विकासन्युज

बाँकेमा भारतीय ६ लाखसहित दुई जना पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।  नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उनले बताए । सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  त्यसैगरी प्रहरीले नेपालगन्जमा करिब रु तीन लाख ४६ हजार बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ । नेपालगन्जको वडा नं ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने यूपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नं को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । बरामद गरिएका सबैसामान भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ ।    

मटरकोसा किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १५०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ९०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिन्डो प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ८०, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ११०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु ९०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु ९०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । 

यार्सा टिप्न शिक्षकदेखि विद्यार्थीसम्म लेकतिर, विद्यालयमा ताला

काठमाडौं । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन् । शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा सङ्कलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख २७ गतेदेखि पालिकाभर सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ । उनले बर्खे बिदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागिएको जानकारी दिए । गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आगामी जेठ १० गतेदेखि पुनः सञ्चालनमा आउने जनाएको छ । अपी हिमाल गाउँपालिकाभित्र रहेका २२ सामुदायिक विद्यालयमा करिब एक हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन् । तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन् । स्थानीयवासी वैशाख अन्तिम सातादेखि नै यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा पुगिसकेका छन् । छोटो समयमै राम्रो आम्दानी हुने भएकाले अधिकांश परिवारका सदस्यहरू यार्सा सङ्कलनमा जाने गरेको स्थानीयको सोबान लोथ्यालको भनाइ छ । यार्सा सिजन सुरु भएसँगै जिल्लाका मार्मा, नौगाड र व्यास गाउँपालिकाका बासिन्दासमेत लेकतिर उक्लिएका छन् । कतिपय गाउँका घरहरूमा ताला लागेको अवस्था रहेको स्थानीयले बताएका छन् । जिल्लामा सबैभन्दा बढी सङ्कलनहरू अपी हिमाल क्षेत्रका लोलु, रिङ्देपानी, सतगङ्गा, कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति र चाइमटेला लगायत क्षेत्रमा पुगेका छन् ।

