विकासन्युज

सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै

ढोरपाटन । कुश्मिसेरा–बरेङ सडकअन्तर्गत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलो उडाउँदै गाडी गुड्थे । दक्षिण बागलुङको मेरुदण्डका रुपमा रहेको यो सडक अहिले कालोपत्र भएको छ । ग्रामीण सडक कालोपत्र भएपछि हिजोआज गाउँमा छुट्टै रौनक छाएको छ । स्थानीयको दैनिकीसमेत सहज बन्दै गएको छ । विसं २०६५ देखि ट्रयाक खुलाउन सुरु गरेर विसं २०७० मा बरेङसँग जोडिएको यो सडक तीन खण्डमा स्तरोन्नति र कालोपत्र गर्न थालिएको हो । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि देवलधारासम्मको पहिलो खण्डको जिम्मा पाएको निर्माण व्यवसायी क्याराभान कन्स्ट्रक्सन लामो समय सम्पर्कविहीन बनेपछि अहिले बल्ल काममा फर्किएको छ । दोस्रो खण्ड राङ्खानी देवलधारादेखि बरेङ गाउँपालिका–१ लिउवासम्मको खण्ड कालोपत्र भइरहेको छ । अघिल्लो वर्षदेखि कालोपत्र थालिएको दोस्रो खण्ड यस वर्ष सकिँदैछ । राङ्खानदेखि बरेङसम्मको ११ किलोमिटर सडक पूर्वाधारसहित कालोपत्र गर्नका लागि विसं २०७८ साउनमा दुई वर्षमा कालोपत्र र घुम्ती सडकमा ढलान गर्नेगरी ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी/धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । गत वर्ष सात किमी सडक कालोपत्र र ढलान गरिसकिएको थियो भने यस वर्ष चार किमीको काम हुँदैछ । हालसम्म तीन किमी सडक कालोपत्र भइसकेको र एक किमी सडकमा काम गर्न बाँकी रहेको छ । उक्त सडक एक महिनामै सकिने पूर्वधार विकास कार्यालयका इञ्जिनियर प्रकाश श्रीसले बताए । बरेङ–१ लिउवादेखि अर्को खण्डका लागि नयाँ ठेक्का खुलाइएको उनको भनाइ छ । लिउवादेखि बरेङ बजारसम्मको सात किमी सडक कालोपत्रका लागि २० करोड रुपैयाँको ठेक्का आह्वान गरिएको इञ्जिनियर श्रीसले जानकारी दिए । इञ्जिनियर श्रीसले भने, ‘राङ्खानी क्षेत्रमा कालोपत्र भइसकेको छ, अघिल्लो र यो वर्ष गरी ११ किमी सडक कालोपत्र भएको छ, यो दोस्रो खण्ड हो, पहिलो खण्डमा लामो समय काम भएको थिएन, अहिले निर्माण कम्पनी काममा फर्किएको छ, तेस्रो खण्ड सात किमी पर्छ, त्यसका लागि नयाँ ठेक्का खोलिएर मूल्याङ्कनको चरणमा छौँ, केही समयमै तेस्रो खण्डको पनि काम सुरु हुनेछ, राङ्खानी खण्डको एक किमी बाँकी छ, अहिले धमाधम काम भइरहेको हुँदा एक महिनामै सकिन्छ ।’ बर्खाको समय राङ्खानी र बरेङ पुग्नका लागि निकै समस्या थियो । गाउँको सडक कालोपत्र भएपछि स्थानीयमा खुसी छाएको छ । सडक कालोपत्र भएपछि पालिकाको केन्द्र कुश्मिसेरासहित, बागलुङ, पोखरालगायका स्थानमा पुग्न सहज भएको जैमिनी–१० राङ्खानीका दलबहादुर श्रीसले बताए । यो सडक खुलेको दशक बढी हुँदा बल्ल कालोपत्र भएको भन्दै पक्की सडकले गाउँलेको जनजीवन फेरिने उनले बताए । सडक कच्ची हुँदा यात्रा र सामान ढुवानीमा निकै समस्या भएको स्मरण गर्दै अहिले घरै अगाडिको सडक कालोपत्र हुँदा विकासको अनुभूति भएको उनको भनाइ छ । सडक कालोपत्र भएपछि बजार जानआउन पनि चाँडो भएको श्रीसले बताए । ‘कच्ची सडकमा गाडी दगुर्दा धुलो सबै घरभित्रै आउँथ्यो, बजार झर्न पर्यो भने गाडीले झ्याक्दा शरीर दुख्ने समस्या, भाडा बढी तिर्नुपर्ने अवस्था थियो, अहिले सडक कालोपत्र भएपछि यात्रा गर्न निकै सहज भएको छ’, श्रीसले भने, ‘पहिले घण्टौँ लगाएर पुग्ने ठाउँमा अहिले एकै छिनमा पुग्न सकिन्छ, गाउँमा विस्तारै विकास आउँदै छ, आजभन्दा १०/१५ वर्ष अगाडि विकट जस्तै थियो यो ठाउँ अहिले हेर्दाहेर्दै सुगम बन्न थाल्यो, माथिपट्टीको सडक कालोपत्र भइसक्यो, तलतिरको अझै भएको छैन, सरोकारवाला निकायले कडाइ गरे त्यो खण्ड पनि चाँडै कालोपत्र हुने थियो ।’ जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले गाउँमा पुगेको कालोपत्र सडकले स्थानीयलाई आयआर्जनसँग जोड्ने बताए । यो सडकले जैमिनीको राङ्खानीलगायत अन्य गाउँलाई जोडेको हुँदा अब यहाँ उत्पादन हुने वस्तु सहजरुपमा बजार पुर्याउन सकिने उनको भनाइ छ । सडकको ट्रयाक खुलाउँदा यस क्षेत्रका नागरिकले ठूलो योगदान पुर्याएको भन्दै अब यातायातमा समस्या भोग्नु नपर्ने उपप्रमुख शर्मा बताउँछन् । पहिलो खण्डमा पनि निर्माण कम्पनी काममा फर्किएको हुँदा नगरपालिकाले समयमै काम सक्नका लागि ताकेता गरिरहेको उनको भनाइ छ । उपप्रमुख शर्माले भने, ‘गाउँमा विकास पुग्दैछ, यो सडक निर्माण भएको लामो समयपछि कालोपत्र भयो, अझै केही खण्डमा कालोपत्र गर्न बाँकी छ, अब गाउँबाट आउने गाडी रित्तो आउने छैनन्, गाउँमा उत्पादन भएका हरेक वस्तु बजारमा पुग्नेछन्, नागरिक उत्पादनसँग जोडिने छन्, त्यसका लागि नगरपालिकाले पनि सहजीकरण गर्नेछ, यात्रा गर्न निकै कठिन थियो, अहिले ११ किमी सडक कालोपत्र भयो, बाँकी अन्य खण्डको पनि काम सकियो भने बरेङदेखि बागलुङसम्म नै पक्की सडक बन्नेछ ।’ रासस

