कार्यादेश टुंगोमा पुर्याउन शीर्ष नेताको बैठक बस्दै
काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार पनि बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुंगो लाग्न नसकेपछि बैठक आइतबार बस्ने तय भएको हो । कार्यादेशमा टुंगो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बिहान ९ बजे बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए । सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुंगोमा पुर्याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताए । ‘सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।’
बालेनलाई सडक डिभिजनको चेतावनी- अराजकता देखाए प्रतिकार हुन्छ
काठमाडौं । काठमाडौं महानगर प्रहरीले सडक विभाग अगाडि ट्रकमा लगेर धुलो फालिदिएपछि सडक विभागअन्तर्गतको सडक डिभिजनले प्रतिकारको चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा शनिबार चक्रपथ निर्माणमा ढिलासुस्ती भएकाले प्रदुषण बढेको भन्दै महानगरको ट्रकले विभाग अगाडि धुलो फालिदिएको थियो । मेयर शाहले विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको र यसले गर्दा काठमाडौं महानगरले अकारण गाली खानु परेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने पनि सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । यसकै प्रतिवादमा सडक डिभिजनले शनिबार राति एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सडक डिभिजन काठमाडौंको कार्य क्षेत्रभित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’ मिनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्नसमेत अवरोध हुने गरी फोहोर फालिएको विज्ञप्तिमा उल्लेख छ । ‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापी नबढ्ने विषय छर्लंग छ’, विज्ञप्तिमा उल्लेख छ । शनिबार न्यूरोड क्षेत्रमा सडक डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको पाइएपछि रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई बालेनले यस्तो हर्कत गरेको विज्ञप्तिमार्फ सडक डिभिजनले आरोप लगाएको छ ।
यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिममा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ ।
भारतको फ्लिपकार्टमा गुगलको २ अर्ब लगानी
काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा ३५ करोड अमेरिकी डलर अर्थात करिब २ अर्ब ९ करोड ७० लाख भारु लगानी गरेको छ । गुगलले यो लगानी हालै फ्लिपकार्टले १ अर्ब डलर हासिल गर्न गरिरहेको फन्डिङ राउन्डमा गरेको हो । फ्लिपकार्टले यो राउन्ड सन् २०२३ मा सुरु गरेको थियो । यससँगै यो फ्लिपकार्टको साझेदार बनेको छ । अब अमेजन, मीशो, जियो मार्ट र टाटा डिजिटलले भारतीय ई–कमर्स क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गर्न सक्छ । फ्लिपकार्टले वर्तमान राउन्डमा कोष जुटाउन १ अर्ब डलर उठाउँदैछ । फ्लिपकार्टले आफ्नो मूल कम्पनी र अमेरिकी रिटेल विशाल वालमार्टबाट ६० करोड डलरको वित्तीय सहयोगको आश्वासन पनि प्राप्त गरेको छ । लगानी सर्तबारे जानकारका अनुसार यो लगानी राउन्डमा फ्लिपकार्टको मूल्य ३५–३६ अर्ब डलर छ, जुन गत वर्ष फोनपे समूहबाट अलग भएपछि ३३ अर्ब थियो । अमेरिकी रिटेल विशाल वालमार्ट, जसको भारतीय ई–रिटेलरमा ८५ प्रतिशत हिस्सेदारी छ । गत वर्ष सुरु भएको कोष अभियानमा ६० करोड डलर लगानी गरेको छ । ‘गुगलको प्रस्तावित लगानी र क्लाउड सहकार्यले फ्लिपकार्टलाई आफ्नो व्यवसाय बढाउन र देशभरिका ग्राहकहरूलाई सेवा दिन यसको डिजिटल पूर्वाधारलाई आधुनिकीकरण गर्न मद्दत गर्ने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी
भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन
झापा । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा १ करोड १६ लाख ७२ हजार आठ सय २९ रुपैयाँ बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए । उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले ३ करोड ६९ लाख ९३ हजार नौ सय ४४ रुपैयाँ राजस्व संकलन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो । ‘राजस्व संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,’ सूचना अधिकारी पोख्रेलले भने ।
निर्यात बढाउन चिनियाँ विज्ञता खोज्दै पाकिस्तान
इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताएका छन् । आफ्नै कार्यालयमा आयोजित बैठकमा सरिफले ७० करोडभन्दा बढी मानिसलाई गरिबीबाट बचाउनको लागि चिनको सफलताले पाकिस्तानका लागि रोल मोडेलको रूपमा काम गरेको बताए । उनले पाकिस्तान निर्यात बढाउनमा चीनको अनुभवबाट फाइदा लिन चाहेकाले विदेशी मुद्रा भण्डार बढाउन र गरिबी घटाउन प्रमुख कदमको रूपमा काम गर्ने उल्लेख गरेका छन् । पाकिस्तान र चिनको लामो समयदेखिको प्रगाढ भाइचारा सम्बन्ध समयसँगै बलियो हुँदै गइरहेको बताउदै उनले कठिन समयमा पाकिस्तानलाई सहयोग गरेकोमा चिन राष्ट्रसहित चिनियाँ नेतृत्व र जनता प्रति आभार प्रकट गरे । यसैगरी चिन–पाकिस्तान आर्थिक करिडोरको ढाँचाअन्तर्गत स्थापना भइरहेका विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई प्रधानमन्त्री मोदीले प्रोत्साहित गरे । सन् २०१३ मा सुरु