विकासन्युज

ढल्केबर-इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए । ‘पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौँ,’ उनले भने । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ । पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको तथा त्यसनिम्ति ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । धेरै जसो टावरको काम भए पनि स्थानीयवासीले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ । मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत आउनसक्ने बताए । कूल ४००/२२० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । हेटौँडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४, हेटौँडा–११ स्थित थानाभर्‍याङमा दुई र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ । थानाभर्‍याङमा रहेको सबस्टेसनमा लाइन जडानका लागि दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् । स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ । यद्यपि यसमा सफलता प्राप्त भएको छैन । प्रसारण लाइन मकवानपुरबाट बारा– रौतहट,–सर्लाही–महोत्तरी–धनुषा–सिराहा–उदयपुर–सप्तरीहुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण प्रभावित भएको छ । कुल ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो । हेटौँडा–ढल्केबर–इनरुवा चार सय ४० केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरु काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् । कुल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी छ । यसअघि सो आयोजनाका लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । विश्व बैंकले आयोजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ ।

अनुदानमा बिरुवा पाएपछि केराखेती गर्दै जैमिनीका किसान

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षदेखि किसानलाई केराका बिरुवामा अनुदान उपलब्ध गराउन थालेपछि यसतर्फ उनीहरूको आकर्षण बढेको छ । नगरपालिकाले केराखेत गर्ने किसानका लागि प्रतिबिरुवा २० रुपैयाँ अनुदान उपलब्ध गराउन थालेपछि स्थानीयले धान फल्ने खेतमा केराखेती गर्न थालेका हुन् । बागलुङ तथा कुश्मा बजारमा कुश्मीशेराका केराको माग बढी हुनाका साथै उत्पादन पनि बढी हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न अनुदान उपलब्ध गराइएको जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताए । यहाँका एक सय किसानलाई अन्य कृषि पेसासहित केराखेतीमा पनि जोडिएको उनले जानकारी दिए । जैमिनी–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पुर्‍याउने चटारो छ । घर पारिको खेतमा केराका बिरुवा लगाउन दैनिक चारजना खेताला परिचालन गरेको उनले बताए । शर्माका अनुसार आठ रोपनी जमिनमा यतिबेला सयौँ केराका बोट छन् । उहाँले २५ रोपनी जमिन रहेको भन्दै बाँकी खेतमा पनि केरा लगाउने योजना बनाएको बताए । यस वर्ष मात्रै दुई हजार तीन सय ५० केराका बिरुवा लगाएको शर्माले जानकारी दिए । उनका अनुसार अघिल्ला वर्षहरु लगाइएका बोटले वर्षेनि आम्दानी दिइरहेका छन् । ‘केही वर्ष अघिसम्म कयौँ दिन लगाएर रोपाइँ गरिने खेत जनशक्तिको अभावमा बाँझै हुन थालेको थियो । अहिले केराका बगैँचा बनेका छन्,’ उनले भने, ‘छोराछोरी घरमा छैनन्, खेताला लगाउँदा घाटा नहुने भएकाले केराखेती गर्न लागेको हुँ ।’ खेत र पाखाभरि केराको बगान बनाउने योजना रहेको उनको भनाइ छ । शर्मा मात्रै होइन, यहाँका अधिकांश किसानले धान फल्ने खेतमा केरा लगाउन थालेका छन् । कुश्मीगाउँका धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्णप्रसाद शर्मालगायतले धान रोपाइँ नगरेर केराखेती थालेका छन् । ‘धान रोप्दा उत्पादनले खेताला नथेग्ने अवस्था भयो । बीउ, मल उस्तै महँगो,’ पूर्णप्रसाद शर्माले भने, ‘वर्षमा एक महिना जति हेरचाह गरे वर्षभरि उत्पादन दिन्छ । खेती गर्न सहज र आम्दानी पनि मनग्ये हुन्छ ।’ उनका अनुसार केराखेती विस्तारका लागि वडा कार्यालयले प्रोत्साहित पनि गरिरहेको छ । प्राविधिक समस्या भए वडाले सहजीकरण गर्ने उनको भनाइ छ । केराखेतीबाट यहाँका अधिकांश किसानले वर्षमा ५० हजारदेखि चार लाखसम्म आम्दानी गरिरहेका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार समुन्द्री सतहबाट छ सय मिटर उचाइमा रहेकाले जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि उपयुक्त स्थान हो । ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी–९’ जातका केरा यहाँ सिफारिस गरिएको शर्माले जानकारी दिए । स्थानीय जातका केरा छिटो नबिग्रने भएको सिफारिस गरिएको उनको भनाइ छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि यस क्षेत्रलाई केराको ‘पकेट जोन’ मानेको छ । वडा कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा खण्डमा जोडिएपछि बजारीकरणमा सहज भएको जैमिनी–१ का वडाध्यक्ष आचार्यले बताए । यहाँको केरा बजारमा प्रतिदर्जनरु एक सय २० देखि एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् । नगरपालिकाले केरा पकेट विस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ सञ्चालन गरेको कृषि प्राविधिक शर्माले जानकारी दिए । ‘एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्दैछौँ,’ उनले भने, ‘सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भइरहेको छ ।’ कृषि प्राविधिक शर्माका अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो जमिनमा किसानले केराखेती बढाइरहेका छन् । आगामी वर्षमा नगरपालिका तथा वडा कार्यालयसँगको सहकार्यमा किसानलाई प्रोत्साहन हुने कार्याक्रम ल्याइने उनको भनाइ छ ।