नेप्सेकाे वेबसाइटमा समस्या

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे वेबसाइटमा समस्या देखिएको छ । साताको पहिलो दिन कारोबार बन्द हुनुभन्दा केही समयअघि वेबसाइटमा समस्या  देखिएकाे हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेको साइटको सर्भर डाउन भएका कारण समस्या आएको हो । उनी भन्छन्, ‘साइटको सर्भर डाउन भएको हो, अन्य कामहरू भइरहेको छ ।’ समस्या छिट्टै समाधान हुने उनले बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षापछि सेयर बजारमा आज रौनक छाएको थियो ।

मेची भन्सारले संकलन गर्यो ११ अर्ब ५९ करोड राजस्व, २० अर्बको सामान निर्यात

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष एक करोड ८७ लाख १३ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने ‘पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ ।’ भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो । भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको वैशाखसम्ममा गत आवको तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो । निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ हरोड ७८ लाख १८ हजार मूल्य बराबरका सामग्री निर्यात भएको छ । रासस

संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले माग्यो समय

काठमाडौं । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच कार्यादेश (टीओआर) बारे छलफल भए पनि बुँदागत रूपमा सहमति जुट्न सकेको छैन । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित बनेको छ । कार्यदलका सदस्य नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार कार्यादेश बनाउने विषयमा नजिकदलहरू सहमति नजिकै पुगेका छन् । आइतबार बिहानदेखि सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि २० मिनेटको समय मागेको छ । संसदीय छानबिन समितिको कार्यादेश टुंगो नलगाई सदनका कार्यसूचीमा प्रवेश गर्ने नगर्ने कांग्रेसको अडान छ । कांग्रेसले गृहमन्त्रीको नाम, ठगीमा परेका सहकारीका नाम पनि उल्लेख गरिनुपर्ने विषय राखेको छ भने एमाले र रास्वपाले व्यक्तिको नाम नतोक्ने तर नाम जोडिएको सबै संस्थाको नाम उल्लेख हुने अडान लिइरहेका छन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

