इजरायलमा ८ सय कामदारका लागि आवेदन खुल्यो, को-को जान पाउँछन् ?
काठमाडौं । इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना प्रकाशित गरी दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि ८ सय जनाको लागि आवेदन खुला गरेको हो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको हो । विभागका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागु हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिने सूचनामा उल्लेख छ । ८ सय जना माग भएका मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेका र तीन सय जनालाई वैकल्पिकमा राखिने बताइएको छ । २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएका, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेका वा १२ कक्षा पास भएकाले आवेदन दिन सक्ने विभागले जनाएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ । यस काममा जानेको मासिक तलब ५ हजार ८ सय ८० इजरायली मुद्रा तोकिएको छ ।
बजेट पास गर्ने संसदको कार्यसूची, अनिवार्य उपस्थित हुन एमालेको ह्विप
काठमाडौं । नेकपा एमालेले सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन् । ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णायार्थ पेस गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ निर्देशनमा भनिएको छ । सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ । आज केही मन्त्रीहरूले मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि बजेट पारितको प्रक्रियामा जानेछ। प्रमुख प्रतिपक्ष कांग्रेसले पनि आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुनु ह्वीप जारी गरिसकेको छ ।
सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य
काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । बैंकले एनसीएचएलसँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको बैंकले जनाएको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित
काठमाडौं । नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो । गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । यस्तै बैठकले सुरक्षित सिसाको समेत मापदण्ड पारित गरेको छ । सुरक्षित सिसालाई समेत विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ । विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्का सदस्यसचिव विभागका महानिर्देशक रहने प्रावधान रहेको छ ।
‘सेयर बजार र घरजग्गामा गरिएको कडाइ हटाऔं, गभर्नरको सक्रियता प्रशंसनीय’
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले अर्थसचिव तथा सचिवहरुलाई विदेश भ्रमण नभई स्वदेश भ्रमण गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारका अर्थसचिव तथा सचिवहरूले विदेश भ्रमण नभई स्वेदशमै मेची महाकाली यात्रा गर्न आग्रह गरेका हुन् । यस्तै, उनले पछिल्लो समय राष्ट्र बैंकका गभर्नरको सक्रियता बढेको कारण अर्थतन्त्रमा सुधार आउन सक्ने सम्भावना देखिएको पनि बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अबका अर्थमन्त्रीले राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने आँट नगर्ने उनको भनाइ छ । उनले सेयर बजार र घरजग्गामा गरिएको कडाइ पनि हटाउनु पर्ने धारणा राखे । ‘सार्वजनिक वित्त बिग्रिएको कारण अर्थतन्त्रमा समस्या आएको हो, ३२ वटा एयरपोर्ट, भ्यूटावर बनाउनमा ठूलो रकम खर्च भएको छ । तर, त्यहाँबाट खासै उत्साहजनक आम्दानी हुन सकेको छैन, अहिलेको समस्या समाधान गर्न विदेश भ्रमणमा नगई मेचीमहाकाली यात्रा गर्न अर्थसचिव, सचीवहरुलाई आग्रह छ,’ उनले भने । यस्तै, उनले पुर्वाधार विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नु पर्ने सुझाव दिए । ‘अर्थतन्त्र चलायमान नहुँदा राजस्व घट्ने र बजारमा मनोबलमा गिरावट आउँछ, नयाँ सेक्टर खोजी गरि निजी क्षेत्रलाई दिनुपर्छ,’ उनले भने ।
तामाङको एकता भैँसी र्फामले एसपीए स्टार्टअप फण्डबाट १० लाख पाउने
