विकासन्युज

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन् । उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गेर । सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यावपार अभिवृद्धिका लागि कनेक्टिभिटी, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए । ‘कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ । पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिहरूमा संकुचन प्रदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ’, उनले भने, ‘आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ । म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु ।’ मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए । नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौंमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले पर्यटन, जलविद्युत र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी आउने वातावरण बनाउन एडीबीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वास आफूहरुले गरेको बताए । एसियाली विकास बैंकले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै मरासिनीले विकास यात्रामा भरपर्दो साझेदार भएकामा कृतज्ञता व्यक्त गरे । पछिल्लो दशकमा नेपालले सामाजिक समावेशीकरण र आर्थिक विकासलाई सँगै अगाडि बढाएको उनको भनाइ थियो ।

किन खस्किदैछ शिक्षा क्षेत्रको वृद्धिदर ?

काठमाडौं । शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर वर्षेनि घटिरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांककाअनुसार शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर प्रत्येक वर्ष घट्दै गएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म शिक्षा क्षेत्रको वृद्धिदर २.७१ प्रतिशत हुने कार्यालयको अनुमान छ । जुन वितगका वर्षहरूको तुलनामा एकदमै न्यून हो । राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार आर्थिक वर्ष २०७९/०८० मा शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९ प्रतिशत थियो भने आव २०७८/०७९ मा ४.६६ प्रतिशत र आव २०७७/०७८ मा ३.९२ प्रतिशत रहेको थियो । यस्तै, आव २०७६/०७७ मा ३.२० प्रतिशत, आव २०७५/०७६ मा ५.९८ प्रतिशत, आव २०७४/०७५ मा ५.८३ प्रतिशत, आव २०७३/०७४ मा ७.२१ प्रतिशत र आव २०७२/०७३ मा ७.१५ प्रतिशत वृद्धिदर थियो । सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता राखेको बताउँदै आए पनि यस क्षेत्रको वृद्धिदर भने वर्सेनि घट्दै गएको देखिन्छ । यसले सरोकारवालाहरूलाई चिन्ता थपेको छ भने सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन सकेको बुझाइ धेरैको छ । पूर्वसचिव गोपिनाथ मैनाली नेपालको शिक्षा प्रणाली र पद्दती सीपयुक्त र गुणस्तरीय नहुँदा वृद्धिदर पनि वर्सेनि घट्दै गइरहेको बताउँछन् । शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति अभाव तथा पूर्वाधारको अभावले पनि वृद्धिदर घट्दै गइरहेको उनको भनाइ छ । शिक्षालाई अर्थतन्त्रमा मूल्यांकन गर्न मानव संसाधन विकासको पक्षबाट हेर्नुपर्ने उनको धारणा छ । मानव संसाधन विकासले जनशक्ति सक्षम हुने र त्यसले अर्थतन्त्रमा पनि योगदान पुर्याउने उनको तर्क छ । ‘नेपालमा सेवा क्षेत्रको वृद्धिदर बढ्दै गएको छ, शिक्षालाई पनि सेवा क्षेत्रमा लिने गरिन्छ । तर, शिक्षामा सीपयुक्त जनशक्ति छैन, एकै संस्थामा रहेर लामो समय पढ्न सकिने अवस्था छैन, नयाँ संस्थाहरू खुल्ने क्रम पनि केही समयदेखि रोकिएको छ, त्यसले पनि वृद्धिदर कम हुँदै गएको हुन सक्छ,’ उनले भने । नेपालको शिक्षा प्रणालीले काम पाउन समस्या भएको भन्दै विद्यार्थी विदेश जाँदा पनि त्यसको असर वृद्धिदरमा