विकासन्युज

५० करोडसम्म वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपैयाँ सम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो सुरुवातसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास व्यक्त गरे । उनले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको बताए । नवीकरणीय ऊर्जा परियोजना, दिगो कृषि अभ्यास र नयाँ प्रविधिहरू अन्वेषण गरिरहेको जानकारी दिए । उनले नेपालले पेरिस सम्झौताप्रति सधैँ आफ्नो प्रतिवद्धता व्यक्त गरेको बताए । नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको बताए । प्रधानमन्त्री दाहालले यी लक्ष्य पूरा गर्नका लागि विदेशी साझेदारहरूबाट पर्याप्त मात्रामा लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता रहेको बताए । नेपाल सन् २०४५ सम्ममा शुन्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्न प्रतिवद्ध रहेको जानकारी दिए । ‘दिगो विकासको मान्यतामा, हाम्रो सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारमा हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको छ । स्रोत र क्षमताको अन्तर र जलवायु परिवर्तनले निम्त्याएको निरन्तर चुनौतीका बाबजुद पनि नेपालले सन् २०४५ सम्ममा शुन्य कार्बन परिदृश्यमा पुग्न प्रतिवद्ध छ । सन् २०२६ सम्ममा नेपालले एलडीसी वर्गबाट उत्तीर्ण हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने कुरा पर्याप्त मात्रामा लगानीबाट मात्रै सफल हुन सक्छ भन्ने मेरो विश्वास छ’, उनले भने । प्रधानमन्त्री दाहालले वृहत् समृद्धिका लागि नयाँ बाटोहरू खोलिरहेको उल्लेख गर्दै बढ्दो व्यापार र लगानी, पर्यटन, जनताबीचको सम्बन्ध, साझा नवप्रवर्तन र स्थायी मित्रताको माध्यमबाट नेपाल र इयुसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन तत्पर रहेको जिकिर गरे । मित्र राष्ट्रहरूबाट विदेशी लगानीलाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताए । लगानी प्रक्रियालाई सरल बनाउने, व्यवसायका लागि खुलापन सुनिश्चित गर्ने र नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढावा दिने नीतिहरू ल्याएको पनि जानकारी दिए ।

प्रभु बैंकका ग्राहकले काठमाडौं मोडेल अस्पतालमा छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौं मोडेल अस्पतालमा छुट पाउने भएका छन् । प्रदशनिमार्ग स्थित काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहकाबीच काठमाडौं मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाडौं मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ । नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाण्डू मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि काठमाण्डू मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । साथै काठमाण्डू मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

अस्ट्रेलियाको मुद्रास्फीति ३ प्रतिशतभन्दा कम हुने अनुमान

काठमाडौं । अष्ट्रेलियाको मुद्रास्फीति दर २०२४ को अन्त्य सम्ममा ३ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ । ट्रेजरीले जारी गरेको प्रक्षेपण अनुसार मुद्रास्फीति डिसेम्बरसम्म २.७५ प्रतिशत र २०२५ को अन्त्यसम्ममा २.५ प्रतिशतमा झर्नेछ । ट्रेजरी प्रक्षेपणहरूले मुद्रास्फीति अष्ट्रेलियाको रिजर्व बैंकको लक्ष्य ब्यान्डमा २–३ प्रतिशतको ब्यान्डमा फिर्ता आउनेछ देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको पछिल्लो तथ्याङ्कअनुसार मार्चको अन्त्यसम्मको १२ महिनामा मुद्रास्फीति ३.६ प्रतिशत थियो । जुन सन् २०२३ को डिसेम्बरको अन्त्यसम्ममा ४.१ प्रतिशत थियो । ट्रेजरी तथ्याङ्कले आगामी दुई वर्षको आर्थिक वृद्धि प्रक्षेपणलाई पनि डाउनग्रेड गरेको छ । कुल गार्हस्थ्य उत्पादन अब २०२४–२५ आर्थिक वर्षमा २ प्रतिशत र २०२५–२६ मा २.२५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । जुन डिसेम्बरको पूर्वानुमानमा २.२५ र २.५ प्रतिशतले घटेको छ ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कान्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रालिका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा भएको थियो ।

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । ‘अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ’, पुनले भने, ‘अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।’ केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ । स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए । एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए । वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताए । ‘गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जङ्गलमै आउँछन्’, पाइजाले भने, ‘भिरमहलाई बजारको समस्या छैन ।’ स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्‍याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओढारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरू बाहिर आउँछन् अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महसिकारी मनबहादुर चोचाङ्गीले बताए । रासस

घरजग्गामा देखिएन सुधार, साढे ४ अर्ब मात्रै राजस्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब २४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । देशभरिका विभिन्न मालपोत कार्यालयमा वैशाखमा ४९ हजार ७ सय ८३ घरजग्गा खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । यो रकम चैत महिनाको तुलनामा कम हो । सरकारले चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । रजिस्ट्रेसन दस्तुरबापत वैशाखमा २ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरबापत १ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ । वैशाखमा काठमाडौं, भक्तपुर र ललितपुरमा घरजग्गा कारोबारबाट १ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै ललितपुरको लगनखेलस्थित कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । उक्त कार्यालयबाट वैशाखमा ४६ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं डिल्लीबजारस्थित कार्यालयबाट ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रभु महालक्ष्मी लाइफको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बुधबार एक सूचना प्रकाशित गरी प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता, यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजितराज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी गराएको हो । यो सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनी सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।

सलिकोबाट देवेन्द्रले लिए भीआरएस, बरिष्मालाई कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । उनी सलिकोमा नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको २३औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मालाई कम्पनी सचिव नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीका कम्पनी सचिव देवेन्द्र कोइरालाले कम्पनीबाट लागु गरिएको स्वेच्छिक अवकास योजना (भिआरएस) मा सहभागी भई अवकाश लिएपछि रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्ति गरिएकाे हाे । कोइराला लुम्बिनी जनरल इन्स्याेरेन्समा धेरै वर्षदेखि कम्पनी सचिव थिए । सगरमाथा र लुम्बिनी मर्ज भएपछि कोइरालाले सगरमाथा लुम्बिनीमा पनि कम्पनी सचिवको जिम्मेवारी पाएका थिए ।