विकासन्युज

सिटिजन्स बैंकको सञ्चालक ईला शर्माले लिइन् सपथ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । ईला शर्मालाई अध्यक्ष प्रवल जंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्नुका साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइसकेकी छन् । काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छिन् । उनले फूड फस्र्ट इन्फर्मेशन एक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छन् । आइआइएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेसनल ह्यूमन राइट्स अध्यापन गराउँदै आएकी छन् । उनी यस अघिनै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालक भइसकिन् ।

न्यूजिल्याण्डबाट विश्वका १०० मुलुकमा पाउडर दूध निर्यात

न्युजिल्याण्ड । सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्मको एक वर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको न्युजिल्याण्डको तथ्यांक विभाग (स्टाट एनजेड) को तथ्यांकले देखाएको छ । न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको स्टाट्स एनजेडका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनल बताए । न्युजिल्याण्डको पाउडर दूध निर्यातका लागि चीन प्रमुख गन्तव्यको रूपमा रहेको छ । यहाँबाट चीनतर्फ हुने पाउडर दूध निर्यातमा पछिल्लो समय गिरावट आएको भएपनि परिमाणको आधारमा अझै पनि दूधको निर्यात चीनमा नै धेरै रहेको पाइएको छ । सन् २००८ को तुलनामा अप्रिलमा सकिएको न्यजिल्याण्डको आर्थिक वर्षको अन्त्यसम्मको एक वर्षको अवधिमा चीन पठाइएको पाउडर दूधको निर्यात मूल्यमा ९८७ प्रतिशत वृद्धि भएको थियो भने सोही अवधिमा मूल्यको परिमाणमा एक हजार चार प्रतिशतले वृद्धि भएको स्टाट एनजेडले उल्लेख गरेको छ । अप्रिलमा अन्त्य भएको न्युजिल्याण्डको पछिल्लो आर्थिक वर्षभरी ३० प्रतिशत पाउडर दूध चीन पठाइएको विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताए । सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको एलेनले बताए । गत आर्थिक वर्षमा पाउडर दूध निर्यातको मूल्य ९.७ अर्ब न्युजिल्याण्ड डलर (९५.९१ अर्ब अमेरिकी डलर) रहेको थियो । यो न्यूजिल्याण्डको निर्यातको कुल मूल्यको १४ प्रतिशत हो । पाउडर दूध न्युजिल्याण्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको स्टाट्स एनजेडको तथ्यांकले पुष्टि गरेको छ । अप्रिलसम्मको एक वर्षको अवधिमा न्युजिल्याण्डको वार्षिक पाउडर दूध निर्यात औसतमा प्रति वर्ष १.८ किलोग्रामले वृद्धि भएको छ भने मूल्य १०९ प्रतिशत बढेको छ । त्यस्तै निर्यात दूधको मात्रामा ११२ प्रतिशतले वृद्धि भएको छ । स्टाट एनजेडको तथ्यांक अनुसार सन् २०२३ को अप्रिलसम्मको एक वर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको थियो । न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको एलेनले बताए । रासस

अनुदान रकम अलग्गै बास्केटमा उपलब्ध हुनुपर्ने

काठमाडौं । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले पश्मिना निर्यातमा पाउँदै आएको अनुदान रकमलाई बास्केट फण्डका रूपमा प्राप्त हुनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा अनुदान रकम अलग्गै बास्केटमा उपलब्ध हुनुपर्ने उनले माग गरे । उनले पश्मिना निर्यात गर्दा नगद प्रोत्साहन मात्रै नभई रिफाइनान्सिङको व्यवस्थालाई सहज बनाउनुपर्ने माग गरे । उनका अनुसार पश्मिना उद्योगबाट ५० हजारभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल घुम्न आएका ८० प्रतिशत पर्यटकहरूले उपहार स्वरूप विदेश लैजाने सर्वाधिक लोकप्रिय वस्तु पश्मिना रहेको उनको भनाइ छ । जुन नेपालमै उत्पादन भइरहेको उनले बताए । ‘डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङमा भुवा संकलन गरेर पश्मिना उत्पादन हुन्छ । पश्मिना निर्यातित वस्तु भएकाले विशेदी मुद्रा आर्जन हुन्छ । र, अर्थतन्त्रमा टेवा पुर्याउँछ,’ उनले भने, ‘निर्यात गर्दा नगद प्रोत्साहन स्वरूप ५ प्रतिशत अनुदान दिएको छ । उक्त अनुदान रकम अलग्गै बास्केट भइदिए राम्रो हुने थियो ।’

