विकासन्युज

जापानकी विदेशमन्त्री योको आज काठमाडौं आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै उनी आजै काठमाडौंबाट टोकियो फर्किने कार्यक्रम छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा १ लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ । नेपाल–जापान सम्बन्ध नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आएका थिए । नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी भन्छन्, ‘नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस् । नेपालको आर्थिक–समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ ।’ जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन् । राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउँछन् । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरूको उल्लासमय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरूको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरूलाई आफ्नो पेसामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताएका थिए । कम्पनीका नायब महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि भन्दै आफ्नो पेसामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गरे । कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्तालाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा बिक्री कलासम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरुमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुती रहेको थियो । उनले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गरे।

भानुका ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिने

तनहुँ । तनहुँको भानु नगरपालिकाले ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र प्राप्त गरेका, आश्रित परिवार, बेपत्ता, सहिद परिवार र बालगृहमा रहेका बालबालिकाको बीमा गरिदिन लागिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगरपालिकाले निःशुल्क स्वस्थ्य बीमा गर्न कार्यविधि तयार गरी स्वस्थ्य बीमा प्रक्रिया अघि बढाएको र सो कार्यक्रमका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उपप्रमुख उमा गोतामेले बताइन् । बेपत्ता पारिएका र सहिद परिवारलाई पनि स्थानीय सरकारको प्रत्यभूति दिलाउन बीमाको कार्यक्रमलाई प्राथामिकता दिइएको भानु नगरप्रमुख त्रिपाठीले जानकारी दिए ।

धुञ्चे-गोसाइँकुण्ड केबुलकार निर्माणमा ओलीको जोड

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणमा जोड दिएका छन् । नेकपा एमाले रसुवा जिल्लाको नवौँ अधिवेशनको आज धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबुलकार आवश्यक रहेको बताए । केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उनको भनाइ थियो । समृद्व नेपाल सुखी नेपालीको नारालाई शीरोपर गर्दै समयअनुसार जनतालाई फलदायी हुने विकासकार्यमा अगाडि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकासका कुरा छाडेर व्यक्ति वा समुदायमाझ विखण्डनकारी क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले केरुङ–काठमाडौं रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमुनाका रूपमा आफूले सुरु गराएको सिस्नेखोला दहचोक काठमाडौं सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेकाले अब छिट्टै सवारीसाधन आवतजावत हुने विश्वास व्यक्त गरे । एमाले रसुवा अध्यक्ष कर्नेल तामाङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा रक्षामन्त्री एवं एमाले केन्द्रीय सदस्य हरि उप्रेतीले पार्टी अध्यक्षको नेतृत्व र निर्देशनमा शिक्षा, स्वास्थ्य, कृषि, सडक सुधारलगायत राष्ट्रहितका कार्य अगाडि बढाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा पार्टीलाई योगदान गर्ने गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, संविधानसभा सदस्य छोवाङतेञ्जिङ तामाङलगायत नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले केही वर्षअघिदेखि प्रस्ताव अगाडि बढाए पनि कार्यविधि पारित नहुँदा सो प्रस्तावले मूर्तरूप लिनसकेको छैन । अध्यक्ष ओलीको स्थलगत भ्रमणपछि कार्यविधि पारित हुन सघाउपुग्ने विश्वास व्यक्त गरिएको छ ।

काठमाडौं उपत्यकाका यी क्षेत्रमा एक साता बिजुली काटिने

काठमाडौं । विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती गर्ने भएको हो । गोठाटार फिडरअन्तर्गत गोठाटारको फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा आइतबार विद्युत आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । यस्तै, सोमबार कालीमाटी र रिगमेन फिडरअन्तर्गत कुलेश्वर वितरण केन्द्रको सोल्टीमोडदेखि रवीभवनसम्म ३ घण्टा विद्युत प्रवाह हुने छैन । गोठाटार फिडरअन्तर्गत नै मंगलबार फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म लाइन काटिने भएको छ। यस्तै ताहाचल र चौमती फिडरमा पर्ने छाउनी आर्मी अस्पताल क्षेत्रमा बुधबार विद्युत कटौती हुने जनाइएको छ। प्राधिकरणले बिहीबार गोठाटार फिडरअन्तर्गत नै तेजविनायक चोकदेखि मानटार चोकसम्म विद्युत लाइन काटिने जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार मच्छेगाउँ फिडरअन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म विद्युत कटौती हुनेछ।

पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन पहल गर्छु : मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा आफू लागिपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले मिडिया काउन्सिललगायतका मिडियासँग सम्बन्धित कानुनहरू छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने आश्वासन दिए । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा पनि आफूले सक्दो पहल गर्ने मन्त्री गिरीको भनाई थियो । उनले नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरूसँगै महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै त्यसको संस्थागत विकासमा पनि उत्तिकै चनाखो भएर लाग्नुपर्ने खाँचो औँल्याए । ‘श्रमजीवी पत्रकार ऐन बन्यो । कार्यान्वयन भएको छैन । सही हो । यसमा के कमी छन्, यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो रु यस विषयमा पनि मैले आफ्नो ठाउँबाट पहलकदमी लिनेछु । अब मिडिया काउन्सिल विधेयकको कुरा छ । यसको अलावा मिडियासँग सम्बन्धित ५÷६ वटा विधेयकहरू छन् । ती विधेयकहरूको अवस्था हेरेर त्यसलाई छिटो समितिहरूमा लैजाने, समितिहरूबाट छिटो टुङ्ग्याउने, अगाडि बढाउने कुराको सन्दर्भमा पनि मैले अलिकति विशेष ध्यान दिएर काम गर्ने साथीहरूको बिचमा पनि म अनुरोध गर्न चाहन्छु,’ मन्त्री गिरीले भने, ‘नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा मिडियाको योगदान धेरै ठूलो छ । राजनीतिक दल सँगसँगै मिडियाहरूको भूमिका त्योभन्दा बढी ओजपूर्ण छ । यसलाई संस्थागत बनाएर लैजाने दायित्व पनि हामी सबैको हो । अब मिडिया क्षेत्रका लागेका साथीहरूको न्यूनतम पारिश्रमिक अव रिभ्यु हुनुपर्‍यो । त्यसका लागि केही कामहरू भएका छन् । न्यूनतम पारिश्रमिकको स्केल बढाउने कुरामा मैले पनि मेरो ठाउँबाट गर्ने योगदान गर्नेछु । त्यसका लागि म पनि गम्भीरतापूर्वक लाग्नेछु । म साथीहरूलाई यो कुरा पनि राख्न चाहन्छु ।’

