ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधव नेपाल
काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौँ महाधिवेशन तथा १५औं वार्षिक साधारण सभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुव दाहाल खत्री,प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी ४ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनबाट अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए । श्रेष्ठले ५१ मत र अर्यालले २९ मत ल्याएर उपाध्यक्षमा चुनिए । महासंघको वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत चयन भए । यस्तै सचिवमा केदार बानियाँ र धर्मराज पोखरेलले उम्मेदवारी परेको थियो । जसमा ३० मत प्राप्त गर्दै धर्मराज पोखरेल निर्वाचित हुँदा बानियाँको पक्षमा २४ मत परेको थियो । कोषाध्यक्षमा पनि दुई जनाको उम्मेदवारी परेकोमा पूर्णप्रसाद रेग्मीले ४३ पाएर विजयी हुँदा राजकुमार न्यौपानेको पक्षमा ११ मत मात्र परेको थियो । महासंघको महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भए । श्रेष्ठ यस अघि महासंघको सचिव थिए । उनी सामान ढुवानी व्यवसायी संघ काठमाडौंको अध्यक्ष समेत हुन् । सह कोषाध्यक्ष पदमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए । पोख्रेल यस अघि कार्यसमिति सदस्य थिए । छैटौँ महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजकहरु समेत सर्वसम्मत रूपमा चयन गरेको छ । निर्वाचित प्रदेश संयोजकहरूमा भोला पौडेल, कृष्णप्रसाद ढुंगेल ,सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल रहेका छन् । साथै ९ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् । जसमा दिलिप अर्याल ,सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल , नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल रहेका छन् । ‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरूको साझा समस्याहरु समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघमा १८ वटा स्थानीय संस्थाहरु समेत आबद्ध रहेका छन् । निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचित भएसंगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरूमा अन्य यातायात महासंघ तथा संघहरुसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको कथन थियो ।
किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार
ढोरपाटन । बागलुङ जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ । पछिल्लो समय बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो । निर्वाहमुखी खेती गर्दै आएकोमा अब व्यावसायिक रूपमा गरिने भएको हो । कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालिएको छ । खाएन (खानका लागि) र बिउका लागि गरी दुई थरि आलु कृषि ज्ञान केन्द्रले किसानलाई वितरण गरि रहेको छ । बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार गरिएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरले जानकारी दिए । उनका अनुसार १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइने छ । बिउका लागि ढोरपाटन र ताराखोलाको आलु तथा खाएनका लागि काभ्रेबाट आलु लिएर वितरण गरिएको पुन मगरको भनाइ छ । १३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लागाइने उनले बताए। जिल्ला भरका किसानलाई दुई लाख २२ हजार २०० किलो आलु वितरण गर्ने तयारी रहेको पुन मगरले जानकारी दिए । हालसम्म ७४ वटा कृषि समुह तथा सहकारीले सम्झौता गरेका छन् । सूचना अधिकारी पुन मगरले भने., ‘बागलुङको धेरै जसो ठाउँमा आलु उत्पादन राम्रो हुन्छ, अहिलेसम्म सीमित क्षेत्रमा कृषकहरुले आलु खेती गर्दै आउनु भएको छ, हामीहरुले क्षेत्र विस्तार गर्ने गरि काम गरि रहेका छौँ, सोही अनुसार कृषि ज्ञान केन्द्रले कृषक समुह र कृषि सहकारीलाई आलुको बिउ उपलब्ध गराउन थालेको छ, उन्नत जातको आलुको बिउ काभ्रेबाट ल्याइएको छ भने बिउका लागि स्थानीय जात ढोरपाटन र ताराखोलाबाट ल्याइने छ ।’ उद्यमशील कृषक समूह काठेखोला गाउँपालिका– ३ धम्जा ज्ञानकुमार छन्त्यालले कृषि ज्ञान केन्द्रबाट ३६ क्न्टिल आलुको बिउ लगेको बताए । ७५ प्रतिशत अनुदानमा लगेको आलुको बिउ गाउँका किसान र कृषि समुहमा आबद्ध सदस्यलाई उपलब्ध गराएको बताए । यसले धम्जा गाउँका किसानलाई आलुखेतीतर्फ आकर्षित गरेको उनको भनाइ छ । यस वर्ष धेरै किसानहरू आलु खेती गर्न तर्फ लागेको सुनाउँदै अब उत्पादनमा वृद्धि आउने छन्त्याल बताउँछन् । ‘अहिलेसम्म गाउँमा परम्परागत शैलीमा आलुखेती गर्दै आएका थियौँ, आलुको बिउ पनि पुरानै प्रयोग गथ्र्यौँ, जसले गर्दा उत्पादनमा त्यत्ति धेरै वृद्धि भएको थिएन, अब नयाँ प्रविधिबाट आलुखेती गर्न थालेका छौँ,’ उनले भने, ‘कृषि ज्ञान केन्द्रले आलुको बिउ मात्रै नभई हामीलाई आवश्यक परामर्श र खेती कसरी गर्ने भन्ने बारेमा जानकारी पनि पाइयो, अब नयाँ तरीकाबाट आलु खेती गरिनेछ, धेरै आवद्ध पनि भएका छन्, त्यसले गर्दा अब आलु उत्पादन बढ्ने छ ।’ हाल बागलुङमा तीन हजार ६ सय ५५ हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष खेती गर्ने क्षेत्रफल बढ्ने छ । बर्सेनि ५९ हजार ६५० टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सैनिक कल्याणकारी कोषमा संकलन भयो ८२ अर्ब बढी रकम
काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार वि.सं. २०८० पुस मसान्तसम्म ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ जम्मा भएको हो । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए । उनले वि.सं. २०८० असार मसान्तसम्म ७१ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको जानकारी दिए । कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे । सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब छदेखि आठ अर्ब खर्च भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताए । प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उनले जानकारी दिए । उनले अवकाशप्राप्त सकल दर्जालाई एकै ठाउँमा भेटघाटका साथै बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउन सेनाले विविध कल्याणकारी कार्यक्रम गर्दै आएको उल्लेख गरे । प्रधानसेनापति शर्माले सैनिकको देश, समाज र जनताप्रति उत्तिकै जिम्मेवारी रहेको भन्दै राष्ट्रलाई आइपरेका जुनसुकै विपद् र महामामा राष्ट्रभावका साथ स्वतस्फूर्त सक्रिय भएर भूमिका निर्वाह गर्न तत्पर हुनुपर्ने धारणा राखे । उनले भने, ‘राज्यका लागि तपाईंहरु हिजोका दिनमा जति महत्वपूर्ण हुनुहुन्थ्यो, आज अवकाशप्राप्त जीवनमा पनि उत्तिकै महत्वपूर्ण सम्पत्तिका रुपमा हुनुहुन्छ । विभिन्न प्रकारका विपद्, महामारीलगायत राष्ट्रिय सङ्कटमा आवश्यक योगदान गर्न तयार रहनुभएको छ र भविष्यमा पनि तयार रहनुहुन्छ भन्ने विश्वास लिएको छ ।’ सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत अवकाशप्राप्त रथी गौरव तण्डुलले अवकाशपछिको जीवन एकापसमा भेटघाट, सुख-दुःख बाँड्न र अपनत्वको भावना विकास गराउन सम्मेलनले महत्वपूर्ण भूमिका रहने बताए । उनले सैनक कल्याणकारी कोषमार्फत हिताधिकारीहरु लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन भइरहेको र उक्त रकमलाई आयमूलक क्षेत्रमा लगानी गरी शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई क्रमशः विस्तार तथा सेवामुखी बनाउन कल्याणकारी बोर्ड तथा सैनिक कल्याणकारी निर्देशनालयले नयाँ चिन्तनका साथ भूमिका निर्बाह गर्दै आएको जानकारी दिए । कार्यकारी निर्देशक तण्डुलले ‘स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम तथा व्यावसायिक सीप विकास कार्यक्रम’ अवकाश प्राप्त सैनिक र परिवारमा लोकप्रिय रहेको बताए । उनका अनुसार सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट हालसम्म अवकाश प्राप्त तथा एकल महिलातर्फ २३ हजार ५८ र बहालवालातर्फ नौ हजार नौ सय ८५ गरी कूल ३३ हजार ४३ जनाले सात अर्ब ४५ करोड ७७ लाख ७५ हजार रुपैयाँ सुलभ व्याज दरमा कर्जा सुविधा हासिल गरेका छन् जसमध्ये महिला उद्यमशीलता कर्जातर्फ मात्र हालसम्म अवकाश प्राप्त सैनिकका परिवार तथा एकल महिलातर्फ एक हजार नौ सय ४७ र बहालवाला सैनिकका परिवारतर्फ एक हजार एक सय ६५ जना गरी जम्मा तीन हजार एक सय १२ जनाले दुई अर्ब ४६ करोड ६४ लाख ३० हजार रुपैयाँ कर्जा सुविधा लिइरहेका छन् । सेनाले गरिरहेका विभिन्न काम, कारबाहीका बारेमा अवकाश प्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपूसैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपूसैनिक सम्मेलन गरिँदै आएको सेनाले जनाएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा विभिन्न जिल्लाबाट अवकाश प्राप्त सकल दर्जाको उपस्थिति थियो । सो सम्मेलनमा एकै परिवारबाट चारजनाभन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका आमा-बुबालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली सेनाद्वारा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । रासस
एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो तर सो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नुपरेको गुनासो छ । यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएको जनाइएको छ । मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिए । ‘तपाईंहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भए पनि एक महिनाभित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु’, उनले भने । मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई-बीमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्याङ्क राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो । रासस
एनडीपीसीको अध्यक्षमा झबिन्द्रलाल उपाध्याय नियुक्त
काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) को अध्यक्षमा झबिन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गते बसेको ६३औं बोर्ड बैठकले उपाध्यायलाई एनडीपीसीको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षले गत फागुन ३० गते नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन् । शपथ लिँदै अध्यक्ष उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफू उत्साहित भएको बताए । ‘नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र यूएसएसडी (अफलाइन) मोड जस्ता सुविधाहरूद्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ। हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोगद्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं ।’ उनले भने । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न यस वालेट सेवाको उद्देश्य रहेको छ ।
चैत ५ मा एईसीसीको निःशुल्क एजुकेसन फेयर
काठमाडौं । शैक्षिक परामर्श सेवा क्षेत्रको अग्रणी संस्था एईसीसीले भदौ ५ गते निःशुल्क ‘अष्ट्रेलिया र क्यानाडा एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । यस शैक्षिक मेलामा प्लस टू तथा ब्याचलर्स अध्ययन सकेका तथा सक्न लागेका विद्यार्थीले अष्ट्रेलिया र क्यानडाका १५ भन्दा बढी विद्यालयबाट सतप्रतिशतसम्म छात्रवृत्तिका लागि वास्तविक जानकारी प्राप्त गर्न सक्नेछन् । यो मेला एईसीसीको डिल्लीबजारस्थित कार्यालय रहेको सनराइज बिज पार्क भवनको नवौं तलामा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आयोजना हुनेछ । यो मेलामा निःशुल्क परामर्श सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट
बनेपा । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धमा आइतबार नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्र अनुसार नेपाल एसबिआई मर्चेण्टले लघुवित्तको सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कामहरु गर्ने छ । साविक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रियस्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।
टेलिकमका प्राविधिक अधिकृतविरुद्ध मुद्दा दायर, करोडौं रकम भ्रष्टाचार गरेको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध मुद्दा दायर गरेको छ । सिटौलाले साढे एक अर्ब बढीको रकम भ्रष्टाचार गरेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर सिटौलाले कानूनी प्रावधान वितरीत टेलिकमको विना स्वीकृति निजी कम्पनी हिमडुङ्ग एण्ड थोकर कन्स्ट्रक्सनको सेयर खरिद गरी संस्थापक सेयरधनी बनी कम्पनीको निर्देशकको हैसियतमा उक्त कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पारिश्रमिक बुझिएको पाइएको छ । साथै, उक्त कम्पनीको रिजर्भमा रहेको नाफाबाट प्राप्त एक करोड १६ लाख रुपैयाँ आय समेत गरी कूल एक करोड ६१ लाख रुपैयाँ गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको आयोगले पुष्टि गरेको बताएको छ । त्यसैले, आयोगले निज सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।