२० करोड पुँजी पलायन रोक्ने, २० अर्ब आम्दानी गर्ने

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्व-रोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको बिरुवा नि:शुल्क वितरण गर्दै प्राविधिक सहयोगसमेत उपलब्ध गराउने गरिएको छ । हरेक वडाका किसानलाई आफ्नै ठाउँमा स्व-रोजगार बनाउँदै प्रति वर्ष १० लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो । महाभियानअन्तर्गत यो वर्ष नगरपालिकाभित्र कम्तीमा पनि ८ हेक्टर क्षेत्रफल जमिनमा २८ लाख कफीका बिरुवा रोप्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताए । ‘हाम्रो मुख्य लक्ष्य भनेकै युवा शक्तिलाई गाउँमै रोजगारी दिनु हो । यो महाअभियानले बाँझो जमिनको सदुपयोगसमेत गर्नेछ । स्थानीयको आयआर्जनमा पनि वृद्धि गर्छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै स्वरोजगारीको अवसर सिर्जना गर्नु छ,’ उनले भने, ‘कफी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएर नगरलाई भविष्यमा ‘कफी हब’को रूपमा विकास गर्ने योजना बनाइएको छ । नगरपालिकाले सुरु गरेको अभियानका कारण परम्परागत रूपमा वर्षौंदेखि कोदो, मकै र धान खेती गर्दै आएका किसानलाई व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् ।’ नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाअभियानले आफूहरूलाई आत्मनिर्भर बनाउन र आर्थिक अवस्था सुधार्न कोशेढुंगा साबित हुने कृषकहरूले विश्वास व्यक्त गरेका छन् । नगरपालिकाले कफीको बिरुवा वितरण गर्नुअघि नै किसानलाई व्यावसायिक कफी खेतीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिसकेको छ । नगरपालिकाको अभियानअनुसार अहिले कफी रोप्नका लागि किसानहरूले गाउँगाउँमा खाल्डा खन्ने काम धमाधम गरिरहेको नगरपालिकाले जनाएको छ । कफी रोप्नका लागि नगरपालिकाभित्रका किसानहरूले देखाएको सक्रियताले उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सफल हुने संकेत देखाएको छ । नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाभियानअन्तर्गत कफीको बिरुवा उत्पादन गर्ने नर्सरीमा रोजगारीसमेत पाएका छन् । गत वर्षदेखि सुरु गरिएको कफी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीको नर्सरी उत्पादन गरिएको छ । रोजगारीका लागि सहर वा विदेश जानुपर्ने बाध्यता रहेको अवस्थामा नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाअभियानले आफ्नै गाउँमा रोजगारी पाएको नेर्पाकी अञ्जना रिजालले बताइन्। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत वर्षबाट कफी प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रमले बाँझो जमिनलाई हराभरा बनाउने मात्र नभई स्थानीय अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्‍याउने नगर प्रमुख राईले बताए ।  ‘जब पाखाहरूमा कफी फल्न थाल्नेछ, तब नगरपालिकाको पहिचान केवल एउटा पहाडी सहरमा मात्र सीमित रहने छैन । यो नगरपालिकालाई कफी हबको रूपमा चिनिनेछ,’ उनले भने, ‘जिल्लामा कफीको माग अधिक मात्रामा बढेर गएको छ । कफीमा अहिले वार्षिक २० करोड रूपैयाँभन्दा बढी पुँजी बाहिर पलायन हुन्छ । अबको केही वर्षभित्रै जिल्लाभरि कफीको मागलाई पूर्ति गर्ने नगरपालिकाको लक्ष्य छ ।’ व्यावसायिक कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर गत वर्ष ८२ हजार बिरुवा किसानलाई निस्शुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ । यो वर्ष २२ लाख कफीको बिरुवा निस्शुल्क वितरण गर्ने योजनासहित करिब ३ लाख बिरुवा किसानलाई वितरण गरिसकिएको जनाइएको छ । १५ वडा रहेको यो नगरपालिकामा २८ हजार ७०३ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १ करोड ४० लाख कफीका बिरुवा रोप्ने लक्ष्य राखिएको उपप्रमुख राईले जानकारी दिए । वार्षिक २० अर्ब रुपैयाँसम्म आम्दानी गर्ने उद्देश्यले यो वर्ष ५० लाख बेर्ना उत्पादन गर्ने तयारी गरिएको जनाइएको छ । कफीखेती प्रवर्द्धन कार्यक्रमका लागि नगरपालिकाभित्र ४४ वटा समूह बनाएर उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सञ्चालन गरिएको छ । समुद्री सतहबाट ८०० मिटरदेखि १ हजार ६०० मिटरसम्म जुनसुकै ठाउँमा पनि कफी उत्पादन हुने प्रमाणित भएपछि व्यावसायिक कफीखेती गर्नका लागि खाल्डो खन्न २० वटा ड्रिलिङ मेसिन उपयोगमा ल्याइएको छ । उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रममा दैनिक ७०÷८० जना स्थानीयले रोजगारीसमेत पाएका छन् । किसानले उत्पादन गरेका कफी यही प्रशोधन गर्नेगरी कफीखेती प्रवर्द्धन कार्यक्रम लागू गरिएको उपप्रमुख राईले जानकारी दिए ।  १० स्थानीय तह रहेको यो जिल्लाका सबैजसो स्थानीय तहले कफी तथा चिया प्रवर्द्धन कार्यक्रम लागू गरेका छन् । स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रमा उत्पादनमा आधारित कार्यक्रम लागू गरेपछि किसानसमेत उत्साहित बनेका छन् ।

