विकासन्युज

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रभु बैंक र स्वीस कन्ट्याक्टबीच कृषि कर्जाका लागि सम्झौता

काठमाडौं । प्रभु बैंक र स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ । सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदरस् अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैंकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता र व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौ । दैलेख केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले मंगलबार बिहान १०ः३४ मा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिइको जानकारी दिए । उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।’ सोमबार राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ८ः३८ मा भूकम्प महसुस गरिएको थियो ।

नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँछु : विदुषी राणा

काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान समारोहको आयोजना गरिएको थियो । यस कूटनीतिक कोशेढुङ्गाको महत्व झल्काउने महत्वपूर्ण कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विशेष अतिथिको रुपमा सो अवसरमा सम्मान गरेका थिए । उक्त कार्यक्रममा नव नियुक्त महावाणिज्यदुत राणाले दुइ देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपुर्ण भुमिका खेल्ने बताइन् । कार्यक्रममा आइसल्याण्ड गणतन्त्रका राजदूत महामहिम गुड्नी ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने कुरामा विशेष अतिथिका रूपमा सहभागी भए । सभाको माननीय उपसभामुख इन्दरा राणाको प्रमुख व्यक्तित्वको उपस्थिति थियो, उनले महावाणिज्यदुतमा विदुषि राणालाइ नियुक्त गरेकोमा धन्यवाद व्यक्त गर्नुको साथै महिलाले कुटनैतिक क्षेत्रमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन । जसले नेपालको व्यवस्थापिका क्षेत्रमा कार्यक्रमको महत्त्वलाई उजागर गर्यो । कार्यक्रममा संसदका माननीय सदस्यहरु, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नरहरु र विभिन्न महामहिम राजदूतहरुको उपस्थिति रहेको थियो । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख लगायत उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित स्थानीय शासन र व्यवसायी समुदायको राम्रो प्रतिनिधित्व भएको थियो। यसले सरकारी र गैरसरकारी दुवै क्षेत्रबाट व्यापक समर्थन र मान्यता पाएको दर्शाउँछ । कार्यक्रममा अवैतनिक वाणिज्य दूतहरू, विशिष्ट व्यक्तिहरू, सरकारी अधिकारीहरू र अन्य उल्लेखनीय व्यक्तित्वहरू सहित ३०० भन्दा बढी उपस्थित भएका थिए । जसले नयाँ कन्सुलेट र विदुषी राणाको नियुक्तिप्रति व्यापक चासो र समर्थन झल्काउँछ । कार्यक्रममा प्रमुख अतिथि माननिय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि दामोदर भण्डारीले महावाणिज्यदुत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचार प्रसार र अन्यक्षेत्रको विकासमा पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै राणाले नयाँ अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कृतज्ञता र प्रतिबद्धता व्यक्त गरिन् । उनले बढेको कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरू प्रकाश पारिन् र दुई राष्ट्रहरू बीचको सांस्कृतिक र व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन गर्न आफ्नो भूमिकाको अपेक्षा व्यक्त गरिन् । काठमाडौंमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल–आइसल्याण्ड सम्बन्धमा नयाँ अध्यायको सङ्केत गरेको छ, जसको उद्देश्य सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अतिथिहरूलाई अभारसहित भविष्यमा सहयोगी अवसरहरू बारे छलफलका लागि अनुमति लिदै रिसेप्शनको साथ समापन गरियो । यो अवसर नेपालको कूटनीतिक संलग्नता, सद्भाव बढाउने र आइसल्याण्डसँगको घनिष्ठ सम्बन्धमा महत्त्वपूर्ण कदम सावित हुने छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखा स्थानान्तरण

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखाहरु स्थानान्तरण गरिएको छ । इन्स्योरेन्सको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं. ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा स्थानान्तरण गरिएको छ । ग्राहकहरुलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरु स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीबन बीमाको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकतानुसार थप शाखा कार्यालयहरु खोल्दै जाने र आफ्ना ग्राहकमहानुभावहरुलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटामा शाखाहरु स्थानान्तरण गरि ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने जनाएको छ ।