‘आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दशौँ पूर्ण बैठकमा उनले विगतका नीति तथा कार्यक्रम र बजेटबाट शिक्षा लिँदै आगामी आवको नीति कार्यक्रम र बजेटलाई अघि बढाइने बताए । ‘उत्पीडित, गरिबलाई कसरी उकास्न सक्छौँ, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै माओवादीका मुख्य सचेतक हितराज पाण्डेले भने । प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचकमा सबैभन्दा पछाडि परेका वर्ग तथा क्षेत्रलाई कसरी राज्यको मूलप्रवाहमा ल्याउन सकिन्छ भन्नेबारेमा पनि सुझाव दिन आग्रह गरेका थिए । बैठकमा संसदीय दलका नेता दाहालले अहिलेको नीति तथा कार्यक्रम र बजेट कसरी अघि बढ्छ र त्यसका लागि के–के गर्नुपर्छ, सरकारले कसरी सोचिरहेको छ भन्नेबारेमा निर्देश गरेको मुख्य सचेतक पाण्डेले जानकारी दिए । प्रधानमन्त्री दाहालले अर्थमन्त्रीसहित माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई दलका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदसँग अन्तरक्रियासहित सुझाव लिन निर्देशन दिएका थिए । ‘मधेस (हुलाकी राजमार्ग आसपासका क्षेत्र), कर्णाली, दलित, उत्पीडित जातिलगायतलाई उकास्ने गरी सुझावलाई केन्द्रित गरिदिनुहोस्,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै उनले भने । प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड पुग्ने गरी नीति कार्यक्रम र बजेटमा सुझाव दिन आग्रह गरे । विभिन्न क्षेत्रका विज्ञ तथा जनताको बीचमा प्राप्त सुझावलाई पार्टीका माध्यमबाट सरकारसमक्ष पुर्याउन अनुरोध गरे । बैठकमा सांसदहरूले जनतामा विश्वास पैदा गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका थिए । ‘अहिलेको आर्थिक अवस्था, स्रोतको अपर्याप्तता र जनताको अपेक्षालगायत बारेमा सांसदले सुझाव दिनुभएको छ,’ उनले भने । मुख्य सचेतक पाण्डेले यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को चौथो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने, विधेयकलाई विषयगत समितिबाट पारित गर्न जोड दिने बैठकको निर्णय रहेको जानकारी दिए । संसद्लाई बिनाअवरोध सञ्चालन गर्न सत्ता साझेदार दलसँग पनि छलफल गरिने जानकारी दिँदै उनले प्रमुख प्रतिपक्षी र विपक्षी दलसँगको छलफलबाट निष्कर्षमा पुगिने बताए ।

८५ प्रतिशत जापानी सामाजिक सञ्जाल नियमनको पक्षमा

टोकियो । हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानी जनताले गलत सूचना, मानहानि र अन्य दुर्भावनापूर्ण अभ्यासहरू फैलिनबाट रोक्न सामाजिक सञ्जाल साइटहरूका लागि नियमहरू आवश्यक रहेको छ भन्ने विश्वास गरेको देखाएको छ । मेलमार्फत असाही शिम्बुनले जापानको संविधान स्मृति दिवसका अवसरमा शुक्रबार जारी गरिएको सर्वेक्षणमा पहिलो पटक एक्स, फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल साइटहरूका लागि नियमहरूबारे प्रश्नहरू सोधेको थियो । राष्ट्रव्यापी सर्वेक्षणले केवल ११ प्रतिशत उत्तरदाताले सामाजिक मिडिया नियमहरू अनावश्यक रहेको भनेको छ । नियमहरूको पक्षमा हुनेमध्ये ६७ प्रतिशतले कानुनी कारबाहीहरू लिनुपर्छ भनेका छन् भने ३० प्रतिशतले व्यवसाय र अन्यहरूद्वारा स्वैच्छिक कार्यहरूलाई प्राथमिकता दिएका छन् । सामाजिक सञ्जालमा प्रयोगकर्ताको रुचिअनुसारको जानकारी स्वचालितरूपमा प्रस्तुत गर्ने विशेषता छ । तसर्थ प्रयोगकर्ताहरूले रुचिअनुरूप नभएका धेरै जानकारी गुमाउन सक्ने असाही शिम्बुनले रिपोर्ट गरेको छ । सर्वेक्षण उत्तरदातामध्ये ८० प्रतिशतभन्दा बढीले चुनावमा गलत सूचनाको प्रभाव र अरूविरुद्ध मानहानिको बारेमा चिन्ता व्यक्त गरेका थिए । के तपाईंलाई राजनीति र समाजमा फरक दृष्टिकोण प्रस्तुत गर्नु राम्रो हो जस्तो लाग्छ रु भन्ने प्रश्नमा ६९ प्रतिशतले ‘लाग्छ’ र २२ प्रतिशतले ‘लाग्दैन’ भनेको छ । द्वन्द्व परित्याग गर्ने संविधानको धारा ९ को सम्भावित परिमार्जनका सम्बन्धमा ६१ प्रतिशतले यसलाई यथावतै छोड्नुपर्ने बताएका छन् भने र ३२ प्रतिशत संशोधनको पक्षमा रहेका थिए ।