काठमाडौं । धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ थालनी गरेको स्टार्टअप फण्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन् । सोमबार भएको ग्य्राण्ड फिनालेमा एसपीए कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत छात्र तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडिया छनौटमा परेको हो । तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनौट भए सँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्ने छ । २०८० साउन १७ गते एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरे सँगै २०८० भदौ २५ गते सम्म विद्यार्थिहरु लाई आफ्नो आइडिया सहितको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । सोही अनुसार प्रस्तावित आइडियाहरू माथि विद्यार्थिहरुले विभिन्न चरणमा प्रकाश पारेसँगै त्यस बाट उत्कृष्ट ५ ओटा आइडिया छनौट गरी कलेजको पेजमा उनीहरूका आइडिया सार्वजनिक गरी त्यसबाट सर्वसाधारणको प्रतिक्रिया लिइएको थियो भने २०८१ असार १० गते तीन जना जज सहितको भव्य ग्राण्ड फिनाले कार्यक्रम मार्फत उत्कृष्ट स्टार्टअप आइडिया छनौट गरिएको छ । उक्त कार्यक्रमको प्यानल अफ जजमा आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय रहेका थिए । फाइनल राउन्डमा उनीहरूले आफ्नो आइडिया प्रस्तुत गरे सँगै अनलाइन भोटिङ, आइडिया प्रस्तुत गर्ने शैली, आत्मविश्वास, बजारले स्वीकार गर्ने योग्य सम्भाव्यता र जजहरूको दिएको नम्बरको आधारमा नवीन सोच, योजना, विचार लाई उत्कृष्ट स्टार्टअप आइडिया घोषणा गरिएको कोषका संयोजक मनोज भट्टले बताए । भट्टका अनुसार उत्कृष्ट ५ स्टार्टअप आइडिया मध्ये पहिलो भएको मेखराज तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडियाले कलेजबाट प्रदान गरिने स्टार्टअप फण्ड मार्फत दश लाख नेपाली रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो रोशन सिंहको धनगढी गट फार्मिङ, तेस्रो यशोदा जोशीको इमेज फुटवयर, चौथो आयुस्मा जोशीको फारवइस्ट डेकुरेसन हब र रमेश रानाको प्रिन्स पोल्ट्री र्फाम स्टार्टअप आइडियाले पाँचौँ स्थान हासिल गरेको थियो । एकता भैँसी र्फाम स्टार्टअप आइडिया प्रस्तुत गरी विजेता बनेका मेखराज तामाङले यो विशेष अवसरका लागि एसपीए कलेज परिवार लाई धन्यवाद दिँदै आफ्नो आइडिया साकार पार्न शतप्रतिशत मेहनत गर्ने र लगानी कर्ता कलेजलाई दुखी नबनाउने बताएका छन् । सो अवसरमा प्रतिक्रिया दिँदै जज समेत रहेका कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले एसपीए कलेजले प्राइभेट क्षेत्रबाट पनि नव उद्धमीहरु को नवप्रवर्तनको निम्ति आफ्ना विद्यार्थिहरु लाई प्रोत्साहन गर्नु नौलो र उदाहरणीय काम भएको बताउँदै यस कार्यको लागी कलेज परिवारलाई स-धन्यवाद बधाई दिएका छन् । यस्तै, उक्त कार्यक्रमको जज समेत रहेका आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकीले यो उत्कृष्ट कार्यको लागी एसपीए कलेजलाई बधाई दिँदै विजेता तथा टप फाइनलिष्टहरु ले आफ्नो आइडियामा निरन्तर काम गरे सदैव सहयोग गर्न तयार रहेको बताएका छन् ।
येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी
जापान । जापान कुनैपनि समय अस्थिर मुद्रा चालहरू विरुद्ध उपयुक्त कदम चाल्न तयार रहेको देशको शिर्ष मुद्रा कूटनीतिज्ञले बताएका छन् । येन अमेरिकी डलरको तुलनामा १६० रेखाको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय मामिलाका लागि उप अर्थमन्त्री मासातो कान्डाले येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिए । कुनैपनि समयमा उपयुक्त कारबाही गर्न तयार रहेको बताए । बैंक अफ जापानले यस महिनाको जुलाईको बैठकसम्म बन्ड खरीद प्रोत्साहन घटाउने निर्णय गरेपछि येनको कमजोरी कायम छ । येन सोमबार प्रारम्भिक व्यापारमा प्रतिअमेरिकी डलर १५९.९४ मा कमजोर भयो । यो अप्रिल २९ पछिको सबैभन्दा कम हो । कान्डाले डलरको तुलनामा येनको मूल्य १६० मा आएको गिरावटले येन खरिद गर्ने, डलर बेच्ने कार्यको अर्को चरण आउन सक्ने भन्दै बजारमा सतर्कता बढाएको बताए । जापानी अधिकारीहरूले कहिले हस्तक्षेप गर्ने भन्ने बारे कुनै खास येन स्तरहरू दिमागमा नभएको कुरालाई ध्यानमा राख्दै कान्डाले मुद्रा चालहरू स्थिर हुनुपर्ने बताए । अप्रिल २९ मा जब येनले प्रतिअमेरिकी डलर १६०.२४५ को ३४ वर्षको न्युन बिन्दुमा पुगेको बताए ।
मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पथान्तरण गर्न बन्द
काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरु समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरु बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आईतवार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।