दमौली । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरयो । व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो । सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ । उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । यस वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षमा केही काम भएको थियो, तर अहिले पैसा पनि सकियो, काम रोकिएको छ ।’ चालु आर्थिक वर्षमा अब काम नहुने र वर्षा सकिएलगत्तै काम सञ्चालन गरिने आचार्यको भनाइ छ । आचार्यका अनुसार वर्षा सकिएलगत्तै स्टिलको काम सुरु गर्ने तयारी छ । हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको आचार्यले बताए । गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो । कार्यालय प्रमुख आचार्यका अनुसार हालसम्म आठ करोड रुपैयाँ बजेट निकासा भएको छ । एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ नौ दशमलव ५० मिटर रहनेछ । पाइल फाउण्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणपछि व्यास र ऋषिङका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ । अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटर दूरी पनि छैन । त्यहाँ हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो । उक्त आदेश पूर्णरुपमा पालन भएको छैन । हाल यहाँका सर्वसाधारणले झोलुङ्गे पुलबाट नै दुईपाङ्ग्रे सवारीसाधन वारपार गर्दै आएको स्थानीय दीपक थापाले बताए । झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको उनको भनाइ छ । स्थानीयले वर्षौंदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । काम सुरु हुँदा खुसी भएका यहाँका बासिन्दा अहिले कामले गति नलिँदा निराश छन् । लामो समयदेखि पुलको माग सङ्घीयता आएपछि गठन भएको प्रदेश सरकारले सम्बोधन गरेको थियो । रासस

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं । साइमेक्स इंकले एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा डेलिभरी गरिएकाे कम्पनीले जनाएको छ । सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो । ‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ।’

सिटिजन्स बैंकले बेनी अस्पताल म्याग्दीलाई दियो वाटर फिल्टर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बेनी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको छ । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको हुदाँ अस्पतालको सेवा प्रवाहमा केही हदसम्म सहजता होस भन्ने हेतुले बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको हो । बैंकको यस कार्यबाट सेवाग्राहिहरुलाई अस्पातालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमि आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

मान्म । कालीकोटको तिलागुफा नगरपालिका–१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ । अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो । कर्णालीको तराई भनेर चिनिएको चिल्खायाको माथिल्लो स्थानमा रहेको रुडुबन्चु अहिले प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । प्राकृतिक सम्पदाको सुन्दर भूमीका रूपमा रहे पनि संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार नहुँदा ओझेलमा पर्न थालेको तिलागुफा नगरपालिका–१० स्थानीय लोकबहादुर शाहीले बताए । तल्लो क्षेत्रमा रहेको उपत्यका जस्तो फाँट देखिने चिल्खायाको ज्यूला र त्यसैसँग जोडिएको रुडुबन्चु पाटन सबैको मन लोभ्याउने स्थान भएकाले यसको प्रवर्द्धन गरी पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ छ । ‘यो पाटन पशुपालनका लागि निकै महत्व मानिएको रुडुबन्चुमा यार्सागुम्बासमेत पाइने गरेको छ,’ शाहीले भने, ‘वर्षायाममा यो पाटनमा भेडाबाख्रा चराउँदा दृश्य निकै रमाइलो देखिन्छ ।’ रुडुबन्चु क्षेत्रको पर्यटन प्रवर्द्धनमा तिलागुफा नगरपालिकाले विशेष योजना बनाएको वडा नं १० का वडाध्यक्ष मुनबहादुर थापाले बताए । ‘पर्यटकीय प्राकृतिक सम्पदा र धार्मिक क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘चिल्खायाको रुडुबन्चु, तिलानदीको काखमा रहेको तिलागुफा, फोइमहादेवको खमाले गुफा, फुलवारी पाटन, स्याउले त्रिवेणी, महावै देवता फुर्केसल्लालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटकीय गतव्यका रूपमा विकास गर्ने योजना बनाएका छौँ ।’ रुडुबन्चु पर्यकीय हिसाबले सुन्दर पाटन मात्रै नभएर यहाँ जैविक विविधतासमेत रहेको तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । ‘विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा यस पाटनमा पाइन्छ,’ उनले भने, ‘यहाँ जडीबुटी, वनजंगल, विभिन्न जीवजन्तु पाइन्छन् । यसको संरक्षण र पर्यटकीयरूपमा प्रवर्द्धन गर्नसके यहाँको विकास र समृद्धिको आधार बन्ने थियो ।’ गाउँसँगै जोडिएको प्रचुर सम्भावना बोकेको चर्चित पर्यटकीयस्थल रुडुबन्चु पाटनलाई स्थानीय सरकारले चासो नदिँदा ओझेलमा पर्दै गएको स्थानीय मनबहादुर शाहीले बताए । ‘यो पाटनका विषयमा प्रचारप्रसार नगर्दा अहिले ओझेलमा परेको छ । यसको संरक्षण, प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यसका लागि तीनै तहका सरकारले नीति तथा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।’