
खोटाङ । कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ ।
सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं. २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्ने गरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं.२०७५ असोज १ गते ठेक्का लिएको थियो ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भ्याटसहित २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्ने गरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो ।
मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुई वटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ ।
दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए ।
ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो ।
दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ ।
कालोपत्र भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए ।
‘अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब-बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरू अहिले पुनः गर्नुपर्यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ”, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन् । जेठ मसान्तभित्र कालोपत्रको सबै काम सकिन्छ ।’
अघिल्लो दुई वटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट १३ करोड ६९ लाख पाँच सय ३८ रुपैयाँ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले सात करोड २२ लाख तीन हजार चार सय ३५ रुपैयाँमा पेटी ठेक्का लिएको हो ।
सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६।२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक वि।सं।२०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए ।
निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं.२०७६ पुस ९ गते लिखितरूपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा/गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।