‘जनताले भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । संसदीय छानबिन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सभाको बैठकमा बोल्दै अध्यक्ष नारायणप्रसाद दाहालले सभाको परिस्थिति राजनीतिक रुपमा पेचिलो बन्दै गएको बतए । अहिलेको स्थितिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्नेबारेमा गम्भीर बन्न जरुरी रहेको बताए । नीति तथा कार्यक्रम अवरोधका कारण छलफल हुन नसकेको जानकारी दिए । पहिला संसदको लोगो फुकालेर सार्वजनिक सवारीसाधनमा चढ्नुपर्ने स्थिति रहेको भएपनि अहिले त्यो भन्दा गम्भीर स्थिति सिर्जना भएको बताए । जनताले बाटोबाटोमा यि सांसदहरु भत्ता खाने र काम नगर्ने हुन् भनेर फोटो टाँस्ने स्थिति आउनसक्ने जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते आईतबार बिहान साढे ११ बजे बस्नेगरी स्थगित भएको छ ।

सीईओ पाण्डेलाई ५ प्रश्न : मर्जरपछि कति सिनर्जी आयो ?

बीमा तथा बैंकिङ क्षेत्रमा परिचित नाम हो शिवनाथ पाण्डे । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा कार्यरत पाण्डेसँग बैंक तथा बीमा क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव छ । सानिमा र रिलायन्स लाइफको मर्जरपछि कम्पनीको सीईओ बनेका उनी त्यसअघि साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर अवकाश पाएका उनी त्यसपछि बीमा क्षेत्रमा प्रवेश गरेका थिए । जीवन बीमक संघको अध्यक्ष समेत बनिसकेका उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) पनि हुन् । उनै सीईओ पाण्डेसँग वर्तमान बीमा क्षेत्र र मर्जरपछिको कम्पनीको अवस्थाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त  कुराकानी गरेका छन् । बीमा कम्पनीहरू बलिया हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्जर तथा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिपछि तपाईंको कम्पनीले यसतर्फ कत्तिको ध्यान दिइरहेको छ ? सिनर्जी कत्तिको सिर्जना भइरहेको छ ? मर्जर आफैंमा चुनौति हो । वित्तीय विवरण डाउनलोड गरेर जोड्ने र मान्छेलाई एक ठाउँमा राखेजस्तो होइन । सबै विषय भावनात्मक हिसाबमा व्यवस्थापन हुनुपर्छ । मुख्यगरी कर्मचारी एकीकृत गर्नुपर्छ । दुई फरक संस्कृति र प्रणालीबाट आएका हुन्छन् । जसमा आ-आफ्ना सेवा सुविधा, काम गर्ने तरिका हुन्छन् । यी सबै विषय गाँसेर एउटै सुत्रमा बाध्नु पर्ने हुन्छ । त्यसपछि सिनर्जी इफेक्ट हुने, व्यवसाय वृद्धि हुने र नयाँ प्रडक्टहरू ल्याउने हो । विभिन्न किसिमका प्रडक्टहरू नाफायोग्य र दीर्घकालीन छन् कि छैनन् भनेर परीक्षण गर्नुपर्छ । अहिले कायम प्रडक्टहरूलाई बजारको आवश्यकता अनुसार र समय परिस्थिती बनाएर नयाँ प्रडक्ट ल्याउने हो । नयाँ पुस्ताको चाहनाअनुसार प्रडक्ट ल्याउन यस कम्पनीले काम गरिरहेको छ । कस्ट इफेक्टिभ हुने गरी प्रडक्टमा इनोभेसन गरिरहेको छ । सबैलाई बीमाको सुत्रमा बाँध्न र भविष्यमा समस्या नआउने गरी काम गरिरहेका छौं । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो समस्याबाट माथि उठ्न  तपाईंको कम्पनीले कस्ता किसिमका नविनतम अभ्यास गरिरहेको छ ? बीमा क्षेत्र पनि अर्थतन्त्रको एउटा पार्ट हो । जसले अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याइरहेको छ । तर, राज्यले बीमा क्षेत्रलाई त्यो नजरले हेरेको छैन । हो, अहिले अर्थतन्त्रमा व्यापक संकुचन आएको छ । घरजग्गा कारोबार र पुँजी बजार घटेको छ । लगानीकर्ताहरूको मनोबलमा गिरावट आएको छ । बैंकमा प्रयाप्त पैसा भएपनि लगानीकर्ताहरूले कर्जा पाएका छैनन् । उत्पादन र खपत गर्ने मान्छे विदेश पलायन भएका छन् । यस्तो परिस्थितिमा बीमा गर्न असहज हुन्छ । बीमा भनेको आफ्नो सुरक्षाका लागि फोर्सफूल बचत गर्नु हो । बचत गर्न व्यक्तिसँग केही न केही त हुनुपर्छ । अर्थतन्त्र चलायमान भएर आम्दानी भएपछि मात्रै बीमा गर्ने हुन् । अहिले बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको छ । ब्याजदर घट्दा लागत कम गई कर्जा प्रवाह वृद्धि हुने हो । बैंकका लागि बीमा कम्पनी लगानीकर्ता हुन् । बीमा कम्पनीले बैंकमा रकम जम्मा गर्दा व्यक्तिलेभन्दा १ प्रतिशत ब्याज कम पाउँछन् । एकातिर अर्थतन्त्र संकुचन हुँदा व्यापार व्यवसाय कम हुने र बैंकमा रकम जम्मा गर्दा कम ब्याज पाउँदा व्यवसाय घटेको छ । त्यसैले अहिले कम्पनीलाई सस्टेन गर्ने हो । टिकाउको सिद्धान्त लागु गरेर लगानीका नयाँ क्षेत्रहरू बीमा प्राधिकरणले खोज्नुपर्छ । बीमा प्राधिकरणले तोकेका क्षेत्रमा जोखिम कम, नाफा बढी, उपयुक्त प्रतिफल आउने गरि लगानी गर्नुपर्छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन्, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक-पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? बैंकले उद्योगी व्यापारीलाई लगानी गर्ने हो । उद्योगी व्यापारीहरूले व्यापार व्यवसाय गर्ने, निर्यात गर्ने, स्थानीय बजारमा खपत गरेर बचत रकम लगानी गर्छ । साथै, अहिले सहकारी संस्थाहरूमा समस्या आएको छ । सहकारी संस्थामा बचत गर्ने, आवश्यक परेका बेला ऋण लिन्थे । अहिले सहकारी संस्थाहरूमा समस्या आउँदा पैसा पाउने ठाउँ पनि रहेन । त्यसबाट पनि मनोबल खस्कियो । यदि बैंकमा पैसा नराखी लगानी गर्ने हो भने बीमा कम्पनीका लागि १५/२० वर्ष (दीर्घकालीन) बण्ड चाहियो । उक्त बण्डबाट अन्यले भन्दा बीमा कम्पनीले एक÷दई प्रतिशत बढी रिटर्न पाउनुपर्छ । त्यसपछि मात्रै एसेट र लायबिलिटिजको म्याचिङ हुन्छ । बीमा कम्पनीले २०÷२५ वर्षका लागि प्रिमियम संकलन गरेका छन् । तर, त्यो रकम एक वर्ष, ५ वर्ष, ६ वर्षको लागि मात्रै जम्मा गरिरहेका छन् । बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ? बीमा