अमेरिकमा तीव्ररूपमा फैलियो बर्ड फ्लू , महामारीबाट बच्न विश्व समुदाय तयार नभएको प्रतिवेदन सार्वजनिक
पेरिस । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको कडा चेतावनी दिएको मंगलबार एक प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनमा नेताहरूलाई शीघ्र कदम चाल्न आग्रह गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समयपछि राजनीतिज्ञहरूले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त पैसा वा प्रयास नगरेर ‘उपेक्षाको माध्यमबाट जुवा’ खेलिरहेको प्रतिवदेनमा उल्लेख छ । अमेरिकाभरि फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू एच५एन१ तीव्ररूपमा फैलिरहेको छ । यसबाट यो भाइरसले भविष्यमा महामारी फैलाउन सक्छ भन्ने डर उत्पन्न भएको छ । ‘यदि एच५एन१ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सुरु गर्यो भने विश्व पुनः अभिभूत हुनेछ,’ प्रतिवेदनका सह–लेखक तथा न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले एक पत्रकार सम्मेलनमा भने, ‘यो सम्भावितरूपमा कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्छ ।’ ‘हामी प्रकोप फैलिनुअघि रोक्न पर्याप्तमात्रामा सुसज्जित छैनौँ,’ प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विशेषरूपमा बालबालिकालाई प्रभावित गर्ने एमपक्सको घातक तनावलाई संकेत गर्दै उनले भने । धनी मुलुकहरूसँग एमपक्सको प्रकोपसँग लड्न खोप भए पनि ती खोप मध्य अफ्रिकी मुलुकलाई उपलब्ध नगराइएको उनले बताए । अहिले दक्षिण अफ्रिकामा एमपक्स स्ट्रेनबाट दुई जनाको मृत्यु भएको भन्दै क्लार्कले यसबाट बेवास्ता गर्दा कसरी रोगजनकहरू फैलिन्छन् भन्ने देखिएको उनले बताए। प्रतिवेदनको नेतृत्व क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलिफले गरेका थिए । सिरलिफले यसअघि महामारीको तयारीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सल्लाह दिने स्वतन्त्र प्यानलको सह–अध्यक्षका रूपमा काम गरेका थिए । ‘सन् २०२१ मा प्यानलको सल्लाहका बावजुद आवश्यकताको तुलनामा अहिले उपलब्ध धनराशि कम छ र उच्च आम्दानी भएका मुलुकहरूले इक्विटीका लागि परम्परागत परोपकारमा आधारित दृष्टिकोणलाई बलियोसँग पक्रिरहेका छन्,’ क्लार्कले भने । विशेषगरी सम्पन्न मुलुकहरू र कोभिड संकटको समयमा कटौती गरिएका महसुस गर्नेहरूबीचको भिन्नताका कारण डब्लुएचओका सदस्यहरू अझै पनि बहुचर्चित महामारी सम्झौतामा सहमत हुन सकेका छैनन् । प्रतिवेदनमा सरकार तथा अन्तर्राष्ट्रिय संगठनहरूलाई डिसेम्बरसम्ममा नयाँ महामारी सम्झौतामा सहमत हुनका साथै खोप उत्पादनलाई बढावा दिन, डब्लुएचओको शक्तिलाई बढाउन र भाइरससँग लड्ने राष्ट्रिय प्रयासहरूलाई बढावा दिनका लागि थप प्रयासहरूलाई वित्तपोषित गर्न आह्वान गरिएको छ । सम्भावित खतरामाथि जोड दिनका लागि प्रतिवेदनले आगामी २५ वर्षमा कोभिडजस्तै आकारको महामारीको सामना गर्ने एकरदुई सम्भावनाका मोडेलिङ अनुसन्धानलाई औंल्याएको छ । एजेन्सी
बिलबिजक नभएका २ करोड २९ लाख बराबरका समान बरामद
वीरगञ्ज । पर्सा प्रहरीले २ करोड २९ लाख ३९ हजार ६ सय ५७ मूल्य बराबारका बिलबिजक नभएका सामान बरामद गरेको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित एकीकृत जाँच चौकीको गेटसँगै रहेको सडकमा पार्किङ गरेर राखेका ट्रकको छानबिन गर्दा बिलबिजक नभएका हार्डवेयर, कपडा तथा खुद्रा सामान लोड भएका तीन ट्रक पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बिलबिजकभन्दा धेरै सामान ल्याएका भन्दै तीनवटा ट्रकलाई आइतबार नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको बताए । प्रहरीले ना३ख ६९०५, ना३ख ५१६७ र ना३ख २६२० नम्बरका ट्रकबाट दुई करोड २९ लाख रुपैयाँ बराबरको सामान पनि नियन्त्रणमा लिएको जनाएको छ ।
