विकासन्युज

आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन् । धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन् । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीररूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना निर्माणका काम यथासक्य चाँडो अगाडि बढाइने उल्लेख गरे । ‘मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,’ प्रधानमन्त्रीले भने, ‘मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।’ मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्रीले मधेसी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकामा गर्व लागेको बताए । ‘मधेस, पहाड र हिमालको एकतालाई अविछिन्न तुल्याउन सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ,’ उनले भने । ४० वर्षअगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुरलगायत क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे । सिरहा र धनुषाका लागि पुल निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उक्त सचिवालयका अनुसार १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ ।

‘मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक छ’

काठमाडौं । संयु्क्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताएका छन् । नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१औं अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वराजदूत आचार्यले मुलुकको विकासका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा आवश्यक भएको बताएका हुन् । उनले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई देशका शैक्षिक प्रतिष्ठानले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । काठमाडौं महानगरपालिका-२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सहीरूपमा उपयोग गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । गुणस्तरीय शिक्षाका लागि काठमाडौँ महानगरपालिका सहयोग गर्ने उनले बताए । त्यस अवसरमा वरिष्ठ कलाकार पशुपति शर्माले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।

मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे । सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने, ‘अब संघीयता सबलरूपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।’ प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले सङ्घीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालको भूगोलअनुसार झोलुैगे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुंगे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए। निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

गलकोट । तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । संघीय सरकारअन्तर्गत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए। उनका अनुसार चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजार रुपैयाँमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन । चार सडकलाई चालु आर्थिक वर्षमा एक करोडका दरले चार करोड रुपैयाँमात्रै बजेट विनियोजन भएकाले रकम अभाव भएको अधिकारीको भनाइ थियो । बागलुङ क्षेत्र नं १ को र म्याग्दीमा निर्माण भइरहेका सडकको रु सात करोड १२ लाख ४७ हजार रकम भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए । उक्त चार सडक निर्माणका लागि एक अर्ब १९ करोड रुपैयाँ बजेट आवश्यक पर्नेमा चालू आवमा रु चार करोड मात्रै बजेट विनियोजन भएकाले समस्या भएको भन्दै इञ्जिनियर अधिकारीले पटकपटक अर्थमन्त्रालयमा बजेट थप गर्न अनुरोध गरिएको जानकारी दिए । ‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक सडक’ कार्यक्रमअन्तर्गत बागलुङ क्षेत्र नं १ स्थित बागलुङ बजार अदालतदेखि चौपारी–सिगाना–चापाखर्क–गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको गत वर्ष ४८ प्रतिशत भौतिक प्रगति भए पनि दायित्व भुक्तानी नपाएपछि निर्माण व्यवसायीले यस वर्ष काम गर्न सकेको छैन । १० किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले सुरुमा कामलाई तीव्रता दिए पनि भुक्तानी नपाएपछि काम गर्न समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सन्दीप श्रेष्ठले बताए । ‘गत वर्षको तीन करोड ३१ लाख तीन हजार भुक्तानी पाउन बाँकी छ । चालू आवमा जम्मा एक करोड बजेट विनियोजन भएपछि काममा फर्कन समस्या भएको हो,’ उनले भने । श्रेष्ठले दायित्व भुक्तानी हुनासाथ काममा फर्कन बताउँदै बजेट थप्न आग्रह गरे । बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर बजारबाट मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक विसं २०७९ मा २५ करोड २० लाख रुपैयाँमा सम्झौता भएको थियो । उक्त सडकका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि काम रोकिएको हो । यस खण्डको १८ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ । एक वर्षमा २५ करोडको सडकमा एक करोड बजटले काम गर्न समस्या भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राज थापाले बताए । म्याग्दी जिल्लाको रत्नेचौर–ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण सकिएपनि बजेट अभावमा कालोपत्र हुन सकेको छैन । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीलाई गत वर्षको तीन करोड ८१ लाख ४४ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ । मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो–कुन्जे–टिटी–धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा बजेट अभावका कारण काम प्रभावित बनेको छ । तीन वर्षमा कालोपत्र गर्ने गरी ३८ करोड ८८ लाख ६१ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको उक्त खण्डको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडकमा गत वर्षको भुक्तानी दायित्व नरहे पनि चालु आवमा विनियोजन भएको एक करोड रुपैयाँले काम गर्न समस्या भएको निर्माण कम्पनीको भनाइ छ । ३८ करोड रुपैयाँको सडक निर्माणका लागि एक वर्षमा एक करोड रुपैयाँमात्र बजेट आउँदा काम गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख अनुक्षा घिमिरेले अर्थमन्त्रालयले आवश्यक बजेट नपठाउँदा काम गर्न समस्या भइरहेको बताए । उनले तीन जिल्लाका चार ठूला सडकको कालोपत्रको काम सुरु गर्ने समयमा बजेट कटौती हुँदा निर्माण व्यवसायीले काम छोडेर हिडेका बताए । ‘ठूला सडक सिगाना र रत्नेचौरको कामको प्रगति सम्झौता अघिनै सक्नेगरी अघि बढेको थियो । गत असारमा बजेट कटौती भएर भुक्तानी गर्न सकिएन । यो वर्ष भुक्तानीका लागि पर्याप्त बजेट छैन,’ घिमिरेले भने, ‘अर्थमन्त्रालयमा बजेट थप गर्नका लागि समन्वय भइरहेको छ । हालसम्म बजेट थप नभएको अवस्थामा यो वर्ष चार वटै सडकमा काम नहुने देखिएको छ ।’

उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

गाईघाट । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जिल्लाका आठ पालिकामा दुईचरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो चरणमा फागुन १३ गतेदेखि १८ गतेसम्म जिल्लाको त्रियुगा नगरपालिका,बेलका नगरपालिका,चौदण्डीगढी नगरपालिका र रौतामाई तथा लिम्चुङबुङ गाउँपालिकासहित पाँच पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । दोस्रो चरणमा फागुन २२ गतेदेखि २६ गतेसम्म जिल्लाको दुई पालिा कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा खोप अभियान सम्पन्न हुने तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । खोप सञ्चालन गर्न जिल्लाका आठ पालिकामा चार सय ६४ खोप केन्द्र स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताउनु भयो । खोप कार्यक्रम सञ्चालन गर्न चार सय ६४ जना स्वास्थ्यकर्मी र नौ सय २८ स्वयंसेवक परिचालन गरिनेछ ।

प्रधानमन्त्रीद्वारा कठाल-मल्हनिया-मल्टिस्पान झोलुंगे पुल उद्घाटन

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका-६ कठाल जोड्ने कठाल-मल्हनिया-मल्टिस्पान झोलुंगे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन् । करिब २८ करोड ८५ लाख रुपैयाँको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ । यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्रगतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डोर्‍याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ ।

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौं महानगर

काठमाडौं । गत साउनदेखि काठमाडौं महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ । केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । महानगरले विसं २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ । ‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि कामपाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो । व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सूक्ष्म निगरानी गरिरहेका छौँ,’ महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने । यस प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले अनुरोधलाई अटेर गरेर प्लास्टिकका फूलको प्रयोग गरेको भेटिए कारबाही गरिने बताए । प्लास्टिकजन्य वस्तुका कारण सिर्जित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले जानकारी दिए । ‘सामान्यतयाः४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग गरिँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ वा फोहरको पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले वातावरणमा नकारात्मक असर गर्दछ’, पाण्डेले भने । स्रोतबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाइने कामपाले फोहरको स्रातेबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ । ३२ वडा रहेको कामपाले वडा नं २७ बाट संकलन गरिएका करिब १४ हजार किलोग्राम जैविक फोहर टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको कामपा वातावरण विभागले जनाएको छ । फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएका फोहरलाई छुट्टै सङ्कलन र व्यवस्थापन गरिँदै आइएको विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी वडा नं २७ बाट गरिएको हो । आगामी दिनमा सबै वडाबाट यस कार्यलाई निरन्तरता दिन तयारी भइरहेको कामपाले जनाएको छ । वडा नं २७ को फोहर वर्गीकरण गरेर गत माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको विभागका प्रमुख श्रेष्ठले बताए। उनले संकलन भएको फोहरलाई पाइल (संकलन गरिएका फोहरका थुप्रो) गर्न थालिएको भन्दै अहिलेसम्ममा चार वटा पाइल तयार भइसकेको जानकारी दिए ।