प्रभु बैंक र यूएसएआईडीबीच सम्झौता, रोजगारी वृद्धि र आयका अवसरलाई प्रोत्साहन गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसबीच दिगो विकासका लागि कृषि र पर्यटन उद्योगलाई सशक्त बनाउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अन्तर्गत स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि तथा पर्यटन व्यावसायीहरुको विकासमा सहयोग पुग्ने गरी ‘इम्पावरिङ एग्रो एन्ड टुरिजम इन्डस्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ नामको परियोजना सञ्चालन गरिने भएको छ । यो परियोजना वागमती प्रदेशमा सञ्चालन गरिने भएको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा यूएसएआईडीका प्रतिनिधि मार्क्स मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आयका अवसरहरुलाई प्रोत्साहन गर्न विशेषगरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।  

हिमालयन लाइफ इन्स्योरेन्स १७ औं वर्षमा प्रवेश

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स मंगलबार १६ औं वर्ष पुरा गरेर १७ औं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले १६ औं वार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा बृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र बृद्धबृद्धाहरुको लागि खाद्यान्य वितरण गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी बृद्धाआश्रम, बर्दिबास स्थित भुवनेश्वरी बृद्धाआश्रम र विरगञ्ज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी बागमती प्रदेश अन्तर्गत अपांग पुनस्थापना केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहर स्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपांग आश्रममा खाद्यान्य वितरण, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका बृद्धाबृद्धालाई खाद्यान्य वितरण, कपिलबस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत विद्यालय, झलारी स्थित बिद्यालयमा र धनगढी स्थित परिवार वालगृहमा खाद्यान्य तथा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन : हस्तकला महासंघ

काठमाडौं । नेपाल हस्तकला महासंघले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले सोमबार विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८१/८२ को बजेटले महासंघ र सार्क विकास कोषद्वारा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्र नेपालको स्थापना तथा सञ्चालनको सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएको हो । ‘मुलुकको कला, संस्कृति र सम्पदा क्षेत्रको संरक्षण गर्दै लाखौँ युवालाई रोजगार प्रदान गरी वार्षिक १२ अर्बभन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्ने हस्तकला क्षेत्रलाई बजेटले सम्बोधन गर्न सकेन’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बजेटले आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसंँग आबद्ध गराउने बजेटले लिएको लक्ष्य निकै सकारात्मक रहेको महासंघले जनाएको छ । महासंघले निजी क्षेत्रसँगको सहकार्यमा बागमती प्रदेशलाई उद्योग हब र लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यमी हब बनाइने र प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमद्वारा स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहित गरिने कुराले व्यवसायीहरू आशावादी भएको बताएको छ । महासंघले उद्यममा युवा सहभागिता बढाउने र नवप्रवर्तनका लागि उद्यमशील वातावरण तयार गर्ने उद्देश्यले स्टार्टप उद्यमीको लागि एक अर्ब रुपैयाँको कोष व्यवस्थापन गर्नु सराहनीय भएको जनाएको छ । यस्तै वस्तु तथा सेवा प्रवरद्धनका लागि सार्वजनिक निजी साझेदारीमा काठमाडौंको चोभारमा निर्माण गरिने अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल सबै उद्यमी व्यवसायीलाई समेट्ने गरी निर्माण गर्नुपर्ने महासंघले जनाएको छ । महासंघले औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि झण्डै साढे छ अर्ब छुट्याउनु सराहनीय रहेको बताएको छ । मेक इन नेपाल र मेड इन नेपाल अभियानमा निजी क्षेत्रसँग सहकार्य गरिने र उद्योग वाणिज्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने औद्योगिक व्यवसाय ऐन र श्रम ऐनलाई समयानुकूल संशोधन गरिने कुरा सकारात्मक रहेको बताइएको छ । निकासीकर्ताले विदेशी मुद्रा प्राप्त भएको कागजात पछि पेस गर्ने शर्तमा अमेरिकी डलर २५ हजारसम्मको सामान निकासी गर्न पाउने व्यवस्थाले हस्तकला निर्यातमा सकारात्मक प्रभाव पार्ने महासंघको ठहर छ । हस्तकला क्षेत्रमा धेरै कार्यहरू अनौपचारिक क्षेत्रमा हुने भएकाले अनौपचारिक क्षेत्रमा कार्यरत कामदार तथा श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने बजेटले लिएको नीति सान्दर्भिक रहेको बताइएको छ ।