भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात
काठमाडौं । विश्वबजारमा भारतमा बनेका स्मार्टफोनको माग बढिरहेको छ । यसै कारण स्मार्टफोन अब भारतको चौथो ठूलो निर्यात वस्तु भएको छ । भारतीय स्मार्टफोन निर्यात आर्थिक वर्ष २०२४ मा वार्षिक ४२ प्रतिशतले बढेर १५ अर्ब ६० करोड अमेरिकी डलर बराबर पुगेको छ । भारतले अप्रिल २०२२ देखि स्मार्टफोनका लागि छुट्टै डाटा संकलन गर्न थालेको थियो । पेट्रोलियम उत्पादनहरू भारतका शीर्ष निर्यात गरिएका वस्तुहरूमा पहिलो स्थानमा रहँदा स्मार्टफोनले मोटर पेट्रोललाई विस्थापित गरी वित्त वर्ष २०२४ मा चौथो ठूलो निर्यात गरिएको वस्तु बनेको छ । भारतीय वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार भारतले आर्थिक वर्ष २०२४ मा अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), नेदरल्यान्ड्स र इङ्ल्यान्डमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गरेको छ । अमेरिकामा स्मार्टफोन निर्यात १ सय ५८ प्रतिशतले बढेको छ । भारतबाट अमेरिकामा जम्मा ५ अर्ब ६० करोड डलर बराबरका स्मार्टफोन पठाइएको छ । त्यसपछि भारतबाट यूएई २ अर्ब ६ करोड डलर, नेदरल्यान्ड्स १ अर्ब २० करोड डलर र बेलायतमा १ अर्ब १० करोड डलर बराबर स्मार्टफोन निर्यात भएको छ । सेलुलर एन्ड इलेक्ट्रोनिक्स एसोसिएसन अफ इन्डिया (आईसीईए) को अनुमान अनुसार आर्थिक वर्ष २०२४ मा निर्यात र घरेलु बजार दुवैका लागि भारतमा उत्पादन हुने मोबाइल उपकरणहरूको मूल्य बढेर ४१ खर्ब हुने अपेक्षा गरिएको छ । वार्षिक आधारमा १७ प्रतिशतले उत्पादन बढेको छ । आईसीईएले देशका अधिकांश मोबाइल प्लेयरहरूको प्रतिनिधित्व गर्दछ । चीनसँग प्रतिस्पर्धा सरकारद्वारा सञ्चालित उत्पादन-लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजनाले भारतमा स्मार्टफोन उत्पादन बजारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ । यसले भारतलाई चीनपछि दोस्रो ठूलो मोबाइल फोन उत्पादन गर्ने देश बन्न मद्दत गरेको छ । यो चीनमा उत्पादन गर्ने कम्पनीहरूलाई आकर्षित गर्न र उनीहरूलाई आफ्नो व्यवसाय भारतमा सार्नका लागि मनाउन चीन-प्लस-वान रणनीतिको एक महत्त्वपूर्ण उपकरण पनि भएको छ । पीएलआई योजनाका प्रमुख कम्पनीहरूमा एप्पलका तीन विक्रेताहरू फक्सन, विस्ट्रोन इन्डिया (अहिले टाटा इलेक्ट्रोनिक्स), पेगाट्रोन र सामसङ समावेश छन् । एप्पलको भारतमा कीर्तिमानी कमाइ एप्पलले भारतमा मार्च २०२४ मा समाप्त भएको त्रैमासिकमा रेकर्ड आम्दानी गरेको छ । एप्पलका सीईओ टिम कुकले गत वर्ष सोही अवधिको तुलनामा आइफोनको बिक्रीमा १० प्रतिशतले कमी आएका कारण आम्दानीमा समग्र चार प्रतिशतले कमी आएको भए पनि अहिले भने रेकर्ड हासिल गरेको बताएका छन् । एजेन्सी
चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि
चीन । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको छ । वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख किलोवाट (२०.६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ । जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक बर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो । विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो बर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ । रासस
जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गरेका छन् । काठमाडौंको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रका लागि जलवायु वित्तीय व्यवस्थापन महत्वपूर्ण रहेकामा जोड दिए । उनले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरूका बारेमा प्रस्तुत गर्दै नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए । विशेष गरी ग्लोबल आइएमई बैंक र ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड बीचको २५ मिलियन अमेरिकी डलर सम्झौताले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनालाई वित्तीय सहायता प्रदान गर्ने अध्यक्ष ढकालले जानकारी दिए । यसबाट नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनालाई बलियो बनाउनुका साथै लघु, साना तथा मझौला उद्योगलाई लाभ पुर्याइ नेपालको जलवायु प्रतिरोध क्षमता बढाउने उनले स्पष्ट पारे । अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको तथा जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको जानकारी पनि सो अवसरमा दिए । उनले भने– ‘जलविद्युतमा निजी लगानीले एक हजार ७४४ मेगावाट विद्युत उत्पादन गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन् र यसले गैर–नवीकरणीय स्रोतहरूप्रति निर्भरता घटाउँदैछ ।’ विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेको र विद्युतीय सवारी प्रवर्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । पर्यावरणमैत्री पर्यटन र केबलकार परियोजनाहरूको प्रवद्र्धनले पनि कार्बन उत्सर्जन घटाउन र दिगो विकासलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । अध्यक्ष ढकालले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार तथा सशक्त सार्वजनिक–निजी साझेदारीका लागि पनि आह्वान गरे । यस किसिमको साझेदारीले नेपालको सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य पूरा गर्न सहयोग पुग्ने उनले बताए ।
डोङफेङको ‘नामी ०१’ नेपाल ल्याउँदै एमएडब्लू वृद्धि अटोकर्प, यस्ता छन् विशेषता
काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रालि चिनियाँ सवारी उत्पादक समूह डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको छ । आधिकारिक वितरक बनेसँगै एमएडब्लूले कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन ‘नामी ०१’ विद्युतीय कार नेपाली बजारमा भित्र्याउने भएको छ । प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०र१८१०/१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ । यसमा भएका सेगमेन्ट फर्स्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्यभन्दा फरक देखाएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पाँच जना आरामले बस्न मिल्ने यो कार ७ रङमा उपलब्ध छ । जसमध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको र त्यसमा मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट उपलब्ध छ । ४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक भएको नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । एमएडब्लु वृद्धि एमएडब्लु ग्रुप अन्तर्गतको कम्पनी हो । एमएडब्लु ग्रुपअन्तर्गत चांगान, फोटोन, सेरेस, जेसीबी, स्कोडा, जिप, आइसर, यामाहा लगायत कमर्सियल र प्यासेन्जर सेगमेन्टका २० भन्दा बढी ब्रान्ड उपलब्ध छन् ।
थाइ एयरवेजले नेपालमा पुनः सुरु गर्यो उडान
काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै औपचारिकरूपमा सेवा सुरु गरेको जानकारी दिएको हो । थाई एयरवेजले सुन् १९६८ मा बैंककदेखि कलकत्ता-काठमाडौं उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । कोभिड महामारीका कारण मार्च २०२२ मा थाई एयरवेजकाे उडान रोकिएको थियो । थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्य हाे, यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ, हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’ उनले विगत ५६ वर्षदेखि नेपालमा सेवा दिएको बताए । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जुसले औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।
चुरे संरक्षणको माग गर्दै माईतीघर मण्डलामा धर्ना (तस्बिरहरू)
काठमाडौं । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौं आइपुगेको हो । टोलीले काठमाडौंस्थित माईतीघर मण्डलामा धर्ना सुरु गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो । चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिंगो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ । पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरु अघि सारेका छन् ।
भास्कर आई केयरमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा र प्रभु बैंकका ग्राहकले छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया , पावर चस्मा , औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश का प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ । नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बैकले जनाएको छ ।
सीएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ खुला
काठमाडौं । दुई पांग्रे ब्रान्ड सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको छ । सीएफ मोटाको एनके२५०, एसआर२५०, एनके४५० तथा जीहोको एई६एलआर (डबल ब्याट्री) र सिटी स्पोर्टस मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको हो । सीएफ मोटोको उत्पादनलाई बिक्री, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप सीएफ मोटो तथा जीहोको नयाँ आधिकारिक विक्रेताका रूपमा छनोट भएको हो । यी उत्पादनहरूको टेस्ट ड्राइभ तथा बुकिङ कम्पनीको नक्साल, झम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले जनाएको छ ।