विकासन्युज

सिद्धार्थ बैंकद्वारा बाल अस्पताललाई १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भुमिका खेल्ने भन्ने विश्वास बैंकले लिएको छ ।

होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले असार १९ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी असार १९ गते नयाँबानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ । सभाले हाल कायम चुक्ता पुँजी ९ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर १३.५ कित्ताका दरले हकपद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर जारीपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्त्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए । प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताए। उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने आशा गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

पहिरोले अवरुद्ध मुग्लिङ सडक सञ्चालनमा

काठमाडौं । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् । इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो । सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा लागेका छन् । तर, राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

पाटन । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत रहेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले महानगरले जेठ मसान्तसम्ममा पुँजीगततर्फ २ अर्ब ४३ करोड ९२ लाख ३७ हजार रुपैयाँ खर्च गरेको बताए । ‘पुँजीगततर्फ यस आवमा ४ अर्ब २९ करोड ४६ लाख रुपैयाँ पारित भएको थियो, जसमध्ये जेठ मसान्तसम्ममा २ अर्ब ४३ करोड ९२ लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ, जेठ मसान्तसम्म सम्झौता भइसकेको र सम्पन्न हुन बाँकी कामको मात्रै यो महिनामा भुक्तानी हुन्छ,’ उनले भने, ‘बजेटमा समावेश भएको तर सम्झौता हुन बाँकी काम तथा योजना नयाँ दायित्व सिर्जना हुने गरी यो महिनामा भुक्तानी नगर्ने हाम्रो नीति छ ।’ अघिल्लो आव २०७९/०८० को जेठमसान्तसम्म ४० प्रतिशतको हाराहारीमा खर्च भएको थियो, सोही आधारमा हेर्दा यो वर्ष उल्लेख्य प्रगति भएको उनले जानकारी दिए । यस्तै, चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयतर्फ १ अर्ब ७५ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी गराए । ‘गत वर्षको नगरसभाबाट पारित वार्षिक आयव्ययअनुसार चालु आवमा २ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य लिएको थियो, सोही नीतिअनुसार वैशाख मसान्तसम्म १ अर्ब ७५ करोड २४ लाख ९० हजार संकलन भएको छ । प्रस्तावित राजस्व संकलन लक्ष्यको आधारमा यो ७२ दशमलव ९६ प्रतिशत हो, जेठ मसान्तसम्मको अध्यावधिक गर्ने चरणमा छौँ,’ थापाले भने । यस्तै महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले ललितपुरले गरेको खर्चमा बेरुजु रकम शून्य दशमलव ४६ प्रतिशत मात्रै रहेको देखाएको छ । यसले वित्तीय सुशासनमा ललितपुर अब्बल रहेको देखिएको छ । ‘पुरानो बेरुजु धेरै फछ्र्योट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशतभन्दा कममा सीमित राख्नु वा बेरुजु शून्य राख्न सफल हुनु वित्तीय सुशासनको आधार हो, हामीले यस आवमा पुरानो बेरुजु ५८ करोडभन्दा बढी रकम फर्छ्योट गर्न सफल भएका छौँ । सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरी प्रयोगमा ल्याइएको छ, प्रशासनिक खर्च कम गरी पुँजीगत खर्च वृद्धि गरेका छौँ,’ धिमालले भने ।

नर्वेले युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग गर्ने

नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को जाडोअघि देशको बिजुली आपूर्ति सुरक्षित र मद्दत गर्न १० करोड ३० लाख डलर प्रदान गर्ने भएको छ । ‘रूसले पावर ग्रिडलाई निष्क्रिय बनाउन ठूलो आक्रमणहरू गरिरहेको छ । तर युक्रेनीहरू आवश्यक बिजुली आपूर्ति कायम गर्न दिनरात काम गरिरहेका छन्,’ प्रधानमन्त्री जोनास गाहर स्टोरले एक विज्ञप्तिमा भने । नयाँ अनुमानअनुसार युक्रेनको विद्युत उत्पादन क्षमताको ५० प्रतिशतभन्दा बढी नष्ट भएको सरकारले जनाएको छ । प्रधानमन्त्री स्टोरले भने, ‘हामी युक्रेनसँग कसरी यी कोषहरू सबैभन्दा प्रभावकारीरूपमा प्रयोग गर्न सक्छ भन्ने बारे घनिष्ठ संवादमा छौँ ।’ रुसी आक्रमणबाट विशेषरूपमा प्रभावित खार्किभ क्षेत्रमा मर्मतका लागि १२ करोड क्रोनर खर्च गर्ने नर्वेले यसअघि नै बताइसकेको छ । खार्किभ क्षेत्रका सात प्रसूति एकाइ र अपरेटिङ थिएटरहरूमा सौर्य प्यानलहरू जडान गरिने स्टोरले बताए । यो जुन स्विट्जरल्यान्डमा युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिएको बेला जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ मा नर्वेले युक्रेनी ऊर्जा क्षेत्रलाई २ अर्ब १० करोड क्रोनर र गत वर्ष एक अर्ब ९० करोड क्रोनर अनुदान उपलब्ध गराएको थियो । स्क्यान्डिनेभियाली देश नर्वेले युक्रेनलाई सन् २०२३ देखि २०२७ को पाँच वर्षको अवधिका लागि ७५ अर्ब क्रोनर सैन्य र नागरिक सहायताको वाचा गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा २ अर्ब ६६ करोड बढी राजस्व संकलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा २ अर्ब ६६ करोड ८० लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आवको ११ महिनामा २ अर्ब ५० करोड १९ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । आन्तरिक राजस्व कार्यालयले ११ महिनामा राखेको लक्ष्यको ८३.३५ प्रतिशत मात्रै राजस्व संकलन गरेको सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । ‘व्यापार व्यवसायमा मन्दी आउँदा राजस्व संकलनका् लक्ष्य नभेटिए पनि हालको संकलन दर कायम राख्नुपर्ने चुनौती छ,’ उनले भने । आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब २२ करोड, भाडा आयकरबाट ३ करोड ४ लाख, ब्याजबापत १० करोड २१ लाख, मूल्य अभिवृद्धि करबापत १ अर्ब ११ करोड ९५ लाख, अन्तःशुल्कबापत ५८ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी आचार्यले बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

सूर्योदय वोमी लघुवित्तसहित यी तीन कम्पनीको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक सेयर बिक्रीमा ल्याउने कम्पनीहरूमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन् । यी कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ३३ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । कम्पनीले बिक्रीमा ल्याएको यो सेयर संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् । सूर्योदय वोमी लघुवित्तले ५२ हजार ३५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र संस्थाको ललितपुरस्थित कर्पोरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा विवरण खुलाई निवेदन दिन सक्नेछन् । यस्तै, किसान लघुवित्तले १२ हजार ४८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाई कैलालीस्थित केन्द्रीय कार्यालय वा कर्पोरेट कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ । यसैगरी कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयमा खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीहरूले जनाएका छन् ।