युक्रेनलाई २७ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

अमेरिका । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्‍याएका छन् । उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भने, ‘आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ । रुसको आक्रामकता विरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ ।’ ‘यो २७ करोड ५० लाख मिलियन अमेरिकी डलरको प्याकेज युक्रेनलाई खार्किभ नजिकै रुसको आक्रमणलाई रोक्न मद्दत गर्ने हाम्रो प्रयासको एक हिस्सा हो । यसमा हिमार्सका लागि गोला बारुद एक सय ५५ एमएम र एक सय ५ एमएम आर्टिलरी राउन्ड, ट्यूब–लन्च, अप्टिकली–ट्र्याक्ड, वायर–गाइडेड मिसाइल, ज्याभलिन र एटी–४ एन्टी–आर्मर प्रणाली, सटीक हवाई हतियार, साना हतियार, गोला बारुद, एन्टी–आर्मर माइन, सामरिक सवारी साधन, शरीर कवच, रासायनिक, आणविक सुरक्षा उपकरण, स्पेयर पार्ट्स, मर्मतसम्भार र अन्य तत्काल आवश्यक उपकरण समावेश छन्’, उनले बताए । ब्लिन्केनले भने, ‘राष्ट्रपति बाइडेनले स्पष्ट गरिसक्नुभएको छ, संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धन युक्रेनको स्वतन्त्रताको रक्षामा युक्रेनको साथमा रहनेछ ।’ सन् २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो । रसियासँग चलिरहेको युद्धबीच कियभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा एन्टनी ब्लिन्केनले युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए । फेब्रअरी २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएपछि उनले चौथो पटक यो अघोषित भ्रमण गरेका हुन् ।

देशको सार्वजनिक ऋण २४ खर्ब हाराहारी, १० महिनामै थपियो ९८ अर्ब

काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै, चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रुपैयाँ ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । ‘चालु आर्थिक वर्ष २०८०÷८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा ९८ अर्ब आठ करोड थप प्राप्त भई कुल ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, ‘चैत महिनाको तुलनामा कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ ।’ गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँबराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कुल २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँबराबर ऋण उठाउँदा १ खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँबराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण १ खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँबराबर हो । त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड रुपैयाँबराबर भुक्तानी भएको छ । गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ । ‘चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा २ खर्ब ६५ अर्ब ऋण प्राप्ति भएको छ,’ कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत रहेको छ ।’ चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ३ खर्ब ३० अर्ब रुपैयाँबराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा २ खर्ब २२ अर्ब रुपैयाँबराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७० दशमलव ५७ प्रतिशत बराबर हो ।

कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम

काठमाडौं । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी–१’ ‘केपी–२’ ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको थियो । ‘यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने, ‘तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।’ कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रूप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ । ‘केपी–१’ १२ जनामा, ‘केपी–२’ १७ जनामा, ‘केपी–३’ र ‘केपी–४’ एक÷एकजनामा देखिएको थियो । (((

धान रोपाइँमा जुटे किसान (फोटो फिचर)

काठमाडौं । असार लाग्न अझै दुई साता बाँकी रहँदा भक्तपुर चाँगुनारायणका किसान भने यतिबेला धान रोपाइँको तयारी गरिरहेका छन् । मनसुन सुरु नहुँदै त्यहाँका किसान रोपाइँमा व्यस्त भएका हुन् । रोपाइँका लागि खेत जोत्ने, मल बाेक्ने, मल हाल्ने, सम्याउने, बीऊ काढ्ने जस्ता काममा किसान व्यस्त छन् । जल तथा मौसम विज्ञान विभागले यो मनसुनमा औषतभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि रोपाइँ सुरु भइसकेको छ ।

धुलिखेल-खावा सडकखण्ड २ दिन बन्द

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) शनिबारदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो । राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयकाबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै शनिबार र आइतबार बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इञ्जिनियर सुमन बस्नेतले जानकारी दिए । बैठकको निर्णयअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए । बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । सो समय अवधिमा काठमाडौँ–बनेपा हुँदै पाँचखालतर्फ जाने सवारीसाधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना अधिकारी बस्नेतको भनाइ छ । उनका अनुसार साना सवारीसाधनका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटोलाई वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको छ । साना सवारीसाधनका लागि बिपी राजमार्ग-तिनपिप्ले-पाँचखालको बाटो वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न र दोलालघाट पाँचखाल हुँदै काठमाडौंतर्फ जाने सबैखाले सवारीसाधनका लागि जिरोकिलो-कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न आग्रह गरिएको सूचना अधिकारी बस्नेतले बताए । उक्तस्थान (धुलिखेल र पाँचखाल) चोकमा रोकिएका सबै सवारीसाधनलाई बन्द अवधिपछि मात्र छोडिने सडक विभागले जनाएको छ । यसअघि जेठ ८ र ९ गते दुई दिन सडक विभागले यसरी नै सवारीसाधनलाई वैकल्पिक सडकको व्यवस्था गरी स्तरोन्नतिको काम गरेको थियो । साथै जेठ १० र ११ गते सडक नियमित सञ्चालन गरी स्तरोन्नतिको काम गरिएको थियो । ‘जेठ ८ र ९ गते आवागमन बन्द गरेर काम गर्दा कामको प्रगति धेरै भएको थियो । साथै १० र ११ गते नियमित आवागमन सञ्चालन गरी काम गर्दा कामले गति लिन सकेको थिएन’, सूचना अधिकारी बस्नेतले भने । सडक बन्द गरी काम गर्दा प्रगति धेरै भएको पाइएकाले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पुनःदुई दिन उक्त खण्ड बन्द गरी कामलाई तीव्रता दिइएको उनले जानकारी दिए । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङभित्रका सडकखण्डअन्तर्गत सिन्का फ्याक्ट्री मुसेखोल्सामा सोमबारदेखि ढलान कार्य सुरु हुने भएकाले सो सडक भएर आवतजावत गर्ने प्रयोगकर्तालाई वैकल्पिक बाटो प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ । बेथानचोक गाउँपालिकाको गौरवको कार्यक्रममार्फत प्रत्येक वर्ष पाँच किमी बाटो कालोपत्र गर्ने योजनाअनुसार चालु आर्थिक वर्षको कार्यक्रम पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङसम्म सञ्चालन हुने सडकखण्ड परेको सार्वजनिक सूचना जारी गर्दै जानकारी दिइएको बेथानचोक–२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताए । उक्त सडकखण्ड भएर सञ्चालित सवारीसाधनका लागि वैकल्पिक मार्ग बसपार्क–बादुरेमुडा–डाँडाघर खण्ड प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि दरखास्त आह्वान गरेको छ । आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ । फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेरदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएका एक जनालाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि १ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ । मदन भण्डारी जन्मजयन्तीका दिन असार १४ गते प्रदान गरिनेछ । फाउन्डेसनले २०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।