देखिएको उनको बुझाइ छ । उनी सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्न तर्फ ध्यान दिन नसकेमा, रोजगारी सिर्जना तथा स्वरोजगार बन्ने कार्यक्रम ल्याउन नसकेमा र विद्यार्थीलाई आकर्षण गर्न सकेन भने आगामी दिनमा थप वृद्धिदर घट्दै जाने र शिक्षा क्षेत्रको अस्तित्वमाथि नै प्रश्न उठ्ने वातावरण बन्न सक्ने धारणा उनको छ । शिक्षाविद्हरू घट्दै गइरहेको वृद्धिदरले चिन्तित छन् । शिक्षाविद् विद्यानाथ कोइराला सरकारले शिक्षालाई जोड्ने कला नजान्दा यो स्थिति सिर्जना भएको बताउँछन् । उनी विद्यार्थीलाई सीप सिकाउन नसक्दा र अनुसन्धानतर्फ जोड नदिँदा यो हालत भएको धारणा राख्छन् । शिक्षा सिकेपछि अनुसन्धान गर्नुपर्ने रहेछ । तर, हामीले त्यसतर्फ ध्यान नै दिएनौं, हाम्रो सिकाइ र पढाइ कसले के भनेको छ । र, कसको सिद्धान्त के छ भन्नेमा नै केन्द्रित भयो, त्यसलाई व्यवहारमा पनि उतार्न सकेनौं, यसले हामीलाई माथि उठ्न दिएन, ‘उनी भन्छन्, ‘त्यस कारण पनि उत्पादकत्व घट्दै गएको हो ।’ सुदूरपश्चिम प्राध्यापक संघका अध्यक्ष राजेन्द्र चन्द सरकारले शिक्षा क्षेत्रलाई कम प्राथमिकता दिएकै कारण वृद्धिदर पनि घट्दै गएको बताउँछन् । ‘सरकारले जे जति बजेट विनियोजन गरेर शिक्षा क्षेत्रको सुधारका लागि काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन,’ उनी भन्छन्, ‘विद्यार्थी, अभिभावक, शिक्षक र सरोकारवालाहरूमा पनि यो क्षेत्रप्रति नैराश्यता बढेको छ, शिक्षा क्षेत्रको वृद्धिदर यो किसिमले घट्नु विडम्बना हो,’ शिक्षा क्षेत्रको वृद्धिदर घट्नु भनेको सबै क्षेत्रमा समस्या सिर्जना गर्नु हो ।’ उनकाअनुसार राष्ट्रिय तथ्यांक कार्यालयले योगदान बढेको देखाउनुले विभिन्न विश्वविद्यालय तथा कलेजका भौतिक पूर्वाधारहरू निर्माण भएको बुझ्न सकिन्छ । तर, लगानीकर्तामा शिक्षा क्षेत्रमा लगानी गर्ने र यसबाट प्राप्त गर्ने प्रतिफल संकुचित भएर पनि वृद्धदर घटेको हुन सक्ने उनको बुझाइ छ । सरकारले शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गरेर यो क्षेत्रलाई थप गतिशील र चलायमान बनाउन आवश्यक रहेको उनकोा भनाइ छ । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देल भने शिक्षा क्षेत्रको वृद्धिदर घटेपनि योगदान बढ्नु सकारात्मक विषय रहेको बताउँछन् । उनी विद्यार्थी संख्या र सरकारले शिक्षा क्षेत्रमा गरेको खर्चका आधारमा कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको बताउँछन् । पछिल्लो समयमा निजी विद्यालयमा विद्यार्थी घटेका छन् भने सरकारी विद्यालयमा बढेका छन्, सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढेसँगै सरकारी शिक्षातर्फ सरकारको लगानी पनि बढ्छ, अंकको तुलना नगर्ने हे भने सरकारी क्षेत्रको ग्रोथ सन्तोषजनक छ, निजी र सरकारीलाई औसत गर्दा केही कम देखिएको हो,’ उनी भन्छन्, ‘चिन्ताजनक अवस्था भने छैन ।’ योगदान भने बढ्दै वर्सेनि कुल मूल्य अभिवृद्धि वृद्धिदर घटेपनि अर्थतन्त्रमा शिक्षा क्षेत्रको योगदान भने बढ्दै गएको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको अुसारसम्म कुल अर्थतन्त्रमा शिक्षा क्षेत्रको योगदान ८.५ प्रतिशत हुन सक्ने अनुमान कार्यालयको छ । आर्थिक वर्ष २०७९÷०८० मा कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८.३४ प्रतिशत थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ७.९४ प्रतिशत, आव २०७७/७८ मा ७.९९ प्रतिशत, आव २०७६/७७ मा ८.४१ प्रतिशत, आव २०७५/७६ मा ७.५३ प्रतिशत योगदान शिक्षा क्षेत्रको थियो । आर्थिक वर्ष २०७४/७५ मा ७.२९ प्रतिशत, आव २०७३/७४ मा ७.२७ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा कुल अर्थतन्त्रमा शिक्षा क्षेत्रको योगदान ६.८९ प्रतिशत रहेको थियो ।

दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न

काठमाडौं । राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको ‘दोस्रो पठाओ फूड फेस्ट २०२४’ दुई लाख ६० हजार भन्दा बढी अर्डर डेलिभरी गर्दै सम्पन्न भएको छ । फेस्ट सकिएपनि ग्राहकलाई अझै आकर्षित गर्न छुट मूल्यमा ९९ अफर सुरू गरिएको पठाओले जनाएको छ । जसअन्तर्गत बढी मूल्यका परिकारहरू ९९ रुपैयाँमै उपलब्ध छन् । चैत अन्तिम हप्तादेखि यही वैशाख २१ दिनसम्म सञ्चालन भएको फेस्टको बम्पर प्राइजमा भाग्यशाली विजेता सन्ध्या कार्कीले आइफोन १५ जित्न सफल भएकी छन् । पठाओले साप्ताहिक तथा बम्पर विजेता छनौट फेस्टको समयमा धेरै अर्डर गर्ने ग्राहकहरू मध्येबाट चयन गरेको बताइएको छ । त्यसैगरी शीर्ष दुई पठाओ हिरो गंगाबहादुर राई र वीरेन्द्र बहादुर सिंहले भने उपहारका साथै प्यांक बाइक्सका तर्फबाट एकरएक वटा साइकल समेत जितेको कम्पनीकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । फूड फेस्टमा मेहनत गर्ने शीर्ष ३८ पठाओ हिरोलाई कम्पनीले मजदुर दिवसका अवसरमा पुरस्कृत समेत गरेको थियो । ‘कम्पनीले यसअघि सञ्चालन गरेका अन्य क्याम्पेनको तुलनामा यसपटक रेष्टुराँमा अर्डर लिनेको संख्या उल्लेख्य भएको पाइयो’, हमालले भनिन् । साथै पठाओ हिरोहरुको मासिक कमाइ औसतमा ४० हजारसम्म हुने गरेकोमा फेस्ट अवधिमा भने ५० हजार रुपैयाँसम्म कमाएको हमालले बताइन् । साथै ग्राहकले हरेक अर्डरमा प्राप्त हुने सिओर सट स्क्राच कार्डमा पार्टनर तथा रेष्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचर समेत प्राप्त गरेका थिए । यस अवधिमा फुड आर्डर गर्ने ग्राहकले धुलिखेल जिपलाइन, चन्द्रागिरि प्याराग्लाइडिङ, बेलुन नेपाल, गितार सप, इना सेन्टर, यति एयरलाइन्स, सिजी इन्टरनेट, प्याङ्क बाइक, डोल्पो, अल्टिमा, माक्कुसे, मिशिसा, जिभी, ब्लेस, मिनिसो, र्‍याप्सी, न्यू–मिउ, ऊप्स, क्यूबेक्सबाट भौचर एवं उपहार समेत प्राप्त गरेका छन् । साथै हरेक साता सबैभन्दा धेरे अर्डर गर्ने भाग्यशाली ग्राहकलाई ३० सेकेन्डका लागि मिनिसोको विभिन्न आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क सपिङ गराइएको थियो । पठाओ हिरोहरुले स्मार्ट वाच, पावर बैंक, एयर वड्स, ज्याकेट तथा ट्राउजर, टि–सर्ट, चस्माका साथै जिपलाइन भौचर, प्याराग्लाइडिङ भौचर लगायतका उपहारसँगै रेष्टुराँ छुट भौचर एवं १० हजार, २५ सय, दुई हजारका क्वेस्ट भौचर उपहार जितेका छन् ।

एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयमा पुस्तकालय भवन हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरु निर्माण गरेको हो । बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहु जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाको लागि बैंकले सम्बन्धित विद्यालयहरुलाई उक्त पुस्तकालय हस्तान्तरण गरिसकेको छ । त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवनहरु निर्माण कार्य भइरहेको, साथै, बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रकृया अगाडि बढिसकेको छ । बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड १३ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सिटिजन लाइफले सेयर धनीलाई २८.४ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर प्रिमियम रकमबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ। इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धि गर्नका लागि उक्त लाभांश वितरण गर्न लागेको बताएको छ ।

