आईपीओ बेच्न दलालहरू सक्रिय, डिम्याट खाता खोल्न १२०० शुल्क !
काठमाडौं । नुवाकोट घर भएका दिनेश घिमिरे (परिवर्तित नाम) हाल वैदेशिक रोजगारीको लागि कतारमा छन् । उनी नेपालमा रहँदा नै साथीभाईहरूको सुझाव अनुसार र केही आफ्नो बुझाइका आधारमा आईपीओ भर्ने गरेका थिए । नेपालमा हुँदा उनकाे करिब ५० हजार रूपैयाँकाे पोर्टफोलियो थियो । विदेश गएर पनि उनले केही समय आईपीओ भर्ने क्रम जारी राखे । हाल उनको पोर्टफोलियो करिब ९० हजार रूपैयाँ हाराहारीमा छ । उनलाई सेयर कसरी बेच्ने भन्नेबारे सुरुमा ज्ञान थिएन, केही साथीहरूले ब्रोकर खाता खोलेपछि मात्रै बेच्न मिल्छ भनेर सुझाव दिए । त्यसपछि उनले सामाजिक सञ्जालमा कसरी खाता खोल्ने भनेर खोज्न थाले । खोज्ने क्रममा उनले खाता खोल्दिने भन्दै गरेका थुप्रै विज्ञापनहरू भेटाए । तिनैमध्ये एकलाई उनले खाता खोलिदिन आग्रह गर्दै म्यासेज गरे । ती एजेन्टले पनि सहजै स्वीकार गरे र चाहिने कागजपत्र मगाए, सँगै उनले क्यूआर पनि पठाए । ‘तपाईंले विदेशबाट खाता खेल्नुहुने भएकोले ५०० रुपैयाँ लाग्छ,’ ती व्यक्तिको भनाइ उद्धृत गर्दै घिमिरे भन्छन्, ‘सुरुमा पैसा लाग्ने केही कुरा गर्नुभएको थिएन पछि सबै कागजपत्रहरू पठाएपछि ५०० रुपैयाँ लाग्छ भन्नुभयो ।’ घिमिरेले यो घटना हामीलाई सुनाएपछि हामीलेले सोही व्यक्तीलाई ब्रोकर खाता खोल्न भन्दै बुझ्ने प्रयास गर्यौं । सो क्रममा घिमिरेको भनाइ प्रमाणित हुने केही तथ्यहरू हामीले पनि फेला पारेका छाैं। अनलाईन डिम्याट-मेरो सेयर-ब्रोकर सेवा नेपाल नामक एक फेसबुक पेजले ब्रोकर खाता खोलेको ५ सय रुपैयाँ लिने गरेको बतायो । विदेशबाट खाता खोल्दा कति लाग्छ भन्ने हाम्रो प्रश्नमा सो पेजले भन्यो ‘विदेशबाट खोलेको पनि एउटै रेट हो ५०० रुपैयाँ लाग्छ ।’ हामीले विदेशबाट हो भनेपछि उक्त फेसबुक पेजलाई अझै धेरै पैसा कमाउन सकिने सोच बन्यो । उक्त पेजमा डिम्याट, मेरोसेयर र ब्रोकर सेवा दिइने भनि विज्ञापन गरिएको थियो । हामीले सोहीलाई आधार मान्दै आफूसँग मेरोसेयर पनि नभएको र सो पनि बनाइदिन आग्रह गर्यौं । विदेशमा रहेको कुरा जानकारी पाइसकेको उक्त पेजले तुरुन्तै भन्यो ‘मेरो सेयर खाता खोलेको १२ सय रुपैयाँ लाग्छ ।’ त्यस्तै, सामाजिक सञ्जाल फेसबुकमा देखिएको अर्को एक विज्ञापनकर्तासँग हामीले पुन: बुझ्यौं । उनले सन्तोष फोम्बो लिम्बु नामको आफ्नो व्यक्तिगत फेसबुकबाट नै विज्ञापन गरेका थिए । उनीसँग हामीले कुरा गर्दा सुरुमा ब्रोकर खाता खोलेको १५० लाग्ने बताए । त्यस लगत्तै विदेशबाट खोलेको कति लाग्छ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘विदेशबाट हो भने ३ सय रुपैयाँ लाग्छ ।’ ती व्यक्तिलाई पुन: मेरोसेयर पनि बनाउनुपर्ने कुरा सुनाउँदै कति लाग्छ भन्ने जिज्ञासामा भने उनी थोरै झस्किएझै भएर भने ‘पहिले ब्रोकर खाता बनाउनुहोस् त्यसपछि मेरोसेयरको कति लाग्छ भन्छु ।’ यति भन्दै उनले ब्रोकर खाता खोल्ने भए कागजपत्र पठाउन र पैसा हाल्न भने । तर, टिएमएस खाता खोल्न त पैसा लाग्दैन होइन र भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘टिएमएस खाता खोल्न पैसा त लाग्दैन । तर, मैले तपाईंहरूलाई दिएको सेवा बापत्त रकम लिने गरेको छु । तपाईंले जुनसुकै ब्रोकर कम्पनीमा डिम्याट, मेरो सेयर र टिएमएस खाता खोल्न मिल्छ । आफू स्वयम् उपस्थित पनि भइरहनु पर्दैन ।’ उनले थपे ‘अहिले नै पैसा पर्दैन तपाईंको खाता खुलेपछि ई-सेवामा हाल्दिनु भए हुन्छ ।’ त्यस्तै, फर्म नेपाल डिम्याट ब्रोकर नामक फेसबुक पेजमा पनि ब्रोकर खाता खोल्न भन्दै विज्ञापन गरिएको थियो । सो पेजसँगको कुराकानीका क्रममा भने उनले ब्रोकर खाता खोलेको नेपाल भित्रबाट ३ सय रुपैयाँ लिने गरेको र विदेशबाट भए ५ सय रुपैयाँ लिने गरेको बताए । मेरो सेयर भने आफूहरूले हाल नबनाउने भन्दै पन्छिए । यी त केही उदाहरणहरू मात्रै हुन् । सामाजिक सञ्जालमा डिम्याट, ब्रोकर र मेरो सेयर खाता बनाइदिने भन्दै थुप्रै विज्ञापनहरू आउने गरेका छन् । तर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन खाता भने सित्तैमा खोल्न मिल्छ । सो सुविधा सबै ब्रोकर कम्पनीले दिएका छन् । त्यतिमात्रै होइन जो कुनै ब्रोकरको आधिकारीक वेवसाइटमा गएर जुनसुकै स्थानबाट पनि सजिलै अनलाइन फारम भरेर खाता खोल्न सकिने सुविधा छ। तर, सामाजिक सञ्जालमा भएका यस्ता किसिमका विज्ञापनका कारण भने थुप्रै मानिसहरू ठगिने गरेका छन् । हाल नेपालमा डिम्याट खाता खोल्नको लागि १ सय रुपैयाँ लाग्छ भने मेरोसेयरको लागि ५० रुपैयाँ लाग्ने गरेको छ । त्यसै मेरो सेयर नवीकरण गर्नको लागी ५० रुपैयाँ लाग्ने गरेको छ । मेरो सेयर बनाउन भन्दै १२ सय रुपैयाँसम्म असुल्नु गैरकानुनी रहेको धितोपत्र बोर्डले बताएको छ । यसरी विज्ञापन गरेर खुलेआम पैसा कमाऊ धन्दा चलाउँदा समेत सम्बन्धित निकाय भने मौन देखिन्छ । सम्बन्धित निकायहरू भने यो विषयबारे थाहा नभएको बताउने गरेका छन् । धितोपत्र बोर्डका अनुसार कुनै पनि ब्रोकर कम्पनीहरूले टिएमएस खाता खोल्ने भन्दै विज्ञापन गर्न पाउँदैनन् । खासगरि यस्ता किसिमका विज्ञापन ब्रोकर कम्पनीहरूले भन्दा पनि तेस्रो व्यक्तिहरूले खुलेआम गरिरहेको पाइन्छ । बोर्डसँग सम्बन्धित कुनै पनि काम गर्न धितोपत्र बोर्डको अनुमति चाहिन्छ । धितोपत्र बोर्डको अनुमति प्राप्त संस्थाहरूले मात्रै धितोपत्रसँग सम्बन्धित कार्य गर्न पाउने व्यवस्था छ । बोर्डको अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले यस्तो विज्ञापन गर्नु गैर कानुनी भएको बोर्डले जनाएको छ । ब्रोकर संघका अनुसार यसरी विज्ञापन गर्न र पैसा असुल गर्नु गैरकानुनी हाे । धितोपत्र ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकाल भने हालसम्म यस्ता किसिमका गुनासाहरू संघमा नआएको बताउँछन् । यसरी खुलेआम विज्ञापन गरेर पैसा असुल्ने कुरा कानुन सम्वत नभएको उनी बताउँछन् । ‘यो एकदमै गलत कार्य हो किनकि टिएमएस खाता खेले वापत्त पैसा लिन पाउने भन्ने व्यवस्था नै छैन,’ उनी भन्छन्, ‘अनलाइनबाटै सबै सुविधा दिनुपर्छ भनेर त हमीले ब्रोकरहरूलाई तागेता पनि गरिरहेको हुन्छौं । तर, यस्तो किसिमको गलत कार्य भइरहेको हामीले सुनेका छैनौं ।’ ब्रोकर कम्पनीहरूले छुट्टै एजेन्ट भनेर पनि राख्न नपाउने उनी बताउँछन् । उनी भन्छन्, ‘एजेन्ट राख्न पाउने भन्ने विषय पनि हाम्रो अहिलेको कानुनमा नै छैन यो त झनै गैरकानुनी विषय हो ।’ स्टक ब्रोकर एशोसिएसनका उपाध्यक्ष सरिता अधिकारी भने ब्रोकर खाता अनलाइनबाटै सजिलै खोल्न मिल्ने बताउँछिन् । ‘नयाँ पुरानो जतिपनि सबै ब्रोकरहरू हामी छौं, यहाँ त्यस्तो समस्या छैन । हामीले १ रुपैयाँ पनि नलिएर खाता खोल्ने गरेका छौं,’ उनी भन्छिन्, ‘कुनै कुनै कम्प्युटर इन्स्टिच्यूटहरूले चाँहि अनलाइ खाता खाेल्नुहुन्छ भनेर हामीले सुनेका छाैं तर कति शुल्क लिनुहुन्छ भन्ने हामीलाई थाहा हुने कुरा भएन ।’ संघमा आबद्ध ब्रोकरहरूले पनि एजेन्ट राखेर खाता नखोलाएको उनी दाबी गर्छिन् । उनी भन्छिन्, ‘त्यसरी खाता खोलीदेउ भनेर उहाँहरूसँग लिंक गर्ने काम हामीबाट भएको छैन र हुँदैन पनि । यो कानुन विपरीत हो ।’ एनएमबि क्यापिटलका सिईओ दिपेश कुमार वैद्यका अनुसार मेरो सेयर खोल्न आफूहरूले तोकिए अनुसार ५० रुपैयाँ मात्रै लिने गरेको बताए । ‘हाम्रोमा अनलाइनबाट मेरो सेयर खोल्ने व्यवस्था छैन, त्यसैले जोकोहीले मेरोसेयर बनाउन चाहनुहुन्छ भने व्यक्ति स्वयम नै उपस्थित हुनुपर्छ,’ उनी भन्छन्, ‘व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने भएपछि अन्य व्यक्तिले धेरै पैसा लिएर गरिदिने भन्ने कुरा त हामीकहाँ सम्भव नै छैन ।’ सामाजिक सञ्जालमा विज्ञापन गरेर मेरो सेयर खोलिदिने गिरोहबारे जानकारी नभएको उनले बताए । उनी भन्छन्, ‘हाम्रोमा त्यसरी अन्य कोही व्यक्ति मेरो सेयर खोलिदिन भन्दै आउनु भएको छैन र हामीले त्यसरी खोल्न दिने गरेको पनि छैनौं ।’ नेप्सेका प्रवक्ता मुराहरी पराजुली भने हालसम्म यस विषयबारे कुनै जानकारी नभएको बताउँछन् । सामाजिक सञ्जालमा यसरी खुलेआम विज्ञापन गरेर ठगी भइरहेकोबारे तपाईंहरूले केही चासो लिनुभएको छ कि छैन भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘अहिले त झन प्रतिष्पर्धाको समय छ, ब्रोकरहरू सबै काम अनलाइनबाट हुन्छ भनेर सुविधा दिइरहेको छन् । टिएमएस खाता खोले वापत्त बरु उल्टै अन्य थप सुविधाहरू पनि दिएको हुन्छन् । त्यसरी विज्ञापन गरेर ३०० देखि ५०० रुपैयाँसम्म तिरेर खाता खोल्ने भन्ने अवस्था त छ जस्तो लाग्दैन ।’ यो प्रतिष्पर्धाको समयमा पैसा लिएर खाता खोल्ने कुरा सजिलो नभएको उनी बताउँछन् । यस्ता किसिमका गुनासोहरू हालसम्म नआएको उनी जिकिर गर्छन् । ‘यस्ता किसिमका कार्य भइरहेको छन् भने प्रहरीलाई पनि खबर गर्नुपर्छ यो त ठगी हो,’ उनी भन्छन्, ‘नियममा नै नभएको कुरा गर्न पाउँदैन ।’ सामाजिक सञ्जालमा विज्ञापन गरेर खुलेआम पैसा असुल्ने कार्य गैरकानुनी भएको उनी बताउँछन् । यद्यपि यो विषयबारे हालसम्म कुनै पनि गुनासो वा उजुरी नपरेकोले यस्ता कार्य भइरहेकोबारे जानकारी नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘जानकारी नै नभएपछि उनीहरूलाई निगरानी गर्ने, कारबाही गर्ने लगायतका कार्य हुने कुरै भएन ।’ यसरी खाता खोलिदिने विज्ञापन गर्नेहरूले भने हरेक दुई वा तीन घण्टमा पनि दोहोर्याइ तेहेर्याइ विज्ञापन गर्ने गरेका छन् । खास गरेर विदेशमा रहेका नेपालीहरू यस्ता किसिमका विज्ञापनबाट धेरै ठगिने गरेका छन् । आफू उपस्थित हुन नपर्ने भएपछि सजिलै उनीहरूले पैसा दिएर खाता खोल्ने गरेको पाइएको छ । तर, यसरी खाता खोल्नेहरूमा टिएमएस खाता खोलिदिने गरेको भए पनि मेरो सेयर बापत्तको रकम भने लिएपछि फरार हुने गरेको गुनासो उनीहरूको छ । हाल नेपालमा जुनसुकै ब्रोकरकोमा खाता खोलेपनि निःशुल्क खोल्न पाउने व्यवस्था छ । त्यस्तै, डिम्याट खाताको लागी १०० रुपैयाँ बैंकमा गएर बुझाउनुपर्ने हुन्छ भने मेरो सेयरको लागि ५० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । मेरो सेयर हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ, जसको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेकाे छ ।
१८ लाख किसान सूचीकृत