बेलायतको निर्वाचनमा नेपालीमूलका रानाभाट दम्पती विजयी

काठमाडौं । बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । त्यस्तै उनकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित भएकी छन् । यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका रानाभाट १ हजार ६१० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित भएका हुन् । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीन वटै सिट लेबर पार्टीले जितेको छ । लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिल निर्वाचित भएका छन् । रानाभाट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित भएकी हुन्। उनले १ हजार २९२ मत प्राप्त गरेकी छन् । एबिउडमा पनि तीनवटै सिट लेबरले जितेको छ । रानाभाट दम्पती दुवै लेबर पार्टीबाट चुनावी मैदानमा होमिएका थिए । उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेल्वासे निर्वाचित भएका छन् । कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे ८९१ मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित भएका हुन्। सोही बरोको  वेलिङटन वार्डमा पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतसहित काउन्सिलर निर्वाचित भएका छन् । त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट १ हजार १८० मतसहित निर्वाचित प्रतीक्षा गुरुङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन्। उनले १ हजार ९५१ मत प्राप्त गरेका छन् । बेलायतमा बिहीबार सम्पन्न निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । यो निर्वाचनमा बेलायतको सत्तारुढ दल लेबर पार्टीलाई ठूलो झड्का लागेको छ । बेलायतको समयअनुसार शुक्रबार मध्यरातिसम्म प्राप्त नतिजाअनुसार कूल १३६ काउन्सिलमध्ये १३१ को नतिजा प्राप्त हुँदासम्म नाइजल फराज नेतृत्वको रिफर्म युकेले सबैभन्दाबढी १ हजार ४४३ काउन्सिलर सिट जितेको छ । दोस्रो स्थानमा रहेको सत्तारुढ लेबरले ९५९ र तेस्रो स्थानको लिब्डेमले ८३४, कन्जरभेटिभले ७७३, ग्रीनपार्टीले ५११ तथा अन्यले २४४ काउन्सिलर पद जितेका छन् । सत्तारुढ पार्टीले यसअघिको तुलनामा करिब एक हजार ३९५ सिट गुमाएको हो । अधिकांश सिट फराज नेतृत्वको रिर्फमले कब्जा गरेको छ । उसले अघिल्लो चुनावको तुलनामा एक हजार ४४१ बढी सिट जितेको हो ।

पहिले गोठालोको खर्क, अहिले पर्यटकको रोजाइ बनेको दोभान

काठमाडौं । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज । घरपालुवा पशुहरुको घुम्ती गोठ ।  म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका बासिन्दाले बर्खायाममा घुम्ती पशुगोठ राख्ने थलोमा सिमित दोभान पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको गन्तब्यका रूपमा विकास हुन थालेको छ । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशुगोठ राख्ने खर्कबाट पर्यटकीयस्थलमा रुपान्तरण भएको स्थानीयबासी लक्ष्मण घर्तीले बताए । ‘धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने भएकाले दोभान नामाकरण भएको यो ठाउँ केही वर्षअघिसम्म खर्कमा सिमित थियो’, उनले भने, ‘धौलागिरि हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भएर म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले एकरात दोभानमा बिताउन थालेपछि पर्यटकीयस्थलका रूपमा विकास भएको छ ।’ दोभानदेखि एक दिनको पैदलयात्रापछि धौलागिरि हिमालको इटाली आधार शिविर र धौलागिरि चौथो हिमालको फेदमा रहेको कुनावाङ तालमा पुगिन्छ । गोलो आकारको कुनावाङ तालमा पातपतिङ्गर खसेमा चराले टिपेर सफा गर्दै आएको स्थानीय सोम पुनले बताए ।  ‘कुनावाङ क्षेत्रमा जापानी अनुसन्धानकर्ताले हिममानवको बासस्थानको पनि अध्ययन गरिरहेका छन’, उनले भने, ‘बगर हुँदै दोभान जोड्ने सडकको मार्ग खुलेपछि अझै चहलपहल बढेको छ ।’ दोभान नजिकैको पहाडमा मृग, झारल, घोरललगायत वन्यजन्तुको पनि अवलोकन गर्न पाइने पुनले बताए । बस्तीदेखि टाढा रहेको दोभान प्रकृतिमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य भएको आन्तरिक पर्यटक चिरन्जिवी पौडेलले बताए । बसन्तयाममा लालीगुराँस फुलेर रंगिने वनपाखामा बर्खामा बुकी फुल्दा झनै मनमोहक हुन्छ । दोभानमा पर्यटकको सुविधाका लागि दुई वटा होटल छन् । त्यहाँ ५० जना बास बस्न सक्छन् । रातो च्याउ, निगालोको टुसाका परिकारको स्वाद लिन पाइन्छ । म्याग्दीखोला जलविद्युत आयोजनाले बाँध निर्माणस्थल दोभानसम्म पहुँचमार्ग निर्माण गरेपछि त्यहाँ जिप र मोटरसाइकल पुग्न थालेका छन् । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवत जावत र ढुवानीमा सहज भएको छ यसअघि बगरदेखि दोभान पुग्न पुरै दिन भिर, जङ्गल र खोल्साको बाटो हिड्नुपर्ने थियो । बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । पछिल्लो समय विदेशी पर्यटकले मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि चहलपहल घटेको दोभानमा यातायात सुविधा पुगेपछि आन्तरिक पर्यटक घुम्नका लागि आउन थालेका छन् ।