चोरले एक तोला सुन निलेपछि…

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरिएको थियो । तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो’, सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो । गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए । रासस

१० करोड रुपैयाँ क्षतिपूर्तिको मुद्दामा समाचारको स्रोत खुलाउन दबाब

समाचार लेख्दा बेला बखत विवादमा परिन्छ । कतिपय सन्दर्भमा पत्रकारका पनि गल्ती तथा कमजोरी हुन्छन् । धेरै सन्दर्भमा समाचारको विषयमा जोडिएका पात्रहरु आक्रोशित हुँदा ती पात्रहरु पत्रकार तथा सम्पादकमाथि जाइलाग्दा विवाद उत्पन्न हुन्छ । यसरी उत्पन्न विवादहरु मध्ये धेरै जसो विवाद समाजमा हुने अन्य विवाद जस्तै समय बित्दै जाँदा साम्य हुँदै जान्छन् । कतिपय विवाद अदालतसम्म पुग्छन् । अदालतबाट अधिकांश पत्रकारले सफाइ पाएका हुन्छन्, केही मुद्दामा पत्रकार दोषी ठहरिएका नजिरहरु पनि छन् । २०७५ असोजमा एक दम्पत्तीको सम्बन्ध विच्छेद र सम्पत्ति विवादबारे समाचार देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित भयो । सम्बन्ध विच्छेद र सम्पत्ति मागसहित अदालत पुगेकी ती महिला प्रकाशन गृह विकास मिडिया प्रालिका अध्यक्ष तथा देशविकास पत्रिकाका सम्पादक रामकृष्ण पौडेल र विकासन्युजका तत्कालीन सम्पादक बाबुराम खड्काविरुद्ध मुद्दा हालिन् । मुलतः मानहानिको विषय मुद्दामा उठाइएको थियो । साथै, १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरिएको थियो । विवाद नरुचाउने पात्रको हिसाबले मैले मुद्दा फिर्ता लिन ती महिला र उनका वकिललाई अनुरोध गरेँ । झगडिया पक्षले प्रकाशित समाचार अनलाइनबाट हटाउन, माफी माग्न र समाचारको स्रोत खुलाउन सर्त राख्यो । सम्बन्ध विच्छेद र अंशवण्डाको मुद्दा अदालतमा परेकोले सार्वजनिक र समाचारको विषय भएको बनेको थियो । अदालतमा दुबै पक्षले पेश गरेको लिखित दावीहरुको प्रतिलिपि हामीसँग थियो । समाचार गल्ती नभएकोले माफी माग्ने पनि सकिएन । समाचार हटाउने त कुरै भएन । समाचार स्रोत खुलाउने विषयमा पनि म असहमत भएँ । मुद्दा हाल्ने महिला पक्षको वकिल वरिष्ठ अधिवक्ता थिए । उनले विषय राम्ररी बुझेका थिए । वकिलले आफ्ना ग्राहक (ती महिला) मञ्जुर भएमा मुद्दा फिर्ता लिन सकिने जनाऊँ त दिए । तर, महिलाले अन्तिममा एउटा सर्त राखिन् र भनिन्-‘समाचार कसले दियो, स्रोत खुलाएमा मुद्दा फिर्ता लिन्छु ।’ तीन जना एउटा टेबुलमा बसेर समझदारीको प्रयास गर्दै थियौं । स्रोत खुलाउनै पर्ने सर्तमा उनी अडिक रहिन् । मैले स्रोत खुलाउन मानिनँ । ‘पत्रकारलाई समाचारको स्रोत खुलाउन अदालतले पनि बाध्य पार्दैन । जुनदिन पत्रकारले समाचार स्रोत खोल्छ, त्यो दिनदेखि ऊ पत्रकार रहँदैन । बरु मुद्दाको सामना गर्छु, स्रोत खुलाउँदिनँ,’ मैले अडान छोडिनँ । ती वरिष्ठ अधिवक्ताले आफ्नो ग्राहकलाई सम्झाउँदै भने, ‘रामकृष्णजीले जे भन्नुभयो, त्यो सही छ । स्रोत खुलाउनुहोस् भनेर म पनि उहाँलाई दबाब दिने पक्षमा छैन ।’ वकिलले यसो भनेपछि ती महिला केही नरम भइन् । उनले समाचार खण्डन गर्न माग गरिन् । ‘खण्डनमा के छाप्ने ? तपाई‌ लेखेर पठाउनुहोस्, त्यसलाई म जस्ताको तस्तै छाप्छु’ मैले सहमति दिएँ । अन्तिममा उनले खण्डन पठाइनन् । मुद्दा फिर्ता लिइन् । अन्तिममा समझदारीको बाटो रोजेको र मुद्दा फिर्ता लिएकोमा ती महिला र उनका वकिललाई अहिले पनि म धन्यवाद भन्न चाहन्छु । किनकी मैले अदालतमा अनावश्यक समय व्यतित गर्नु परेन । समाचारको बचाउ गर्दै न्यायको प्रक्रियामा समय र पैसा बर्बाद गर्नु परेन । तर, सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविल ढुंगानाले समाचारको स्रोत अदालतमा खोलेपछि र सूचना दिने राजकुमार तिमिल्सिना प्रहरी खोरमा परेपछि यो संस्मरण लेख्न र प्रकाशन गर्न सान्दर्भिक रह्यो । सिधाकुरालाई प्रकाशित सामाग्री हटाउन बाध्य पारिएका सबै प्रक्रिया र निणर्यप्रति स्वतन्त्र पत्रकारिता पक्षधर सबै दुःखी भएका छन् । तर, समाचार स्रोतलाई खोलेर सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकले जे गरे, त्यसले खोज पत्रकारितामा भयङकर र दीर्घकालीन प्रभाव पुर्‍याएको छ । समाचारको स्रोत खोल्न सकिँदैन भन्ने अन्तर्राष्ट्रिय अभ्यास हामीसामू धेरै छन् । पत्रकार आचारसंहिता २०७३ को दफा ८ ले पनि समाचारको स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । अहिलेसम्मका विभिन्न सार्वजनिक काण्डहरूमा स्रोत खेलाइएको छैन । बरु सञ्चार माध्यमको सम्पादकले राजीनामा दिएका छन्, स्रोत कमजोर भएर वा साे स्रोतको पूर्ण विश्ववास गर्दै जरिवानाको भागेदार भएका छन्। तर, उनीहरूले स्रोतको संरक्षण गरेका छन् । बरु आफू फसेका छन् तर स्रोतलाई बचाएका छन् । स्रोतको खुलाउनु भनेको खोज पत्रकारिता कमजोर बन्दै जानु हो । एउटा सञ्चार माध्यमको समाचारको ‘स्ट्रेन्थ’ नै स्रोत हो । सञ्चार माध्यमको प्रभावसमेत स्रोतको संरक्षणसँग सम्बन्धित छ । जब स्रोत किटान गर्दै हिँडिन्छ भने खोज पत्रकारिताको अस्तित्व कहाँ बाँकी रह्यो र।  

भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको शहीद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको ३४ लाख ५९ हजार रुपैयाँको लागतमा उक्त मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरूपमा क्षति भएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेटबाट मन्दिर जीर्णोद्धार गरिएको हो । मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले भक्तपुरको ‘एमबी एण्ड सन्स कन्स्ट्रक्सन’ सँग ठेक्का सम्झौता गरेको थियो । ‘पुरातत्व विभागले विनियोजन गरेको बजेटबाट मूल मन्दिरको साविकको स्वरूप नै कायम रहने गरी जीर्णोद्धारको काम सकिएको छ, त्यसबाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका काम भने मन्दिर संरक्षण समितिले आफँ गरिरहेको छ’, संयोजक खनालले भने । अर्लाङ्दी मन्दिर त्यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिर सयौँ वर्ष पुरानो रहेको मानिन्छ । ‘पुरातत्व विभागले गर्ने काम सबै सकिएको छ, मन्दिर बाहिर पहिरोले क्षति पु¥याएको थियो, अहिले पहिरो उकास्नेलगायतका काम धमाधम संरक्षण समितिले गर्दैछ’, उनले भने । संरक्षण समितिले चन्दा संकलन गरी मन्दिरको संरक्षणका साथै बाटो र धारा निर्माणको काम गरिरहेको छ । मन्दिर जीर्णोद्धार सम्पन्न भएसँगै ताक्लुङमा धार्मिक पर्यटकलाई जोड्न सकिने वडाध्यक्ष यामबहादुर थापाले विश्वास व्यक्त गरे ।