काठमाडौं । किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्यांक संकलन भइरहेको छ । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी भएको छ । यो विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुने छ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले समन्वय गरेको उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना संकलन गरिएको हो । विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आगामी वर्ष १२ लाख सूचीकृत गर्ने योजना रहेको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । यसैबीच, उक्त मन्त्रालयले कृषि पशुपक्षी विकाससम्बन्धी सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा किसान पहिचानको प्रमाणका रूपमा किसान परिचयपत्रलाई मान्यता दिने जनाएको छ । किसानलाई प्राविधिक सेवा प्रवाह गर्न निकट भविष्यमा ‘मोबाइल एप्लिकेसन’को विकास गरिने जनाइएको छ ।
सेबोन अध्यक्षकाे अन्तर्वार्तामा आज पनि तीन जना उम्मेदवार अनुपस्थित, सरकारी दबाब इग्नोर
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचि (सर्ट लिस्ट) मा समावेश भएका उमेदवारहरूमध्ये आइतबार उपस्थित नभएका तीन जना उमेद्वार बुधबार (आज) पनि अनुपस्थित भएका छन् । अर्थमन्त्रालयले छुटेका तीन जनाको आज कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता हुने सूचना जारी गरेकाे थियो । अन्तर्वार्ताका लागि बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सञ्चालन हुने भनिएकोमा तीन जना नै अनुपस्थित भएको बुझिएको हो । बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये आइतबार तीन जना अन्तर्वार्तामा अनुपस्थित भएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् । उनीहरूले सल्लाह गरेर नै अनुपस्थित भएको बुझिएको छ । स्रोतका अनुसार अर्कै उम्मेदवारलाई अध्यक्ष बनाउने राजनीतिक सहमति भएपछि तीन जनाले अन्तर्वार्ता बहिस्कार गरेको बुझिएको हो । उनीहरू तीनै जना माओवादी निकट उम्मेदवारका रूपमा धेरैले चिन्छन् । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै आइतबार कार्यायोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । अनुपस्थित भएका उम्मेदवार अधिकारी नेपाल धितोपत्र बोर्डका अध्यक्ष र काकी नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरु अहिले नै सरकारी निकायमा कार्यरत छन् । स्रोतका अनुसार उनीहरूलाई जसरी पनि अन्तर्वार्तामा सहभागी हुन दबाब थियो । सरकारी निकायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार भएकोले पनि उनीहरूलाई अन्तर्वार्तामा सहभागी हुनका लागि सरकारबाटै दबाब थियो । तर, उनीहरू उपस्थित नभएका हुन् । कार्की पूर्व अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन् । शर्माले नै उनलाई नेप्सेको सीईओमा नियुक्त गरेका हुन् । त्यस्तै, चापागाईं पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् भने अधिकारी पनि माओवादी निकट नै छन् ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाको उम्मेदवारी, एनटीसी भित्रकै तीन जना भिड्दै
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएकाे सञ्चार तथा सूना प्रविधि मन्त्रालयले जनाएकाे छ । सूचनाअनुसार आवेदन दिनेहरूमा टेलिकमका तीन जना निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, अनिल कुमार झा र शालिग्राम पराजुली छन् । यसैगरी बिमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, वुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्रकुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालको पनि आवेदन परेको छ । आवेदनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो ।