गरिएको, चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख परियोजना, सिपिइसी, दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो, जसले ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई स्ष्ट पार्छ । सिपिइसीको नयाँ चरणको लागि पूर्ण तयारी भइरहेको र यसको सफल थालनीले पाकिस्तान र चीनबिचको आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्ने प्रधानमन्त्री मोदीले बताए । पाकिस्तान कृषि प्रधान देश भएकाले कृषिमा चीनको आधुनिक प्रविधि र प्रविधि अपनाएर उत्पादकत्व बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे । यसै क्रममा उनले चिनियाँ कम्पनीलाई पाकिस्तानमा विद्युतीय र हाइब्रिड सवारीका लागि प्लान्ट स्थापना गर्न आमन्त्रित गर्दै यसले देशलाई यातायात क्षेत्र लक्ष्य हासिल गर्न मद्दत गर्ने बताए ।
दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी
पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने गरी सक्रियता देखाएको छ । निर्वाहमुखी खेतीलाई व्यावसायिक र उत्पादनमूलक बनाउँदै गएको गाउँपालिका उत्पादन तथा प्रतिफलमा अगाडि देखिन थालेको छ । किसानलाई मागका आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकीकरणका कारण उत्पादन बढ्न थालेको हो । गाउँपालिकाबाट अहिले दूध, तरकारी, पोखरेली जेठो बुढोको चामल निर्यात हुन थालेको छ । पालिकाका कुनै पनि वडामा बाहिरबाट तरकारी र दूध आयात नहुने बरु यामअनुसार निर्यात गर्न थालिएको छ । गाउँपालिकाले अहिले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान किसानलाई दिने गरेको छ । यसले भैँसीपालक किसानले उत्साहित भएर दूध उत्पादन बढाउँदै लगेका छन् । बिहादीमा उत्पादन भएको दूध कुश्मा बजारसम्म पुग्ने गरेको छ । गाउँपालिकाका कृषि प्राविधिक जीवन शाहीले पछिल्ला दिनमा कृषि क्षेत्रमा पालिकाको लगानी बढेको र यसले यान्त्रिकीकरणमा सहयोग र विभिन्न खालका तालिमले किसानमा उत्साह थपेको दाबी गरे । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९४ हाइटेक टनेल, ८० भकारो सुधार, झण्डै चार दर्जन कुटानीपिसानी मेसिन वितरण गरेको छ । पालिकाले झण्डै ६ हजार किलो गहुँको बीउँ वितरण गरिसकेको छ । यस वर्ष एक सय ६० मौरीका घार वितरणको तयारी पनि भएको छ । मौरीका घार ५० प्रतिशत अनुदानमा गाउँपालिकाले वितरण गर्ने तयारी गरेको हो । त्यसैगरी चालु आवमै कागती, सुन्तला, लिची, आपलगायतका फलफूलका बिरुवा वितरण गर्ने तयारी छ । गाउँपालिकामा सबैभन्दा बढी रैथाने बालीअन्तर्गत कोदो उत्पादन हुने गरेको छ । ‘बिहादीमा उत्पादन भएको कोदो र पोखरेली जेठो बुढोको चामलको माग चर्को छ,’ कृषि प्राविधिक शाहीले भने, ‘पछिल्ला दिनमा उत्पादन बढ्दै जाँदा निर्यात पनि बढेको छ ।’ किसानको मेहनत, प्राविधिकको निगरानी र जनप्रतिनिधिको प्रोत्साहनले गर्दा बिहादीमा कृषिप्रति आकर्षण बढेको शाहीको दाबी छ । आगामी दिनमा स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पु¥याउन मद्दत गर्ने पालिकाको योजना छ । गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ । ‘अब केही समयमै कृषि एम्बुलेन्स आउँदैछ, त्यसपछि उत्पादन गरेको बस्तु बिक्रीका लागि कुनै कष्ट बेहोनुपर्दैन,’ शाहीले भने । गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले पालिकाले गरेको लगानीले प्रतिफल दिने गरी लागेको बताए । उनले बिहादीलाई कृषि क्षेत्रमा आत्मनिर्भर गराउने गरी योजनाबद्ध रूपमा अगाडि बढेको जानकारी दिए । ‘के गर्दा बिहादी कृषिमा आत्मनिर्भर हुन्छ भनेर हामी लागिपरेका छौँ,’ अध्यक्ष गुरुङले भने, ‘दूध र तरकारीमा भए पनि अहिले आत्मनिर्भर हुँदा हामीलाई थप उत्साह थपेको छ ।’ किसानले उत्पादन गरेको वस्तु बजार पुर्याउन समस्या भएको गुनासो आएपछि आफ्नै योजनामा गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको अध्यक्ष गुरुङले बताए । ‘अब कृषिजन्य वस्तु उत्पादन भएको बजार पु¥याउन सकिएन भन्ने अवस्था रहँदैन,’ उनले भने, ‘अहिले पनि गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान दिएका छौँ ।
प्राविधिक शिक्षा अध्यापनमा मुख्यमन्त्री जम्कट्टेलको जोड
मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । मुख्यमन्त्रीले अब पाठ्यक्रम सुधार गरेर सैद्धान्तिक ज्ञान हासिल गरी विद्यार्थीहरुलाई व्यवहारमा लागू गर्न उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिए । अहिले शिक्षाक्षेत्रमा वितृष्णा फैलिएको औँलाउँदै उनले नेपालमा अध्ययन गरेपछि विदेश जाने परिपाटी बन्द गराउन व्यावहारिक शिक्षा आवश्यक भएको बताए । प्राविधिक विषय अध्ययनमा कोटा प्रणालीको अन्त्य गर्न सरकार लागिरहेको भन्दै उनले स्वास्थ्य र शिक्षाको लगानी अब प्रतिफल दिने गरी काम गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरूलाई आग्रह गरे । सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सिँचाइ, खानेपानी तथा ऊर्जामन्त्री एकलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, प्राध्यापक डा विद्यानाथ कोइराला, प्राडा पेशल खनाल, शिक्षा विकास समन्वय एकाइका प्रमुख दीनानाथ गौतमले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो भने ।