एमआरपी विवादपछि थन्किएका ९०० गाडी छुट्न थाले

काठमाडौं । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुनः सुरु गरेको छ । भैरहवा नाकामा केही दिनदेखि प्रभावित भएको आयात प्रणाली अहिले क्रमशः सहज बन्दै गएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भन्सार विन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण रोकिएको आयात प्रक्रिया विभागको नयाँ निर्णयपछि पुनः सञ्चालनमा ल्याएको हो । भन्सार विभागले आयातकर्ताले आयातित वस्तु बजारमा बिक्री-वितरण गर्नुअघि एमआरपी, ब्राण्ड, उपभोग्य मिति लगायतका विवरणसहितको लेबल टाँस्ने लिखित स्व-घोषणा गरेमा तत्कालका लागि आयात अनुमति दिन सकिने व्यवस्था गरेको छ । उक्त निर्णयपछि रोकिएका सामान छुट्ने क्रम सुरु भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट सहजीकरण सम्बन्धी जानकारी प्राप्त भएसँगै आयात प्रक्रिया पुनः सञ्चालनमा आएको बताए । उनका अनुसार आयातकर्ताबाट भन्सार कार्यालयमै लिखित प्रतिबद्धतासहित स्व-घोषणा गराई रोकिएका सामान धमाधम छुटाइँदैछ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारीले आयातकर्ताले आफ्नो गोदाममै एमआरपी लगायतका विवरणको लेबल टाँस्न पाउनुपर्ने माग राख्दै आएको र सोही आधारमा अहिले सहजीकरण गरिएको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत चैत ३० गतेको पत्रअनुसार वाणिज्य विभागले १५ दिने सूचना जारी गरेपछि वैशाख १४ गतेदेखि एमआरपी उल्लेख नभएका वस्तुको आयात भन्सारमै रोक्न थालिएको थियो । त्यसपछि भैरहवा नाकाबाट आयात प्रक्रिया प्रभावित बनेको थियो । आयातकर्ताले छोटो समयमा नियम लागू गरिएको, विदेशमा पहिले नै ‘अर्डर’ गरिएका सामानमा तत्काल लेबल टाँस्न नसकिने तथा कतिपय वस्तुमा भन्सार विन्दुमै एमआरपी टाँस्न व्यवहारिक कठिनाइ रहेको भन्दै आपत्ति जनाएका थिए । त्यसका कारण धेरै मालवाहक सवारीसाधन र सामान भन्सार तथा बाटोमै रोकिएको थियो । नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले अधिकतम खुद्रा मूल्य (एमआरपी) का कारण भैरहवा नाकामा ९०० भन्दा बढी मालवाहक गाडीका सामान रोकिएको बताए ।  एमआरपी, ब्राण्ड र उपभोग्य मिति उल्लेख गर्ने नियमका कारण विशेषगरी चीन तथा तेस्रो मुलुकबाट बढी आयात हुने विराटनगर, वीरगञ्ज, तातोपानी र केरुङ नाका बढी प्रभावित हुनसक्ने व्यवसायीको भनाइ छ । भैरहवा नाका भने भारतसँगको औद्योगिक कच्चा पदार्थ तथा दैनिक व्यापारिक आयातका लागि प्रमुख नाका मानिन्छ । 

पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङसहित हल्का वर्षा

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी तराई भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।