कम्पनीहरूका लागि अवसर नै अवसर हुनु पर्ने हो । बैंकमा राखेको पैसा झिकेर अन्य क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ । नयाँ क्षेत्र जहाँ बीमा कम्पनी पुगेका छैनन् । त्यो क्षेत्र पनि खोल्नुपर्छ । राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि व्यवसाय विस्तारका लागि सोच्नुपर्ने बेला आइसकेको छ । राज्यले पनि कर छुट नीति ल्याउनुपर्छ । बीमा लगानी गर्दा छुट दिन्छु भनेर सरकारले घोषणा गर्नुपर्छ । राज्यले पुर्वाधार विकास, सडक बाटो बनाउन बीमा बण्ड ल्याउनुपर्छ । २०-३० वर्षको बण्ड किन्न बीमा कम्पनीहरू तयार छन् । जीवन बीमा सबैलाई आवश्यकता हो, यसलाई बाध्यता बनाइदिनुपर्याे । वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमा गर्नुपर्छ भन्ने चेतनाको कमी छ । सबैलाई कन्भिन्स गर्न सकिएको छैन । बीमा क्षेत्र पनि सो अनुसार विकास हुन सकेका छैनन् । बीमाको दायरा बढ्दै छ, विस्तारै बुझाउँदैछौं । अहिले अर्थतन्त्रमा संकुचन आउँदा सुस्ताएको हो । बीमा सकारात्मक पक्ष हो, अफ्ठ्यारो पर्दा सहयोगी साथी हो, जीवनमा कुनै असहज परिस्थिती आयो भने परिवारको सुरक्षा हो, बच्चाबच्चीलाई पढाउन सहयोग गर्ने, बुढेसकालको साहारा हो । यी सबै विषयलाई हामीले कन्भिन्स गरेर व्यवसाय गर्नु चुनौति छ । कसैलाई सामान बेचे जस्तो सजिलो छैन । बीमा पोलिसी बिक्री गर्नु भनेको एउटा कागजमा विश्वास बेच्नु हो । २०/३० वर्षमा यति रकम पाइन्छ भनेर कमिटमेन्ट गरिएको हुन्छ । त्यो कमिटमेन्ट अनुसार विश्वास दिलाउन सहज छैन । कहिलेकाहीँ एक/दुई जनामा समस्या आएर झुटको खेती गर्ने, बिरामी मान्छेको बीमा गर्ने लगायतका विषय बीमा कम्पनीका लागि जोखिम छ । बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नु पर्ने भूमिका के हो ? बीमकको अभिभावक तथा नियमनकारी निकायको रूपमा बीमा प्राधिकरण छ । प्राधिकरणले बीमा कम्पनीको लगानी संरक्षण गर्नुपर्छ । व्यवसाय गर्दा भोग्नु परेका समस्याहरूलाई सहजीकरण गर्ने र व्यवसायलाई विस्तारमा जोड दिने हो । बीमालाई प्रत्येक नेपालीको घरघरमा पुर्याउनुपर्छ । गरिब, विपन्न वर्गलाई बीमा बारे सचेतना गराउने र व्यवसायलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ कानुनभन्दा बाहिर गएर अस्वस्थ प्रतिस्पर्धा गर्याे भने सही ट्रयाक तथा कारवाहीको दायरामा ल्याउनुपर्छ । प्राधिकरणले सबै कम्पनीलाई समान व्यवहार गर्नुपर्छ । बीमा कम्पनीको निरिक्षण गर्ने, जानकारी लिने र आइपरेका समस्या समाधान गर्ने, व्यवसाय वृद्धि गर्न आवश्यक नीति नियम बनाउने, निर्देशन जारी गर्ने, नीति निर्देशनभन्दा बाहिर गएर काम गर्ने कम्पनीलाई सही बाटोमा ल्याउने काम गर्नुपर्छ । बीमा व्यवसायलाई अर्थतन्त्रको मेरूदण्डका रूपमा स्थापित गराउने भूमिका प्राधिकरण खेल्नुपर्छ ।