संसद भवनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गरे आत्महत्या
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । बुधबार बिहान संसद भवनको शौचालयमा गोली लागेको अवस्थामा उनलाई मृत भेटिएको हो । २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको बताइएको छ । नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको बताइएको छ ।
सवा ४ करोडमा इलाममा ६ वटा सिँचाइ आयोजना निर्माण
फिक्कल । इलामको फाकफोकथुम गाउँपालिकामा चार करोड १९ लाख ८२ हजार चार सय ३२ रुपैयाँको लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् । चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् । फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । वडा नं १ स्थित धलपुजे टारीटोलमा ६६ लाख ७० हजार दुई सय ७२ रुपैयाँको लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धुलपुजे टारी सिँचाइ कुलो र वडा नं २ स्थित राईगाउँमा रु ९९ लाख ४४ हजार छ सय ८६ लागतमा ६५ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी राईकुलो सिँचाइ निर्माण भएको छ । वडा नं ३ स्थित पिपलडाँडा सल्लेरी गाउँमा ६० लाख ८१ हजार चार १६ रुपैयाँको लागतमा एक सय ६३ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धनसार पिपलडाँडा सल्लेरी सिँचाइ कुलो र वडा नं ४ स्थित गुरुङगाउँमा ५४ लाख २८ हजार नौ सय २० रुपैयाँको लागतमा ३९ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी गुरुङखोला सिँचाइ कुलो निर्माण भएको छ । यसैगरी, वडा नं ५ स्थित फुङगाउँमा ३९ लाख १४ हजार ३७ रुपैयाँको लागतमा ३१ परिवार लाभान्वित हुनेगरी फुङखोला कुलो र वडा नं ७ स्थित तिवागाउँमा ९९ लाख ४३ हजार ९८ रुपैयाँको लागतमा एक सय २७ परिवारको खेत सिँचाइ गर्नेगरी तिवाखोला ठाडे सिँचाइ कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए । आयोजना सम्पन्न भएपछि फाकफोकथुमका छवटा वडाका खेतबारीमा बाह्रैमास पानी पुग्नेछ । आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास उनले व्यक्त गरे । सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीय पञ्च योङहाङको अपेक्षा छ । फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, बन्दकोबी, सिमीको व्यावसायिक खेती हुँदै आएको छ । आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय र प्रदेश सरकार तथा फाकफोकथुम गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी छ । युवालाई कृषि क्षेत्रमा आकर्षित गरी उत्पादकत्व वृद्धि गर्ने र कृषिको व्यावसायिकीकरणबाट आयआर्जन गर्ने लक्ष्यका साथ साना सिँचाइ कार्यक्रम सञ्चालन गरिएको हो । रासस
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, टेलर पुरियो
कमलामाई । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।
दुधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना पक्राउ
काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता/सहमती समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।