जुम्लाका स्थानीय तहको आम्दानी न्यून
जुम्ला । जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिका गरी ८ वटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९/८० मा वार्षिक आय २ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेकामा १ करोड २० लाख ६० हजार रुपैयाामात्र आम्दानी भएको छ । नगरपालिकाले उठाएको उक्त रकम विभिन्न शीर्षकअन्तर्गत कर, सेवा शुल्क, व्यवसाय, सवारी, एकीकृत सम्पत्ति, घरजग्गा बहाल र नक्सापासबाट प्राप्त भएको हो । तिला गाउँपालिकाले १८ लाख ९० हजार आन्तरिक आम्दानी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहे पनि तिलाले कुनै पनि कर संकलन गर्न नसकेको महालेखा परीक्षकको प्रतिदेनमा सार्वजनिक गरिएको छ । यसैगरी, सिञ्जा गाउँपालिकाले गत आवमा १३ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो । तातोपानी गाउँपालिकाले पेस गरेको आयव्यायको अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर सेवा, शुल्क दस्तुरवापत अनुमानित २० लाख रुपैयाँ प्राप्त हुुने प्रक्षेपण गरेकामा सोही आवमा ३० लाख ९९ हजार अर्थात् अनुमानभन्दा ५४.९९ प्रतिशत बढी आन्तरिक आय उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । गुठीचौर गाउँपालिकाले १८ लाख ६६ हजार, हिमा गाउँपालिकाको १६ लाख ५४ हजार र कनकासुन्दरी गाउँपालिकाले १८ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको महालेखा परीक्षकको प्रतिदेनमा जनाइएको छ । स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था भए पनि जिल्लाका स्थानीय तहले आय संकलनमा कुनै चासो नदिएका तिला गाउँपालिका स्थानीयवासी नर रोकायाले बताए । आम्दानी कम हुँदा स्थानीय सरकार, संघ र प्रदेश सरकारको अनुदानमा निर्भर छन् ।
सूर्यज्योति लाइफको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुकले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् । तोकिएको अवधिमा खरिद आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौं । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले बिहान ६ः०० बजे जारी गरेको बुलेटिनमा कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मेची भन्सारबाट ११ महिनामा १२ अर्ब ९३ करोड बढी राजस्व संकलन
भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आव सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७.५७ प्रतिशत राजस्व संकलन गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात ३.६१ प्रतिशतले घट्दा निर्यात भने १०.७६ प्रतिशतले वृद्धि भएको छ । उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको छ । चालु आवको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५.२९ प्रतिशत, प्लाइउड ५६.३३ प्रतिशत, अदुवा ३५.४५ प्रतिशत, अम्रिसो ३१.३४ प्रतिशत र भेनियस सिट १२.५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिए । अलैँची २.६१ प्रतिशत र चिया १३.४२ प्रतिशतले निर्यात घटेको उनले बताए । यसैगरी, पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात भने गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा घटेको छ । काँकरभिट्टा नाकाबाट आयात हुने पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, खाना पकाउने ग्यास, सबै प्रकारका तरकारी, जिप्सम, अलकिड रेजिन, सबै प्रकारका कपडा तथा फलफूल (जुससमेत), भेनियस सिटलगायत छन् । यो नाकाबाट अलैँची, फलामका पाता, प्लाइउड, चिया, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायत सामग्री निर्यात हुने गरेका छन् ।
