलौरी नगर विकास समितिका सम्पूर्ण इञ्जिनियरिङ सम्बन्धी काम गरेका थिए । त्यस अगाडि भवन,आवास तथा शहरी विकास विभागको सहायक इञ्जिनियर तथा कामु डिभिजनल इञ्जिनियर रहेका ऐरले सदस्य सचिवको रुपमा टीकापुर, धनगढी र अत्तरिया नगर विकास समितिका सम्पूर्ण इञ्जिनियरिङ कामहरु हेरेका थिए । उनले त्यसपहिले जिल्ला विकास समिति कञ्चनपुर र महाकाली सिंचाई आयोजनामा पनि काम गरेका थिए । सन १९९५ डिसेम्बरदेखि सन १९९७ मार्च सम्म र सन् २००१ जनवरीदेखि सेप्टेम्बरसम्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका ई. ऐरले प्रधानमन्त्रीलाई देशको पूर्वाधार विकास, इञ्जिनियरिङ र प्राविधिक विषयमा सुझाव र सल्लाह दिने गरेका थिए । खार्खोभ नेशनल अटोमोवाइल एण्ड हाइवे युनिभर्सिटी खार्खोभ युक्रेनबाट हाइवे इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ई. ऐरले आफ्नो सेवा अवधिमा विभिन्न मुलुकहरुको भ्रमण पनि गरेका छन् र दर्जनौ तालिमहरु पनि लिएका छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर नीति निर्माण र कार्यान्वयनमा नै महत्वपूर्ण भूमिका खेलिसकेका अनुभवी व्यक्तित्व ई. ऐरको नियुक्तिले नेपाल विद्युत प्राधिकरणमा अब विवेकपूर्ण निर्णय हुने र प्राधिकरणले थालेका आयोजनाहरु समयमा नै पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् । बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौंदेखि पोखरा र काठमाडौँदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् । यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी काठमाडौँदेखि पोखरा र सुनौली आठवटा पर्यटक बसले सेवा प्रदान गरेको बताए । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भएपनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गरे । रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनाल पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताए । उनले आफ्नो कम्पनीले रु दुई करोड ५० लाखमा दुईवटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गरे । रेम्बो, ब्ल्यू र यतीले भित्र्याएका बसहरुले काठमाडौँ–पोखरा पर्यटकलाई सेवा प्रदान गर्नेछन् । यसअघि काठमाडौंदेखि पोखरा र काठमाडौंदेखि चितवन पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको बाबा एडभेन्चरले सुनौलीका यात्रुलाई लक्षित गरी काठमाडौं सुनौली बससेवा सञ्चालन गरेको छ । बाबा एडभेन्चरका सञ्चालक एवं टुरिष्ट बस एसासिएसनका पूर्वअध्यक्ष प्रल्हाद लोहनीले भारतीय पर्यटकलाई लक्षित गरी नयाँ वर्षदेखि बाबा एडभेन्चरले दुईवटा बस सञ्चालन गरेको जानकारी दिए । नेपालमा पर्यटक बसमा ठूलो लगानी भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा व्यवसायीलाई समस्या परेको छ । हाल काठमाडौँ महानगरपालिका–१६ स्थित सोह्रखुट्टे सडकबाट पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् । टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव मिलन नेपालले पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या परेको बताए । हाल काठमाडौं सोह्रखुट्टे सडक हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् । रासस