कृषि विकास बैंकका सूचना टेलिकमले सेवा प्रदायकलाई पठाउने

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना मास्केले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ ।

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । शुक्रबारदेखि नेपालभरका आधिकारिक डिलर तथा आफ्नै शोरुममा प्रारम्भ भएको सो एक्सचेन्ज क्याम्प आगामी मंगलबार सम्म चल्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार सो स्पेसल इभेन्टमा ग्राहकले फाइदाका साथ अल्टिमेट इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुने अवसर प्राप्त गर्नेछन् । सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पमा ग्राहकले अन द स्पट कार भ्यालुएसन, बेस्ट एक्सचेन्ज रेट, एक्सचेन्ज बोनस र इजी फाइनान्सिङ अप्सन जस्ता फाइदा लिन सक्नेछन् । अन द स्पट कार भ्यालुएसन अन्तर्गत ग्राहकले आफ्नो अहिलेको कारको भ्यालुएसन तुरुन्तै गराउन सक्नेछन् । त्यसैगरी आफ्नो कारको सकेसम्म बढी मूल्य अर्थात बेस्ट एक्सचेन्ज रेट पाउन सकिने छ भने पुरानो कारसँग नयाँ सेरेस कार एक्सचेन्ज गर्ने भएकाले एक्सचेन्ज बोनसको रुपमा थप रकम प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

नेपालमा कोरोनाको नयाँ भरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि, यसरी बच्न सकिन्छ

काठमाडौं । कारोना भाइरसको नयाँ भेरियन्ट देखिन थालेका छन् । विश्वका केही देशमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । के हो ‘केपी.१ र केपी.२’ भरियन्ट ? यो भेरियन्ट यस भन्दा अघि देखिएको ओमीक्रोनको सवभेरियन्ट हो । ओमिक्रोनको मुयुट्रेशनबाट नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ भएको चिकित्सकहरूले बताएका छन् । नेपालमा पुष्टि भएकोहरूमा ठूलो असर भने देखिएको छैन । उनीहरूमा कुनै गम्भीर लक्षण देखा परेको छैन । सामान्य रुघाखोकी लक्षण देखापरेको छ । पुष्टि भएकाहरूमा गम्भीर समस्या नदेखिएपनि दीर्घरोगी, बालबालिका गर्भवती महिलाका लागि भने जोखिम हुन सक्ने संक्रामक रोग बिशेषज्ञ डा. शेर बहादुर पुनले बताए । उनका अनुसार कुनै भेरियन्ट कडा र कुनै सामान्य हुने भएकाले कुन भेरियन्ट कति जोखिमपूर्ण छ भनेर भन्न नमिल्ने बताउँछन् । अन्य देशमा पनि छैन असर  कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ सिंगापुर अमेरिका, चीन, भारत लगायत अफ्रिकी मुलुकमा देखिएको छ । अन्य देशमा पनि यो भेरियन्टले मृत्यु भने नगराएको पुनले बताए । डा. पुनले विकासन्युजसँग भने, ‘यो भेरियन्ट अन्य मुलकमा अलि पहिले नै देखिएको थियो । तर, मृत्यु भएको भन्ने खबर भने सुनेको छैन । ’ तथापि कतिपय व्यक्तिका लागि भने यो भेरियन्ट पनि कडा हुनसक्ने उनको चेतावनी छ । डर लाग्दो कडा नभएपनि यो भेरियन्ट तिब्र संक्रामक भने रहेको डा.पुनले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु अब नौले कुरा होइन । उनी भन्छन्, ‘अब हामीसँसँगै कोरोना रहन्छ, मात्र के हो भने यसको म्युट्रेशन हुने बित्तिकै कतै कडा भएर निस्कने त होईन भन्ने कुरामा हामी सजग रहनुपर्छ ।’ डा. पुन फेरि पनि यस्ता भेरियन्ट देख्न सकिने बताउँदै स्वास्थ्यका प्रोटोकाल अपनाउन आग्रह गर्छन् ।