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन विमानस्थल परिसरमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । यसैगरी विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने बैंकले जनाएको छ । बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवम् ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
बझाङको मष्टामा नियम विपरीत ४१ जना कर्मचारी नियुक्त, भ्रमण खर्चको लेखाजोखा नै छैन
काठमाडौं । बझाङको मष्टा गाउँपालिकाले नियम विपरीत ४१ जना करारका कर्मचारी नियुक्त गरेको छ । महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनले गाउँपालिकाले नियम विपरीत ४१ जना कर्मचारी नियुक्त गरेको देखिएको हो । स्थानीय तहले कार्यालय सहयोगी, सवारी चालक, बगैचे लगायतका पद बाहेक अन्य पदमा करारमा कर्मचारी राख्न पाउँदैन । तर, अन्य कर्मचारीलाई पनि करारमा नियुक्त गरि १ करोड ६३ लाख ५८ हजार रुपैयाँ खर्च गर्ने गरेको महालेखाको प्रतिवेदनले देखाएको हो । यस्तो कार्य तत्काल रोक्नु पर्ने सुझाव महालेखाले देखाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेाणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर, गाउँपालिकाले दरबन्दी भित्रका विभिन्न पदमा ४१ जना कर्मचारीहरु करारमा राखेको प्रतिवेदनले देखाएको हो । गाउँपालिकाले दरबन्दी बमोजिम जनशक्तिको पूर्णता नहुँदा विषयगत कार्यक्रम सञ्चालन, सेवा प्रवाह तथा गाउँपालिकाको समग्र कार्य सम्पादनमा असर पर्ने हुँदा रिक्त पदहरु पूर्ति गरी सेवा प्रवाह प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिएको हो । यस्तै, गाउँपालिकाले भ्रमणमा गरेको खर्चको कुनै अभिलेख नराखकेको पनि उल्लेख गरेको छ । भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमणमा खटिने पदाधिकारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले अनुसूची–६ बमोजिमको ढाँचामा भ्रमण अभिलेख राख्नुपर्नेमा विभिन्न कर्मचारीले विभिन्न स्थानमा भ्रमण गरेको भ्रमण आदेश र भ्रमण विल अनुसार खर्च लेखेकोमा भ्रमण अभिलेख नराखेको प्रतिवेदनमा उल्लेख छ । साथै तेरिज तयार नगरि एउटै गोश्वरा भौचरबाट अनुगमन तथा मूल्याङ्कन, सरुवा तथा भ्रमण भत्ता एकमुष्ट भ्रमण प्रतिबेदन बेगर यो वर्ष अनुगमन तथा मूल्याकंन वापत ३९ लाख ६० हजार रुपैयाँ गाउँपालिकाले खर्च गरेको छ । यसबाट अनुगमन तथा मूल्याङ्कन कार्यक्रम प्रभाबकारी भयो भन्ने आधार नभएको पनि उल्लेख गरिएको छ । नियमाबलीमा उल्लेख भएबमोजिम भ्रमण अभिलेख तथा भ्रमण प्रतिवेदन राखेर मात्र भ्रमण खर्च लेख्नु पर्ने सुझाव महालेखाको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ वमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले त्यस्तो प्रणाली तयार गरी लागु नगरेको पनि महालेखाको प्रतिवेदनले देखाएको छ । जसले गर्दा गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको र सो माथि विश्वस्त हुन सक्ने अवस्था नरहेको विषय प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले गाउँपालिकाबाट सञ्चालित आयोजनाको मर्मत सम्भारको लागि मर्मत सम्भार कार्यविधि तर्जुमा नगरेको र गाउँपालिकाले उद्देश्य प्राप्तिमा आईपर्न सक्ने सम्भावित जोखिमहरु पहिचान गरि सोको निराकरणको प्रयास गरेको अभिलेख नराखेको बुझिएको छ । मष्टा गाउँपालिकामा कार्यपालिकाको निणर्य बमोजिम बिभिन्न शीर्षकमा कुल २ करोड ७२ लाख ११ हजार रुपैयाँ अर्थात कुल बजेटको ४८ करोड ११ लाख ७१ हजारको ५.६ प्रतिशत रकमान्तर गरी खर्च गरेको पनि देखाएको छ । गाउँपालिकाको विनियोजन ऐन, मा व्यवस्था बिना रकमान्तर गरी खर्च गरेको उपयुक्त नदेखिएको र यसलाई सुधार गर्नु पर्ने सुझाव महालेखाले दिएको छ ।